site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 आस्थाको महापर्व छठ : अनटोल्ड स्टोरी

गोपाल अश्क


केरवा  जे  फरेला घवद पर, तापर सुग्गा मेड़राय ।
नरियरवा जे फरेला घवद पर, तापर सुग्गा मेड़राय ।
सुगवा  के  मरबो  धेनुख, सुग्गा  गिरिंहे मुरुझाय ।     
सुग्गवा  के  जनि  केहू मारो, सुग्गा देलक सिंगार ।
भरयित  हउवें  कवन  राम, ई भार घाटे पहुँचाव ।
घटवा  के  करबों  पुजइया, घाट छेंक मति हमार ।
सुनु– सुनु  घाट  घटवरवा,  ई  घाट  रहिहें हमार ।

नेपाल र भारतमा बडो धुमधाम तथा अनुशासनका साथ मनाइने लोकआस्थाको महापर्वमा गाइने तथा सुनिने निकै प्रसिद्ध, उपयुक्त पारम्परिक तथा सांस्कृतिक लोकगीतमा एकातिर केरा र नरिवलको वरिपरि घुमिरहेको सुग्गालाई धपाउने उद्देश्यले मार्ने कुरा गरिएको छ भने अर्कोतिर त्यही सुग्गालाई जोगाउने कुरा पनि गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यो सुग्गालाई जोगाउने कारणमा त्यसै सुग्गाबाट शृङ्गार गरिने कुरा भनिएको छ । उक्त गीतमा छठ पर्वमा लैजाने दौरा (टोकरी)लाई घाटमा पु¥याउन तथा घाटलाई राम्ररी सफा सुग्घर गरी पूजा अर्चना गर्ने कुरासमेत गरिएको छ । यो तथ्यसत्य हामी सबैलाई थाहा छ, यसबारे धेरै भन्नु आवश्यक ठान्दिनँ । तर यहाँनिर लोकआस्थाको महापर्वमा लुके छिपेका केही ‘अनटोल्ड स्टोरी’ अर्थात् अहिलेसम्म प्रकाशमा नआएका नल्याइएका केही कुराहरूबारे अवश्य चर्चा गर्न चाहन्छु । 

सबैभन्दा पहिले लोकआस्थाको महापर्व छठ व्रत लिने विधि–विधानबारे स्मरण गराउन चाहन्छु । हामी सबैलाई थाहा भएकै कुरा हो, कि छठलाई लोकआस्थाको महापर्व भनिन्छ । किनभने यस पर्वमा स्वच्छता, पवित्रता, अनुशासन आदि बडो कडाइकासाथ पालना गरिन्छ । यो पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीको दुई दिन अघिदेखि नै प्रारम्भ हुन्छ । 

अर्थात् यो पर्व मुख्य रूपमा चार दिनमा सम्पन्न गरिन्छ । पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीका दिन व्रतालुहरू नुहाई धुवाई, स्वच्छ भई भोजन ग्रहण गरेसँगै यो पर्व प्रारम्भ हुन्छ । यसलाई ‘नहाय–खाय के दिन’ भनिन्छ । 

त्यसको भोलिपल्ट अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिन व्रतालुहरू दिनभरि केही नखाएर बस्छन् । पानी पनि पिउँदैनन् । राति आफैँ खीर, पुरी आदि शुद्ध सात्विक ‘प्रसाद’ बनाएर, पहिले छठी माईलाई भोग लगाएर, त्यो ‘प्रसाद’ ग्रहण गर्ने गर्छन् । यसलाई ‘रसिआव रोटी’ भनिन्छ । यसलाई ‘खरना’ पनि भनिन्छ । 

रसिआव रोटी प्रसाद ग्रहण गरिसकेपछि व्रतालुहरूले केही खाँदैनन्, केही पिउँदैनन् । यहाँदेखि यो पर्व झनै कडा अनुशासनसाथ प्रारम्भ हुन्छ । रसिआव रोटी अर्थात् खरनाको भोलिपल्ट, कार्तिक शुक्ल षष्ठीका दिन बेलुकातिर घरनजिक भएको जलाशय (नदी, नहर, पोखरी) आदिका घाटमा गई उपासना, अर्चना गर्छन् र बेलुकीको अस्ताउँदो सूर्यलाई अर्घ (पूजा अर्चना गरी) दिई घर फर्कन्छन् । कतिपय व्रतालुहरू त्यहीँ घाटमै पनि बस्ने गर्छन् । 

कार्तिक शुक्ल सप्तमीको दिन बिहानै, तारा नअस्ताउँदै व्रतालुहरू पुनः त्यही जलाशयमा पुग्छन् र छठी माईको पूजा अर्चना, अराधना गर्छन् । त्यस दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाको समापन गर्छन् । यसरी कार्तिक शुक्ल चतुर्थीबाट प्रारम्भ भएको यो महापर्व कार्तिक शुक्ल सप्तमीमा सम्पन्न हुने गर्छ । 

यी हुन् महापर्व छठबारे सामान्य जानकारी, जसबारे धेरैलाई थाहा हुनसक्छ । तर छठ पर्व मनाइने सन्दर्भमा समावेश हुने वर्ग, जाति, धर्मावलम्बी, सामग्री आदिबारे धेरैलाई जानकारी नहुन पनि सक्छ । जानकारी हुँदाहुँदै पनि त्यसको महत्त्वपूर्ण पक्षहरूबारे गहन चिन्तन मनन् नगरिएको पनि हुन सक्छ । त्यसैलै यो पंक्तिकारले यहाँनिर लोकआस्थाको महापर्व छठका केही ‘अनटोल्ड स्टोरी’बारे विनम्रतापूर्वक भन्न गइरहेको छ ।

सबैभन्दा पहिले, छठ महापर्व कुनै विशेष क्षेत्र, वर्ग, जातजातिद्वारा मनाइने पर्व होइन । यो विभिन्न क्षेत्र, विभिन्न जातजाति, यहाँसम्म कि विभिन्न धर्मावलम्बीहरूद्वारा मनाइने महापर्व हो । हुन त यसलाई भारतको उत्तरी बिहार तथा नेपालको प्रदेश २ का आठ जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा विशेष रूपमा मनाइने पर्वकारूपमा चिनाइने गरिएको छ । तर यो आंशिक सत्य हो, पूरा सत्य होइन । किनभने वर्तमान समयमा यो नेपालका विभिन्न ठाउँ (प्रदेश २ का आठै जिल्लाका साथै) जस्तै, हेटौंडा, नारायणगढ, भैरहवा, नेपालगन्ज र काठमाडौंमा समान उत्साह तथा आस्थासाथ मनाइन्छ । 

यसको अर्थ यो पनि होइन कि यो पर्व मधेसमा बस्ने नेपाली (मधेसी तथा पहाडी) ले मात्र मनाउने गर्छन् । होइन, अब यस पर्वमा नेपालका विभिन्न जातजाति तथा धर्मावलम्बीको पनि समान सहभागिता हुन्छ । बाहिरी रूपमा हेर्दा हिन्दुहरूको पर्वका रूपमा देखिने यो महापर्व छठमा इस्लाम धर्मका अनुयायीहरूको पनि सहभागिता हुन्छ । कुरो के हो भने यो पर्व लोकआस्थाको पर्व हो, आम मान्छेले आफ्नो कुनै न कुनै इच्छा पूरा गरिदिनका लागि छठी माईलाई गुहारेका हुन्छन् (अब त्यो आम मान्छे कुनै पनि जातजाति तथा धर्म विशेषका हुन सक्छन्, हुन्छन्) । यही लोकआस्था, श्रद्धा, विश्वास तथा प्रेम र भक्तिका कारण ती आम मान्छेले आफ्नो जात, धर्म, संस्कृतिको कुनै परवाह नगरीकन शुद्ध मनकासाथ यो महापर्वमा सहभागी हुन्छन् । दौरा (टोकरी) आदि सजाएर घाटमा नगए पनि निर्जला उपवास बसेर यो व्रत लिने गरेको पाइन्छ । 

यो कुरो म आफ्नो अनुभव र अनुभूतिका आधारमा भनिरहेको छु । म बालकै हुँदा मैले मेरो गाउँमा यो संस्कृति देखेको र भोगेको छु । मेरो गाउँ  भेडिहारी, पर्सा जिल्ला (वर्तमानमा कालिका गाउँपालिका) मा छठ पर्वमा मुसलमान दाजुभाइ, काकाकाकीले व्रत गरेको देखेको छु । मुसलमान दाजुभाइद्वारा मनाइने ‘दाहा’ ( तजिया) मा हिन्दूहरूले समेत झन्डा लगाउने गरेको र ‘मलिदा’ (विशेष प्रकारको खाद्य पदार्थ, प्रसादी) चढाइ त्यो पूजामा सामेल हुने गरेको देखेको छु । भोगेको छु ।

वास्तवमा, यो विभिन्न जातजाति तथा वर्गद्वारा मनाइने महापर्व हो । यस पर्वमा प्रयोग हुने मिष्ठान्न तथा अन्य सामग्रीहरूको सङ्कलन तथा खरिदमा ऊँच–नीच, धनी–गरिबको कुनै भेद देखिँदैन । चाहेर पनि धनी वर्गले आफ्नो धनको प्रदर्शन गर्न सक्दैनन् । किनभने यस पर्वमा प्रयोग हुने सामग्री (केरा, नरिवल, सुथनी, उखु, ठेकुआ, मीठा, खीर, साठीको धान, दौरा, सुपली, गागल, निम्बु आदि) धनी गरिब दुवैको पहुँचका अवयवहरू हुन् । 

यति मात्र होइन, व्रतालुहरूले चाहेर पनि वनारसी साडी अथवा गहना आदिको प्रदर्शन गर्न सक्दैनन् । कारण, यो पर्वमा महिला व्रतालुहरूले सामान्य साडी (जसलाई चुनरी भनिन्छ) लगाउँछन् र पुरुष व्रतालुहरूले मरदानी र गन्जी (धोती र गन्जी) लगाउने गर्छन् । यो नै एउटा त्यस्तो महापर्व हो, जसमा घरका सारा सदस्यहरूको सहभागिता उत्साहपूर्ण रूपमा रहने गर्छ । धनी–गरिब जो व्रतालु भए पनि दौरा (टोकरी) लाई आफैंले टाउकोमा बोकेर घाट पुर्याउनमै सौभाग्य ठान्छन् ।

भनाइको अर्थ स्पष्ट छ, छठ पर्व प्रत्येक जातजाति तथा वर्गद्वारा मनाइने एक महापर्व हो । वस्तुतः यो राष्ट्रिय चरित्र बोकेको, समावेशी, भाइचारा, श्रद्धा, प्रेम तथा आस्थालाई आफ्नो मूलमन्त्र बनाएको पर्व हो । हाम्रो नेपालमा २०६३ पछि समावेशी विचारधारा विशेष रूपमा प्रवाहित भएको पाइन्छ । त्यसपछि नै समावेशीलाई राष्ट्रको उन्नति तथा विकासको मूल मन्त्रका रूपमा लिइएको पाइन्छ । जबकि यथार्थ के हो भने, हाम्रो देश पहिल्यैदेखि नै समावेशी चरित्रको देश हो । यसको एउटा बलियो तथा प्रभावकारी उदाहरण यो लोकआस्थाको महानपर्व छठ पनि हो । 

अन्त्यमा एउटा कुरा के भन्न चाहन्छु भने महापर्व छठको यो समावेशी तथा राष्ट्रिय चरित्रलाई नेपालका जनताले स्वीकार गरिसकेका छन् । अब हाम्रो देशको कुनाकाप्चामा पनि शुभकामना दिने क्रममा दसैं–तिहार र छठको शुभकामना एकैसाथ दिने गरिन्छ । यो नै स्वीकृतिको प्रमाण हो भन्ने मलाई लाग्छ । 

त्यसैले अब छठ पर्वलाई कुनै क्षेत्र विशेष (तराई–मधेस वा मिथिला आदि), कुनै धर्म विशेष (हिन्दु धर्मावलम्बी), कुनै वर्ग (धनी वा गरिब) भन्नु, न त वैज्ञानिक दृष्टिले उचित हो, न सामाजिक सांस्कृतिक दृष्टिले नै । यो हाम्रो देश नेपालको राष्ट्रिय पर्व हो । यसलाई त्यसै रूपमा हेर्नुपर्छ, त्यसै रूपमा स्वीकार गरी तद्अनुरूप व्यवहार गर्नुपर्छ । 

अन्त्यमा छठीमाईले हामी सबैको भलो गरून् भनी प्रार्थना गर्दै आफ्नो कलमलाई बिराम दिन्छु ।

कोपि–कोपि बोलेली छठिअ मइया, सुन ए महादेव ।
मोरा देशे विभेदवा उपरजि गइले, मकड़ी बसेढ़ लेली ।
हाँसि–हाँसि बोलेले महादेव, सुन ए छठिय मइया ।
हम राउर विभेदवा हटाई देबो, चनन छिरिकि देबो ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  ०६:५८
प्रतिक्रिया दिनुहोस्