
नरेन्द्रराज प्रसाई
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई बचाउन ललितपुरको झम्सिखेलस्थित शान्तभवन अस्पतालमा पुर्याइएको थियो । तर उनलाई निको पार्न नसकिने पक्कापक्की भएपछि शान्तभवन अस्पतालबाट पशुपति आर्यघाटमा लाने मेलोमेसो गरिएको थियो । त्यस बेलासम्ममा देवकोटा चेतनशील थिए र उनलाई आफ्नो सम्भावित मृत्युको बारेमा पनि धेरै कुराको ज्ञान भइरहेको थियो । त्यो कोलाहलपूर्ण वातावरणमा थुप्रै साहित्यकारहरूको अस्पताल परिसरमा प्रवेश पनि भइसकेको थियो ।
त्यति बेलासम्म पनि डा. एडगार आर. मिलरले महाकवि देवकोटालाई रगत दिएर थप केही दिन बचाउने इच्छा दर्शाएका थिए । तर उनको प्रस्तावमा देवकोटाले भनेका थिए, ‘‘डाक्टर ! किन यी युवकका रगत खेर फाल्ने ? तपाईंलाई थाहा छ, म मर्ने भैसकेको छु । टार्न नसकिने कुरालाई किन लम्ब्याउने ?’’
देवकोटाको पीडा असह्य थियो र मर्नु पनि निश्चित भइसकेपछि उनी विष घुड्क्याएर भए पनि चाँडै क्यान्सरग्रस्त चोला बिसाउन पाए सन्चो हुन्थ्यो भन्ने चिन्तामा थिए । अस्पतालबाट पशुपति हिँडाइने बेलामा उनलाई हेर्न वासुदेव शर्मा लुइँटेल पनि शान्तभवन पुगेका थिए । लुइँटेल र देवकोटा खुबै मिल्थे । वास्तवमा लुइँटेलले देवकोटालाई सधैँ आदर, सम्मान र श्रद्धा नै गरिरहेका थिए । त्यसैले लुइँटेललाई भेट्नेबित्तिकै देवकोटाले आत्मीयता बाँड्दै भने “मलाई अलिकति विष ल्याइदिनुभएको छ ? मलाई डाहा भइरहेछ ! मलाई चाँडै मारिदिनुहोस् तपाईंलाई धर्म हुन्छ । पण्डितजी ! मलाई विष खान दिनुहोस् म मर्छु ।”
देवकोटालाई रगत दिएर बचाउनेहरूप्रति उनले भदौ २६ गते कृतज्ञता ज्ञापन गरे । “दुई साहसी युवक भतिजा पद्मनाथ देवकोटा (लेखनाथ देवकोटाका कान्छा छोरा) र भोलामानसिंह थापा (पछि सहायक मन्त्री) ले मलाई रक्त प्रदान गरी २–४ दिनदेखि आजसम्म जियाए । उनीहरू चिरायु होऊन् । अब म मानवरक्त लिन्न र दिन चाहने व्यक्तिलाई धन्यवाद दिन्छु ।” त्यसै बेला उनले हालखबरका सम्पादक दाताराम शर्माप्रति पनि आभार प्रकट गरे । हालखबरले अनेकबार उनका विषयमा समाचार प्रकाशित गरेको थियो ।
देवकोटाले मृत्युशय्यामा बसेर नेपाली र अंग्रेजी भाषामा तीनवटा कविता लेखे । उनले त्यति बेला लेखेको अन्तिम नेपाली कविता एउटा ‘शून्यमा शून्यसरी’ अंग्रेजीमा लेखेको ‘लाइफ अफ द रिचेस्ट’ हरि श्रेष्ठलाई दिए । साथै उनले अंग्रेजी भाषामा लेखेको अन्तिम कविता ‘प्रमिथियन पेन आई बियर’ चाहिँ डा. एडगार आर. मिलरलाई दिएका थिए । उनले नेपाली भाषामा लेखेको अन्तिम कविताका अन्तिम पंक्तिहरू थिए ः
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखिर भै खाक उसै बिलाएँ ।
देवकोटा अस्पतालको शय्यामा छटपट–छटपट नै गरिरहेका थिए । उनको वेदना, चित्कार र अवस्था देख्नेजति सबैका आँखा त्यस बेला रसाइरहेका हुन्थे । उनी क्रन्दनको ज्वाला फुटाएर भनिरहेका थिए “म किन बाँचिरहेको छु ?” आर्यघाट लाने बेलामा उनलाई सेतो भोटो र सुरुवाल फेराइएको थियो । अन्तिम यात्रा स्वरूप शान्तभवन अस्पतालमा उनलाई मोटरमा राखियो । उनी सुतेको मोटर २०१६ साल भदौ २७ गते बिहान ५.३० बजे पशुपति आर्यघाटतिर हुइँकियो । त्यति बेला आफन्तमाझ उनले भनिरहेका थिए, “अब म चौबीस घण्टाभन्दा बढी बाँच्न पाउँदिनँ ।”
जीवनलाल सत्यालका अनुसार देवकोटा त्यस बेला हड्डी र छालाले मात्र बनेका झैँ देखिए । उनको शरीरको छाला पनि चाउरी परिसकेको थियो । उनका आँखा, नाक र कान मात्रै सद्देझैँ देखिन्थे । साथै डोम मोरेका अनुसार ‘उनको अनुहार मखुण्डो लगाएको जस्तो देखिन्थ्यो ।’ त्यति बेला उनी एक प्रकारले अस्थिपञ्जर जस्ता भइसकेका थिए ।
देवकोटाको अन्तिम दर्शन गर्न पशुपति आर्यघाटमा मान्छे जम्मा हुने क्रम थियो । ती प्रायः साहित्यकार र उनका हितचिन्तक थिए । जनकलाल शर्मादेखि मदनमणि दीक्षितसम्मका श्रद्धालुले आर्यघाट ढाकिएको थियो । त्यति बेला दीक्षितले पनि देवकोटाका जीवनको अन्तिम अवस्थाबारे ‘हालखबर’मा समाचार दिएका थिए । दीक्षितका अनुसार त्यसपछि देवकोटालाई हेर्न त्यहाँ मान्छेको भिड लागेको थियो । त्यसै घडी दीक्षितले देवकोटाको फोटो पनि खिचेका थिए । वास्तवमा त्यो फोटो नै देवकोटाको जिन्दगानीको अन्तिम फोटो हुन गयो । त्यस बेला दीक्षितलाई देवकोटाका सन्तानले फोटो बेचेर धन कमाएको आरोप पनि लगाए । दीक्षितका अनुसार देवकोटाका छोरीहरूले “मदनमणिले हाम्रा बुबाका फोटोको व्यापार गरेर पैसा कमायो भनेर हल्ला पिटाउन थाले ।” यसबारेको तीतो असत्यले क्षुब्ध दीक्षितले भने, “हो ! मेरा घरमा मेरो फोटो स्टुडियो थियो । तर मैले महाकवि देवकोटाका फोटो कसैलाई बेचिनँ, बरु निःशुल्क नै बाँडेँ ।”
देवकोटाले बाँचुन्जेल हिन्दूधर्मलाई खासै वास्ता गरेनन् । जब उनी कालको मुखतिर पुगे त्यस बेला उनले पूणर्प्रसाद ब्राह्मणलाई भने “मैले आफ्नो जिन्दगी हरिनाम नजपेर, नास्तिक भएर बिताएछु, अब जान आँटिहालेँ ।” अनि उनले जीवनको शाश्वत आध्यात्मिक पक्षमा भने— “आखिर श्रीकृष्ण रहेछ एक ।” वास्तवमा देवकोटामा धर्मको प्रगाढ ज्योति थियो, तर उनी आडम्बरी थिएनन् । चूडामणि बन्धुका अनुसार “देवकोटा कर्मकाण्डी थिएनन्, तर उनी ईश्वर मान्थे । उनी आफूभित्रै ईश्वर छ भन्थे ।” साथै आर्यघाट लगिने अघिल्लो साँझ उनलाई रामहरि शर्माले एउटा प्रश्न राखेका थिए “ईश्वर र परलोकका बारेमा तपाईं कस्तो अनुभव गरिरहनुभएको छ ?” अनि उनले उत्तर दिएका थिए, “खै ! अन्धकार मात्र देख्छु । कतै उज्यालो छ कि भनेर हेर्छु, तारा कहीँ देख्तिनँ ।”
०००
त्यसै कालखण्डबीच गोपालप्रसाद रिमालको संरक्षणका लागि माधव घिमिरे, रामहरि शर्मा, विश्वनाथ उपाध्याय र कृष्णप्रसाद भण्डारी क्रियाशील थिए । त्यति बेला रिमालका नाउँमा उठाइएको रकममध्ये बाह्र सय रुपियाँ देवकोटालाई पनि दिइएको थियो । भण्डारीका अनुसार त्यस पैसाले देवकोटालाई अन्तिम समयमा निकै सान्त्वना दिएको थियो ।
देवकोटा आर्यघाटको मृत्युशय्यामा थिए । त्यस बेला उनले आफ्ना सबै दिदीहरू र फुपूका खुट्टा ढोग्न चाहे । उनको त्यो अन्तिम इच्छा पनि पुर्याइयो । त्यति बेला उनी खाटमा सुतिरहेका थिए; त्यसैले उनका दिदीहरू र फुपूले उनको निधारमा खुट्टा पुर्याएर आ–आफ्ना गोडा ढोगाएका थिए ।
देवकोटाका श्रद्धेय, प्रेरक र सम्मानित स्रष्टाका रूपमा कविशिरोमणि लेखनाथ पौड्याल थिए । देवकोटालाई कुर्न उनी प्रायः साँझसम्म आर्यघाटको सत्तलमै बसिरहेका हुन्थे । उनी प्रायः “भोलि बिहान आउँछु बाबू !” भन्दै राति आफ्नो घर जाने गर्थे । पौड्याल भोलि बिहान अर्थात् भदौ २९ गते बिहान टरेपछि मात्र आर्यघाट पुगे । त्यतिन्जेलसम्म पनि देवकोटा पौड्यालको बाटो टुलुटुलु हेरिरहेका थिए । पौड्याललाई देख्नेबित्तिकै देवकोटा बोले, “ढिलो भयो नि गुरु ! अब त मेरो जाने बेला पनि भयो ।” त्यो उक्तिले पौड्यालका गह भरिए । देवकोटाका आँखाबाट पनि झरी बर्सन थाल्यो । त्यहाँ पौड्यालले भक्कानिँदै भने, “बाबुले यो उमेरमा जानुपरिरहेछ !”
देवकोटाले मर्नुभन्दा अगाडि पनि लेख्नै चाहेको भावना व्यक्त गरे । यसबारे उनले शंकर लामिछानेसँग भनेका थिए— “जीवनको यस बेला आएर म जीवनको अर्थ बुझ्दै छु । आज मैले लेख्न सके, आजको यो ज्ञान मात्र लिएर दुई वर्ष अरू बाँच्न पाएँ, अनि मैले लेखेको चिज केही हुने थियो ।” तर कविशिरोमणि लेखनाथ पौड्यालले ‘कालमहिमा’ कवितामा भने झैँ देवकोटाको काल पनि टारेर नटर्ने नै निश्चित भयो । त्यसैले अन्तिम बेला कविशिरोमणिले नै देवकोटाको निधारमा चन्दन र गलामा रुद्राक्षको माला लगाइदिएका थिए । त्यसपछि त्यो सत्तलमा मन्दमन्द रुवाबासीको सिलसिला कोलाहलमा पुग्न थालेको थियो । अनि त्यसै बेला देवकोटालाई भेट्न मन्त्री गणेशमान सिंह पनि आर्यघाट पुगेका थिए । उनी पनि त्यस भिडमा उभिएर रुन थालेका थिए ।
देवकोटालाई बालकृष्ण सम अति नै सम्मान गर्थे । त्यसैले देवकोटाको जीवनको अन्तिम घडी भए पनि उनीसँग भारतीय अंग्रेजी साहित्यकार डोम मोरेलाई भेट्टाउन समको प्रबल इच्छा थियो । किनभने त्यस घडी कवि डोम पनि नेपालमै थिए । डोमको प्रतिभाबाट सम र देवकोटा मात्र होइन, अंग्रेजी साहित्यानुरागी प्रायः सबै प्रभावित थिए । बेलायतको सर्वोच्च ह्वाथोर्नडेन पुरस्कार बेलायतीबाहेक पहिलोचोटि प्राप्त गर्ने विदेशी स्रष्टा पनि डोम मोरे नै थिए । त्यो पुरस्कार पाउँदा उनी उन्नाईस वर्षका मात्र थिए । भारतका तिनै सुविख्यात कवि मोरे समको आग्रहअनुसार भारतीय सांस्कृतिक सहचारी तथा प्रसिद्ध कवि डा. शिवमङ्गल सिंह ‘सुमन’को सक्रियतामा पशुपति आर्यघाट पुगेका थिए । त्यहाँ पुगेपछि डा. सुमनले डोम मोरेलाई भनेका थिए, “जुनसुकै कवि पनि आफू संसारबाट बिदा हुन लाग्दा जीवनको रेलगाडीलाई कुनै अर्को कविले हात हल्लाइदियोस् भन्ने चाहन्छ नै !”
डा. शिवमङ्गल सिंह ‘सुमन’सहित डोम मोरेले मृत्यु पर्खिरहेका देवकोटालाई आर्यघाटमा नै भेटे । यी दुवै कविलाई देख्नेबित्तिकै आँखाभरि साउन राखेर देवकोटा बोलेका थिए, “म ब्रह्माण्ड दहनमा छु । यो नरक दावाग्नि जस्तो छ, क्यान्सरसँग पौँठाजोरी गर्ने अर्को वेदना मानिसले आविष्कार गरेको छैन ।” त्यस बेला यसरी देवकोटाको बोली फुटेको देखेर त्यहाँ उपस्थित सबैजना चकित भएका थिए । वास्तवमा केही समयअघिदेखि देवकोटाको वाक्य फुटेको पनि थिएन । डोमलाई देख्नासाथ उनको बोलीमा जादू प्रकट भएको थियो ।
देवकोटाले डोम मोरे र डा. शिवमङ्गल सिंह ‘सुमन’ लाई देखेपछि काललाई ठेल्दै आफ्नो भावना व्यक्त गरिरहे । त्यस बखत उनले डोमलाई छोएर भनेका थिए, “मैले तपाईंका कृति पढेको छु । मलाई तपाईंको साथीको नाउँ पनि थाहा छ । तपाईं आज यहाँ भेटिनु एउटा चमत्कार नै हो, म मर्दै छु ।”
देवकोटाको त्यस समयको अवस्था आश्चर्यजनक थियो । त्यसपछि पनि देवकोटाले सकीनसकी आफ्ना मन परेका कवि डोम मोरेमाझ आफ्नो शिथिल मन खोलिरहे, “म मर्दै छु । म जीवित भए तपाईंलाई पनि मेरा कविताहरू देखाउँथेँ । तपाईंले मेरा कविताहरू हेर्नुभएको छ ?” त्यसपछि देवकोटाले बालकृष्ण सममार्फत आफ्ना कविता लान डोमलाई आग्रह गरे ।
देवकोटाले आर्यघाटमा पुग्दा पनि एउटा विदेशीको आत्मीय व्यवहार पाए । डोम मोरेको आत्मीयताबाट देवकोटाले आफ्नो शरीरको मैन पगाल्दै भने, “म यहाँ पशुपति मन्दिरमा छु, म मर्दै छु । तर कताकता एक इन्च म अझै बाँकी छु । म मेरो एक इन्च अणु बाँकी छु, त्यसले मलाई जान दिइरहेको छैन । म प्रार्थना गर्छु अब म जाऊँ । यहाँ पशुपतिनाथ आएदेखि म उहाँसँग मेरो खप्पर फुटाइदिने आशिष माग्थेँ ।”
देवकोटाले त्यस बेला आफ्ना मनमा रहेका र अरू दुखेका कुरा पनि डोम मोरेका सामु वाग्मतीमा मैलो पखालेसरि पखाल्न खोज्दै भने, “तिनीहरूले मलाई वामपन्थी भने, किनभने म रूस गएँ । म सिर्फ एक कवि मात्र थिएँ; मेरा लागि प्रार्थना गर्नुहोस् म मर्न सकूँ । यदि म नरक अग्निकुण्डमा गएँ भने यसभन्दा बेस हुन्छ । म नेपाली लेखकहरूमध्येको अति अभागी लेखक हुँ ।” देवकोटा जतिजति बोल्थे डोम निन्याउरो अनुहार लगाएर उनीसँग त्यति नै नजिकिन्थे ।
डोम मोरेसँग देवकोटाको आकस्मिक सामीप्य एउटा दैविक घटना थियो । देवकोटाले डोमका कविता पनि मन पराउँथे । उनको आफ्नो जीवनमा डोमकै मुखबाट कविता सुन्ने इच्छा पनि थियो । त्यसैले देवकोटाले डोमलाई भने “तपाईंका केही कविता वाचन गर्नुहोस् न ! अलिकति म शान्तिको स्वाद लिऊँ ।” त्यसपछि डोम देवकोटासँगै टाँस्सिएर कविता वाचन गर्न थाले । डोमले एउटा कविता वाचन गरेपछि देवकोटाले फेरि अर्को पनि कविता पाठ गर्न डोमसमक्ष आग्रह गरे । त्यसपछि डोमले अर्को एउटा कविता पनि सुनाए । देवकोटाले फेरि पनि उनीबाट कविता सुन्न चाहे । डोमले भने, “म अब तपाईंलाई एड्ना सेन्टभिन्सेन्टको कविता सुनाउँछु ।” अनि डोमले त्यो पनि सुनाए । त्यो कविता पनि देवकोटाले मन पराए ।
त्यसपछि डोम मोरेले आफ्नो हवाइजहाज उड्न लागेको जानकारी दिँदै देवकोटासँग बिदा मागे । त्यस बेला देवकोटाले डोमसँग अन्तिम वाक्य बोले, “म मरुन्जेल तपाईं यहाँ नबसिदिने ?” अनि डोमले निहुरिएर देवकोटाको निधारमा म्वाइँ खाए । त्यतिन्जेलमा देवकोटाको निधार पनि चिसो भइसकेको थियो । त्यसपछि डोमले सकीनसकी दर्दनाक स्वर निकाले “हामीले अब जानुपर्छ ।” अनि देवकोटाले पनि सकीनसकी बिदाइका लागि डोमसमक्ष आफ्ना हात उठाउने प्रयास गरे ।
डोम मोरेले त्यसै बेलाको प्रसङ्गमा लेखेका छन्, “एक्कासि त्यो मखुण्डोले चिच्याउने कोसिस गर्यो । तीभित्र पसेका ओठहरू मुचुक्क भए, तर सुक्सुकाउन सकेनन् । ती काम नगर्ने भइसकेका थिए । उहाँका आँखाबाट आँसु झरिरहे र तिनले उहाँका गालामा बनेको खाल्टोमा ताल बनाए । मैले उहाँको हातलाई मेरा हातले सुम्सुम्याएँ ।”
०००
देवकोटा स्वर्गारोहण हुने दिनको कुरा हो, देवकोटाले आफ्नी पत्नी मनदेवीलाई सोधेका थिए, “बजै ! तिमीसँग कति पैसा छ ?” अनि उनकी पत्नीले प्रत्युत्तरमा “मसँग दुई सय रुपियाँजति छ, बुबा हजुर !” भनिन् । त्यसपछि देवकोटा फेरि बोले, “अब म तीन–चार दिन बाँचेँ भनेँ तिमीले मलाई खान दिन सक्तिनौ । यति पैसाले मेरो अन्तिम संस्कार गर्न पुग्छ ।” देवकोटाले यो विचार प्रकट गरेपछि उनलाई सारोसारो र झन् सारो हुँदै गयो । अनि क्रमशः उनको बोलीचाली पनि सेलाउँदै गयो । दिउँसो दुई बजेपछि उनको होसहवास पनि हराउन थालेको थियो ।
त्यसपछि त्यहाँ मानवहरूको भिड लाग्न थाल्यो । त्यही सन्नाटामा उनकी पत्नी मनदेवीले गाईको पुच्छर र देवकोटाको हात समाएर गाई दान गरिन् । साँझ पाँच बजे गोपाल पाण्डे असिम पनि हस्याङफस्याङ गर्दै त्यहाँ पुगे र उनले सारा नेपाली स्रष्टाका तर्फबाट भनेर देवकोटालाई अभिवादन चढाए । त्यस बेला देवकोटाले सबै दर्शकलाई दुई हात जोडेर ‘नमस्कार’ गरे । ती दुई हात क्रमशः चिसो, चिसो र चिसो हुन थाले । अनि त्यस कोठामा पसेर घाटे वैद्यले “अब सास जान आँट्यो, ब्रह्मनालमा लानुपर्यो” भने । त्यसपछि उनलाई उनका भाइ मधुसूदन र गोपीमाधव देवकोटाहरूले बोकेर ब्रह्मनालमा लगी सुताए । त्यहाँ देवकोटाका मुखमा वाग्मतीको पानीका थोपाहरू हालियो । त्यस बेला साँझको ६ बजेर १० मिनेट गइसकेको थियो । अन्ततः देवकोटा दिवङ्गत भएको सबैले थाहा पाए । उनी जसरी बेलुकी यस धर्तीमा जन्मे त्यसरी नै बेलुकीको आगमनसँगै यस लोकबाट बिलाए ।
देवकोटाको अन्तिम सासफेराइसँग त्यस समय त्यहाँ नरुने मान्छे प्रायः भेटिँदैन थिए । त्यस दिन त्यहाँ उपस्थित जनसागरका आँखा मात्र भिजेका थिएनन् सिङ्गो नेपाली भूमिमा नै झरी पर्दै थियो । बर्सादको त्यो समयमा वाग्मती पनि उर्लेर, भक्कानिँदै बहुलाएर बगिरहेको थियो ।
देवकोटाको भौतिक चोलालाई केही समय ब्रह्मनालमै राखिएको थियो । त्यति बेला उनकी पत्नी मनदेवीले घाटबाट कराउँदै एक्कैचोटि झ्याम्मै ब्रह्मनालमुनि वाग्मतीमा हामफालिन् । त्यति बेला उनका कम्मरसम्म आएर वाग्मती हुइँकिरहेको थियो । नदीसँगै युद्ध गरेर पनि उनले देवकोटाका दुवै खुट्टा समाएर अँगालो मार्दै ढोगिन् । उनले रुँदै कराउँदै देवकोटाका खुट्टा ढोगेको त्यो समय निकै कारुणिक र दर्दनाक थियो । त्यस दृश्यले त्यहाँ उपस्थित अरू मान्छे पनि विह्वल भएका थिए । त्यहाँ सिद्धिचरण श्रेष्ठ त एकातिर उभिएर क्वाँक्वाँ गरेर नै रोएका थिए । केही समयपछि सबैको रुवाबासीका सामु उनको भौतिक शरीरलाई ब्रह्मनालमुनि वाग्मतीको किनारका सिँढीमा सारिएको थियो । त्यसै बेला मन्त्री गणेशमान सिंहले रुँदै देवकोटाका खुट्टा ढोगेका थिए ।
देवकोटाको भौतिक चोलाको अन्तिम दर्शनका लागि आर्यघाटमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग केही मन्त्री र संवैधानिक अङ्गका प्रमुख पनि पुगेका थिए । त्यस घडी रुन्चे स्वरमा कोइराला बोले “म एकपटक हाम्रा महाकविको अनुहार हेर्न चाहन्छु ।” त्यसपछि देवकोटाको छोपिएको अनुहारबाट कपडा हटाइयो । त्यस दृश्यले कोइरालाका आँखा पनि टलपलाउन थाले । साथै त्यहीँ उभिएर कोइरालाले एक मिनेट मौन धारण गरे । अनि त्यहाँ उपस्थित मान्छेहरूका आँखाबाट क्रमशः–क्रमशः र क्रमशः आँसुको भेल बग्न थाल्यो । त्यही जनरोदनसँगै उनको चोलालाई चितामा चढाइयो । उनको देह पोलिएको दृश्य हेरेर धेरै स्रष्टा आर्यघाटमा उभिइरहे । वैदिक परम्पराअनुसार राति ११ बजे देवकोटाको दाहसंस्कार पनि सकियो र चितास्थलको खरानी पनि राम्ररी पखालियो ।
०००
देवकोटाको अन्त्य त्यसरी नै भयो, जसरी उनले केवल मृत्युको मात्र कामना गरेका थिए । अनि देवकोटा मरेपछि “उनी अष्टचिरञ्जीवीसरह बाँचिरहनेछन्” भन्ने विचार सर्वप्रथम भीमनिधि तिवारीले सुनाए । त्यसपछि अरू सबैले पनि त्यस्तै वचन नै वाचन गर्दै गए ।
देवकोटाको स्वर्गारोहणपछि गणेशकवि पं. श्यामदास वैष्णवले मनदेवी देवकोटालाई भनेका थिए, “बजै ! तपाईं ईश्वर खोज्न अन्तै लाग्नुभयो, तर ईश्वर तपाईंका घरमा भएको तपाईंले चालै पाउनुभएन ।” अनि वैष्णवका कुरालाई प्रत्युत्तर दिने क्रममा श्रीमती देवकोटा बोलेकी थिइन्, “हो रहेछ ! उहाँ स्वर्गीय भएपछि साधुहरू पनि श्रद्धाले सल्बलाएका थिए ।”
बाँच्नुपर्ने महाकवि देवकोटा मरे । पछि उनका विषयमा धेरैले धेरै कुरा लेखे । अक्षर खेलाउन रहर गर्नेदेखि अक्षर खेलाएर पारङ्गत भएकासम्मले उनका बारेमा लेखी नै रहे । त्यही क्रममा गोविन्द भट्टले लेखे, “जनताको श्रद्धा, भक्ति र प्रेम जित्न सजिलो छैन । त्यसको निम्ति देवकोटाजस्तै बाँच्न सक्नुपर्छ; अनि देवकोटा जस्तै मर्न पनि सक्नुपर्छ ।”
नेपाली धराबाट एक महामानव अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकोटाको भौतिक चोला समाप्त भयो । अनि त्यो शोकाकुल दिन २०१६ साल भदौ २९ गते सोमबार थियो । वास्तवमा त्यस दुःखमा धेरै दिनसम्म आकाशमा हावा सुकसुकायो, बादल रोयो र धर्तीको गह नै भरिइरह्यो ।