राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संकट टार्न अगुवाइ गर्न पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मंगलवार शीतलनिवास बोलाएर आग्रह गरेको समाचार सार्वजनिक भएको थियो । आज (बिहीवार) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा मुलुकमा राजनीतिक संकट पर्न सक्ने जनाउ दिएको समाचार सार्वजनिक भएको छ । महामारीको व्यवस्थापनमा सरकारले गरेको भ्रष्टाचार, लापरबाही, हेलचेक्य्राइँसमेतका कारण देशको आर्थिक र सामाजिक क्षेत्र त यसै पनि चरम संकटमै छन् । जनजीवन अस्तव्यस्त छ । बालबालिकाको सिंगो शैक्षिक वर्ष विनाउपलब्धि खेर भइसक्यो । अस्पतालमा बिरामीहरूका लागि ठाउँ छैन । डाक्टरहरूले तलबसम्म पनि नपाएको कारण जनाएर राजीनामा दिन थालेका छन् । देश संकटमा पर्नका लागि यति कारण पर्याप्त हुन्छ । यसैले देश संकटमा छ ।
दुर्भाग्य, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका लागि भने जनताका यी कुनै पनि सबाल चिन्ता र चासोका विषय बन्न सकेनन् । राष्ट्रपति संविधानको ‘पालक र संरक्षक’ मानिन्छन् । तर, राष्ट्रपति भण्डारीलाई त जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसमा पनि प्रधानमन्त्री ओली समूहको नेताको भूमिकामा देख्न थाले । महामारीका कारण नेपाली जनताको बिचल्ली हुँदा राष्ट्रपतिको भूमिका कतै देखिएन । आलंकारिक राष्ट्रपति भएकाले राष्ट्रपति भण्डारी मौन रहेकी हुन् भनेर मान्न पनि सकिन्थ्यो । तर नेकपाको आन्तरिक किचलोमा त उनको सक्रिय भूमिका देखियो । राष्ट्रपति भण्डारीको सक्रिय राजनीति गर्ने रहर मेटिएको छैन भने उनले पद त्याग गरे राष्ट्रपति पदको गरिमा बढ्नेछ । त्यस अवस्थामा उनी नेकपाको राजनीतिमा खुलेर संलग्न हुँदा कसैले औँलो उठाउँदैन । राष्ट्रपति भण्डारीको पार्टी मोहका कारण देशको सबैभन्दा सम्मानित पदको गरिमा संकटमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड—१९ कारण हजार जनाभन्दा बढी नेपालीको ज्यान गएकाले मुलुकमा संकट देखेका होइनन् । आर्थिक सूचकहरू नकारात्मक भएर अर्थतन्त्र थला बस्ने अवस्थामा पुग्नु पनि उनका लागि संकटको विषय भएको होइन । देशभरका बिरामीहरू अस्पताल बाहिर छटपटाएर मर्ने अवस्थालाई पनि प्रधानमन्त्री ओलीले संकट ठानेका हैनन् । उनले त आफ्नो पार्टीभित्रको किचलो र लुछाचुँडीलाई ‘राजनीतिक संकट’ को संज्ञा दिएका छन् । नेकपाका अध्यक्षका रूपमा पार्टीभित्रको किचलो उनको चासोको विषय हुनसक्छ । तर, त्यस्तो चासो धुम्बाराही वा पेरिसडाँडामा बसेर प्रकट गरे जनताको टाउको दुखाइ हुँदैन । नेकपाको किचलो जसरी टुंग्याए पनि जनचासोको विषय होइन । जनता महामारीबाट आक्रान्त हुँदा प्रधानमन्त्री ओलीले कहिल्यै संकट देखेनन् तर कुर्सी धरमर हुनेबित्तिकै राष्ट्रिय संकट देखे ! व्यक्तिले आफ्नै निम्तिमात्र सोच्न नपाइने होइन । तर, सार्वजनिक पदमा बसेपछि त्यसको दायित्व बोध गर्नुपर्छ । नेपाली जनताले हाल भोग्नुपरेको संकट मूलतः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्कै कारण गहिरिएको हो । अहिले नेपाली जनतालाई देशको चिन्ता गर्ने प्रधानमन्त्री चाहिएको छ ।