काठमाडौं । सागर पथरकट्टाको दैनिकी बिहान सबेरैदेखि ढुंगा खेलाएर सुरु हुन्छ । ढुंगामा छिना र हथौडाले विभिन्न आकार-प्रकार र बुट्टा भएका जाँतो, सिलौटो, ओखल बनाउने काम उनको पुर्ख्यौली पेसा हो । उनलाई थाहा छैन उनको कति पुस्तादेखि यो काम गरिँदै आइएको हो । तर उनले महसुस गरेका छन् कि उनका सन्तानहरुले भने आफूले र आफ्ना पुस्ताले गरेको काम गर्ने छैनन् ।
उनलाई आफ्ना पुस्ताले गरेको पेसाले गुजारा चलाउन मुस्किल पर्ने देखेर नै छोरा-छोरीलाई राम्रोसँग पढाउने उद्देश्य लिएको बताउँछन् । आधुनिकताका कारण मानिसले धेरै सुविधा पाएका छन् । तर उनको पेसा भने अत्याधुनिक मेसिनले खोसेको छ ।
उनी दैनिक रुपमा ढुंगाबाट बन्ने खलौटो, सिलौटो, जाँतो, खली, ओखीलीलगायत सामग्री बनाएर बेच्ने गरेका छन् । यसरी नै काठमाडौंको चाबहिल चोकमा १२/१५ परिवारले पुर्ख्यौली पेसा धानेका छन् । ढुंगामा कुँदेको मिहिनेत बेचेरै उनीहरुको दैनिकी चलेको छ ।
सागरका बुबाले पनि चाबहिलमै ढुंगाबाट सामान बनाएर बेच्ने गरेका थिए । सागरले ८ कक्षासम्म गाउँमै पढे अनि बाबुकै पछि लागेर चाबहिल आइपुगे । ‘‘बुबालाई बिमारले सताउन सुरु गरेपछि अहिले घर फर्किनु भएको छ,’’ उनले सुनाए । बाबुको सिको गरेर सागर काठमाडौं आए पनि अहिले उनका बाबु रोगले गाउँबाट सहर फर्कन सकेका छैनन् । बुबा घर फर्किए पनि काम भने चटक्कै छाड्न सकेका छैनन् । बेलाबेला छिनो र हथौडा बोकेर ढुंगा टाकटाक-टुकटुक गर्न लागिहल्छन् ।
०००
हिजोआज गाउँ-सहरमा ढुंगाबाट बनेका सामग्री कम बिक्ने गरेको सागर बताउँछन् । व्यापार भए पनि मिहिनेतको तुलनामा कम फाइदा हुने उनको अनुभव छ । उनी भन्छन्, ‘‘कहिले हजारको व्यापार हुन्छ त कहिले दुई हजारदेखि पच्चीस सयसम्मको व्यापार भइहाल्छ । सधैं व्यापार हुँदैन । कहिले खाली हात नै फर्कनुपर्छ ।’’
उनले बाटोमा दिनभर कमाइको साटो बाटोको धुलो-मैलोले छोपिएको शरीर मात्र लिएर घर फर्किनु परेको छ । ‘‘दिनभर कसैले सामान किनिदेला कि भनेर बाटोमा बस्यो, व्यापारै हुँदैन, खाली हात पनि फर्कनुपर्छ ।’’ उनले आकार नभएका ढुंगालाई छिनो र हथौडाको सहायताले आकार दिन्छन् । यसरी आकार दिन प्रयोग हुने ढुंगा पनि विशेष प्रकारकै हुन्छ । तराई र भारतबाट ल्याइने ‘जिन्दु’ जातको ढुंगामा बुट्टा कुद्न सहज हुने र भान्सामा प्रयोग गर्दा चोइटिँदैन । त्यही ढुंगाको प्रयोगले उनी खलौटो, सिलौटो, जाँतो, खली, ओखली बनाउँछन् ।
कुनै समयमा ढुंगाको विकल्प थिएन तर हिजोआज बजारमा मसला पिस्ने मेसिन छ्याप्छयाप्ती पाइन्छन् । मेसिनमा पिसेको मसलाले भन्दा ढुंगामा पिसेर बनाइने मसलाले बनेको परिकार स्वादिलो मान्नेहरु मात्र ढुंगाको सामान किन्न आउने गरेको सागर सुनाउँछन् ।
‘‘आफूले जानेदेखि नै यही काम गरियो । मलाई अरु कामबारे केही थाहा छैन । कमाइ कम भए पनि पुर्ख्यौली पेसा भएकाले चटक्कै छाड्ने आँट छैन । सुरु गर्छु भनेर आँट गरे पनि लगानी गर्न आफूसँग पैसा कहाँ छ र ?’ उनले भने ।
केही समयअघि व्यापार कम भएकै कारण विदेश जाने तयारी गरे पनि रकम अभावमा रोकिएको उनले बताए । ‘‘यही कामबाट दुई छोराछोरीलाई खुवाउन र पढाउन जेततेन पुगेको छ । अहिले त छोरा-छोरी सानै छन् र घर चलेको छ तर ठूला भएपछि के हुने हो ?’ उनले चिन्ता व्यक्त गरे ।
छोरा-छोरीले आफूले गरेको पेसा नअँगालुन् भनेरै उनले यहीँको सरकारी विद्यालयमा भर्ना गराइदिएका छन् । ‘‘हाम्रो जिन्दगी त जेनतेन चल्ला तर सन्तानले पनि यही काम गरे भने हात-मुख जोड्नै गाह्रो हुन्छ । छोरा-छोरीले राम्ररी पढे अरु नै काम गर्लान् नि,’’ उनी भन्छन् ।
उनले बनाएको सामान पाँच सयदेखि पच्चीस सयसम्मका छन् । एउटा जाँतो बनाउन दुई दिन लाग्छ । दुई दिन लगाएर बनाएको जाँतो बेच्दा दुई हजारदेखि पच्चीस सय रुपैयाँमा बिक्री हुन्छ । गाडी रिजर्भ गरेर, ढुंगा किनेर ल्याउँदा र आफूले गरेको मिहिनेतबाट बनेको जाँतोमा अलिअलि मात्र फाइदा हुने उनले सुनाए ।
दैनिक धुलो-धुवाँमा बसेर काम गर्दा निकै गाह्रो हुने उनले बताए । भन्छन्, ‘‘यो नै पेसा हो गर्नैपर्यो, अरुलाई लुटेर खानुभन्दा त छिना र हथौडा चलाएर खान सजिलो छ नि !,’’ सागरले जसरी ढुंगाको काम गर्ने मानिस चाबहिल, बसपार्क, वनस्थली र कोटेश्वरमा मात्र छन् । अरु ठाउँमा भएका मानिसहरु व्यापार कम भएको कारण कोही घर फर्किएको त कोही अलि व्यापार हुने यी चार ठाउँमै फर्किएका छन् । अरु ठाउँभन्दा चाबहिलमा व्यापार धेरै हुने भएको कारण अधिकांश पथरकट्टाहरु यतै भेटिन्छन् ।
०००
उनको व्यापारलाई पनि कोरोना महामारीले असर पार्यो । नेपालमा लकडाउन सुरु हुने बेलामा उनी पनि अरु श्रमिक जसरी घर फर्किए । तर घरमा भने लामो समय बस्न सकेनन् । काठमाडौंमा लकडाउन खुकुलो भएपछि फेरि यतै आए । उसो त उनी घर खासै जाँदैनन् । उनलाई आफू जन्मिएको गाउँ फर्कन दसैँ, दीपावली, होली नै आउनुपर्छ । सधैं दसैँमा घर जाने सागर योपटक भने गएनन् ।
‘‘यो साल रोगबाट बाँचियो भने अर्को साल जाउँला,’’ यो वर्ष टीकासमेत नलगाएको सुनाउँदै भन्छन्, ‘के-को टीका लगाउनु आफूले कमाएको पैसाले खान त पुगेको छैन् ।’’ उनी कुसवाडिया जातिमा पर्छन् । त्यसैले उनले जनजातिले पाउने दुई-तीन हजार रुपैयाँ भत्ता सरकारबाट पाउने गरेका छन् । यो दसैँ त्यही पैसाले थोरै मीठो-मसिनो खाएको सागरले सुनाए ।
उनलाई कमाइ कम भएकामा मात्र चिन्ता छैन । उनलाई त आफ्नो बाबुदेखि बस्दै आएको ठाउँबाट उठाउँदै गरेकामा धेरै मन पिरोलेको छ । टोलका मान्छेहरुले त लामो समयदेखि यहीँ बसेकाले अन्त जानु पर्दैन तर नगरपालिकाका कर्मचारीले भने उनीहरुलाई बेलाबेला यहाँबाट हटाउने गरेको सागरको गुनासो छ ।
‘‘यात्रो लामो समयदेखि यहीँ बसियो अब कता जानु र,’’ उनी अरु ठाउँमा गएर आफूले बनाएको सामान नबिक्ने सुनाउँदै भन्छन्, ‘‘मानिसहरुले ढुंगाबाट बनेको सामानका लागि यही ठाउँ चिनेका छन् ।’’ बिहान सबेरै सडकमा व्यापारका लागि आएका सागर रात झमक्क परेपछि नजिकैको पसलमा आफ्ना सामान राखेर डेरतर्फ लाग्छन् ।