site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘चौरसियाको हत्यारा जोगाउन संघीय सरकार नै सक्रिय छ’

जनकपुर । पर्सामा साताअघि नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्यासम्बन्धी घटनामा संलग्‍न दोषीलाई कारबाही माग गर्दै बुधबार सातौं दिन प्रदर्शन जारी छ ।

पर्साको विन्दवासिनी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टीको गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा विवाद हुँदा पार्टीभित्रै दुई समूहबीच विवाद उत्पन्‍न भएको थियो । सोही विवाद उग्र रुप लिएपछि हिंसात्मक झडप हुनपुग्यो र स्थानीय मुकेश चौरसियाको हत्या भयो ।

मृतक चौरसिया नेकपाका पर्सा जिल्ला सदस्य एवं विन्दवासिनी गाउँपालिका पार्टी कमिटीका सचिव थिए । उनको हत्या भएको एक साता बित्‍दा पनि प्रहरीले घटनाविरुद्धको जाहेरी दर्ता गर्न तयार भएको छैन । घटनामा संलग्‍न दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न एक पक्षले माग गरिरहेको छ भने अर्को पक्ष दोषीको संरक्षण गर्न अडिग देखिइरहेको छ ।

Dabur Nepal
NIC Asia

घटना कात्तिक ६ गतेको हो । वीरगन्‍जदेखि करिब ९ किलोमिटरको दूरीमा विन्दवासिनी गाउँपालिकामा पार्टीको गाउँपालिका एकाइ कमिटीका पदाधिकारीलाई शपथ ग्रहणका लागि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद उत्पन्‍न भयो । सोही विवाद हिंसात्मक रुप लिएपछि चौरसियाको हत्या हुन पुगेको प्रहरी भनाइ छ । 

घटनापछि पीडित परिवारले मुकेशको हत्यामा संलग्‍न व्यक्तिहरुको नामै किटेर जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पुग्यो । प्रहरीले सहज रुपमा जाहेरी लिन नमानेपछि पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिए । पीडित परिवारलाई साथ दिन पूर्वमाओवादी नेता एवं नेकपा स्थायी सदस्य मातृका यादवसमेत घटनास्थल पुगे । तर, उनीहरुको केही लागेन ।

नेपाली कांग्रेसले विज्ञप्ति नै जारी गरी नेकपा कार्यकर्ता चौरसियाको हत्यामा संलग्‍न दोषीको पहिचानगरी कारबाही गर्न माग गर्‍यो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्वयंले पनि प्रेस विज्ञप्ति जारी गरी दोषीउपर कारबाहीको माग गरे । तर, प्रहरीमा जाहेरी दर्ता हुन सकेन ।

अपराधीलाई कारबाही गर्न किन तयार छैन प्रहरी ?
नेकपा नेता एवं पूर्वमन्त्री मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा दोषी बचाउने षड्यन्त्र भइरहेको आरोप लगाउँछन् । ‘‘दिनदहाडै पार्टी कार्यकर्ताहरुको भिडमा एकजना नेताको हत्या हुन्छ । घटनामा संलग्‍न दोषीहरुको नामै किटेर पीडित परिवारले जाहेरी दिन्छ । त्यो जाहेरी दर्ता गर्नसम्म प्रहरीले आलटाल गर्छ । यो कुनै पनि हालतमा सामान्य घटना होइन,’’ नेता यादवले बाह्रखरीसँग भने ।

घटनापछि प्रहरीले समेत प्रारम्भिक अनुसन्धानको क्रममा चौरसियाको हत्या पुष्टि गरिसकेको छ । ‘‘जाहेरी दर्ता गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री आफैंले प्रहरीलाई निर्देशन दिइसके पनि घटनाको जाहेरी दर्ता नहुनुको पछाडि गृहमन्त्रीभन्दा माथिको शक्तिले खेलिरहेको प्रस्ट छ,’’ यादवले थपे, ‘गृहमन्त्रीभन्दा ठूलो शक्ति प्रधानमन्त्रीबाहेक अरु को हुनसक्छ ?’’

अझ जाहेरी दर्ता गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको साटो प्रहरीले घटना सेलाउने दाउ देखाइरहे प्रदेश स्तरीय आन्दोलनको तयारीमा जुट्ने यादवले चेतावनी दिए । देशका प्रधानमन्त्रीले नै हत्यारालाई संरक्षण गर्न थालेपछि आफूहरुसँग आन्दोलनको विकल्प नरहेको उनले जिकिर गरे । 

‘मुकेश चौरसियाको हत्यारालाई माथिबाटै संरक्षण भयो, प्रहरीले जाहेरी लिनै मानेन’

यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पनि संघीय सरकारकै दबाबमा प्रहरीले चौरसिया घटनाको छानबिन अगाडि बढाउन नसकिरहेको दाबी गरेका छन् । घटनालगत्तै प्रदेश प्रहरी प्रमुखलाई आफूले फोन गरी दोषीलाई कुनै बहानामा उम्किन नदिन आग्रह गरे पनि संघीय सरकारको विशेष दबाब र अवरोधको कारण हत्यारा खुलेयाम घुमिरहेको मन्त्री यादवले आरोप लगाए ।

प्रहरीको संरचना प्रदेश सरकार मातहत रहेको भए चौरसिया हत्याको रहस्य सार्वजनिक भइसकेको हुने थियो र हत्यारालाई कानुनको दायरामा ल्याइसकेको हुन्थ्यो भन्‍ने दाबी मन्त्री यादवको छ । उनले यस्तै दादागिरी गर्न संघीय सरकारले प्रदेश सरकार मातहत प्रहरीको संरचना निर्माण गर्न अवरोध गरिरहेको आरोप पनि लगाए । 

यता, जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तले भने मुकेश चौरसियाको हत्यारालाई पक्राउ गर्न र कारबाही गर्न कुनै सरकार वा अमूक नेताको दबाब नरहेको जिकिर गरेकी छन् । जाहेरीमा केही कमजोरी रहेको उल्लेख गर्दै उनले बाह्रखरीसँग भनिन्, ‘‘घटनालगत्तै घटनास्थलको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोले समेत घटनास्थलमा उपस्थिति नरहेको देखाइरहेको व्यक्तिको नाम किटेर जाहेरी आएको हुँदा सच्याएर ल्याउन आग्रह गरेकी हुँ । नियमसंगत आएको जाहेरी दर्ता गरी अपराधीलाई कानुनको दायरामा ल्याउन प्रहरीले आलटाल गरेको आरोप गलत हो ।’’

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro