site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बलात्कारविरुद्ध कडा कानुन ल्याइने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ६५ औं प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो । उहाँले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत  र सजक रहनु उत्तिकै जरुरी रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानून ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कार विरुद्ध पनि त्यस्तै कडा कानून ल्याइने बताए । “बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भने, “बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।” 

उनले यस्ता घटनामा भनसुन र सामाजिक दबाबबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देश गरे । उनले कानून कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पुर्‍याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विश्वसामु अदृश्य शत्रुको रुपमा देखा परेको कोभिड–१९ महामारीको चुनौती व्याप्त रहेको र नेपालमा गर्न खोज्दाखोज्दै पनि नियन्त्रणमा आउन नसकेको बताए । संक्रमणको विषम अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट प्रदर्शन भएको कर्तव्य परायणताको उनले खुलेर प्रशंसा गरे । यस्तो अवस्थामा आत्मानुशासन र संयमित रहनुपर्ने कर्तव्य नभुल्न आम समुदायसँग उहाँले अनुरोध गरे । 

प्रधानमन्त्री ओलीले भने, “सङ्क्रमणको महामारीबाट कोही पनि भयभीत हुने होइन, उच्च सतर्कता कायम राख्नुपर्छ, यस्ता घातक रोगले कुनै पनि बेला कसैलाई पनि आक्रमण र नोक्सान गर्नसक्छ भन्ने बारेमा सर्तक रहनुपर्छ ।” उनले महामारीको घडीमा सङ्क्रमण फैलिन निरोधात्मक उपाय अवलम्बन गर्नुको विकल्प नभएकोसमेत बताए । उनले जोखिममा रहेर कर्तव्यपालनामा खटिँदा सङ्क्रमित हुन पुगेका सबैको स्वास्थ्यलाभको कामना गरे ।

मुलुकको समृद्धि, समुन्नती र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु जरुरी रहेकोतर्फ प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीको ध्यानाकर्षण गराए । उनले त्यसैको जगमा बसेर कानूनी शासन, मानवअधिकार र सुशासन तथा विकासका आधार निर्माण हुने उल्लेख गरे । नेपाल प्रहरीलाई मुलुकको आन्तरिक सुरक्षाको मियोको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यवोधले मात्रै मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्ने विश्वास व्यक्त गरे । - रासस

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  २०:१५
प्रतिक्रिया दिनुहोस्