site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डा. सुरेन्द्र सिटौलाका दुई कविता

सत्ता 

सत्ता !
अस्ति पनि उस्तै हो 
हिजो पनि त्यस्तै हो 
अधिकांश सत्ता 
अस्तिको जस्तै हो 

गजब छ सत्ताको संसार 
हिजो माहाभारत हुँदै थियो 
हस्तिनापुर रुँदै थियो 
रक्त पिपासु सत्ता 
कुरुक्षेत्रमा रगत बगाउँदै थियो 
शकुनिहरु रमाउँदै थिए 
भीष्म सत्यको विवेक 
रगत सँगै बगाउँदै थिए 
सत्ता न हो !
मान्छे मार्नुभन्दा पहिले 
कृष्ण अर्जुनलाई 
ज्ञान मुक्ति र विवेकको 
गीता पढाउँदै थिए 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिजो रोम जल्दै थियो 
सम्राट नेरो रमाउँदै थियो 
सत्ता नयाँ सपना सजाउँदै थियो 
रोमनहरुको सुस्केरा 
चित्कारको जुलुसमा हराउँदै थियो 
आखिर सत्ता न हो 
ऊ आफैंभित्र रमाउँदै थियो 
ठाउँ-ठाउँको सत्ता 
उस्तै उस्तै हो 
ऊ आगोको फूलजस्तै हो 
ऊ मात्तियो भने 
आफूसँगै देश जलाउँछ 
पालो गर्दै नयाँ सत्ता 
फेरि मखुण्डो भिरेर आउँछ 

सत्ताको मोहनी 
अस्ति विश्‍वयुद्ध लडाउँदै थियो 
लाखौं यहुदीहरुको चिहानमा 
सत्ताको उन्माद रमाउँदै थियो 
उसको अभिमान 
रगतको चुस्कीमा मात्तिएर 
विजयी गीत गाउँदै थियो 
अनायास उसको अवसानमा 
अर्को निर्लज्ज सत्ता 
मानवमुक्तिको गीत गाउँदै 
यतै कतै आउँदै थियो 
कुटिल सत्ता ! 
स्वतन्त्रताको श्रीपेच भिरेर 
विश्‍वलाई उपनिवेश बनाउँदै थियो 
आखिर सत्ता न हो !
उसको मूल स्वरुप अविनाशी छ 
ऊ सधैं भाग्यमानी छ 

सत्ता कतै धर्म लडाउँछ 
कतै अर्थ खन्याउँछ 
आफ्नै स्वामित्वमा सत्ता
मलाई गुलाम बनाउँछ 
सत्ताको कुटिल मन्त्रले 
मानवता सधैं रुवाउँछ 
पटक-पटक स्वरुप फेर्दै 
हाम्रै कोठेबारीमा 
सत्ता बेरोकटोक 
आफ्नै घोडा कुदाउँछ 

००००

गुरु पूर्णिमा 

आज गुरु पूर्णिमा !
गुरुको ज्ञानले 
चौतारीको रुख सँग 
संवाद गर्न सिकायो 
रुखले उसको पाठशालामा 
मलाई झिकायो र भन्यो 
जाऊ तिमी 
अर्को रुख भएर आऊ 
गर्मी पिएर आफैं 
म जस्तै 
शीतल बनी रमाऊ 

गुरु पूर्णिमाको दिन 
गुरु मलाई ढुंगाको शिष्य बनाउँथे 
ढुंगाको मूर्तिलाई ढोग्‍न लगाउँथे 
ढुंगाले कानमा साउती गर्दै भन्थ्यो 
"आऊ तिमी अब मसँगै आऊ 
चट्टान जस्तै कठोर भएर 
यात्रीले भारी बिसाउने 
चौतारीलाई सजाऊ 
देशको सिमाना रुङ्ने 
मजस्तै 
निष्ठाको चट्टानी पर्खाल भई रमाऊ " 

गुरु पूर्णिमाको दिन त हो 
गुरुले मलाई स्कुलबाहिर कतै हिँडाउँथे 
तल अविरल बगिरहने नदी चिनाउँथे
नदीको आत्मकथा पढाउँथे 
कथा सुनेर म रमाउँथें 
म रमाएको देखेर 
नदी मलाई फकाउँदै भन्थ्यो  
"आऊ तिमी पनि अब मैले जस्तै 
अनन्त यात्राको मीठो गीत गाऊ 
अविरल निष्ठा र परिश्रमको 
अन्तहीन आनन्दमा रमाऊ"

गुरु पूर्णिमाको दिन 
गुरु मलाई 
हावासँगै पढ्न पठाउँथे 
म हावासँगै उड्न रमाउँथें 
हावाले मलाई आफूजस्तै 
तुफानी वेगमा अघि बढ्न सिकायो 
अप्ठ्यारा समस्याविरुद्ध 
अनन्तसम्म भिड्न सिकायो 

गुरु नै त हुन् 
मलाई माटो चिनाउने 
माटोको अमृत सबैलाई पिलाउने 
अमृतपानपछि 
माटोले मलाई जीवन चिनायो 
गुरुको सामीप्यमा जीवन 
औधी रमायो 
गुरु जति पोखिँदै गए 
म उति नै भरिदै गएँ 
पोखिएर कहिल्यै नरित्तिने गुरु भन्छन् 
" मलाई भेट्न 
गुरु पूर्णिमा कुर्नु पर्दैन 
फूलको मालाले 
मेरो प्रतिमा सजाउनु पर्दैन 
बस् ! 
तिमी गुरु भएको सुन्‍न पाए 
गुरु पूर्णिमाको दिन 
गुरुभेटी मलाई चढाउनु पर्दैन " । 

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १२:२१
प्रतिक्रिया दिनुहोस्