site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस युवा नेता भन्छन्– कोरोनालाई देखाएर महाधिवेशन प्रभावित गर्न पाइँदैन, प्रविधिको प्रयोग गर्न सकिन्छ 

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ का कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशन अन्योलमा परेको छ । महाधिवेशनको अन्तिम मिति यथावत राखेर परिमार्जन गरिएको कार्यतालिकाअनुसार आन्तरिक संरचना समायोजन, क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुन नसकेपछि महाधिवेशन अन्योलमा परेको हो ।

गत असार २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन ७–१० मा महाधिवेशन यथावत राखेर अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसले अझै ११ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ ।

यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।  

विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्न सकेको छैन । प्रदेश नम्बर २ का आठ जिल्लासँगै मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले अन्तरिम संरचनाहरु समायोजन गर्न बाँकी छ ।

कोभिड–१९ का कारण कार्यतालिका प्रभावित भएपछि कांग्रेसमा महामारीका बीच कसरी महाधिवेशन गर्ने भन्ने बहस सुरु भएको छ । 

पूर्वनिर्धारित महाधिवेशनको मितिसम्म नै कोभिड–१९ को महामारी अहिलेकै अवस्थामा यथावत रहे कांग्रेससामु महाधिवशेनका लागि के–के विकल्प हुन सक्छन् त ?

कोभिड–१९ महामारीको प्रभाव यथावत रहेको अवस्थामा महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयनका लागि कांग्रेसका केन्द्रीय सदस्यहरुले अनेक विकल्पहरु औंल्याएका छन् । उनीहरुले अहिलेकै कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न सकिनेदेखि नेपालको संविधानले राजनीतिक दलसम्बन्धी गरेको व्यवस्थाअनुसार छ महिना पछाडि धकेलेर महाधिवेशन गर्न सकिनेसम्मका विकल्पहरु प्रस्तुत गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी कोभिड–१९ लाई देखाएर महाधिवेशन सार्ने पक्षमा देखिँदैनन् । उनी प्रविधिको उपयोग गरेर पूर्वनिर्धारित मितिमै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा उनी देखिएका छन् । नेता डा. भण्डारीले महाधिवेशनका लागि नेतृत्वमा पार्टीप्रतिको सकारात्मक चिन्तन, सोच र इमान्दारिता भए कोभिड–१९ को महामारीका बीच पनि महाधिवेशन गर्न कुनै समस्या नभएको दाबीसमेत गरे । 

उनले पार्टीले महाधिवेशन गर्ने जिम्मा आफूलाई दिए महामारीका बीचमा निष्पक्ष ढंगले महाधिवेशन सम्पन्न गरेर देखाइदिनेसमेत ठोकुवा गरे ।

“कोरोनालाई देखाएर महाधिवेशन सार्नपर्छ भन्ने पक्षमा म छैन, टेक्नोलोजी प्रयोग गरेर महाधिवेशन गरिनुपर्छ । नेतृत्वमा चिन्तन, सोच र इमान्दारिताको कुरा भयो भने महाधिवेशन गर्न कुनै समस्या नै छैन,” नेता डा. भण्डारीले भने, “पार्टीले हामीलाई जिम्मा देओस्, अन्य तीनजना साथी छानेर कम खर्च र निष्पक्ष ढंगले म महाधिवेशन गरेर देखाउन सक्छु । तँ अधिवेशन गर्ने भएका कारण चुनावमा उठ्न पाउँदैनस् भन्यो भने पनि म तयार छु ।”

कांग्रेसका युवा नेता कल्याणकुमार गुरुङले कोभिड–१९ को जोखिम साबिक बमोजिम नै रहे महाधिवेशन सम्पन्न गर्नका लागि दुईवटा विकल्प पार्टीसामु रहेको प्रतिक्रिया दिए । 

पहिलो– वर्तमान कार्यसमितिको पदावधि सम्पन्न हुने मिति आगामी फागुन २२ । दोस्रो– संविधान बमोजिम छ महिना म्याद थप ।

“हामीले आगामी फागुन ७ देखि महाधिवेशन गर्ने तय गरेका छौं । कथम्कदाचित त्यो अवधिमा महाधिवेशन गर्न सकिएन भने १५ दिन पछि अर्थात फागुन २२ मा महाधिवेशन गर्न सकिन्छ । त्यो बेलासम्म अहिलेको कार्यसमितिको पदावधि यथावत रहन्छ,” उनले बाह्रखरीसँग भने, “अर्को संविधानमा भएको व्यवस्था बमोजिम छ महिना म्याद थप गरेर पनि महाधिवेशन गर्न सकिन्छ ।”

अहिलेको कार्यसमितिको अन्तिम म्याद फागुन २२ मा महाधिवेशन गर्नका लागि नेता गुरुङले आगामी माघबाट तल्लो तहका संरचनाहरुको अधिवेशन गर्नुपर्ने बताए ।  “माघबाट फागुनसम्म वडा तहदेखि जिल्लासम्म सबै तहको अधिवेशन गर्न सकिन्छ । बाँकी रहेको २२ दिनमा केन्द्रको महाधिवेशन गर्न सकिन्छ, कुनै समस्या हुँदैन,” उनले भने ।

अर्को विकल्पका बारेमा कुरा गर्ने क्रममा केन्द्रीय सदस्य गुरुङ संविधानअनुसार थपिएको छ महिने कार्यकाल अर्थात आगामी भदौमा महाधिवेशन गर्नुपर्ने पक्षमा भने सहमत देखिएनन् । आगामी जेठ महिनाभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने उनको भनाइ छ ।

“कोरोना यही क्रममा रहिरह्यो भने संविधानअनुसार छ महिना थप्न सकिन्छ । त्यसपछि चैतदेखि वैशाखसम्म तल्लो तहका अधिवेशनहरु सम्पन्न गरेर जेठमा केन्द्रीय महाधिवेशन गरिनुपर्छ,” गुरुङले भने, “अब कार्यतालिका परिमार्जन गर्दा जेठभन्दा पछाडि महाधिवेशनको मिति तोकिनु हुँदैन । किनभने कारणबश पनि जेठमा गर्न सकिएन भने भदौसम्म गर्ने गरी समय राख्नुपर्छ । अहिले नै भदौमा गर्ने गरी तोकिए त्यो बेला पनि अधिवेशन गर्न सकिए पनि पार्टी सामु संकट आइपर्छ ।”

कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेलको महाधिवेशन सम्बन्धी धारणा पनि नेता गुरुङको धारणासँग मेल खाएको छ । उनले पनि कोभिड–१९ महामारीले फागुन ७ मा महाधिवेशन गर्न नसकिए आगामी जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गरिनुपर्ने बताए ।

“कोरोनाले पाँच वर्षभित्रमा महाधिवेशन गर्न सकिएन भने साढे पाँच वर्षभित्र गर्ने भनेर केन्द्रीय कार्यसमितिले निर्णय गर्ने, महाधिवेशनले त्यसलाई पास गर्ने,” नेता पौडेलले बाह्रखरीसँग भने, “संविधानअनुसार थपिने छ महिनाको समयावधिमा महाधिवेशन गर्दा आगामी जेठभन्दा पछाडि जानु हुँदैन ।”

उनले जेठभन्दा पछाडि जान नहुनुको कारण पनि प्रस्तुत गरे । “जेठमा महाधिवेशन गर्ने भनेर तयारी गर्दै जाँदा तयारी पुगेन भने भदौमा जान सकिन्छ । भदौमा तोकेर तयारी गर्दै जाँदा तयारी पुगेन भने हामीसँग समय थप्ने बाटो नै हुँदैन,” नेता पौडेलले भने, “त्यसैले अहिलेको अवस्था यस्तै रहिरह्यो भने जेठ उत्तम विकल्प हो । भदौमा तोकेर अधिवेशन गर्न सकेन भने पार्टी दुर्घटनामा पर्नसक्छ । तयसैले जानाजान दुर्घटनामा पर्ने काम नेतृत्वबाट हुनुहुँदैन ।”

कांग्रेसका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि कोभिड–१९ महामारी अहिलेकै अवस्थामा रहे आगामी फागुनमा महाधिवेशन असम्भव रहेको प्रतिक्रिया दिए । उनले पनि फागुनमा महाधिवेशन गर्न नसकिने अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गरेर आगामी जेठमा महाधिवेशन गर्न सकिने बताए ।

नेता विश्वकर्माले कोभिड–१९ का कारण महाधिवेशनको कार्यतालिकाअनुसार कार्यसम्पादन गर्न कठिनाइ भएको बताउँदै आगामी मंसिरबाट अन्तरिम संचरना समायोजन र क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम सुरु गर्ने, फागुन पहिलो साताबाट तल्लो तहका अधिवेशनहरु सुरु गर्ने र जेठमा केनद्रीय महाधिवेशन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro