राष्ट्रिय बाल अधिकार परिषद् ( छोटकरीमा परिषद्) को २०७६ को तथ्यांकअनुसार ४६ जिल्लामा रहेका ५३३ बालगृहमा १५ हजार ५६५ बालबालिका संरक्षित रहेकाछन् । बालगृहहरू समाजिक संस्था दर्ता ऐन, २०३४ अथवा कम्पनी ऐन, २०६३ अनुसार स्थापित स्वतन्त्र संस्था हुन् । परिषद्ले बालगृहहरूको अनुगमन गर्ने, बालगृहहरूबाट भएका गैरकानुनी काम कारबाहीमाथि निगरानी राख्ने गर्छ ।
तत्कालीन केन्द्रीय बालकल्याण समिती र हाल परिषद्को स्थापनापछि परिषदबाट लगातार बालगृहहरूबाट बालबालिका उद्धार गरिएको सुनिरहेका छौँ । विशेषतः परिषद्ले नै अनुगमन गरेका ती बालगृहबाट बालबालिकालाई उद्धार गरिएको पाइन्छ । यसरी गरिएका केही उद्धारहरू विवादित भएकोछ र यो विषय अदालतसम्म पनि पुगेकोछ ।
जोरपाटीस्थित एक बालगृहका बालबालिकालाई सर्वोच्च अदालतले बालगृहलाई नै फिर्ता गर्न तत्कालीन केन्द्रीय बालकल्याण समितिलाई आदेश दिएको थियो भने उद्धार गरेर राखिएको स्थानमा झन् राम्रो व्यवस्था नभएको बालबालिकाले बयानसमेत दिएका थिए । हाल पनि कपनस्थित बालगृहमा रहेका बालबालिकालाई गरिएको उद्धार पनि विवादित हुन पुगेको छ र हाल यो उद्धारको विषय अदालतको निर्णयाधिकारमा रहेकोछ ।
बालबालिकाको उद्धार (एक स्थानबाट अर्को स्थानमा सार्ने प्रक्रिया, स्थानान्तरण) को मुख्य उद्देश्य तल्काल जुन स्थानमा बालबालिका रहेकाछन् उक्त स्थानमा बालबालिकाको असुरक्षा र बाल हिंसाको जोखिम स्पष्ट देखिएमा उनीहरूको सर्वोत्तम हितको सुनिश्चितताको लागि गरिने हो । बालबालिकाको सर्वोत्तम हितको सुनिश्चितता नहुने अवस्थामा त बालबालिकाका आफ्नै बाबुआमाबाट समेत छुट्ट्र्याएर स्थानान्तरण गरिन्छ ।
बालबालिकाको अनावश्यक स्थानान्तरण भने उनीहरूको सर्वोत्तम हितविरुद्धमा हुने र यसले बालबालिकामा ठूलो मानसिक असर पुग्ने विभिन्न अध्ययन प्रतिवेदनबाट स्पष्ट देखिएकोछ । यसकारण पनि बालबालिकाको स्थानान्तरण गर्दा अपनाउनु पर्ने प्रक्रिया स्पष्ट निर्धारण हुनु जरुरी । साथै, कुनै पनि निकायले बालबालिकाको स्थानान्तरण गर्दा स्पष्ट स्थानान्तरण प्रक्रिया अवलम्बन गर्नुपर्छ ।
नेपालमा बालगृहबाट होस् वा परिबारबाट बालबालिकाको स्थानान्तरण गर्नुपर्दा तिनको सर्वोत्तम हितको सुनिश्चिततासहितको आधार र प्रक्रियाको मापदण्ड छैन । यसकारण यस प्रकारको प्रक्रियाविनाको कुनै पनि स्थानान्तरण बालबालिकामाथि गरिएको अर्को हिंसा नै हो ।
नेपालमा बालबालिकाको सर्वोत्तम हित सम्बन्धमा वैधानिक व्यवस्था
१. नेपालको संविधानको धारा ५१ को राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रूपमा स्वीकार गरिएको पाइन्छ ।
२. बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ३ को बालबालिकाप्रतिको दायित्वको दफा १६ को उपदफा १ मा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने शीर्षकमा “बालबालिकासँग सम्बन्धित कार्य गर्ने प्रत्येक निकाय तथा संस्थाका अधिकारीले हरेक काम कारबाही गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिई आवश्यक बालमैत्री प्रक्रिया अपनाउनु पर्नेछ” भन्ने व्यवस्था छ ।
बालबालिकाको सर्वोत्तम हितको परिभाषा
सर्वोत्तम हितको कुनै एकै प्रकारको परिभाषा छैन र हुन पनि सक्दैन । मूलतः निर्णयाधिकारीले बालबालिकाको हितको लागि निर्णय गर्दा उक्त बालबालिकालाई उमेर, समय, परिस्थिति, संरक्षक तथा परिवारको आयस्रोतलगायतको आधारमा सबभन्दा राम्रो व्यवस्थापन गर्न गरिने निर्णय नै सर्वोत्तम हितको अवधारणा हो ।
सर्वोत्तम हितको मापन कसरी गर्ने ?
बालबालिकाको सर्वोत्तम हितको मापन गर्दा एउटामात्र होइन धेरै पक्षहरू जोडिएको हुन्छ । विषेशतः बालबालिकाको स्थिति, तत्कालीन समय, परिवार तथा संरक्षकको क्षमता, बालबालिकाको मानसिक अवस्था, उनीहरूको सुरक्षा तथा बाच्न पाउने अधिकारलगायत पर्छन् । यिनै परिस्थितिहरूको उचित मूल्याङ्कन गरेरमात्र उनीहरूको सर्वोत्तम हितको निर्धारण गर्ने गरिन्छ ।
बालबालिकाको स्थानान्तरणको समयमा सर्वोत्तम हित निर्धारण गर्दा मुख्यरूपमा निम्नलिखित आधारहरूलाई ध्यान दिनुपर्ने विश्वव्यापी मान्यता छ । समय र परिस्थितिअनुसार अन्य थुप्रै आधारहलाई पनि निर्णयाधिकारीले ध्यान दिनु आवश्यक छ ।
पहिलो, बालबालिकाको इच्छा वा चाहना अथवा तिनको विचारलाई प्राथमिकता । बालबालिकालाई एउटा स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्दा कम उमेरका बालबालिका बाहेक (५ वर्षभन्दा मुनि) उनीहरूको विचार अथवा चाहना के हो स्पष्ट बुझ्नु जरुरी हुन्छ । उच्च जोखिमपूर्ण हिंसाको अवस्थाबाहेक उनीहरूको स्वीकृति, चाहनाविना कुनै एक स्थानबाट अर्को स्थानमा जबर्जस्ती लैजानु बालबालिकामाथिको हिंसा हो ।
दोस्रो, बालबालिकालाई एउटै वातावरणमा राख्न प्राथमिकता । बालबालिकाको बस्ने स्थान, पढ्ने स्कुल, साथी, स्याहारसुसार गर्ने व्यक्तिहरू परिवर्तन गर्नु बालमनोविज्ञानको दृष्टिकोणबाट हानिकारक हुने मानिन्छ । त्यसबाट बालबालिकाको मुख्यतयः संज्ञानात्मक (सिकाइसम्बन्धी) विकासमा नकरात्मक असर पर्छ ।
बालबालिकाको स्याहारको प्रमुख आधार नै माया, ममता र आफ्नोपन हो । बालबालिका उच्चजोखिममा रहेको स्पष्ट आधारविना बालबालिकालाई स्थानान्तरण गर्नु हुँदैन । कुनै परिस्थितिमा गर्नै पर्ने भएमा उनीहरूको नियमित दैनिकी, स्कुल, चिनजानका साथी, अन्य प्राकृतिक वातावरण सकेसम्म परिवर्तन नहुने बन्दोबस्त मिलाउनु पर्छ ।
तेस्रो, लालनपालनको उचित व्यवस्था नभएको अवस्थामा । परिवार तथा संरक्षकले बालबालिकालाई आवश्यक आधारभूत गाँस, वास, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्ने हुन्छ । कुनै पनि संरक्षक तथा परिवारले यस्तो व्यवस्था गर्न नसकेको र बालबालिकालाई आवश्यक सुविधा तल्काल सोही स्थानमा दिन सक्ने अवस्था रहेनछ भनेमात्र स्थानान्तरण गर्न सकिन्छ । सकेसम्म सोही वातावरणमा बालबालिकालाई राख्ने अवस्था सिर्जना गर्न प्राथमिकता दिनु राज्यको दायित्व हो ।
चौथो, स्थानान्तरण गर्दा बालबालिकामाथि पर्ने प्रभावको मूल्याङ्कन हुनु अति जरुरी हुन्छ । एउटा वातावरणबाट उनीहरूको इच्छाविपरीत र उपयुक्त मनोसमाजिक विमर्शविना स्थानान्तरण गर्दा बालबालिकामाथि मानसिक, भावनात्मक र शारीरिक प्रभाव कस्तो पर्छ र त्यसले तिनको दैनिकीमा पुग्न सक्ने नकारात्मक पक्षको मूल्याङ्कन अत्यन्त जरुरी हुन्छ । यस प्रकारको अध्ययनबाट बालबालिकालाई स्थानान्तरणबाट हुनसक्ने नकारात्मक पक्षहरूलाई कम गर्न सहयोग गर्छ ।
पाचौँ, अर्को महत्त्वपूर्ण पक्ष बालबिालकाको सुरक्षा । बालबालिकाको सुरक्षामा खतरा देखिएमा र बालबालिकालाई सो स्थानबाट जसरी पनि स्थानान्तरण गर्न नसके उनीहरूको जीवन उच्च जोखिममा पर्ने देखिएमा स्थानान्तरण गर्नुपर्ने हुन्छ ।
छैटौं, पारिवारिक बिछोड भएको अवस्था । बालबालिकालाई उनीहरूको परिवारबाट छुट्याएर राखेको अवस्थामा उनीहरूलाई जतिसक्दो जाँडो तिनकै परिवारमा पुनःस्थापना गर्नुपर्छ । पारिवारिक पुनःस्थापनाको नाममा पटकपटक एउटा बालगृहबाट अर्को बालगृहमा स्थानान्तरण गर्नु बालबालिकाको सर्वोत्तम हितविपरीत हुन्छ ।
अर्कातिर, परिवारमा पुनःस्थापनाको नाममा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने क्षमता बालबालिकाको परिवारमा भएको सुनिश्चित नहुँदा पनि जबर्जस्ती स्थानान्तरण झन् जोखिमपूर्ण हुन्छ । त्यसैले यसो गर्नु पनि बालबालिकाको सर्वोत्तम हितविरुद्ध हुन्छ । परिवारमा पुनःस्थापना गर्नुभन्दा पहिले बालबालिकाको पारिवारिक अवस्थाको मूल्याङ्कन, प्रत्येक बालबालिकाको पुनःस्थापना योजना र जोखिमको मूल्याङ्कन हुनु जरुरी हुन्छ ।
सातौं, बालबालिकाको गोपनीयता कायम हुनुपर्छ । बालबालिकाको उद्धारको नामबाट संचारमाध्यम बोकेर प्रहरी ड्रेसमा गएर प्रहरी भ्यानमा राखेर जसरी स्थानान्तरण गर्ने गरिएको छ यो पूर्णतः उनीहरूको सर्वोत्तम हित विपरीत हुन्छ । बालबालिकाको स्थानान्तरण कुनै अर्को संस्थाको परियोजनाका रूपमा संचालित हुनु र एक बालगृहबाट अर्को बालगृहमा बालबालिकाको इच्छा विपरीत, उनीहरूलाई केही दिनको मनोसमाजिक विमर्शविना स्थानान्तरण गरी समाचार बनाउनु बालहिंसा हो । यसले बालबालिकाको गोपनीयता र उनीहरूको प्रतिष्ठामा आँच पुग्छ ।
अन्त्यमा, राज्यले बालगृहबाट बालबालिकालाई स्थानान्तरण गर्दा अपनाउनु पर्ने स्पष्ट मापदण्ड बनाउनु आवश्यक छ । बालबालिकाको सुरक्षा र जीवनरक्षामा स्पष्ट जोखिम रहेको अवस्थामा मात्र स्थानान्तरण गर्ने व्यवस्था हुनुपर्छ ।
बालगृहहरूले बालबालिका गैरकानूनी रूपमा भर्ना गरेको, बालगृहहरू दर्ता नभएको, परिवार भएको बालबालिका बालगृहमा रहेको अवस्थामा आवश्यक कानुनी कारबाही गरेर सोही बालगृहबाट नै उनीहरूलाई परिवारमा पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ। एकाध महिनाको पुनःस्थापनाको समयमा अर्को स्थानमा बालबालिकाको स्थानान्तरण हिंसा हो भने यस प्रकारको स्थानान्तरण पनि सर्वोत्तम हित विपरीत हुन्छ ।
कुनै बालगृहले आधारभूत जीवनयापनको मापदण्ड पूरा नगरेको अवस्था भेटिएमा उनीहरूको स्कुल, साथी, स्थान, हेरचाह गर्ने व्यक्ति परिबर्तन वा अर्को बालगृहमा स्थानान्तरण नगरी सोही बालगृहबाटै राज्यले जिम्मा लिई दिगो लालनपालनको व्यवस्था गर्नुपर्छ ।
स्थानान्तरण गर्नु नै पर्ने अवस्थामा बालबालिकालाई मनोसमाजिक विमर्श गरी उनीहरूको स्वीकृतीमा हाँसीखुसी मात्र स्थानान्तरण गर्ने व्यवस्था हुनु नै बालबालिकाको सर्मोत्तम हितमा हुन्छ । (अधिवक्ता)