site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
निषेधाज्ञामा पनि किन घटेन उपत्यकामा कोरोना संक्रमण ? 

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि दुई सातादेखि सरकारले निषेधाज्ञा जारी गरेको छ ।  उपत्यका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो । भदौ ३ गतेसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार ४९८ थियो । निषेधाज्ञा सुरु भएयता १५ दिनसम्म उपत्यकामा चार हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् । 

भदौ ४ गतेदेखि १८ गतेसम्म १५ दिनको अवधिमा चार हजार ५४० जना संक्रमित थपिएका हुन् । उनीहरुले निषेधाज्ञाको अवधिमा संक्रमितको संख्या नघट्‌नुमा निषेधाज्ञाको प्रभावकारी पालना नभएको जनस्वास्थ्यविद्‍हरुले बताएका छन् । 

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोना संक्रमण निषेधाज्ञामा घट्नुपर्ने भएपनि बढ्दो अवस्थामा रहेको बताएका छन् । कोरोना परीक्षणको दायरा निकै साँघुरो रहेको उनी बताउँछन् । काठमाडौं उपत्यकामा ६० लाख जनसंख्या भए पनि एक दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्मको मात्रै कोरोना परीक्षण गर्दा संक्रमणको अवस्था थाहा पाउन नसकिने उनले बताए । 

सरकारले 'पुलिङ मेथड'बाट परीक्षण गर्दा अहिले भएको स्रोत-साधन र जनशक्तीबाट पुग्‍ने डा. पाण्डेले बताए । उनका अनुसार कोरोना परीक्षण र 'कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने हो भने कोरोना संक्रमणको धरातलीय यथार्थता थाहा हुन्छ । "सरकारले २४ हजारको कोरोना परीक्षण गर्ने क्षमता भएको बताउँदै आए पनि किन नगरेको ?" उनले प्रश्‍न गरे ।

उनका अनुसार बृहत परीक्षण गरेर अध्ययन गरेमा कोरोना 'पिक' पुग्‍ने अवधि र संक्रमणको अवस्थाबारे थाहा पाउन सकिने र कहिले घट्‌ने र कति अवधि पिकमा रहिरहने भन्‍ने थाहा हुन्छ । तर, नेपालमा भने कहिले एक हजारभन्दा माथि देखिने र कहिले आठ सयमा झर्ने गएको छ । तर महामारीमा यस्ता नहुने डा. पाण्डेले बताए ।

उपत्यकाको मुख्य सडकमा मात्र निषेधाज्ञा पालना भएको देखिन्छ तर भित्री बस्ती तथा गल्लीमा देखिँदैन । “निषेधाज्ञाको पालना भएको छ कि छैन भनेर प्रहरीले भित्रि बस्ती तथा गल्लीमा अनुगमन र निगरानी गर्नुपर्ने थियो । तर त्यस्तो भएको छैन् । अहिले पनि पहिलाभन्दा खासै फरक देखिँदैन,” उनले भने, “मास्क नलगाइ हिँडेका वा गलत तरिकाले मास्कको लगाएको छ भने कारबाही गर्ने, दूरी कायम गर्न लगाउने कार्य गरिएको भए निषेधाज्ञा धेरै सफल हुन्थ्यो ।”

निषेधाज्ञा नै असफल भए कोरोना नियन्त्रणका लागि अन्य विकल्प नरहेको उनले जानकारी दिए ।

लकडाउन (बन्दाबन्दी) जसरी खोलियो निषेधाज्ञा पनि त्यसरी नै खोल्यो भने निषेधाज्ञा गरेको कुनै अर्थ नहुने भएकोले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनुगमन र निगरानी गर्दै विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै जानुपर्ने उनले जानकारी दिए । 

"विगतका महामारी हेर्दा पनि हेर्दा कम्तीमा पनि दुईदेखि तीन वर्षसम्म रहरिहेको देखिन्छ," उनले थपे, "त्यसकाण यो महामारी कतिसम्म जान्छ थाहा छैन । यो भाइरससँग जोगिँदै आफ्ना दैनिक अगाडि बढाउनुपर्छ ।" 

त्यसैगरी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले सरकारले निषेधाज्ञालाई महामारी नियन्त्रण गर्न थप तयारी र मौकाको रुपमा लिनुपर्ने भए पनि सही उपयोग हुन नसकेको बताए । “धेरै परीक्षण गर्ने र 'कन्ट्क्याट ट्रेसिङ' गरेर संक्रमित पत्ता लगाउनुपर्थ्यो,” उनले भने । उनका अनुसार काठमाडौं उपत्यकामा कोरोना बढ्नुको कारण भिडभाड हो । भिडभाड हुनेबित्तिकै त्यहाँ कोरोना संक्रमणको जोखिम हुने उनले बताए । 

“वडा कार्यालयमा भिड, मालपोत कार्यालयमा भिड, महानगरपालिकामा भिडले गर्दा उपत्यकामा संक्रमण ह्वातै बढ्यो,” उनले भने, “भिडलाई कसरी वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने, कर्मचारी र सेवा ग्राहीलाई कोरोना सर्नबाट कसरी रोक्ने विषयमा सरकारले नसोच्दा कोरोना संक्रमण बढ्यो ।”
निषेधाज्ञा लगाउने चुप लागेर बस्‍ने काम भयो । निषेधाज्ञा गरेपछि परीक्षण दायरा बढाएर संक्रमित खोज्‍नुपर्ने उनको तर्क छ । निषेधाज्ञा हुँदा घर-घरमै संक्रमण बढेको उनले बताए ।

उनका अनुसार कोरोनाबाट बच्‍ने उपाय अर्थात जनस्वास्थ्यको मापदण्ड पालना गर्दै मास्क अनिवार्य लगाउने, दूरी कायम गर्ने र साबुन पानी वा स्यानिटाइजरले हात धुने गरेमा यसबाट जोगिन सकिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने निषेधाज्ञा नभएको भए अझै संक्रमितको संख्या बढ्ने दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको संख्या घट्न अझै दुई साता लाग्‍ने बताउँछन् । उनका अनुसार कोरोना संक्रमण सर्ने चक्र दुईदेखि तीन साताको हुन्छ । तीन साता यता किन निषेधाज्ञामा पनि संक्रमण दर घटेन भन्‍न नसकिने उनले बताए । 

उनले भने, “अहिले निषेधाज्ञा भएको दुई साता भयो । अबको दुई साता निषेधाज्ञा गर्दा पनि संक्रमण दर घटेन भने पुन: निषेधाज्ञा  गर्नुको कुनै अर्थ हुँदैन ।”

उनका अनुसार जुन-जुन स्थानमा बढी संक्रमित भेटिएका छन्, त्यो स्थानलाई बन्द गरे आवतजावत रोक्‍नुपर्छ । कोरोना संक्रमण बढी भएका क्षेत्रमा संक्रमित खोजेर परीक्षण गर्नुपर्ने डा. गौतमले बताएका छन् ।

निषेधाज्ञा यता उपत्यकामा कति बढे कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा निषेधाज्ञा यता १५ दिनमा चार हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् । 

भदौ ४ गते  काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा १७४ जना, भक्तपुरमा आठ जना र  ललितपुरमा १८ जना संक्रमित थपिएका थिए । 

भदौ ५ गते उपत्यकामा १८२ जना संक्रमित थपिएका थिए । जसमा  काठमाडौं  १४२ जना , भक्तपुरमा १५ जना र ललितपुरमा २५ जनामा कोरोना देखिएको थियो । 

भदौ ६ गते  उपत्यकामा २१६ जना संक्रमित थपिएका थिए , जसमध्ये काठमाडौंमा १६० जना, भक्तपुरमा ५० जना र ललितपुरमा  छ जना संक्रमित थपिएका थिए । 

भदौ ७ गते उपत्यकामा १६६ जना संक्रमित थपिएका थिए ,जसमध्ये काठमाडौंमा १२६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको थियो । 

भदौ ८ गते काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना देखिएको छ,जसमध्ये  काठमाडांैमा १७७ जना, भक्तपुरमा १४ जना र ललितपुरमा ३३ जना संक्रमित 

भदौ ९ गते काठमाडौं उपत्यकामा २३२ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जनामा  संक्रमण देखिएको थियो । 

भदौ १० गते उपत्यकामा ३०१ जना संक्रमित भएका थिए । जसमा काठमाडौंमा २३० जना, भक्तपुरमा  २४ जना र ललितपुरमा  ४७ जनामा संक्रमित थपिएका थिए ।

भदौ ११ गते काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो जसमा  काठमाडौंमा २७० जना, भक्तपुरमा  ४१ जना र ललितपुरमा  ६६ जना संक्रमित भएका थिए ।

भदौ १२ गते काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना पोजेटिभ भेटिएका थिए । जसमध्ये काठमाडौंमा ३५० जना, भक्तपुरमा  ५४ जना र ललितपुरमा ११ जना रहेका थिए ।

भदौ १३ गते उपत्यकामा १८६ जनामा कोरोना संक्रमण देखिएको थियो जसमा काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र १९ जना ललितपुरमा संक्रमण देखिएको थियो । 

भदौ १४ गते काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण देखिएको थियो ,जसमध्ये काठमाडौंमा ३७२  जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ संक्रमित थपिएका थिए ।

भदौ १५ गते काठमाडौं उपत्यकामा २९८ जना संक्रमित भए जसमध्ये काठमाडांै १९० जना ,भक्तपुर ४१ जना र ललितपुरमा ६७ जना रहेका छन् । 

भदौ १६ गते काठमाडौं उपत्यकामा ४८१ जनामा कोभिड १९ देखिएको थियो ।जसमध्ये३९३ जना ,भक्तपुरमा ३० जना र ललितपुरमा  ५८ जना रहेका थिए ।

भदौ १७ गते उपत्यकामा ३८८ जना संक्रमित भएका थिए ।जसमा काठमाडौं ३५० जना, भक्तपुर ९  र ललितपुर २९ जनामा संक्रमण देखिएको थियो । 

भदौ १८ गते बिहिबारसम्म काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमति थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना संक्रमण देखिएको छ  हालसम्म  उपत्यकामा कोरोना संक्रमितको संख्या सात हजार ३८ रहेको छ । 

देशैभर कोरोना कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro