
लोकदोहोरीको फाँटमा कुलेन्द्र विश्वकर्माको प्रवेश ०६० सालमा भयो । १७ वर्षको यो दौडानमा उनले आफ्नो परिचय फराकिलो बनाइसकेका छन् । सयौं गीतमा आफ्नो स्वर भरेका कुलेन्द्र लोकदोहोरी गायनमा आज पनि उत्तिकै सक्रिय छन् । ‘सालको पातको टपरी हुने’ पछिल्लो समय उनको सर्वाधिक लोकप्रिय गीत हो । ‘जिम्बाल बाको आँगनीमा’, ‘डाँडै खुर्पे सल्लो’, ‘नजाउ है सानी पँधेरीमा’ लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् । उनै कुलेन्द्रसँग बाह्रखरीका नरेश फुयाँलले कोरोनाको त्रासको चपेटामा कलाकारको अवस्था, कोरोना कालपछिको अवस्था, लोकगीत–संगीतमा देखिएको विकृति, अग्रजको टिप्पणी, नयाँ पुस्ताको उत्तरदायित्त्वलगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।
० ० ०
लकडाउन र निषेधाज्ञाले आराम गर्ने समय दियो, हैन ?
शारीरिक रूपमा आराम भए पनि मानसिक रूपमा बिरामी हुने समय भयो । पूर्वनिर्धारित कार्यक्रमहरू सबै परिवर्तन भइसके । शारीरिकभन्दा मानसिक आरामको आवश्कता महत्त्वपूर्ण हो । ६ महिना भयो सबै काम ठप्प छन् । शारीरिक आराम मात्रै भयो, मानसिक आराम गर्न पाइएन ।
कोरोनाको त्रास सहज भएपछिका लागि तयारी गरिरहनुभएको छ ?
कोरोनाको त्रास कहिले कम हुने निश्चित छैन । विश्व स्वास्थ्य संगठनले चाहिनेभन्दा धेरै त्रास सिर्जना गरेजस्तो लाग्छ । सञ्चारमाध्यमले पनि अझै धेरै त्रसित बनायो । हाम्रो कामै धेरै दर्शकमाझ गएर पफर्म गर्ने हो । त्यसकै वातावरण नभएपछि त सहज हुने कुरै भएन । अवस्था सहज भएपछिका लागि केही गीत तयार पारेको छु ।
व्यक्तिगत रूपमा कति घाटा लाग्यो चैतयता ?
व्यक्तिगत रूपमा धेरै घाटा छ । सबै काम ठप्प छ, दैनिकी चलाउनै कठिन हुने अवस्था आइसक्यो । ब्याकअप राम्रो हुनेलाई त ठीकै होला । तर नहुनेलाई असहज अवस्था आइसकेको छ । सामान्य मान्छेलाई पनि कठिन भइसक्यो । संस्थागत रूपमा पनि धेरैलाई गाह्रो भइसकेको छ ।
युरोप र अमेरिकालगायत थुप्रै देशमा स्टेज कार्यक्रम थिए । ती सबै रद्द भए । भिसा लिइसकेको थियो । तर कोरोनाले कतै जान पाइएन ।
तपाईंजस्तो संख्यागत रूपमा थुप्रै गीत गाउने र बाक्लै स्टेज पाउने कलाकारलाई ५/६ महिना घरमै बस्दा कठिन हुने अवस्था छ भने आम कलाकारको अवस्था के होला ?
बेस्सरी गाह्रो छ । हामी स्टेज पाउने र रेकर्डिङ गरिरहने कलाकारलाई त गाह्रो छ भने भर्खर–भर्खर आएका नामकै लागि संघर्ष गर्नेलाई त झन् गाह्रो हुने नै भयो ।
लकडाउनकै बीच पनि थुप्रै गीत सार्वजनिक भए, तपाईंले पनि गाउनु नै भयो होला ?
दुई–तीनवटा बाहेक मैले गीत गाइनँ । कारण मैले मसँगै अरू पनि सुरक्षित हुनुपर्छ भन्ने सोचेँ । जेसुकै होस् भनेर गरेको भए त हुन्थ्यो होला । तर घर–परिवारको पनि स्वास्थ्यलाई पनि मध्येनजर गर्दै मैले धेरै काम गरिनँ पहिलाकै काम पनि सहज भएपछिका लागि भनेर थाँती राखेको छु ।
लोकगीतको बजार बाहिर देखिनेभन्दा ठूलो छ हो ?
हो । पहिलाको तुलनामा अहिले बजार निकै फराकिलो भएको छ । अहिले सामान्य लोकगीत पनि मिलियन मिलियन भ्युज जान्छ । यो लोकगीतको बजार विस्तार भएको प्रमाण हो । युवापुस्तामा लोकगीतप्रतिको मोह केही वर्ष अगाडिसम्म थिएन । तर अहिले युवा पुस्ताले पनि लोकगीत मन पराउन थालेको छ । हरेक चलचित्रमा लोक फ्लेबरका गीत अनिवार्यजस्तै भएको छ । यो पनि लोकगीतको बजार विस्तार भएको र फराकिलो हुँदै गएको अर्को प्रमाण हो ।
लोक र लोक–दोहोरी गीतले रैथाने भाका गुमाउँदै गएको आरोप नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानले लगाउँदै आएको छ, हो ?
यसमा दुईवटा कुरा देख्छु म । रैथाने भाका कति समयसम्म रैथाने भएर रहने भन्ने पनि होला । सय–पचास वर्ष पुराना गीतलाई पुनर्जीवन दिन पाइन्छ होला । तर यसका लागि अग्रज पुस्तालाई सम्मान गर्नुपर्छ । धेरै परिमार्जन नगरी, सर्जकले पनि चित्त नदुखाउने गरी पुनः रेकर्ड गर्न सकिन्छ । संस्कृति नहराउने गरी त्यसलाई पुनः बाहिर ल्याउन पाउनुपर्छ जस्तो लाग्छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र प्रज्ञाले भनेजस्तै यी कुरा उठाउनुपर्ने भएको छ । किन भने पछिल्लो समय केही गायक–गायिकाले अग्रज अब्बल स्रष्टाका सिर्जनालाई ल्याएर उरन्ठेउलो पाराले प्रस्तुत गर्ने गरेको पाइन्छ । ओजस्वी शब्दलाई हल्का तरिकाले प्रस्तुत गरेको पाइएको छ । समाजले पचाउनै नसक्ने गरी प्रस्तुत गर्ने प्रवृत्ति खेदजनक छ ।
जोसँग गाउने कला पनि राम्रो छैन । जोसँग आवाजको गुणस्तर पनि छैन । उनीहरूले नै पुराना लोकलयका गीतहरूलाई बिगारेको पाइन्छ । यसको जवाफदेही उनीहरू हुनुपर्छ ।
लोकगीतका नाममा आउने गीतले नै लोक–भाका नसमेट्ने, लोक जीवन र माटोको सुगन्ध नदिने हो भने किन लोकगीत भनेर गाउनु ?
राम्रा स्रष्टाहरूले गायक र तयार पारेका गीतहरू आज पनि राम्रा नै छन् । र भोलि पनि राम्रा नै हुनेछन् । साँच्चै लोकगीत भनेर लागेका कलाकारले लोकगीतको मर्म मार्दैनन् । त्यसो गर्न सक्दैनन् । तर पछिल्लो समय केही कलाकारले बजारको मागअनुसार लोकगीत भन्ने तर लोकगीतको रूप कतैबाट पनि नदेखिने गीत ल्याएका छन् ।
यो त भयो विकृतिको कुरा । अब मेरोबारे भन्नुपर्दा मैले मेरो गीत लोकगीत हो कि होइन भन्नेमा सधैं ध्यान दिने गरेको छु । शब्द र लय कस्तो छ, लोकगीत–संगीतको क्षेत्रमा मैले गाउन लागेको गीतले के योगदान पुर्याउँछ भन्नेमा म सचेत छु ।
लोकगीतका नाममा अनावश्यक प्रयोग भयो, जुन हाम्रो लोक संस्कृतिका लागि नै घातक हो । किन हामी आफ्नै खुट्टामा बन्चरो हानिरहेका छौं ?
राजनीति र व्यापारमा प्रयोग हुने शब्द बिचौलिया गीत–संगीतमा पनि प्रयोेग भइरहेको छ । उता बिचौलिया भन्ने शब्द यता फ्युजनभन्दा अलि राम्रो सुनिएला । तर यसले लोकगीतमा भने राम्रो गरिरहेको छैन ।
लोक, लोकदोहोरी, आधुनिक, पप, लोकपपबाट तानेर मिसमास गरेर बनाइएका गीत कुन गीत हुन् ठम्याउन पनि कठिन छ । त्यस्ता गीतको माग पछिल्लो समयमा बजारमा धेरै छ । हाहो, उच्छृङ्खल गीतहरू रातारात युट्युबमा ट्रेन्डिङमा आउने र त्यस्तैले पैसा कमाउने देखिएको छ । तर पनि केही छैन । कोरोनाको महामारीपछि यस्ता कलाकार छाँटिन्छन् होला । यो लामो अन्तरालपछि जो गीत–संगीत भनेर मरिहत्ते गरेर लागेका छन् उनीहरू मात्रै रहन्छन् कि जस्तो पनि लाग्छ । हामी भोकै मरे पनि यही गीत–संगीतकै लागि मर्नेछौं । सच्चा दिलले लागेकाहरूबाट लोकगीतलाई खतरा छैन । जसलाई आज गाएर भोलि हिट हुनु छ र पैसा कमाइहाल्नु छ । उहाँहरूबाट विकृति भित्रिरहेको देखिन्छ । तर यो रङ्ग–रमाइलो र पपुलारिटी क्षणिक हुन्छ त्यसैले यसमा धेरै चिन्ता गर्नुपर्दैन । सकेसम्म सचेत गराउने हो तर यसकै घोत्लिएर बसिरहनु पर्दैन ।
हाम्रो संस्कार र पहिचानका रूपमा रहेको गीत हामीले बेचेर खायौं भन्ने अग्रज सष्टाहरूको गुनासो छ । उहाँहरूको गुनासो सुन्नु नयाँ पुस्ताको उत्तरदायित्त्व होइन ?
तपाईंले इङ्गित गरेका अग्रज स्रष्टाहरू को–को हुनुहुन्छ मैलै अनुमान लगाएँ । तीनजना हुनुपर्छ मेरो बुझाइमा । जसले नयाँ पुस्ताले लोक–कला, संस्कृति, भाका र गीत बेचेर खायो बचाएन भन्नुहुन्छ अथवा भनिरहनु हुन्छ । उहाँहरू नयाँ पुस्तालाई स्वीकार्नु नै हुन्न । हामी मात्रै गायक गायिका हामीले नै सबै थामेका छौं भन्ने उहाँहरूको बुझाइ छ । ठीक छ, उहाँहरूको योगदान लोकगीत संगीतको क्षेत्रमा अतुलनीय छ । र हामीले उहाँहरूको यो योगदानलाई खुला हृदयले स्वीकार पनि गरेका छौं । तर हामी युवा पुस्तामा पनि लोकगीतमा राम्रो गरिरहेका कोही न कोही एकजना त हौंला नि । यसले चाहिँ राम्रो गर्यो है भनेर हौसला दिनु पर्दैन । सधैंभर विकृति मात्रै भित्र्यायो भनेर भनिरहने । उहाँहरूको पुस्तापछि अर्को पुस्ता नआएको भए लोक तथा लोकदोहोरी आजको अवस्थामा आइपुग्थ्यो । हाम्रो योगदान छैन । कहाँ के बचेर खायौं ? यहाँ भएन, यसलाई सच्याऊ भन्नु पर्दैन ? होला मलाई भन्नुभएन । तर यो क्षेत्रमा म पनि भएकाले यसको असर मलाई पनि पर्छ ।
जो यो आरोप लगाउँदै हुनुहुन्छ उहाँहरूकै गीत हिजो प्रतिबन्ध लगाएको होइन समाजले । उच्छृङ्खल भए, समाजले सुन्न सकेन भनेर ।
निश्चय नै लोकगीतमा केही विकृति छ तर यो आरोप जसरी लागिरहेको छ । योचाहिँ अरूको अस्तित्त्व स्वीकार गर्न नसक्दा गरिने टिप्पणी मात्रै हो ।
गाउँगाउँ जाने हो भने पुरानो पुस्तासँग अझै पनि ठेट लोक–भाका र शब्द छन् । उहाँहरूको मृत्युसँगै ती भाकाहरू पनि हराएर जानेछन् । त्यसलाई संकलन गरेर ल्याउने जाँगर हामीसँग किन भएन ?
तपाईंले भने जस्तै धेरै कला, संस्कृति र संस्कारहरू गाउँमा लुकेर बसेको अवस्था छ । हामीले गाउँमा यस्तो थियो भनेको सुनेको कुरालाई गीत बनाएको मात्रै हो । र त्यसैलाई लोकले मन पराइरहेको पनि छ ।
हामी गाउँ जान सकेका छैनौं । काठमाडौंमै बसेर यस्तो हुन्थ्यो रे भनेको सुनेका आधारमा गीतकारले भावनामा डुबेर लेखेका गीत गाइरहेका छौं । यस्तै गीत नै मन पराइएको पनि छ ।
रह्यो हामी गाउँगाउँ पुगेर बाहिर आउन नसकेका भाकाहरू किन ल्याएनौं भन्ने । बजेट पनि एउटा कारण हो । जो लोकगीत–संगीत भनेर मरिमेटेर लागेको छ, ऊसँग पैसा नहोला । जान मन छ गाउँमा तर कुनै संघ–संस्थाले आर्थिक सहयोग गर्दैन । यसमा सम्बन्धित संघ–संस्थाले सोच्नुपर्छ । कोठे लोकगीत भनेर कुरा उठेको आज होइन धेरै समय भइसक्यो । तर केही कोठे गीतले पनि राम्रै लोक भाव बोकेका छन् ।
लोकदोहोरीका नाममा बाढी आएको छ, यो कहिले सङ्लिएला ?
गीत–संगीतमा साँच्चै बाढी नै छ । साउन छ । यो बाढी कहिल्यै पनि नघटे त हुने हो । तर कहिले बगरमा परिणत हुने हो ठेगान छैन । पछिल्लो समय विशेषगरी लोकदोहोरीमा धेरैले चासो देखाउनुभएको छ यो समग्र्र सांगीतिक क्षेत्रका लागि राम्रो पक्ष हो । जस्तै धेरै गायक–गायिका अरूका गीत गाइदिएर जीविकोपार्जन गर्नसक्ने अवस्था छ । कति एरेन्जर, कम्पोजर, वाद्यबादक, स्टुडियो सञ्चालक, रेकर्डिस्ट, सम्पादन, मोडल, निर्देशक तथा डान्सरहरूलाई रोजगार मिलेको छ ।
तर यससँगै कस्ता व्यक्ति कलाकारका रूपमा आइरहेका छन्, कस्ता गीत र भाका आइरहेका छन् । यसले समाज र संस्कृतिमा योगदान गरिरहेको छ कि विकृति भित्रिरहेको छ योचाहिँ महत्त्वपूर्ण पक्ष हो । तपाईंले आज गरेका प्रश्न अहिले भइरहेको कर्मको परिणाम भोलि कस्तो आउला भन्ने चिन्ता हो । त्यसैले सकेसम्म यस्तो बाढी नआएको राम्रो शान्त नदी नै दिगो र भरपर्दो हुन्छ । त्यसैले आशा गरौं चाँडै नै लोक तथा लोकदोहोरीको क्षेत्र सङ्लियोस् भन्ने अपेक्षा राखौं । दर्शक तथा सञ्चारजगतको पनि यसमा सकारात्मक भूमिका रहोस् ।
तस्बिर कुलेन्द्रको फेसबुकबाट