
कोरोनाभाइरसको असरले प्रदेश २ को जनकपुरधाम पनि अछुतो छैन । स्थानीय सरकारका गुनासा बजेट संघीय सरकारले परिचालन गरेको तर स्थानीय तहलाई सहयोग नगरेकोलगायतका छन् । कोरोनाभाइरसको संक्रमण रोकथामको प्रयास, शिक्षा, स्वास्थ्य र विकास निर्माणलगायत समसामयिक विषयमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहसँग बाह्रखरीका सुरेश यादवले गरेको कुराकानीको संक्षिप्त अंशः
कोरोना कहरको चपेटबाट जनकपुरधाम पनि अछुतो रहन सकेन । कोरोनाको सामना कसरी गर्दै हुनुहुन्छ ?
कोभिड १९ (कोरोनाभाइरस) ले संसार नै प्रभावित छ । हामीले पनि करिब पाँच महिनादेखि कोरोनाबाट बच्ने उपाय अपनाउनुदेखि संक्रमण नियन्त्रणको प्रयासमा लागेका छौं । फागुनको अन्तिम साता जनकपुर विमानस्थलमा हेल्पडेस्क स्थापना गरी यहाँबाट जाने र बाहिरबाट आउने यात्रुहरुको ‘टेम्प्रेचर’ नाप्न थाल्यौं । जसले गर्दा कोरोनाका शंकास्पद व्यक्तिहरु डाइभर्ट हुन थाले ।
दोस्रो– हामीले सफाइका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढायौँ । सफाइ र स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई प्रशिक्षित गरेर सक्रियता बढायौं । कोरोना नियन्त्रणका लागि पालिकामा फोकल पर्सन तोक्यौं । कर्मचारीहरुमा हात मिलाउनुको साटो नमस्कार गर्ने बानीको विकास गर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धोइरहनेलगायत सन्देश सर्वसाधारणमा सम्प्रेशण गर्न १५ दिनसम्म २५ वटै वडामा माइकिङ गरायौं ।
स्वास्थ्य चौकीहरुलाई अलर्ट गराएर सामान्य बिरामीहरुलाई पनि गम्भीरतापूर्वक जाँच र औषधि वितरण गर्न निर्देशन दिएँ । यस पालिकामा १४ स्वास्थ्य चौकी र ९६ जना स्वास्थ्यकर्मी छन् । उनीहरुलाई पीपीई, बाल्टिन, जग, साबुन, वाटरहिटर र थप औषधिको आपुर्ति गरियो । एकमहिनामै ४० हजार सिटामोल आपूर्ति गर्नुपरेको थियो ।
अहिलेको अवस्था कस्तो छ ?
हामी यतिबेला अघोषित दोस्रो चरणको बन्दाबन्दीमा छौं । चैत ११ गतेदेखि सुरु गरिएको बन्दाबन्दी असारको अन्त्यतिर आएर खुकुलो हुँदै साउन ६ गतेबाट सरकारले नै खुकुलो गरेको घोषणा गर्यो । लगत्तै बजारमा चहलपहल बढ्न थाल्यो । भारतका विभिन्न प्रान्तमा रोजगारको सिलसिलामा गएकाहरु स्वदेश फर्किन थाले । भारतमा रेलवे सुरु भएपछि एकैपटक ठूलो संख्यामा कामदारहरु फर्के । हामीले बाहिरबाट आउनेहरुलाई नियन्त्रण गर्दागर्दै संक्रमण फैलिन थाल्यो ।
सबैतिर भीडभाड बढेपछि कोरोनाका संक्रमण समुदायमा पस्यो । भारतीय बजारबाट नेपालतर्फ आउजाउमा सहज हुन पुग्यो । नभन्दै बस्तीबस्तीमै कोरोना पुगिसकेपछि जिल्ला प्रशासन कार्यालयहरुको माध्यमले निषेधाज्ञा जारी गर्न थालियो । बन्दाबन्दी भनेर नभनिए पनि यो पनि एक हिसाबले बन्दाबन्दी नै हो ।
अब संक्रमितलाई व्यवस्थापन र थप संक्रमण फैलिन नदिन कस्तो प्रयास भइरहेको छ ?
जनकपुरमा अहिले करिब साढे दुईसय वेडको आइशोलेसन छ । पाँचसयको संख्यामा विस्तार गर्ने प्रयासमा छौं । यसका लागि प्रदेश सरकार र संघीय सरकारसँग पनि समन्वय र सहकार्य भइरहेको छ ।
हामीले पाँचवटा क्वारेन्टिन सञ्चालन गरेका थियौं । गोपाल धर्मशालामा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुरुप एकसय वेडको क्वारेन्टिन अहिले पनि सञ्चालनमा छ । बाहिरबाट आएकालाई १४ दिनसम्म क्वारेन्टिन गरेपछि पीसीआर जाँच गरेर पोजेटिभ आउनेलाई आइसोलेशनमा र निगेटिभलाई घर पठाउने गरिएको छ । त्यस्तै, थप संक्रमण फैलिन नदिन सकेसम्म बाहिर ननिस्कन, निस्किनै परे अनिवार्य रुपमा मास्क लगाउने र पटक पटक साबुन पानीले हात धोइरहन सर्वसाधारणलाई सचेत गराउने काम भइरहेको छ ।
जनकपुरमा तपाईं आफैँ कति सुरक्षित ठान्नुहुन्छ ?
मलगायत जनप्रतिनिधि चाहेर पनि घरभित्र बसिराख्न सकिँदैन । विभिन्न चरणका बैठकहरुमा सहभागी हुनुपर्ने हुन्छ । अब कसरी अघि बढ्ने, के कुरालाई प्राथमिकता दिनेजस्ता विषयमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेना सबैसँग निरन्तर समन्वय भइरहेको छ । आफु सचेत हुनुपर्छ । हरेक व्यक्तिलाई आफु स्वयंलाई पनि शंकाको नजरले हेर्नुपर्छ । मैले आफु पनि जोगिनुपर्छ र अरुलाई पनि जोगाउनुपर्छ भनेर सचेत हुनु आवश्यक छ ।
म आफैँ तीन महिनादेखि आफ्नै घरमा पनि छुट्टै कोठामा बसिरहेको छु । यति कुरा हरेक नागरिकले बुझिदिए संक्रमण नियन्त्रण सम्भव छ । म पनि बाहिर जान्छु । भीडभाडमा हुने सफाइ, बैठकलगायतका कामहरुमा सहभागी हुने गरेको छु । तर, घर फर्केपछि कपडा फुकालेर धुने, नुहाउने काम गरेपछि मात्र कोठामा पस्ने र घरमा पनि परिवारका अन्य सदस्यसँग दुरी कायम गरी छुट्टै कोठामा सुत्ने, काम गर्ने गरिरहेको छु ।
बजारमा हरियो साग, सब्जी र माछा, मासुको खरिद बिक्री सहज छैन नि !
हो, दैनिक उपभोग्य वस्तुहरु खासगरी साग सब्जी र माछा मासुको बजार अस्तव्यस्त भएको छ । यसको व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षाकर्मीसँगको बैठकमा पनि पहल गरेको छु । बजारमा दुरी कायम गरी हरियो सागसब्जी बेच्ने वातावरण बनाइदिनुपर्छ ।
बजार व्यवस्थापनमा वडा कार्यसमितिहरुलाई जिम्मेवारी दिनुपर्छ । ग्राहकले पनि अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र दुरी कायम गर्ने काममा सचेत हुनुपर्छ ।
हाम्रोतिर पर्व मेलाको मौसम आइसक्यो । हामीले पूजापाठ गर्ने परम्परालाई निरन्तरता दिने तर भीडभाड बढ्ने कुनै पनि मेला नलगाउन सचेत गराएका छौं । सकेसमम बजारमा ननिस्कन र निस्कनै परे मास्क अनिवार्य रुपमा लगाउने, पटकपटक हात धुने जस्ता कार्य प्राथमिकतामा छ ।
प्रदेश र संघीय सरकारसँग कस्तो समन्वय भइरहेको छ ?
सबै पक्षसँग राम्रो समन्वय भइरहेको छ । यस्तो बेला राम्रो समन्वय हुन सकेन भने परिणाम राम्रो आउन सक्दैन । प्रदेशको पनि जनशक्तिसँग निरन्तर सम्पर्कमा छु । तीनवटै सरकारको स्रोतसाधन र जनशक्तिबीच समन्वय र सहकार्य गरी कोरोना विरुद्ध बढी भन्दा बढी परिणाम हासिल गर्न सक्नुपर्छ ।
प्रमुख चुनौती के देख्दै हुनुहुन्छ ?
कोरोनाको प्रभाव नियन्त्रण गर्ने, बाहिरबाट आउनेहरुको भीड बढ्ने सम्भावना बढी छ । उडान खुल्ने बित्तिकै फेरि एक पटक सबैतिर भीडभाड सँगै असुरक्षा बढ्छ । भारतमा पनि केही खुकुलो हुनेबित्तिकै त्यसतर्फ फसेका नेपाली नागरिकहरु फर्किन थाल्नेछन् । त्यसैले क्वारेन्टिन निरन्तर तयारी अवस्थामा राख्नैपर्छ ।
अन्य पालिकाहरुमा क्वारेन्टिन बन्द भइसकेको छ । प्रमुख जिल्ला अधिकारीले पनि क्वारेन्टिनलाई तयारी अवस्थामा राख्ने बताउनुभएको छ ।
संक्रमितहरुलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
संक्रमितहरुमध्ये ७० प्रतिशत सामान्य अवस्थाका छन् । अन्य २० प्रतिशतले सामान्य सावधानीका उपाय अपनाए निको हुने गरेका छन् । पाँच प्रतिशतलाई सघन उपचारपछि निको हुने गरेको पाइएको छ । पाँच प्रतिशत अन्यन्तै ठूलो जोखिममा रहने गरेको देखिएको छ । ती्मध्ये अधिकांशको ज्यान जोगाउन सकस भइरहेको चिकित्सकहरुले अनुभव सुनाइरहेका छन् ।
जनकपुरधाम दुईलाख बढी जनसंख्या भएको उपमहानगर हो । धार्मिक सहर भएर पनि यहाँ मानिसहरु बाहिरबाट आइरहेका हुन्छन् । पोजिटिभ केसलाई कसरी व्यवस्थापन गर्ने ? मृतकलाई कसरी सद्गत गर्ने ? सबै चुनौती छ । सबै पालिकालाई यसका लागि ठाउँ सुरक्षित गर्न भनिएको छ । स्थानीयमा त्रास छ । कोरोना प्रभाव त छँदैछ । स्थानीय सरकारसँग जनशक्तिको पनि अभाव छ । बजेट पर्याप्त छैन ।
कस्तो जनशक्तिको अभाव छ ?
पाँच महिनादेखि पालिकाको काम प्रभावित भइरहेको छ । चैत महिनामा प्रमुख प्रशासकीय अधिकृत गएपछि अहिलेसम्म आएका छैनन् । अहिले पनि प्रमुख प्रशासकीय अधिकृत विहीन छ । लेखापाल छैन । गत आर्थिक वर्षको अन्त्यमा कोलेनिकाबाट मागेर पार्टटाइम लेखापाल उपलब्ध भयो । त्यसले नियमित कार्यसम्पादन गर्न सहज भएन ।
गत आर्थिक वर्षमा वैशाख १५ गते पछि योजनाको काम सुरु भयो । धेरै पैसा फ्रिज भयो । अहिले पनि प्रमुख प्रशासकीय अधिकृत र लेखापाल छैन । अहिलेसम्म संघ सरकारले ठोस निर्णय दिन सकेको छैन हामीले कसरी काम गर्ने भनेर । महानगरको आकारमा रहेको उपमहानगरलाई कसरी अगामी दिनमा अघि बढाउने ? चालु आवको पनि एक महिना बितिसक्यो । नयाँ आवको काम सुरु नै गर्न सकिएको छैन ।
चुनाव जितेर आएपछि अहिलेसम्म के गर्नुभयो ?
फोहोरी नगर, हिँड्दाहिँड्दै ठोकिने सहर, लामखुटेको सहर, अस्तव्यस्त ट्राफिक भएको सहर जस्ता उपनाम पाएको थियो जनकपुरले । हामीले परिचय फेर्ने काम गरेका छौं । सामान्य पानी पर्दा पनि हिलाम्य र सुखा हुनेबित्तिकै धुलाम्य हुन्थ्यो यहाँका सडकहरु । त्यसमा धेरै सुधार भएको छ । अझै धेरै गर्नुपर्ने छ । तर, यसका लागि हामीसँग जनशक्ति अपूर्ण छ । स्वायत्त सरकार भनेको त छ । तर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल भर्ना गर्ने अधिकार दिएको छैन ।
यो अधिकार प्राप्तिको लागि सम्बन्धित निकायहरुमा निरन्तर खबरदारी गरिरहेको छु । नागरिकलाई कोरोनासँग बचाउने र विकास निर्माणका काम तथा सफाइ सम्बन्धी काम अगाडि बढाउने चुनौती छ । अर्को चुनौती शिक्षाको हो । एकाधबाहेक निजी विद्यालय पनि अनलाइन कक्षा चलाउन सक्षम छैनन् ।
सामुदायिक विद्यालयको अवस्था त दयनीय नै छ । हामीले सामुदायिक विद्यालयहरुलाई कोरोनाकै बीच उचित वैकल्पिक माध्यमको खोजी गरी बालबालिकाहरुलाई सिकाइ क्रियाकलाप गराउने, स्वाध्ययनको लागि उत्प्रेरित गर्ने काम गर्नुपर्छ । यसका लागि प्रअ बैठक बस्यौं तर अझै निचोडमा पुगिसकेको छैन । यो ठूलो चुनौतीको कुरा हो । भदौपछि कुनै न कुनै बाटोको खोजी गरी पढाइ सुरु गर्नुपर्ने मेरो सोच हो । यसका लागि शिक्षा महाशाखालाई विकल्पको खोजी गर्न निर्देशन दिएको छु ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य काम भएको छ । नगरपालिका र वडा कार्यालयहरु, शिक्षा र स्वास्थ्य शाखालाई कोरोना कहरको बीच निरन्तर सक्रिय राखेका छौं । यस्तो बेला यी निकायहरुलाई क्रियाशीलतापूवर्क काम गर्न लगाउनु पनि ठुलो काम हो । यसका साथै स्वास्थ्यकर्मीहरुलाई ट्राभल हिस्ट्री ट्रेसिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने, शंकास्पद व्यक्तिहरुको पीसीआर जाँच गराउने, पोजिटिभलाई व्यवस्थापन गर्ने जस्ता कामका लागि नगरका स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरेर परिचालन गरिएको छ ।
संघीय सरकारलाई औंला देखाउने तपाईं आफैँ आन्तरिक विवादमा फस्नुभएको छ नि !
यो बहुत महत्वपूर्ण कुरा गर्नुभयो तपाईंले । राजनीतिक ठाउँमा विवाद स्वाभाविक हो । लोकतन्त्रको मूल गुण नै कुनै निर्णय लिँदा सर्वसम्मत गर्ने, नभए बहुमत र अल्पमतको प्रक्रियामा जाने हो । यो संसारकै लोकतन्त्रको नियम हो । हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गरेका छौं ।
हामी जनताको अभिमतसाथ निर्वाचित भएर आएका छौं ।
मुलुकमा तीन तहको कार्यपालिका र व्यवस्थापिका छ, दुई तहको न्यायपालिका छ । स्थानीय तहमा पालिका प्रमुख नै व्यवस्थापिका र कार्यपालिका प्रमुख हो । उपप्रमुख न्यायपालिका प्रमुख हो । नगरसभामा व्यवस्थापिका प्रमुखको भूमिकामा नगर कार्यपालिका सञ्चालन गर्दा कार्यपालिका प्रमुख हुने हो । नगर प्रमुख सरकार प्रमुख हो भने कार्यपालिका सदस्यहरु मन्त्री हुन् ।
यस्तो अवस्थामा कानुनसम्मत नगर प्रमुखले ल्याएको नीतिलाई मान्यता दिने काम कार्यपालिका सदस्यले गर्नुपर्ने हो जुन बुझिरहेका छैनन् । यो कानुनी प्रावधान हो । हामीमा कानुनको अज्ञानता हुनुभएन । हामी जनप्रतिनिधि जिम्मेवार पदाधिकारी हो । नेपालमा तीन तहको सदन पनि छ, प्रतिनिधिसभा, प्रदेशसभा र नगरसभा ।
नगरसभा सदस्यले आफुलाई सांसद बुझ्नुपर्छ । वर्षभरीका नीति कार्यक्रम र बजेट बनाउन छलफलमा सहभागी हुनुपर्ने हो ।
त्यसैले नगरसभा गर्न १५ दिनको समय दिइएको छ । नगरसभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम र बजेट उपर दफावार छलफल हुनुपर्छ । सकेसम्म सर्वसम्मतिले पारित गर्नुपर्छ नभए बहुमतले पारित भएको अवस्थामा स्वीकार गर्न सक्नुपर्छ । यस्तो परिपाटीको विकास स्थानीय तहमा भइसकेको छैन ।
पुरानो राजनीतिज्ञ तपाईंले नसके कसले तपाईं मातहतका जनप्रतिनिधिलाई यी कुरा बुझाइदिने त ?
नगर कार्यपालिकाबाट समय समयमा बुझाउने प्रयास गरिएको हो । तालिम पनि सञ्चालन गरिएको हो । तर पनि पर्याप्त हुन सकेको छैन । म सांसद हुँ । मैले बनाएको नीति कार्यक्रमबाट नगरको रुपान्तरण हुन्छ । म जिम्मेवार हुँ भन्ने कर्तव्यको बोध हुन सकेको छैन, जनप्रतिनिधिमा । म सकभर कार्यपालिका र नगरसभा सदस्यहरुलाई कर्तब्यको बोध होस् र सोही आचरण अनुरुप काम गराउने पक्षमा छु । निर्णय प्रक्रियामा सहज तरिकाबाट जानुपर्छ ।
बल प्रयोग गर्ने, तोडफोड गर्ने, माइन्यूट च्यात्ने जस्तो प्रवृत्तिलाई बढाबा दिनु हुँदैन । बहुमत जता भए पनि, दुई तिहाइ नै भए पनि सबैले मिलेर काम गर्नुपर्छ । कोही असन्तुष्ट छ भने मेरो पनि जिम्मेवारी हो तिनलाई समेटेर अघि बढ्नुपर्छ । म यसलाई हार र जीतको रुपमा नलिएर काम गर्न आग्रह गर्छु । जनकपुरधाम उपमहानगरको नगरसभाको सवालमा मेरो तर्फबाट कमजोरी भएको छ भने म क्षमायाचना गर्दछु ।
तर, सबैजनालाई मिलेर अघि बढ्न फेरी पनि हार्दिक आग्रह गर्दछु ।