site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
 कार्यदल निर्माण हुनु महत्त्वपूर्ण परिघटना, यसले निकास दिन्छ 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र उत्पन्न समस्या सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरेको छ । गत शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव विष्णु पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शङ्कर पोखरेल र पम्फा भुसाल सदस्य रहेको कार्यदल गठन गरेका थिए ।

तर, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाएर अनुमोदन गर्नुपर्ने र कार्यदेश दिनुपर्ने बताए । सोमबार सचिवालयको बैठक बस्यो । अनुमोदन पनि भयो । तर, छलफलका क्रममा सदस्य, विशेषगरी उपाध्यक्ष वामदेव गौतमले कार्यदलको औचित्यबारे प्रश्न उठाएपछि बहस सुरु भएको छ ।

यसै विषयमा आधारित भएर वरिष्ठ नेता खनालसँग अक्षर काकाले गरेको संक्षिप्त कुराकानी :–

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सचिवालय कामयावी हुँदाहुँदै विवाद समाधान गर्न अलग्गै कार्यदल किन गठन गर्नुपर्‍यो ? फेरि तपाईं आफैं पनि दुई अध्यक्षको वार्ताको सहजीकरण गर्दै हुनुहुन्थ्यो, होइन र ?

यहाँहरूलाई थाहा छ, नेकपामा लामो समयदेखि विविधखाले समस्या खडा भइरहेका छन् । विवाद चलिरहेका छन् । त्यसको सही निकास निस्कन सकेको छैन । यी विवाद चाँडोभन्दा चाँडो समाधान होस् भन्ने पार्टीव्यापीरूपमा, आम कार्यकर्ताहरूको चाहना, इच्छा र कामना पनि थियो । हामी नेतृत्व तहमा रहेका सदस्यहरूको चाहना पनि त्यही थियो । यी सबै कारणले गर्दा विधिभित्र रहेर समाधान गर्नका निम्ति कार्यदल निर्माण भएको छ ।

तपाईंलाई थाहा छ, नेकपामा कुन हदसम्मको समस्या थियो । तसर्थ कार्यदल निर्माण हुनु महत्त्वपूर्ण घटनाक्रम हो । यो कार्यदलले पार्टीभित्रका सम्पूर्ण समस्यका बारेमा गम्भीरतापूर्वक अध्ययन, विश्लेषण र संश्लेषण गर्नेछ । समाधानको महत्त्वपूर्ण प्याकेज प्रस्तुत गर्नेछ ।  पार्टी अन्तरसङ्र्घको दौरानमा कार्यदल निर्माण ठूलो र महत्त्वपूर्ण परिघटना हो भन्ने मेरो ठहर छ ।

पार्टीभित्र लामो समयदेखि विद्यमान समस्या समाधान गर्न कार्यदल बनाउँदै र त्यसलाई वैधानिकता दिँदैगर्दा सचिवालयमै प्रश्न त उठ्यो नि ?

पार्टी कमिटीका बैठक लामो समयसम्म चलाउन नसकिने, छलफल बहस गर्न नभ्याइने हुनाले विभिन्न ढङ्गबाट कार्यदल बनाउन नसकिने होइन । कतिपय समस्या महाधिवेशनले पनि नसकेर कार्यदल बनाएर जानुपर्ने हुन्छ । कहिलेकाहीँ केन्द्रीय कमिटीले पनि कार्यदल बनाएर काम गर्न सक्छ । गत माघ १५ गतेदेखि १९ गतेसम्म चलेको पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकले मेरै नेतृत्वमा एमसीसी (अमेरिकी अनुदान सहायता प्रस्ताव, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट)बारे अध्ययन कार्यदल गठन गरेको थियो । हामीले प्रतिवेदन पनि बुझाइसकेका छौं । यसअघि स्थायी कमिटीले पनि कार्यदल बनाएर काम गरेको छ । सचिवालयले पनि कार्यदल बनाउन सक्छ । दुईजना अध्यक्षले मात्रै पनि कार्यदल बनाउन सक्ने अवस्था नहुने होइन ।

तर, अहिलेचाहिँ सामान्य अवस्था नभएर, असाधारण अवस्थामा कार्यदल बनाइरहेको अवस्था हुनाले दुईजना अध्यक्षले मात्रै निर्णय लिएर हुँदैन, सचिवालयको तर्फबाट बनाइएको कार्यदल हुनुपर्छ भनेर आवाज उठाइएको हो । सचिवालयले अनुमोदन गरेपछि बढी सशक्त ढङ्गले काम गर्छ । शक्तिशाली ढङ्गले काम गर्छ र प्रभावकारी निष्कर्ष पनि निकाल्छ भन्ने हामी सबैको अपेक्षा हो ।

हिजोका दिनमा दुईजना अध्यक्षले निर्णय गरेपछि त्यो प्रस्ताव होइन, पार्टी निर्णयकै आकार ग्रहण गर्थ्यो । अहिले त्यो अवस्थाको अन्त्य भएको हो ? दुईजना अध्यक्षको सहमति पार्टी निर्णय होइन, प्रस्तावमात्रै बन्ने अवस्थामा पुगेको हो ?

निश्चय पनि । अब दुईजना अध्यक्षले जेसुकै निर्णय गरे पनि त्यो पार्टी निर्णय हुने भन्ने खालको धारणा, विस्तारैविस्तारै पुरानो हुँदै गयो । एउटा खास अवस्थामा दुईजना अध्यक्षले एउटा समझदारी गरेको भए पनि त्यो संस्थागत प्रक्रिया होइन । विधिसम्मत प्रक्रिया पनि होइन । पार्टीको आमपद्धतिको प्रक्रिया पनि होइन । पार्टीको आम प्रचलन र परम्पराको कुरा पनि त्यो होइन । दुईजना अध्यक्षले एक आपसमा छलफल गर्न सक्नुहुन्छ । विचार–विमर्श गर्न सक्नुहुन्छ । समझदारी निर्माण गर्न सक्नुहुन्छ । तर, त्यो समझदारीलाई प्रस्ताव बनाएर पार्टी कमिटी प्रस्तुत गर्नुपर्छ । कमिटीले पारित गरेपछि मात्रै त्यो पार्टीको अवधारणा बन्छ । त्यसरी मात्रै संस्थागत रूप लिन्छ । हामीले जसरी विधि, पद्धतिका कुराहरू गरिरहेका छौं, आयन्दा दुवै अध्यक्षले विधि र पद्धतिलाई मान्ने मात्रै होइन, दृढतापूर्वक स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुपर्छ ।

आजको सचिवालय बैठकपछि यहाँ उत्साहित पनि देखिनुभएको छ । पार्टीभित्रको अन्तरविरोध–अन्तरकलहले निकासको बाटो समातेको हो ?

कार्यदलको गठन र यसलाई सचिवालयमा छलफलद्वारा अनुमोदन गरिनुभनेको नेकपाभित्र निकै लामो समयदेखि देखापरेका समस्याहरूको समाधानको दिशामा सकारात्मक पाइला हो यो । महत्त्वपूर्ण पाइला हो । यहाँबाट अघि बढेर सम्पूर्ण समस्याको समाधान हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

स्थायी कमिटी बैठकमा यहाँसहित धेरै नेताले प्रधानमन्त्री केपी शर्मा ओली रूपान्तरण हुन नचाहेकाले भूमिका बदल्नुपर्छ भनेर आवाज उठाउनुभएको थियो । त्यसबाट यहाँहरू पछि हट्नुभएको हो ?

हामीले जुन कार्यदल गठन गरेका छौं । त्यो कार्यदलले पार्टीका वैचारिक, सङ्गठनात्मक, नीतिगत, कार्यशैलीगत सबै समस्याहरूबारे छलफल गरेर सुझाव–निष्कर्ष दिन्छ । त्यही सुझावका आधारमा हामी अघि बढ्छौं ।

अझै प्रष्ट भएन, केपी ओलीको राजीनामाबाहेकको पनि समाधान हुनसक्छ ?
हिजो पार्टीभित्र उत्पन्न विभिन्न समस्याहरूबारे छलफल गर्ने दौरानमा विभिन्न मागहरू उठे । विभिन्न खालका विचार, तर्क अघि सारिए । ती आफ्नो ठाउँमा छन् । तीबाट पछि हट्ने, अगाडि बढ्ने भन्ने होइन, सबैको समीक्षा हुन्छ । त्यो समीक्षाबाट कार्यदलले जे निष्कर्ष दिन्छ, त्यो निष्कर्ष–निचोडका आधारमा हामी अगाडि बढ्छौं ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  २०:२९
प्रतिक्रिया दिनुहोस्