
कोरोनाको जोखिमकै बीच यो वर्षको तिज गुज्रिने निश्चित भएको छ । कोरोनाको जोखिम उच्च रहे पनि तिज गीत आउने क्रम भने रोकिएका छैनन् । तर बर्सेनि तिज गीत गाउने अधिकांश गायक–गायिकाले यो वर्ष पनि तिज गीत गाएका छन् । गत वर्ष १३ वटा तिज गीत गाएका खुमन अधिकारीले यो वर्ष नौवटा गाए । कोरोनाको जोखिमबीच कलाकारहरू गाउने मात्रै होइन म्युजिक भिडियो पनि सार्वजनिक गरिरहेका छन् । तर कसरी ? लगानीको प्रतिफल आउने बाटाहरू करिब सबै बन्द छन् तर पनि लगानी भइरहेको छ, यो जोखिम केका लागि ? यी र यस्तै प्रश्न बाह्रखरीका नरेश फुयाँलले खुमन अधिकारीलाई गरेका छन् ।
० ० ०
कोरोना भाइरसको प्रभाव कलाकारलाई कस्तो परिरहेको छ ?
कोरोनाले अन्य क्षेत्रलाई भन्दा सांगीतिक क्षेत्रलाई धेरै परेको छ । अरू उद्योग तथा व्यावसाय त भित्रभित्रै चलिरहेका छन् । तर सांगीतिक क्षेत्र भने भिडमा बसेर गरिने काम भएकाले यो क्षेत्र बढी मारमा पर्नु स्वाभाविक नै हो । त्यसमा पनि अहिले तिजका गीत गाउने समयमा कोरोनाको संक्रमणको जोखिमले पक्कै पनि कलाकार यसको मारमा परिरहेका छन् । सुरुवाती चरणमा त फ्रस्टेसन नै हुन्छ कि भन्ने जस्तो भएको थियो । तर लकडाउन लुज हुँदै जाँदा सुरक्षित भएर हामी पनि केही गीत गाउन थाल्यौं । तर अहिले अवस्था झन् भयावह हुँदा यसको असर हामीलाई पनि परेको छ ।
सुरुको एक–डेढ महिनाबाहेक कलाकार गीत रेकर्ड गर्ने तथा म्युजिक भिडियो बनाउन व्यस्त छन्, दिनहुँ नयाँनयाँ म्युजिक भिडियो सार्वजनिक भइरहेको देख्दा लाग्छ कि कलाकारलाई कोरोना नै सर्दैन । किन यति धेरै जोखिम उठाउँदै छन् कलाकार ?
कलाकारले आफूलाई निरन्तरता दिन चाहिरहेका छन् । म हराएको छैन गाइरहेको छु है भनेर दर्शकमाझ आउने रहर पनि हो । गीत रेकर्ड गर्दा स्टुडियोमा सुरक्षाका पर्याप्त उपाय अपनाएर मात्रै जाने गरेका छौं । रह्यो म्युजिक भिडियोको कुरा, थोरै संख्यामा आवश्यक कलाकार र प्राविधिक मात्रै जम्मा भएर त्यसमा पनि सामाजिक दूरी कायम गरेर म्युजिक भिडियो बनाइरहेका छौं । अवस्था सामान्य हुँदा ५०औं जना भेला भएर भिडियो बनाउँथ्यौं तर अहिले १५/१६ जनाभन्दा धेरै भेला भएका छैनौं । कोरस डान्सरलाई पनि दूरी कायम गराएर मात्रै नचाइरहेका छौं । जो घरमा सुरक्षित भएर बसेको छ, उसैलाई मात्रै बोलाएर काम लगाएका छौं ।
हुन त कसको शरीरमा कोरोना छ भन्ने अहिलेको अवस्थामा भन्न सकिने अवस्था छैन । तर व्यक्तिगत रूपमा भन्नुपर्दा अहिले म स्टुडियोमा भिड छ भने पनि जान्न । माइक सेनिटाइज गरेर मात्रै गीत गाउने गरेको छु ।
यो असहज अवस्थामा पनि तिजका गीतमा ५ करोडभन्दा धेरै लगानी भएको सरोकारवाला पक्षहरूले बताइरहेका छन् । यति धेरै लगानी रहर कि बाध्यता हो ?
रहर पक्कै होइन बाध्यता हो । मेरो कुरा गर्दा मलाई सामाजिक सञ्जालमा स्रोता तथा दर्शकहरूले यो वर्ष तपाईंको तिज गीत सुन्न पाइँदैन भनेर धेरैले सोध्नुभएको छ ।
यस्तो डरलाग्दो समय छ, रिक्स लिँदा जे पनि हुनसक्छ भनेर बसेको थिएँ । तर पनि दर्शक स्रोताले निरन्तर एउटै प्रश्न गरेपछि मैले सधैंभन्दा ढिलो तिज गीत गाएँ । लगानी डुबाउने रहर पक्कै पनि कसैलाई हुँदैन । तर निरन्तरताका लागि र दर्शक तथा स्रोताको आग्रहका कारण हामीले काम गरिरहेका छौं । प्रशासनसँग अनुमति लिएर आफू सुरक्षित भएर काम गरिरहेका छौं ।
स्टेज तथा मेला–महोत्सवका कार्यक्रम नभएको र लगानी उठ्ने अवस्था करिब शून्य रहेको अवस्थामा युट्युबकै आशमा लगानी भइरहेको हो ?
दर्शक र स्रोताको माया र गीत–संगीतप्रतिको मोह मुख्य कुरा हो । दर्शक र स्रोताले कति रुचाउनु हुन्छ युट्युबमा भन्ने हो । युट्युबमा राम्रो भ्युज भयो भने केही लगानी उठ्छ । त्यसैले पनि अहिले कलाकार युट्युबतर्फ केन्द्रित भएको देखिन्छ । तर परिस्थिति सामान्य भएको अवस्थामा आम्दानीको मुख्य स्रोत स्टेज कार्यक्रम नै हो । कोरोनाको प्रकोप नभएको भए म पनि अहिले सायद नेपालमा हुने थिइनँ । अर्को कुरा सधैंभरि कोरोनाको कहर रहँदैन र परिस्थिति सहज भएपछि त्यही गीत स्टेजमा पफर्म गर्न पनि हुन्छ भनेर पनि लगानी भइरहेको छ ।
लोक तथा पर्व गीतका नाममा अहिले युट्युबलाई लक्षित गर्दै चर्तिकला भइरहेको भन्ने केही स्रष्टाहरूले बताइरहनुभएको छ । यो कुरा सत्य हो ?
सयमा २० प्रतिशत त्यस्ता गीत आएका छन् । उहाँहरूले लोकगीत संगीतका नाममा छाडा गीत ल्याइदिनाले त्यसको असर सबै कलाकारलाई पर्यो । मौलिकता र तिज गीत भन्नेबित्तिकै हाम्रो संस्कार र संस्कृति हुनुपर्छ तर त्यसो भएन । मौलिकताभन्दा बाहिर गएर शब्द तथा भाका र म्युजिक भिडियो पनि त्यस्तो हुँदा हामीलाई गाह्रोचाहिँ भएकै हो ।
यस्तो किन भइरहेको छ ?
सस्तो लोकप्रियता र चर्चाका लागि यस्ता गीत–संगीत आएको प्रस्टै छ । ट्रोल बन्ने तथा विवाद सिर्जना हुन्छ, यसले चर्चा पाइन्छ भन्ने लोभ एउटा कुरा हो । अर्कोचाहिँ ज्ञानको अभाव पनि हो ।
ट्रोल र विवादले कलाकारलाई सन्तुष्टि दिने हो ?
मलाई त दिँदैन तर दिनेलाई दिइरहेको होला । विवाद भयो भने गीत चल्छ भन्ने लोभले काम गरिरहे जस्तो लाग्छ । तर यस्ता गीतलाई हटाउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यस्ता गीत गाउनेलाई कारबाही नै गर्ने तहमा उत्रिँदै छ ।
गैरन्यायायिक संस्थाले कारबाही गर्न मिल्छ र ? त्यो अधिकार त प्रतिष्ठानलाई छैन नि ?
दर्शक र स्रोताले सम्पूर्ण जिम्मा प्रतिष्ठालाई दिइसकेका छन् । यसर्थ म यो भन्दै छु कि कुनै उजुरी लिएर रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वा अदालत गयो भने तपाईंहरूको त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल छ त त्यसमा जानु भएन ?, त्यहाँ कुरा मिलेन भनेर सोध्नुहुन्छ । यस्ता गीत निस्किँदा प्रतिष्ठान के हेरेर बसिरहेको छ भन्ने प्रश्न बारम्बार आइरहन्छ ।
पक्कै पनि प्रतिष्ठान न्यायिक निकाय नभएकाले दण्ड र जरिवाना गराउन सक्दैन । तर लोकगीत–संगीतमा केही गर्छु भनेर लागेको कलाकार यसलाई बिगार्नतर्फ लाग्छ भने उसलाई बोलाएर सम्झाउने काम गर्न सक्छ । संस्कार, संस्कृति, रितिरिवाज र धर्मविरोधी कोही काम गर्छ भने उसलाई सही बाटोमा हिँड्न आग्रह वा अनुरोध जो सुकैले पनि गर्न पाउँछ र पाउनुपर्छ ।
लोक र पर्वका नाममा अहिलेका जस्तै गीतले निरन्तरता पाउने हो भने भोलिको पुस्ताले ठेट मौलिक गीत सुन्न पाउलान् ?
यस्तै तरिकाले लोक र पर्व गीतमा विकृति बढ्दै गयो भने त भोलिको पुस्ताले ठेठ लोक र पर्व गीत भन्ने नै के हो थाहा पाउने छैनन् । तर विद्यमान विकृति र विसंगतिलाई निराकरण गर्दै गयो भने पक्कै पनि जुगजुगसम्म हाम्रो संस्कार र संस्कृति समेट्ने गीत रहिरने छन् । र रहनु पनि पर्छ ।
युट्युबबाट आउने पैसाले लगानी उठाएर जीविकोपार्जन गर्नसक्ने अवस्था छ ?
केही गीतले लगानी उठाउँछन् र उठाइरहेका पनि छन् । तर अधिकांश गीतले लगानी उठाउन सक्दैनन् । युट्युबबाट लगानी उठ्छ भनेर लगानी गर्नु रिक्स हो । उठ्न पनि सक्छ र डुब्न पनि सक्छ । तर राम्रो गीत तयार भएको छ भने त्यसले सांगीतिक क्षेत्रमा एउटा अर्को इँटा थप्यो भनेर सन्तुष्ट हुनुपर्छ ।
तस्बिर खुमनको फेसबुकबाट