site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अलपत्र ‘लक्का जवान’, शिवहरिलाई छटपटी

काठमाडौं । कोभिड–१९ ले फणा नफिजाएको भए यतिबेला चलचित्र ‘लक्का जवान’ प्रदर्शन भइसकेको हुने थियो । नाफा घाटाको हिसाब–किताब हलबाट आइसकेको हुने थियो । शिवहरि पौडेलले आफ्नो बाटो समातिसकेका हुने थिए । 

चलचित्रको अधिकांश काम सकिसकेको थियो । प्रि—मिक्सिङ चलिरहेको थियो । अरूका एक्सन—कटको इशारामा वर्षौं बिताए पनि फिचर फिल्ममा पहिलोपटक आफूले एक्सन कट गरेका थिए । एकमनमा एक तमासको डर थियो । मनको अर्को कुनामा उत्साह थियो । प्रतिफल कस्तो आउने हो ? मनमा कौतुहल थियो । दर्शकले हलमा मुख खुम्च्याउने हुन् कि वाह ! गरेर तारिफ गर्ने हुन्, व्यग्र प्रतीक्षा थियो । 

तर ठीक त्यहीबेला नेपालमा पनि कोरोनाको संक्रमणको जोखिम बढ्यो । सरकारले लकडाउन गर्यो । अरूको जस्तै शिवहरिको फिल्म ‘लक्का जवान’ पनि अलपत्र पर्यो । 

चलचित्र मात्रै होइन उनको टेलिफिल्म पनि अलपत्र पार्यो लकडाउनले । चैत १६ गतेबाट टेलिफिल्म ‘ब्रेक फेल’ सुरु गर्ने तयारी गरिरहेका थिए । करिब एक वर्षपछि उनी पुनः ‘ब्रेक फेल’ सुरु गर्दैै थिए । तर लकडाउन उनका लागि अवरोध बनेर आयो ।  

सधैंभरिको दौडधूपले आँटेको काम गर्न पाइरहेका थिएनन् । लकडाउने समय जुराइदियो । उनले फिचर फिल्म लेख्न थाले । “सुरुका दुई साता निकै जाँगर चल्यो । दुईटा नयाँ फिचर फिल्मको स्क्रिप्टको दिमागमा आइडिया थियो त्यही लेख्न थालेँ,” शिवहरि सुनाउँछन्, “तर जब लकडाउन थपिँदै गयो । फुर्सद हुँदैन त्यसैले यो फुर्सदमा लेख्नुपर्छ भनेर सुरु गरेको स्क्रिप्ट लेख्न मन लागेन । बिस्तारै अल्छी लाग्दै गयो ।”
० ० ०
यहीबीचमा उनले जाँगर चलाए गीत गाउने । ‘चियासँग चुरोट...’ बोलको गीत गाए । उनलाई साथ दिइन् समीक्षा अधिकारीले । सोमबार उनले यो गीत सार्वजनिक गरे । मुखमा हान्नुजस्तो उनको युट्युब च्यानल छ । यसमै केही कन्टेन्ट राख्ने क्रममा उनले गीत राखे । अब उनी सर्ट फिल्म पनि बनाएर यही च्यानलमै राख्ने शिवहरिको तयारी छ । 

सिनेमा हल बन्द छन् । उनको चलचित्र अलपत्र छ । कहिले प्रदर्शन गर्ने निश्चित छैन । पर्ख र हेरको रणनीतिमा छन् शिवहरि । सिनेमा हल खुल्दै गए । अवस्था सहज बन्दै गयो र पुराना नेपाली तथा हिन्दी चलचित्र रिलिज भएर दर्शक हलमा जान थाले भने शिवहरि पनि आफ्नो चलचित्र चलाउने सोचमा छन् । 

“अरू चलचित्र त सबै फागुन चैतमा पुगे । तर मचाहिँ अवस्था सहज बन्दै गए कात्तिकमै लगाउने सोचमा छु,” उनी भन्छन्, “तर अहिलेकै अवस्थामा भने दुई करोडमा बनेको चलचित्रमा आँखा चिम्लिन सकिँदैन ।”
दुई करोड लगानी उठाउन ६ देखि ७ करोड ग्रस कलेक्सन गर्नुपर्छ । नेपाली बक्स अफिसमा यति कलेक्सन कमै चलचित्रले मात्रै गर्ने गरेका छन् । 

उनले चलचित्र बनाउँदै गर्दा एउटा अवस्था थियो । अहिले अवस्था अर्कै भइसक्यो । चलचित्र संघ र चलचित्र विकास बोर्ड कसरी सिनेमा हल खोल्ने भन्ने छलफलमा छन् । एकतिहाइ टिकट बेच्ने कि दुईतिहाइ छलफल चलिरहेको छ । 

कोरोनाको महामारीले बजार, लगानी, वितरण र प्रदर्शनको तौरतरिकामा ठूलो फेरबदल ल्याउने शिवहरि बताउँछन् । “अब चलचित्रको निर्माण र प्रदर्शन नै फरक तरिकाले होला जस्तो छ । सानो समूहले सानो लगानीमा चलचित्र बन्छन् जस्तो छ,” उनी भन्छन्, “फरकखालका विषयमा सानो लगानीमा बन्ने चलचित्र हल र डिजिटल प्लेटफर्मममा घरघरमा रिलिज होलाजस्तो छ ।”

बजार फेरिन्छ होला, लगानीको परिमाण सानो अथवा झन् ठूलो होला । रिलिज हुने प्लेटफर्म फरक होला । विषय र प्रस्तुतिको तौरतरिकामा पनि बदलाव आउला । तर शिवहरिलाई यतिबेला एउटै चिन्ता छ मेरो ‘लक्का जवान’ कहिले बजारमा आउला र यसको प्रतिक्रिया कस्तो आउला ?
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro