काठमाडौं । संसद्बाट एमसीसी पारित हुन ढिलाइ भइरहेकोप्रति नेपालस्थित अमेरिकी दूतावासले आफू जानकार रहेको बताएको छ ।
सोमबार एक विज्ञप्तिमार्फत दूतावासले एमसीसी अनुमोदनमा ढिलाइ गर्नु भनेको लाखौं नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको बढोत्तरीमा ढिलाइ गर्नु भएको जनाएको छ । यो अनुदान स्वीकार गर्नु-नगर्नु नेपालको रोजाइको विषय रहेको भन्दै दूतावासले यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला नरहने स्पष्ट पारेको छ ।
नेपालमा एमसीसी परियोजनाहरूका बारेमा हालसालै आएका विभिन्न समाचारहरूबारे दूतावास सचेत रहेको भन्दै कम्प्याक्टको कार्यान्वयनबारे भइरहेका स्वस्थ्य र गम्भीर बहसहरूलाई स्वागत गर्ने जनाएको छ।
उसले थपेको छ, "हामीलाई विश्वास छ कि, अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै दुई करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो । यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन ।"
दूतावासले सबैलाई हल्लाकोपछि नलाग्न र आधिकारिक जानकारीका लागि एमसिए नेपालको वेबसाइटमा राखिएका विषयबाट सत्यतथ्य बुझ्न आग्रह गरेको छ ।