site stats
बाह्रखरी :: Baahrakhari
विचार
‘अति भयो’ : सूक्ष्म प्रतिरोधी आन्दोलनका पक्षमा

कोरोना महामारीको प्रकोपसँग जोडिएर नेपालमा देखिएका थुप्रै सबालमध्ये ‘इनफ इज इनफ’ आन्दोलन सबैभन्दा महत्त्वपूर्ण घटना हो । हुनत, विभिन्न दृष्टिकोणबाट यसलाई हेर्ने ‘षड्यन्त्र सिद्धान्त’का अल्छी विद्यार्थीहरूले यो आन्दोलनलाई नेपालको नक्सा अद्यावधिक गर्ने सन्दर्भमा भारतले उचालेको विरोधको रूपमा पनि व्याख्या गरेको पाइयो । यस्ता शंकाका सुविधा सबैलाई ध्यानमा राख्दै गर्दा हामीले भुल्न नहुने एउटा महत्त्वपूर्ण विषय छ — यो आन्दोलन सहरी युवा विद्रोह हो । राजनीतिक संवेदनाको विकास नै नभएको भनेर आजसम्म मानिएको यो वर्गले ठूलो स्वरमा सरकारलाई जबाफदेही बनाउन गरेको प्रयत्न हो । यस आलेखमा ‘इनफ इज इनफ’लाई ‘सूक्ष्म प्रतिरोधी आन्दोलन’का रूपमा हेरेर मध्यमवर्गीय प्रतिरोधले सरकारलाई कसरी उत्तरदायी बनाउन सक्छ र यस्ता आन्दोलनले वैकल्पिक राजनीतिको धारलाई कसरी अगाडि बढाउन मद्दत गर्न सक्छन् भन्ने विषय केन्द्रमा राखी चर्चा गरिएको छ ।

वर्तमान युगमा सामाजिक संजालको प्रयोग सूक्ष्म प्रतिरोधी आन्दोलनमा हुने गरेको छ । ‘इनफ इज इनफ’ आन्दोलन महामारीको समयमा सरकारले लागू गरेको बन्दाबन्दीको सन्दर्भमा उस्तै मन र मस्तिष्क भएका युवाले सामाजिक संजालको प्रयोगमार्फत आफूलाई एकीकृत गरेको दृष्टान्त हो । सडकमा खुलमखुला आएर सरकारको जनताप्रतिको जिम्मेबारी बोधका सन्दर्भमा युवायुवतीले एकै आवाजमा हिसाबकिताब खोज्न गरेको प्रयासको मूर्तरूप हो — यो आन्दोलन । यी युवायुवतीले सरकारलाई गम्भीर प्रश्न गरेका छन् — तिम्रा सबै कुरा हामीले मानेका छौँ । तर, तिम्रो उत्तरदायित्व खोइ? 

वास्तवमा सहरीकरणको एउटा नकारात्मक प्रवृत्तिको रूपमा यसले राजनीतिक चेतनाशून्य युवा वर्ग तयार गर्छ भन्ने मानिन्छ । विकसित राष्ट्रका नवीन प्रवृत्तिलाई अँगाल्ने र राष्ट्रिय राजनीतिमा रूचि नराख्ने वर्ग जन्मिन्छ भनेर सहरीकरणलाई आलोचनात्मकरूपमा पनि हेर्ने गरेको पाइन्छ । तर, वर्तमान आन्दोलनले यस अवधारणालाई नराम्ररी भत्काइदिएको छ । एकातर्फ, यस आन्दोलनमा सरिक हुने युवाले मूलधारको उनीहरूप्रतिको अवधारणालाई पूर्ण चुनौती दिएका छन् । त्यस्तै, उनीहरू आफ्नो अस्तित्वलाई पुनर्लेखन गरिरहेका छन् । उनीहरूको पहिलो स्वर म सुनिरहेछु : हाम्रो भाषा सुन । हाम्रो चाहनालाई चिन । हामी राजनीतिक हौँ । हामीसँग राजनीतिक व्यवहार गर ।’’  ‘इनफ इज इनफ’ले सहरी मध्यमवर्गीय युवालाई प्रतिनिधित्व गर्छ जसले आन्दोलनको स्वरूपलाई नै नयाँ दिशा प्रदान गरेका छन् । उनीहरू सरकारप्रतिका आफ्ना अपेक्षाको खोजीमा बालुवाटार पुगेका छन्, सामाजिक दूरी कायम गरेर सडक किनारामा प्लेकार्ड, ब्यानर बोकेर उभिएका छन् र उनीहरूले लेखेका ती नारा हेर्दा मूलधारको राजनीति गर्नेलाई पूर्णरूपमा उपेक्षा गरिरहेको देखिन्छ ।

हो, यो सूक्ष्म प्रतिरोधी आन्दोलनमा प्रयोग भएका केही नारा, संवाद झट्ट हेर्दा ‘अश्लील’ लाग्न सक्छ । दस अर्बको खोजीमा निस्केका युवालाई भारतीय प्रायोजनमा नेपालको नक्साको विरोधमा निस्किएको एउटा जत्थामात्र हो भनेर जसरी प्रचार गरिएको छ त्यो सबैभन्दा भद्दा र अश्लील तर हाँसो नउठ्ने ठट्यौली हो । ठट्यौली सुन्ने र सुनाउने अम्मलमा परेकाहरूलाई स्वाद लाग्न सक्छ सरकारी अश्लीलतामा । तर, यी आन्दोलनकारीहरूले स्पष्ट शब्दमा भनेका छन् — ‘सहन्नौ गैरजवाफदेही ।’

त्यस्तै सबै जनतालाई घरमा थुनेर सार्वजनिक कोषलाई जसरी निजी स्वार्थमा प्रयोग गर्ने प्रयत्न भएको छ त्यसभन्दा कुन कार्य अश्लील हुन सक्छ? हामीले युवायुवतीले सरकारलाई उत्तरदायी हुनगरेको आग्रहलाई छोड्ने र आन्दोलनको मूल मर्मलाई पहिचान गर्न अस्वीकार गर्ने हो भने कहिले पनि युवा विद्रोहको भद्र तस्बिर देख्न सक्दैनौ वा देखे पनि चिन्न सक्तैनौ । अश्लीलतालाई पुनर्परिभाषित गर्ने अभीष्ट बोकेर सडकमा निस्केका युवाको अदम्य साहसलाई हामीले स्थापित मूल्य र मान्यताभन्दा माथि राखेर हेर्नुपर्ने हुन्छ । उनीहरूको नैतिक आचरण र स्पष्टता लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्ने किसिमका छन् । तर्कअनुकूल व्यवहारलाई जोड दिने किसिमका छन् ।

अहिले सडकमा चलिरहेको आन्दोलनलाई बेमौसमी भन्ने वर्ग पनि देखिएको छ । यहाँनेर एउटा प्रश्न उठ्छ — आन्दोलन गर्ने मौसम कुन हो ? जब शासकहरूमा अहंकार बढेर जनतालाई यो वा त्यो बहानामा थुन्ने साहस बढ्न थाल्छ जनता सडकमा आएर शासकलाई सच्चिनका लागि पूर्व संकेतका रूपमा केही राजनीतिक दृश्यहरू देखाउँछन् । नेपालको राजनीतिक आन्दोलनको इतिहासलाई हेर्ने हो भने आन्दोलनको मौसम सामान्यतः मंसिरको अन्न भित्र्याएपछि सुरू हुने गरेको देखिन्छ । हो, त्यही परम्परागत ढंगले हामीले सोच्ने हो भने हालको आन्दोलनले निश्चित रूपमा मौसम विज्ञानलाई पालना गरेको नहोला । तर, सामान्यतः आन्दोलनको चर्चा गर्दा हामीले भुल्नु नहुने तत्त्व भनेको आन्दोलनकारीहरू हुन् । ‘इनफ इज इनफ’ भन्दै सडकमा आउने मानिस परम्परागत दृष्टिकोणलाई विधिवत्रूपमा स्थापित गर्न कृषि कार्यमा मात्र निर्भर वर्गका व्यक्ति होइनन् । सहरी वातावरणमा पढेलेखेका, सत्ता भनेको सार्वजनिक हितका लागि हो भन्ने बुझेका, कुनै राजनीतिक दलको स्थायी सदस्यता नभएका, तर्कले शासन गर्नुपर्छ भन्ने वर्गबाट आएका मानिसहरूको कुनै पूर्वनिर्धारित, अन्तर्निहित अभीष्टभन्दा माथि उठेको समूह जब ‘अब त अति भयो’ भनेर सडकमा आउँछ तिनको वैधानिकतामा प्रहार गर्न मौसमलाई, हावापानीलाई, उनीहरूको उमेरलाई देखाएर तर्ककुतर्क गर्नु तिनले उठाएको सबाललाई कमजोर बनाउने नियतबाट प्रेरित हो । 

महामारी लोकतन्त्रका लागि सबैभन्दा प्रतिकूल अवस्था हो । जनताको स्वरलाई परमनैतिक मर्यादाले बाँधेर घरमा थुन्नसक्ने सुविधा प्राप्त भएको अवस्थामा सरकार सबैभन्दा भ्रष्ट हुने स्पष्ट ढोका खुल्छ । यस्तो अवस्थामा सूक्ष्मरूपमा प्रस्तुत हुने प्रतिरोधी आन्दोलन नै सच्चा अर्थमा लोकतन्त्रको पहरेदार हुन पुग्छ । ‘इनफ इज इनफ’ भन्दै विषाणुको संक्रमणलाई बेवास्ता गरेर सडकमा आउने युवालाई आफ्नो स्वास्थ्यमाथि पर्न सक्ने जोखिमको बारेमा थाहा छैन भनेर मान्न सकिन्न । उनीहरूले प्रयोग गरेको भाषा, शैली र सडकमा प्रस्तुत भएको व्यवहार हेर्दा एउटा कुरा स्पष्ट भएको छ — हामीले आजसम्म राजनीतिक चेतनाशून्य भनेर बौद्धिक स्तरबाट च्युत गरेर राखेको वर्गले पनि शक्तिको संचरना र त्यसबाट उत्पन्न हुने लाभहानिको लेखाजोखा गर्न जानेको छ । आफ्नो आवाज केका लागि र कुन समयमा उठाउने हो भन्ने जानेको छ । यो वर्गले पनि गोपालप्रसाद रिमालको गीत सिंहदरबार र बालुवाटारको गेटबाट गाउन जान्छ ।

सनातनीरूपमा आफूलाई वामपन्थी भन्ने तर वाम चेतना रोक्नका लागि प्रयत्नशील मौजुदा सत्ताका हिमायतीलाई ‘इनफ इज इनफ’ आन्दोलनले गाएको रिमालको ‘‘एक जुगमा एक दिन एक चोटी आउँछ र उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’’ भन्ने गीत उनीहरूको पैतृक बिरासतमाथि डाँका गरे जस्तो लाग्छ । हो, मरे भनी फ्याँकिएका यी प्रिय युवायुवती सरकारी पानीको फोहोरा सहन छाती थापेर कोरोनाको यो महामारीमा लोकतन्त्रको अग्र मोर्चामा हिँडिरहेका छन् र एउटा जबाफ मागिरहेका छन् । सरकारलाई भने प्रश्नकर्तालाई खिल्ली उडाउँदैमा फुर्सद छैन ! राष्ट्रवादको नारामा माटो र जनता दुवै समेटिनुपर्छ भनेर यो आन्दोलनले शंखनाद गरिरहँदा सत्ताले माटो देखाएको छ । 

आन्दोलनकारीले आफ्नो जीवनको पर्वाह नगरी सडकमा देखिएको यो क्षण हाम्रो युगको सबैभन्दा ठूलो आत्माहुतिको लागि भएको तयारीको रूपमा लिन सकिन्छ । यी सहरी युवाको यो समर्पण नै आजको दिनमा सत्तामा बस्नेहरूका लागि सबैभन्दा ठूलो चुनौती हो । तत्कालीन परिस्थितिमा यसले लोकतन्त्रको रक्षाको काम गर्छ, सरकारलाई सार्वजनिक कोषप्रति जवाफदेही हुन बाध्य पार्छ, जनस्वास्थ्यप्रति सरकारको संवेदनशीलता निर्माण गर्छ र सरकारलाई ‘श्लील’ हुन सघाउँछ । दीर्घकालीनरूपमा मध्यम वर्गबाट संगठित नेतृत्वको विकास हुँदैछ भन्ने संकेत आन्दोलनले गरेको छ ।

हुन त असंगठित सूक्ष्म प्रतिरोधी आन्दोलनहरू एउटा अभीष्ट प्राप्तिका लागि स्वतःस्फूर्त देखिन्छन् र त्यसैगरी समाप्त पनि हुन्छन् । अघिल्लो वर्ष भएको उखु किसानको आन्दोलनले देखाएको अदम्य साहसले हामीलाई उत्साहित गराएकै थियो । यद्यपि, ‘इनफ इज इनफ’ किसान विद्रोहभन्दा पूर्णरूपमा फरक आन्दोलन हो । यसले परम्परागत रूपमा लाभग्राही भएर बसेको स्थायी सांस्कृतिक आधारलाई धक्का दिएको छ । सुखीखुसी मध्यम वर्गका युवालाई देशको नेतृत्वका लागि तयार हुन आह्वान गरेको छ । यसरी हेर्ने हो भने ‘इनफ इज इनफ’ भनेको नेपालको परिप्रेक्षमा वैकल्पिक राजनीतिक धारलाई स्थापित गराउने एउटा आन्दोलन देखिन्छ । 

‘इनफ इज इनफ’लाई सूक्ष्म प्रतिरोधी आन्दोलनका रूपमा हेरिरहँदा एउटा नवीन दृष्टिकोण सहरी युवाबाट देशको नेतृत्वलाई प्रदान गरिएको देखिन्छ । नेतृत्वले प्रतिरोधात्मक भएर युवा आकांक्षलाई निषेध गरेमा यस्तो आन्दोलनमा गति थपिन्छ भने संगठित आवाज पनि निखारिएर जानेछ । त्यसविपरीत सत्ताले युवा विद्रोहको आवाज सुनेर जवाफदेहीलाई ध्यानमा राखेमा लोकतन्त्रको भावनानुसार शासन अगाडि बढ्ने देखिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्