काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
कांग्रेसले असार २ गते कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन कांग्रेसले सामाजिक दूरी कायम गर्दै स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।
“कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ,” कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।
उनका अनुसार संघीय संसदको संसदीय दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटरमै गएर ध्यानाकर्षण पत्र बुझाइने भएको छ । प्रदेशसभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्री ओली समक्ष ध्यानाकर्षण पत्र बुझाइने पौडेलले बताए ।
यस्तै कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् र विदेश स्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाइने भएको छ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, महामारीले जनतामा परेको असर समाधानका लागि सरकारले चाल्नुपर्ने कदमलगायतका बारेमा कांग्रेसले बुधबार प्रधानमन्त्र ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बुझाएको १२ बुँदे ध्यानाकर्षण पत्रमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइएको थियो । प्रतिपक्ष, सञ्चारमाध्यम र जनताको साथ र सहयोग पाउँदा पनि समयमै उचित कदम नचालेकाले सरकार कोरोना नियन्त्रणमा असफल भएको पनि पत्रमा उल्लेख गरिएको थियो ।