1.jpg)
काठमाडौं । सरकारले असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालनकाे तयारी गरेकाे छ । शनिबारकाे मन्त्रिपरिषद् बैठकले लकडाउनकाे अवधि जेठ मसान्तसम्म बढाएकाे छ भने विमानस्थल तथा सीमा क्षेत्र असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेकाे छ । तर, अब लकडाउनकाे माेडालिटी परिमार्जन गर्ने तयारी स्वरूप आन्तरिक हवाई सेवा सञ्चालनकाे तयारी गरिएकाे हाे ।
साेही अनुरूप नागरिक उड्डयन प्राधिकरण मातहतका आन्तरिक विमानस्थल कार्यालयलाई असार १ गतेदेखि आन्तरिक विमानस्थल सञ्चालनकाे लागि तयारीमा रहन निर्देशन दिइएकाे स्रोतले बतायाे । एक आन्तरिक विमानस्थल कार्यालयका अधिकारीका अनुसार असार १ गतेदेखि विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा बस्न आफूहरूलाई प्राधिकरणबाट निर्देशन आएकाे बताए ।
भारतमा आन्तरिक हवाई सेवा सञ्चालन गरेपछि नेपालमा पनि आन्तरिकतर्फकाे हवाई सेवा सञ्चालनकाे तयारी भएकाे हुन सक्ने ती अधिकारीले बताए । "सरकारले अन्तर्राष्ट्रिय विमान सेवा बन्द जारी राखेर अर्थतन्त्रलाई चलायमान बनाउन पनि आन्तरिक विमान सेवा सञ्चालनकाे तयारी गरेकाे हुन सक्छ," ती अधिकारीले बताए ।
तयारी अवस्थामा छाैं : प्राधिकरण
यता, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षत्रीले भने सरकारले भने लगतै विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताए । कहिलेदेखि संचालनमा ल्याउने भन्ने विषयमा आफूलाई जानकारी नभए पनि तयारी अवस्थामा भने बसिरहेकाे उनले बताए ।
विमानस्थलमा सुरक्षा मापदण्डकाे तयारी पूरा
यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुरक्षा मापदण्डका विभिन्न व्यवस्था गरिएकाे छ । न्यूनतम एक मिटरकाे दूरी कायम गर्दै आवागमन र प्रस्थान कक्षमा चिन्ह लगाउने काम सम्पन्न गरेकाे छ । चिन्ह लगाउने काम आन्तरिक एवम् बाह्य दुबै भवनमा गरिएकाे छ । सुरक्षाका मापदण्ड अपनाएर विमानस्थलमा भइरहेकाे सुधारबारेमा विमानस्थल कार्यालयले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएकाे थियाे ।