
काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना जारी रहँदा वडा नम्बर १७ मा सात वटा मतपत्र आयोगले पठाएको भन्दा फरक पाइएपछि कांग्रेसले विरोध गरेको छ ।
वडा नम्बर १७ को मतपेटिकामा ७ वटा मतपत्र र त्यसमा लगाइएको स्वस्तिक छाप पनि केही ठूलो भएको भन्दै कांग्रेसले विरोध गरेको हो ।
ती मतपत्रमा एमालेका उमेदवारलाई एक छापे मत आएको थियो । १७ को मतगणना फेरि गर्नुपर्ने भन्दै कांग्रेसले विरोध गरेको छ ।
पोखराको वडा नम्बर १७ मा १४ सय मतगणना गर्दा एमालेका सबै उमेदवारले अग्रता लिइरहेका छन् । १७ मा ५ हजार ७२८ मत खसेको थियो ।
भूगोलका हिसाबले देशकै ठूलो पोखरा लेखनाथ महानगरमा मतगणना सुरु भएको पाँचौ दिनसम्म आइपुग्दा करिब ४६ हजार मतगणना सकिएको छ ।
पाँचदिनसम्म वडा १ देखि १३ सम्मको मात्रै मतगणना सकिएको छ भने १४ वडा देखि १७ सम्मको गणना जारी छ ।
१ लाख ६८ हजार ६८ मतदाता रहेको पोखरामा १ लाख २५ हजार मत खसेको थियो ।