site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालापानीबाट १२ किलोमिटर वरै बस्दै छ सशस्त्रको बीओपी

काठमाडौं । भारतले पटक-पटक सीमा अतिक्रमण गरेपछि सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल (एपीएफ) लाई सीमा खटाउने निर्णय गरेसँगै त्यसका लागि तयारी भइरहेको छ । दार्चुलाको व्यास गाउँपालिका १, छाङ्गरुको गागामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली गइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । 

उनका अनुसार अहिले बस्‍ने सशस्त्र प्रहरी बलको टोली विवादित सीमाभन्दा १२ किलोमिटर वर बस्‍नेछ । उनले भने, "अहिले बस्‍ने भनिएको सशस्त्र प्रहरीको बलको टोली (बोर्डर आउट पोस्ट) जुन विवादित भूमि हो, त्योभन्दा १२-१५ किलोमिटर वर बस्दै छ । सशस्त्रको टोली आज बन्दोबस्तीको सामानसहित त्यसतर्फ जाँदै छ ।" 

पछि स्थायी संरचना बनाउने र अहिले अस्थाइरुपमा घर भाडामा लिएर सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा २५ जनाको टोली त्यसतर्फ जाने प्रजिअ पौडलले जानकारी दिए । 

सरकारले भने सीमाको सुरक्षाका लागि भन्दै बीओपी स्थापना गरिएको दाबी गरेको छ । विवादित सीमाबाट १२ किलोमिटर टाढा सीमा सुरक्षा बल राख्‍नुले नेपाल सरकारले उक्त भूमि भारतकै हो भनेर स्वीकार गरेको हो र ? भन्‍ने प्रश्‍नहरु उब्जाएको छ । 

अहिले सशस्त्र प्रहरीको टोली बस्‍नुभन्दा ८ किलोमिटर माथि नेपाल प्रहरीको टोली बस्दै आएको छ । दार्चुलाको सबभन्दा माथि दुम्लिङ ७ र तिब्बततर्फको सीमा सुरक्षाका लागि तिंकर सीमा ११ सुरक्षा बल र भारतीय सेना बसेको कालापानी क्षेत्रमै रहेको सीतापुलमा ९ प्रहरी बस्दै आएको दार्चुलामा प्रहरी नायब उपरीक्षक पदम विष्टले जानकारी दिए । 

उनले भने, "अहिले सशस्त्र बस्‍ने भनिएको ठाउँभन्दा माथि नेपाल प्रहरी बस्दै आएको छ । सशस्त्रको आज जाने भनिएको टोली छाङरु नजिकैको गागामा अहिले घर भाडामा लिएर बस्‍नेछ । त्यसभन्दा १९ किलोमिटर माथि तिंकर नेपाल प्रहरीको ११ जनाको टोली बसिरहेको छ ।" 

उनका अनुसार भारतीय सेनाले लिपुखोलाको धार फर्काउँदै  ६२ वर्गकिलोमिटर नेपाली भूमि मिचेर क्याम्प स्थापना गरी बसिरहेको छ । भारतले जारी गरेको नक्सामा पनि ६२ किलोमिटर नेपाली भूमि समेटिएको छ भने भारतले पश्‍चिम क्षेत्रमा ३७२ वर्गकिलोमिटर भूमि अतिक्रमण गरेको छ ।

६ दिनअघि शुक्रबार भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्‍जी हुँदै चीनको मानसरोवर जाने लिपुलेकसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको विरोध भइरहेको छ । सरकारले सीमा सुरक्षाका लागि गत वर्ष नै बीओपी स्थापना गर्ने भनिए पनि पठाएको थिएन । चर्को विरोध भएपछि अहिले सरकारले त्यहाँ सशस्त्रको टोली पठाउन लागेको हो । 

कालापानी क्षेत्र छाङ्‍रुका लागि सेनाको हेलिकप्टरमा सशस्त्र जाँदै

सशस्त्र प्रहरी बल नेपालका प्रवक्तसमेत रहेका प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल ५० नं. गुल्म दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली त्यसतर्फ गइरहेको पुष्टि गरे । उनले भने, "दार्चुलाबाट २५ जनाको टोली त्यसतर्फ गइरहेको छ । केही समयमा सुर्खेतबाट सेनाको हेलिकोप्टरले उनीहरुलाई लगेर जानेछ । त्यो टोली भारतीय सीमाबाट एक किलोमिटरवर बस्‍नेछ ।" 

सन् २०१५ मा भारत र चीनले लुपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौता गरेका थिए भने भारतले ३ नोभेम्बर २०१९ मा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । ८ मे २०२० मा भारतले उक्त क्षेत्रमा १२ वर्षदेखि बनाउँदै सडक निर्माण सकेर उद्‌घाटन गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro