कोरोना आउनुभन्दा केही अगाडिको समयलाई छोटो विवेचना गर्नुपर्ने हुन्छ । स्थिर सरकार थियो, प्रतिपक्षी, जनता सबैले सहयोग गरेका थिए । निजी क्षेत्रको हौसला बढेको थियो । विद्युत् आपूर्ति सहज भएको थियो, लोडसेडिड थिएन । श्रम सम्बन्ध राम्रो हुँदा औद्योगिक वातावरण बन्दै गएको थियो । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरिएकाले पर्यटन क्षेत्रमा राम्रो लगानी भएको थियो । यी सबै कारणले साढे ८ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने प्रक्षेपण गरिएको थियो । कोरोनाअगाडिको वातावरण राम्रो थियो ।
तर, जब कोरोना आयो त्यसपछि अहिलेसम्म अवस्था के हुन्छ भने निक्र्योल हुन सकेको छैन । कोरोना कति लामो समयसम्म रहन्छ भन्ने पनि थाहा छैन । हाम्रो मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा आवतजावतका विषय कसरी अगाडि बढ्छ, कसरी आर्थिक अवस्था चलायमान भएर जान्छ भन्ने थाहा छैन । भारतमा जुन, जुलाईमा कोरोनाको प्रभाव बढ्छ भन्ने प्रक्षेपण गरिएको छ । अमेरिकामा पनि अर्को तीन महिना लकडाउन हुन्छ भनिएको छ । कतिपय ठाउँमा लकडाउन खोल्दै गएका छन्, कतिपयले लकडाउन गरेका पनि छैनन् । दक्षिण कोरियाले त आफ्नो चुनाव पनि सम्पन्न गरेको छ । भारतमा पनि रेड जोनबाहेक क्षेत्रमा आर्थिक गतिविधि बढाएको छ । मदिरा बिक्री सुरु गरेको छ ।
नेपालको सन्दर्भमा कोरोनाबाट कुनै पनि क्षेत्र अछुतो छैन, सबै क्षेत्रलाई यसले गाँजेको छ । खाद्य उत्पादनदेखि निर्माण क्षेत्र, निजी क्षेत्रका अस्पताल, किराना पसलदेखि ठूला मलसम्मलाई असर गरेको छ । ट्याक्सी सेवादेखि एयरलाइन्स सेवासम्म प्रभावित भएका छन् । पोल्ट्री व्यवसायदेखि निर्यातजन्य वस्तुहरूको उत्पादनसम्म असर पारेको छ । पठनपाठन, वित्त क्षेत्र, वैदेशिक रोजगारी हरेक क्षेत्रमा यसको असर परेको छ । यसबीच खाद्य उद्योग केही मात्रामा चलेका होला, तर पूर्ण क्षमतामा चलेका छैनन् । औषधि उद्योग केही मात्रामा चलेका होलान् । बाँकी सबै उद्योग, व्यापार व्यवसाय बन्द भए ।
व्यापार व्यवसाय ठप्प हुँदा उद्योगी व्यवसायीले एक रुपैयाँ पनि नगद संकलन गर्न सकेका छैनन् । सबै उद्योग व्यवसाय बन्द गरेपछि कहाँबाट पैसा आउँछ ? केही क्षेत्र जस्तो दूरसंचार, खाद्य उद्योग चलेका होलान् तर बजार छैन । पैसा संकलन भएको छैन । आमनागरिकको क्रयशक्ति निकै कम भएर गएको छ ।
यसको असर
उद्योग व्यापार व्यवसाय ठप्प हुँदा उद्योगी व्यवसायीसहित श्रमिक, सरकारलाई पनि असर परेको छ । सरकारको राजस्व उठ्न सकेको छैन । सरकारलाई अर्को वर्ष राजस्वमा झन् ठूलो असर पर्छ । आयकर कम हुने भयो । एनसेल, टेलिकमले आयकर तिर्लान् अरू बाँकी आयकर कहाँबाट आउँछ ?
यसले मजदुरलाई गम्भीर असर गर्यो, उद्योगी व्यवसायी टिक्नै नसक्ने अवस्था भयो, राजस्व नभएपछि सरकारलाई पनि टिक्न गाह्रो छ ।
तपाईं हामी देशमै बस्ने त सिस्नो खाएर पनि बाँच्च सक्छौं । तर, १५–२० वर्षदेखि भारतमा रोजगारी गरिरहेकाहरूको अवस्था अब के हुन्छ ? कैयौं नेपाली भारतका विभिन्न क्षेत्रमा अलपत्र छन् । त्यहाँ काम छैन, नेपाल आउन सक्दैनन् । अहिले रोजगारीमा गएका नेपालीले केही मागेको छैनन्, हामी हाम्रो परिवारसँग बस्न पाउँ भन्ने मात्रै छ ।
यो साझा समस्या हो
अहिलेको समस्या साझा हो । उद्योगीको मात्रै समस्या होइन, मजदुरको मात्रै समस्या होइन र सरकारको मात्रै समस्या पनि होइन । अहिलको अवस्थामा उद्योगी व्यवसायीको अहम् भूमिका हुन्छ, सरकारको त दायित्व नै हुने भयो । अहिले मजदुरको साथ लिएर उद्योगी व्यवसायीले आफ्नो सीमित स्वार्थभन्दा माथि उठेर भएका उद्योग व्यवसाय सञ्चालन गर्नुपर्छ । अहिलेलाई नाफापछिको कुरा हो, लागत मात्रै उठे हुन्छ । अहिले टिक्नै गाह्रो छ, टिक्न मात्रै सकियो भने अर्को वर्ष नाफा लिउँला । उद्योग, सेवा, व्यवसाय क्षेत्रलाई रेगुलर गर्नुपर्छ ।
जस्तोसुकै अवस्थामा पनि नेपालको निजी क्षेत्र आत्तिँदैन । हामीले धेरै ठूला–ठूला समस्या पचाइसकेका छौं । १० वर्षको जनयुद्ध, लोडसेडिड, श्रम समस्या पनि हामीले पार पाएकै हो । नाकाबन्दी । त्यति लामो नाकाबन्दीमा पनि उद्योग व्यवसाय चलेकै थिए । अहिलेको भन्दा कम समस्या थियो त त्यो १० वर्षे द्वन्द्व र नाकाबन्दी ? तर, पार पायौं । भूकम्प गयो, तर त्यसले खासै असर पारेन । अहिले कोरोना महामारी ठूलो समस्याका रूपमा आएको छ । यो आन्तरिक मात्रै भएन बाह्य समस्या पनि भयो । तर, हामी नेपालभित्रै बस्न पाउनेहरू यो अवस्थामा पनि परिवारसँग बस्न पाएका छौं, भाग्यमानी हौं ।
सुरक्षाको परिधिमा बसेर व्यापार व्यवसाय खुला गरौं
सुरक्षाको परिधिमा बसेर व्यापार व्यवसाय खुला गर्नुपर्छ । खुला भनेर खुला मात्रै पनि होइन । सुरक्षाको परिधिमा बसेर, सतर्कता, सावधानी अपनाएर खुला गर्नुपर्छ । कोरोना भनेको कडा खालको रुघाखोकी नै हो । भोलि सबैलाई कोरोना लाग्छ भन्ने पनि छैन । अहिले डर, त्रास धेरै देखाइयो । जानी जानी होमिनुपर्छ भनेको होइन, सतर्कता अपनाउनुपर्छ । तर, डर त्रास देखाइयो, देखाउने हो भने केही पनि गर्न सकिँदैन ।
सरकारले ४४ उद्योग व्यवसाय खोल्यो । तर, यो व्यवस्था अलि अगाडि नै गर्नुपर्थ्यो । उद्योग व्यवसाय बन्द राखेर सरकारी कर्मचारीलाई घरमा राखेर भोलि तलब दिने कुरा पनि हो त ? यसलाई उत्पादन बढाउन अवसर लिनुपर्नेमा घरमा बस्ने अवसर भयो । बन्द भए पनि सरकारले तलब दिनुपर्छ भनेको छ, तलब आइहाल्छ भन्ने भयो ।
व्यवसायीको हातमा एक रुपैयाँ पर्न सकेको छैन, त्यसले कसरी पैसा दिन्छ ? दिन सक्दैन् । अहिलेको अवस्था उद्योग व्यवसायलाई टिकाउनुपर्यो । त्यसो हुन सके श्रमिकले पनि काम पाउँछ, सरकारले पनि राजस्व पाउँछ । डर होइन सावधानी अपनाई, प्रोत्साहन दिएर व्यवसाय गर्न दिनुपर्छ । सरकारले कर्मचारीलाई घरमै राख्ने होइन, धेरैभन्दा धेरै सेवा दिनुपर्छ । उद्योगी व्यवसायीको मर्का बुझ्नुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । सधैं लकडाउने गराएर मात्रै हुँदैन । राज्य, आमनागरिक, मजदुर, उद्योगी व्यवसायी एक ठाउँमा उभिनै पर्छ ।