कोभिड–१९ महामारीबाट अहिले आधारभूतरुपमा तीन भूराजनीतिक प्रवृत्ति देखापरेका छन् ः एसियाको उत्थान, अमेरिकाको पतन तथा युरोपमा जर्मनीको सुदृढीकरण । समग्रमा यस परिवर्ततनले सन् २०३० को संसार कस्तो हुन्छ भन्ने पूर्वसंकेत गर्छ । तर, त्यसभन्दा पहिले, राजनीतिक नेतृत्वले अहिलेको समस्याको समाधान खोज्नुपर्छ । एक शताब्दीअघि भोगिएको अनर्थकारी गल्ती दोहोरिनु हुँदैन ।
आज, भविष्य र भूत एक आपसका टकराइरहेको देखिन्छ । कोभिड–१९ले संसारलाई निर्ममतापूर्वक डिजिटलाइजेसनको युगमा घचेटेपछि धेरै व्यक्ति अब महामारी पहिलेको संसारमा फर्कन चाहँदैनन् । मानौं, हामीले भोगेको समस्या अल्पकालीनमात्र हो भन्ने नै बिर्सिदिन्छन् ।
कोरोना भाइरसले विश्वव्यापीकरणको अन्त्य गरेको भन्न त सकिँदैन तर सायद कुनै प्रकारले विश्वव्यापीकरणका लागि भने यो अपशकुन भयो । उदाहरणका लागि, के अब विश्वका नेता विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम)को वार्षिक बैठकमा भाग लिएर सम्पूर्ण समकक्षीसँग घुलमिल भएर भेटघाट गर्न खोज्लान् ? कि ज्यानमारा भाइरसको डर मानेर सामाजिक दूरीको नियम पालना गर्दै नेटवर्किङ गर्लान् ?
जे होस्, यस महामारीले एसियाको उत्थानलाई पक्का गरेको छ (जहाँ चीनमात्र पर्दैन । ) र पश्चिमा राष्ट्रको पतनको पनि उद्घोष गरेको छ त्यसमा अमेरिकाको पतन मुख्य हुनेछ ।
जब नोभेल कोरोना भाइरससँग जुध्नुपर्यो संसारकै सबैभन्दा शक्तिशाली सैनिक भएको देश अस्त्रविहीन भयो । महामारीको प्रकोपका अघि अमेरिकाको स्वास्थ्य सेवा लाचार भयो (यद्यपि, यस समस्यामा अमेरिकामात्र परेको भने होइन ) । त्यस्तै, सर्वसाधारण जनता खानेकुराका लागि लामो पंक्तिमा उभिएको घटनाले सन् १९३० पछिको महामन्दीलाई सम्झायो । अनि अमेरिकी राजनीतिक नेतृत्व जो निर्दयी तथा अवरवादिताको प्रतिरुपनै हो उसले परिस्थिति झनै बिगार्यो आफ्नो देशको अन्तर्राष्ट्रिय छविलाई छिन्नभिन्न बनाएर ।
आउँदो नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपतिलाई पराजित गरेर अमेरिकाले मानवीयता तथा आफ्नो इज्जत केही मात्रामा फिर्ता ल्याउन सक्ने मौकालाई नकार्न मिल्दैन । तर, यसको लागि अमेरिकाका डेमोक्य्राटिक पार्टीका संभावित उम्मेदवार जो बाइडनको समर्थनमा सबै एकताबद्ध हुनुपर्दछ जुन विषयमा पूर्व राष्ट्रपति बराक ओबामाले बाइडनलाई समर्थन दिने क्रममा पनि जोड दिएका थिए ।
बाइडेनले जित्ने संभावना निकै छ । अमेरिकी जनताले रिपब्लिकन दललाई महामारीसँग जुध्न नसकेको आरोप लगाउनेछन् र त्यसपछि देखिएको आर्थिक मन्दीका लागि दोषी पनि मान्नेछन् । दक्षिण कोरियाका जनताले जसरी महामारीसँग जुध्न सफल राष्ट्रपति मुन जे इनलाई बहुमत दिएर जिताए त्यस्तै अमेरिकी जनताले ट्रम्पलाई पराजित गर्न सक्छन् । तर, ट्रम्प हारे भने पनि अमेरिकाले विगत ७५ वर्ष जसरी संसारमा आफ्नो प्रभुत्व जमाएको थियो सो अवस्था फर्कने संभावना न्यून छ ।
अमेरिकाको पतन भन्नु चीनले अब नेतृत्वको मसाल बोकेर हिँड्छ भन्ने पनि होइन । कोभिड–१९ ले चिनियाँ सरकारको समस्या पनि उजगार गरिदिएको छ । खासगरी चीनको अपारदर्शितालाई छताछुल्ल बनाएको छ । यो महामारीले सन् २०२० को पहिलो त्रैमासिकको अर्थतन्त्र ध्वस्त बनाएको छ र यो देश अब महामारीको दोस्रो लहरको संत्रासमा बाँचेको छ । त्यसैले अबको संसार दुई ध्रुवीय भन्दा पनि ध्रुवरहित हुने संभावना देखिन्छ ।
युरोपको भूमिका कस्तो होला ? सुरुमा कोभिड–१९को संक्रमणसँग जुध्ने कार्यमा निकै कमजोर देखिए पनि युरोपलाई तीन महिला नेतृत्वले आफ्नो साख कायम राख्न सहयोग गरे । ती हुन् – जर्मन चान्सलर एन्जेला मर्केल, युरोपियन कमिसनकी अध्यक्ष उरसुला भन दर लेएन तथा युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लेगार्ड । तर, यो संकटमा युरोपको लड्ने क्षमताभन्दा जर्मनीको सक्षमता सशक्तरुपमा अघि आएको छ ।
युरोपको सबैभन्दा ठूलो जनसंख्या भएको देश भए पनि जर्मनीमा कोभिड–१९बाट अन्य युरोपेली देशभन्दा चार गुना कम मृत्यु भयो । त्यसैले होला अहिलेसम्म निवर्तमान राष्ट्रपति भनेर चिनिएकी मर्केलको लोकप्रियता कुनै पनि युरोपियन नेताको भन्दा धेरै भएको छ । उनले प्रमाणित गरिदिएकी छिन् – कुनै पनि नेतृत्वले आफ्नो नैतिक बल पछ्याएर पनि आफूलाई सफल बनाउन सक्छन् । उनले सन् २०१५ मा नैतिक बलमा आप्रवासीका लागि देशको ढोका खोलिदिएकी थिइन् । अर्को पाँच वर्षभित्रै डर र अनिश्चिततासँग कसरी लड्न सकिन्छ भनेर प्रमाणित गरिदिएकी छिन् ।
कोभिड–१९का कारणले इतिहास दोहोरिँदै जाने हो भने हामीले सही निर्णय गर्न विगतलाई हेर्नै पर्ने हुन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण वर्ष सन् १९२० हो ।
एक शताब्दीअघि, पहिलो विश्व युद्धको समाप्तिसँगै भएको स्पेनिस फ्लुको आक्रमणसँग लड्ने क्रममा त्यसबेलाका राजनीतिक नेतृत्व असफल देखिएका थिए । अर्थात्, त्यत्रो ठूलो समस्याको हल कसरी गर्ने भन्ने विषयमा अनभिज्ञ भए । त्यसैको कारणले संसार सन् १९३० को महामन्दीमा जकडियो भने त्यसपछि विश्वयुद्ध पनि भयो ।
अहिले विश्वका नेताले लड्नु परेको समस्या केही फरक भए पनि उत्तिकै कठिन छ । खासगरी, जनताको जीवन बचाउने र अर्थतन्त्र जोगाउने समस्यासँगैे स्वतत्रता र सुरक्षाको बीचमा पनि एक प्रकारको सन्तुलन कायम गर्नु परेको छ ।
सरकारले अर्थतन्त्र जोगाउनका लागि स्वास्थ्यमा धेरै ध्यान दिएन भने कोभिड–१९को दोस्रो लहरको आक्रमणमा पर्ने जोखिम हुन्छ र त्यसले स्वास्थ्य र अर्थतन्त्र पुनः तहस नहस पार्न सक्छ । त्यस्तै, स्वतन्त्रतालाई सबैभन्दा अधिक महत्त्व दिएर एसियाले अवलंबन गरेको ‘खोजी एप’ (ट्रयाकिङ टेक्नोलोजी)लाई बेवास्ता गरियो भने कुनै दिन यस्तो आउन सक्छ जुन बेलामा अविवेकी तथा सामान्य राजनीतिक शक्तिले स्वतन्त्रतावादी सिद्धान्तको निर्दयतापूर्वक प्रयोग गर्दै जनचासोलाई सम्पूर्णरुपमा कुल्चिएर शासन गर्ने संभावना हुन्छ ।
सन् १९२० तथा १९३० मा भएको डरलाग्दो युद्धले शान्तिवादको जन्म गरायो जसले गर्दा फासिस्टवाद तथा झन् भीषण विश्व द्वन्द्व अघि बढ्न सहयोग भयो । आज आर्थिक लालच अथवा स्वतन्त्रतावादलाई हामीलाई झन् ठूलो विपत्तिको बाटामा लैजानबाट रोकौँ ।
(फ्रान्सको पेरिस अवस्थित मोन्टगेन इन्स्टिच्युटका विशेष सल्लाहकार )
Copyright: Project Syndicate, 2020.