site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 मेरो देश खै ?

यतिबेला महाकालीको किनारामा बसेर मेरो देश अनि मेरो सरकार खोजिरहेको छु । सपनामा बर्बराए जसरी होसमा नै चिच्याइरहेको छु । कर्म थलोमा बस्न दिएनन्, ओतलाग्न जन्म घर फकेँ । बिरानो मुलुकमा महाकालीको किनारामा बास बस्नु पर्यो । मरेपछि लगिने ठाउँ त त्यहीँ नै हो सरकार । तर, जीउँदै खोलाको बगरमा रातदिन बिताउन भने निकै सकसपूर्ण हुनेरहेछ । 

हामीले दसतिर चरेर भए पनि सरकारलाई बुझाउनुपर्ने कुत तिरोभरो सबै दायित्व पूरा गरेकै हो । हामीले रोजगार खोजेनौ, गाँसवासको प्रबन्ध गरिदेऊ भनेर कहिल्यै भनेनौ । मेरा बाजे बराजुको पालादेखि भारतका गल्ली गल्ली चहारेर अनेकौं हन्डरहरु खेप्दै जीवन धान्दै आइरहेका छौँ । थाहा छैन यसले कति पुस्ता निरन्तरता पाउने हो ? तर, पनि हामीले आफ्नै थातथलोमा रोजगारको प्रबन्ध किन गरिदिएनौ भनेर कहिल्यै गुनासो गरेनौ ।  छाक टार्न सीमा पार गर्नुपर्ने हाम्रो बाध्यताको अन्त्य कहिले हुन्छ भनेर कहिल्यै सोधेनौ । तपाईँको हामीप्रतिको नियतमा कहिल्यै शंका गरेनौँ । न हाम्रो बफादारीमा शंका गर्ने ठाउँ नै दियौँ । आज महाकालीको लहर गन्दै सरकारंलाई सोध्दै छु – अहिलेको परिस्थिति हामीले नै निम्त्याए जसरी बगरवासको  सजाय दिनु कतिसम्म न्यायोचित होला ? उता बस्न दिएनन् घर सम्झी आयौँ, आपतको बेला देश सम्झी आयौँ, हामीले के नै बिरायौँ र ?

सीमा नाकाबाट छिर्न नदिएपछि बगरमै बसेर सिंहदरबारले हाम्रो पीडा महसुस गर्ला कि भनेर अझै बाटो हेरिरहेका छौँ सरकार । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी अप्ठेरोमा परेका नागरिकलाई जोगाउन चीनको वुहानबाट प्लेन नै पठाएर उद्धार गरेको खबर मैले मेरो मालिकलाई धक फुकाएर  सुनाएको थिएँ । यहाँका साथीभाइहरूसँग गर्वका साथ भनेको थिएँ – हामी कर्मले ठगिएको भए पनि आपत् पर्दा हाम्रो सरकार छ,  सरकारले हेर्छ । त्यति बेला गर्वले  छाती फुलेको थियो । राष्ट्रिय भावना मनभरी तनभरी छचल्किएको थियो । अहिले पनि त्यो क्षण सम्झिँदा मन भरिएर आउँछ । तर, नागरिकको यो भावनाको कदर र अनुभूति कहिले हुन्छ सरकार ? 

यो प्रकोपले भारतलाई छोप्दै गर्दा मसँगै मजदुरी गर्ने साथीभाइ र मेरो मालिकसँग धाक लगाएर  भन्ने गर्थेँ – हामी हाम्रो जिजुबराजुको थिति थाम्नमात्र यहाँ आएका हौँ । केही परे हाम्रो सरकारले विदेशमा त प्लेन  पठाएर उद्धार गर्छ यहाँ त पानी पँधेरो हो । पहिलेजस्तो अवस्था छैन । मेरो रवाफिलो भनाइ पछि साथीभाइ र मालिकको व्यवहारसमेत फेरिएको अनुभव गरेको थिएँ । त्यस घटनापश्चात् मेरो मनमा देशप्रेमको भावना अरु जागृत भएको महसुस गरेको थिएँ । सरकार, तपाईंले गरेको एउटा राम्रो कामको प्रभाव हामीजस्तो अर्काको देशमा मजदुरी गर्नेमा पनि पर्दो रहेछ । आड भरोसा मिल्ने रहेछ । यसमा सधैँ हेक्का राख्नु होला । 

Global Ime bank

यतिबेला भने म महाकालीको पारिपट्टिको किनारमा बसेर देश खोजी रहेको छु । सरकार, मैले यहाँबाट मेरो भूमि, मेरा बस्तीहरु, मैले उकालीओराली गरेको गोरेटो देखिरहेको छु । हिमालदेखि बेसीसम्मको आफ्नोपनलाई यहीँबाट महसुस गरिरहेको छु । मेरो सामुन्ने बर्दी लगाएर मेरै दाजुभाइ उभिरहेका छन् । उनीहरुको आखाँमा पनि हाम्रो पीडा छचल्किरहेको छ । तैपनि तपाईँको आदेशले बाँधिएका उनीहरु यी सबै दृश्यहरू देखेको नदेखे झै गरी नाकामा तगारो हालेर बसिरहेका छन् ।

मेरो दोष के हो ? भनिदेऊ न सरकार ! म कहिलेबाट देशविहीन भएँ ? आफ्नै देश छिर्न नपाउने मैले त्यस्तो के अपराध गरेँ ? 

रोजगारीको लागि विदेशिने नागरिक प्लेन चढेर जानेमात्र छैनन् । खाली खुट्टा सीमा छिचोलेर जानेहरु पनि धेरै छन् भन्ने किन बिर्सेको ? उनीहरुको उद्धार र सहायता अनि क्वारेन्टिन प्लेनमा उड्ने जत्तिको खर्चिलो पनि छैन भन्ने किन हेक्का रहेन ?

हामी आफन्तहरूलाई अप्ठेरो पार्न देश फर्किएका होइनौ । हामी पनि यही प्रकोपबाट जोगिन भनेर नै देश फर्किएका हौ । यो सबै अवस्था उत्पन्न हुनुमा हामी नै दोषी भएजसरी किन व्यवहार हुन्छ ? हामी खोलावारि नै बस्दा राष्ट्रले यो संकटबाट मुक्ति पाउँछ भने सार्वजनिक घोषणा गरिदेऊ  सरकार, हामी खोलो नतरी यतै बसौँला । हैन भने आफ्नै किनारा त छुने अनुमति नपाएकाहरूलाई अर्काको किनारामा कति दिन बस्न देलान् र ? यता पनि बस्न नदिए  हामी  कता जाऊँ ?  बाटो देखाइदेऊ त्यतै डोरिउँला । राज्य चाहिने यस्तै आपतविपदमा हो । अरु बेला त आफैँ दुःखसुख गरेर जीवन निर्वाह गरिरहेका छौँ । यता हाड घोटेर भए पनि हामीले पठाएको पैसाबाट देशलाई केही सहयोग त  पुगेकै होला नि हैन  ? अहिले नागरिकप्रतिको दायित्व पूरा गर्न चाहिँ किन कन्जुस्याइँ ? हाम्रो समस्याप्रति किन संवेदनशील नबनेको सरकार ? 

यतिबेला आफ्नै मान्छेहरू हामीसँग तीन हात पर सर्दै असहिष्णु व्यवहार देखाइरहनु भएको छ । के हामी सबै सक्रंमित हौँ र ? हामीप्रति यति अविश्वास छ भने प्लेनबाट उद्धार गरेर सुविधासम्पन्न क्वारेन्टिनको व्यवस्था गर्न सक्ने सामथ्र्य भएको सरकारको लागि हामी कसरी त्यस्तो खर्चिलो भयौँ ?

यसरी राज्यले नागरिक नागरिकबीच विभेद गर्न मिल्छ ? हो, यतिबेला तत्काल सीमा क्षेत्रमा यस्तो व्यवस्थापन गर्न गाह्रो होला । तर, प्लेनबाट भन्दा सडकबाट आउनेहरुको संख्या अधिक हुन्छ भन्ने जान्दाजान्दै किन यता तिर ध्यान दिइएन ? सुकिलो मुकिलोलाई मात्र आफ्नो सन्तान ठान्ने अनि राज्यको सबै सुविधा उनीहरुमै केन्द्रित हुने अवस्थाको अन्त्य कहिले हुन्छ, सरकार ? चुनावको बेला सिंहदरवारको अधिकार हाम्रो घर आँगनमै ल्याउँछौँ भनेर भोट माग्ने हाम्रै मान्छेहरु स्थानीय सरकार बनेर बसिरहनु भएको छ । यतिबेला उहाँहरुकै व्यवहार झन् असहिष्णु बनिरहेको छ । किन सरकार ? हामीलाई आफ्नो भूमि टेक्ने अनुमति देऊ । बरु आफ्नै बगरमा कति दिन क्वारेन्टिनमा बस्नु पर्ने हो बसौँला । मरिएछ भने पनि आफ्नै भूमिमा मर्न देऊ । बिन्ती सरकार, हामीलाई अनागरिक नबनाऊ । 

एउटै भाषा बोलेकै समान रीतिरिवाज भएकै भरमा भुटानबाट लघारिएकालाई  त यतिका वर्ष शरण दियाँै । एउटा अज्ञात रोगकै कारण हामीलाई देशविहीन बनाउन मिल्छ ? एकपटक हाम्रो ठाउँमा उभिएर पनि सोचिदेऊ न सरकार ।

सुरक्षाकर्मीको आखाँ छलेर पारी तर्न मध्यरातमा साथीहरू महाकालीमा हेलिइरहेका छन् । तीमध्ये कतिले पारी टेक्न पाउने हुन् थाहा छैन । त्रिशूलीमा गाडी खस्दा नागरिकलाई बचाउन ज्यानको पर्वाह नगर्ने तिनै सुरक्षाकर्मी अहिले नदीमा हेलिन नागरिकलाई किन बाध्य पार्दैछन् ?

सुरक्षाकर्मीहरूको सेवा र व्यवहार अझै पनि नागरिकहरुको वर्गअनुसार नै निर्धारित हुन्छ ?  नदीमा हेलिन नसक्ने  अधिकांश साथीहरू देश छिर्न पाऊँ भनेर याचना गर्दै सीमामा नाराबाजी गरिरहेका छन् । उतापट्टीको सुरक्षाकर्मी धपाउने अनि यताको सुरक्षाकर्मी छिर्न नदिने यो कस्तो तमासा हो सरकार ? महाकालीको किनारामा किंकर्तव्यविमूढ बनेर बसिरहेको म न नदीमा हेलिन सकेँ न नाराबाजीमा नै उत्रन सकिरहेको छु । किनभने तपाईंले नै हो प्रजातन्त्रको खातिर अधिकार खोज्दा कर्तव्य भुल्नुहुन्न भन्ने पाठ पढाउनु भएको । यही दायित्व बोध गर्दै मेरो कदमले सरकारको सुख र समृिद्धको यात्रामा बाधा पुग्ला भनेर सरकारको मुख ताकेर बसिरहेको छु । मेरो उद्धार कहिले हुन्छ त सरकार ?

(हाल बेइजिङ –विद्यावारिधि शोधार्थी )

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement