
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस बिस्तारै विश्वभर फैलियो । विश्वका कुनाकुना पुगेको भाइरस नेपाल आइनपुग्ने सम्भावना थिएन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमको क्षेत्रमा राख्दै बेलैमा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्यो ।
सुरुका दिनमा कानमा तेल हालेर बसेको सरकारले अन्तिममा आएर २५ जनाभन्दा धेरै भेला नहुन आग्रह गर्यो । क्लव, जिम सेन्टर, सिनेमा हल बन्द गर्न निर्देशन दियो । शैक्षिक संस्था बन्द गर्न भन्यो । अन्ततः कोरोना फैलिएका देशले नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्न घोषणा गरेको लकडाउन नेपालले पनि लागु गर्यो ।
जनता घरभित्रै बस्नुपर्ने भयो । आफ्नै स्वास्थ्यका लागि गरिएको आग्रह मान्नै पर्यो । दीपकराज गिरी पनि घरभित्रै बसे । हुन त उनी ‘छक्का पञ्जा–४’ को स्क्रिप्ट लेखनका लागि केही महिना अगाडिदेखि नै करिबकरिब होम क्वारेन्टाइनमा थिए ।
लकडाउन घोषणा भएपछि झन् बाहिन निस्कने कुरै भएन । उनका केही स्वास्थ्यकर्मी साथीहरु छन् । उनीहरुसँग फोनमा दीपकको कुरा भयो । लकडाउनपश्चात् दीपकसँग फोन संवाद होस् अथवा समाजिक सञ्जालमा गफिनेमध्ये सबैभन्दा धेरै त्रसित तिनै स्वास्थ्यकर्मी थिए । उनीहरु भन्थे, दीपकजी मरिन्छ कि क्या हो !
स्वास्थ्यकर्मी भएर त मनोबल उच्च पो पार्नुुपर्छ भन्दै दीपक तिनलाई थुम्थुम्याउने प्रयास गर्थे । तर ती स्वास्थ्यकर्मी भन्थे– बन्दुक नै नलिई लडाइँमा जाँदा गोली लाग्ने सम्भावना त बढी छ नि, हैन र ? हामीसँग स्वास्थ्य सामग्री छैन, आफ्नै जिन्दगी जोखिममा छ । उनीहरुलाई उल्टै दीपकले काउन्सिलिङ गर्नुपर्यो । आस्तिक हुन् दीपक सम्झाउँथे, भगवान्को कृपाले कसलाई के हुने र के नहुने माथि नै तय भएर आएको हुन्छ, त्यसैले केही हुँदैन ।
फेसबुकमा दीपक अचेल नडराउनुस्, आत्मबल उचो बनाउनुस्, हाँस्नुस्, रमाउनुस् भनेर भिडियो अथवा स्टाटस पोस्ट गरिरहेका छन् । कमजोर मनोबललाई केही उकास्ने उनको प्रयास हो यो । जसरी हुन्छ आफूसँग जोडिएका र आफूलाई सुन्नेहरुको मनोबल दरिलो बनाउँदै ‘मोराल बुस्टअप’ गर्नु उनको उद्देश्य हो ।
सेड्युल सर्ला, छैन चिन्ता
जेठको पहिलो साताबाट चलचित्र ‘छक्का पञ्जा–४’ को सुटिङ सुरु गर्ने उनको तयारी थियो । त्यसका लागि स्क्रिप्ट लेखिरहेका थिए । दीपक करिब ७५ प्रतिशत स्क्रिप्ट आफैं लेख्छन् । स्क्रिप्टको स्केलेटन तयार पारेपछि उनी आफ्नो टीमसँग बस्छन् । बैशाखको पहिलो सातासम्म स्क्रिप्टको स्केलेटन तयार पार्छु अनि सबैजना बस्नुपर्छ है भनेका थिए, उनले । दीपकको टिम भनेको दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल हुन् । सुमन गिरी –भाञ्जा)लाई दीपकले जेठको पहिलो साताबाट फ्लोरमा जानुपर्छ, त्यसको चाँजोपाँजो मिलाउँदै गर्नुस् है भनेका थिए । उनको टिम सेड्युलमा चल्न तम्तयार अवस्थामा थियो ।
तर विश्वका शक्ति सम्पन्न देशलाई निरीह साबित गर्नेगरी कोरोना भाइरस आइपुग्यो । दीपकको सेड्युल करिबकरिब अलपत्र परिसक्यो ।
विश्व नै महामारीले त्रसित बनेको अवस्थामा उनले आफ्नो काम पूर्वनिर्धारित मितिमा नहुने भयो भनेर टाउको दुखाउने कुरा भएन । र दुखाएका पनि छैनन् ।
विश्वका अन्य देशमा जस्तो नेपालमा कोरोनाको प्रभाव छैन । तर पनि जोखिमका कारण अझै कति समयसम्म अन्तर्राष्ट्रिय उडानहरु रद्द हुने हुन् अन्योल छ । त्यसको असर दीपकलाई पनि पर्छ । कारण नेपाली बसोबास गर्ने धेरै देशमा उनको चलचित्रको माग हुन्छ । तर अहिलेको अवस्थामा चलचित्र जसोतसो बनाए पनि विदेशमा लैजान सक्ने सम्भावना छैन । त्यसैले द्विविधामै छन् दीपक पनि ।
भोलि जे होला, त्यो भोलि नै भोग्दै जाने हो । भलै त्यस्ता प्राकृतिक प्रकोप तथा महामारीबाट बच्नका लागि पूर्वतयारी गर्नुपर्छ । तर आजै मरिन्छ कि क्या हो, आकाश नै खस्ने भयो, धर्ती नै पल्टिने भयो भनेर हतास हुनु नमरी स्वर्ग देख्नु अथवा आफ्नो दुर्गतिको दिन आफैं निम्त्याउनु हो भन्छन् दीपक । त्यसैले उनी आत्तिएनन्, बरु भन्छन्– आज ताकेको काम आजै भएन त के भयो, भोलि त पक्कै होला । आँटे ताकेको काम सबै हुनैपर्छ भन्ने नरहेको उनी बताउँछन् ।
दीपक भगवान्प्रति आस्था राख्छन् । त्यसैले उनी भन्छन्, हामीले त आँट्ने मात्रै हो, मोहर लगाउने काम त ईश्वरले गर्छन् ।
फेसबुके प्रतिक्रियालाई जवाफ
दीपक गिनेचुनेका चलचित्रकर्मी । कतिले उनलाई हाकाहाकी प्रश्न गरे– यो असहज परिस्थिमा सरकारलाई कति सहयोग गर्नुभयो ? कतिले घुमाएर सोधे । कतिले त आलोचना समेत गर्न भ्याए ।
दीपकले गरेको अनुभव : पैसा दिएन, पैसा किन दिइनस्, कञ्जुस ।
पैसा थोरै दियो, यति थोेरै दिने, लाज लाग्दैन ।
धेरै दियो, भ्रष्टाचार गरेर, लुटेर ल्याएको पैसा दिइहाल्छन् नि ।
केही दिनअगाडि मात्रै एकजनाले कोरोना नियन्त्रण कोषमा तीन लाख सहयोग गरे । उनलाई फेसबुकमा कमेन्ट गरियो, कहाँबाट आयो यति धेरै पैसा ? भ्रष्टाचार गरेर ल्याएको त होला । त्यसैले यस्तो फेसबुके प्रतिक्रियामा दीपक अहिले खासै ध्यान दिँदैनन् । आफूले ध्यान दिएको, देखेको र जानेको गर्ने सोचमा छन् उनी ।
उनको गुनासो छ, हाम्रा चलचित्रलाई बलिउड र हलिउडका चलचित्रसँग तुलना गरिन्छ । बलिउडका सेलिब्रिटीसँग नेपाली सेलिब्रिटीलाई तुलना गरिन्छ । दुईसय वर्षको इतिहास बोकेको हलिउड, सय वर्षको इतिहास बोकेको बलिउड जहाँ अर्ब डलर लगानीमा चलचित्र बन्छन्, हाम्रोमा मुस्किलले करोडमा बनेका चलचित्रसँग तुलना गर्न मिल्छ ?
अक्षय कुमारले प्रतिवर्ष ४ सय देखि ६ सय करोड कमाउँछन् । हाम्रो चलेको नेपाली सेलिब्रिटीले मुस्किलले ३० लाख कमाउँछ । त्यो पनि तीनचार वर्ष चलेपछि डेट एक्सपायर हुन्छ । अनि कसरी मिल्छ तुलना गर्न ? अक्षय कुमारले २५ करोड रुपैयाँ सहयोग गरे हाम्रा कलाकारले खोई ? गरे पनि त्यति थोरै ? प्राय : अहिले भइरहेको आलोचना यही हो । यदि अक्षय कुमारको आम्दानी र हाम्रो अम्दानीको अनुपात हेर्ने हो भने हामीले २५ हजार रुपैयाँ मात्रै सहयोग गर्ने हो भने पनि त्यो रकम धेरै हुन जान्छ ।
त्यसमा पनि राहत कोषमा सरकारले कति पैसा जम्मा गर्यो, कसरी स्वास्थ्य सामग्री छिटो जुटाउने, वितरण गर्ने खोइ नीति तथा कार्यक्रम, त्यहीँ भ्रष्टाचारका समाचारहरु आइरहेका छन् ? प्रश्न छ दीपकको । हामी त भर्खर सुरुआती चरणमा छौं । फेसबुके बुजु्रगहरु कडा आलोचना गरिरहेका छन् ।
तर फेसबुकमा आएका आलोचना र सुझाव होइन आफ्नो धरातलमा उभिएर आफ्नै क्षेत्रमा सहयोग गरेकाे दीपक बताउँछन् ।
कस्तो सहयोग ?
नेपाली चलचित्र क्षेत्रमा काम गर्ने कमजोर आर्थिक अवस्था भएका करिब ३०/३५ जना स्पोट ब्वाई छन् । लकडाउन लम्बिँदै जाँदा उनीहरुको घरमा चुलो धुवाउँदैन । तिनीहरुको घरमा एक महिना पुग्ने रासन दिन सके धन्य हुने दीपक बताउँछन् । यही सोच अनुसार उनले सहयोग गरे चलचित्र प्राविधिकलाई । “लाखौं रुपैयाँ सहयोग गरेँ भनेर फेसबुकमा राखेर मलाई हिरो बन्नु छैन,” दीपक भन्छन्, “सकेको सहयोग आफ्नै पैसा दिएर गर्छु । अरुसँग पैसा मागेर अरुको पैसामा हिरो हुनु पनि छैन मलाई । नैतिक शिक्षा पढेर आएको हुँ । नागरिकको दायित्व के हो र मेरो दायित्व के हो मलाई थाहा छ ।”
हजुरबुवा हजुरआमाले आफ्नो कमाइको १० प्रतिशत दानधर्म गर्नुपर्छ भनेर सिकाएको दीपकले बिर्सिएका छैनन् । दीपकसहित चलचित्र ‘छक्का पञ्जा’ युनिटले एकलाख १० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।
लकडाउन डायरी
दीपक बिहान साढे ७ बजे उठ्छन् । डेढ घण्टा सामाजिक सञ्जालमा गएर अपडेट लिन्छन् ।
९ बजे शारीरिक अभ्यास सुरु गर्छन् । यसमै मर्निङ वाक पर्छ । घर नजिकै चौर छ, त्यसमै हिँड्छन् उनी । प्राणायम, अनुलोम बिलोम, कपालभाती गर्छन् । ब्याक बोनमा केही समस्या छ, त्यसका लागि छुट्टै प्राणायम गर्छन् । त्यसपछि आधा घण्टा गीत बजाएर नाच्छन् दीपक ।
भगवान्प्रति विश्वास छ दीपकलाई, आधा घण्टा ईश्वरको प्रार्थना गर्छन् । यति गर्दा दिनको ठीक १२ बजेको हुन्छ । १२ बजे दीपकको खाना खाने समय हो । एक घण्टा आराम गरेर स्क्रिप्ट लेख्न बस्छन् । स्क्रिप्ट लेखेर ६ बजे उठेपछि दीपक आधा घण्टा इभिनिङ वाकमा निस्किन्छन् । ७ बजे घर फर्किएर नेटफ्ल्क्सिमा एउटा चलचित्र खोज्छन् । आधा चलचित्र हेर्छन् । ८ बजे दिउँसो लेखेको स्क्रिप्टमा केही करेक्सन गर्छन् । साढे ८ बजे हल्का केही खान्छन्, बाँकी चलचित्र हेरेर ११ देखि साढे ११ बजे सुत्छन् ।
मृत्युमा कमी ?
दीपक चलचित्रकर्मी मात्रै होइनन्, सञ्चारकर्मी पनि हुन् । मङ्गलबार कान्तिपुर एफएममा कार्यक्रम ‘फिल्मी परेड’ चलाउनु थियो । गाडी लिएर घरबाट निस्किए । सडक जति सुनसान थियो, त्यति नै सुन्दर पनि । सडकमा धुलो थिएन, हावामा धुलो र धुवाँ थिएन । आहा कति सुन्दर ! आखिर हाम्रो सबैभन्दा ठूलो समस्या त अस्तव्यस्त ट्राफिक पो रहेछ । हुन त यसको पहिचान उनले यसअघि नगरेका होइनन् । तर सायद यति धेरै गहिरिएर उनले सोचेका रहेनछन् ।
पशुपति क्षेत्र विकास कोषमा कार्यरत एकजना उच्च पदाधिकारीसँग उनको राम्रै चिनजान छ । कुरा भयो । ती कर्मचारीले पशुपति आर्यघाटमा लकडाउन सुरु भएपछि दाह संस्कारका लागि आउने शवको सङ्ख्या ह्वात्तै घटेको सुनाए ।
किन ? दीपकको जिज्ञासा थियो । लकडाउन भएपछि सवारी साधन चलेनन् । सवारीसाधन नचलेपछि दुर्घटना भएन । दुर्घटना नभएपछि ज्यान गुमाउनेको सङ्ख्या घट्यो । शव कम हुनुको कारण सुनाए दीपकलाई ती व्यक्तिले ।
आखिर हामीले भोगिरहेको समस्या हामी आफैंले त निम्त्याएका रहेछौं, दुर्घटनाको कारण व्यक्ति स्वयम् त रहेछ । कुराकानीको निष्कर्ष थियो ।
चलचित्रमा कोरोना ?
दीपकले स्क्रिप्ट लेखिरहेका बेला विश्वमा कोरोनाको महामारी फैलियो । चलचित्र स्वैरकल्पना मात्रै होइन, समाजको ऐना पनि हो ।
त्यसो त के समेट्ने के नसमेट्ने त्यो विषय, समय र पात्रले पनि निर्धारण गर्छ । त्यो भए के विश्वलाई नै थिलथिलो बनाउने, शक्ति राष्ट्रलाई पनि घुँडा टेकाउने कोरोना प्रभाव दीपकको यो चलचित्रमा समेटिन्छ ?
समेटौं कि नसमेटौं दीपक स्वयम् द्विविधामा छन् । कारण उनीप्रति दर्शकले भरोसा गरेका छन् । अपेक्षा धेरै छ । हल्काफुल्का रुपमा देखाएर अर्थ छैन, न्याय गर्नेगरी देखाउन पूर्वनिर्धारित विषयमा जोड्न सकिन्छ कि सकिँदैन ? उनी स्वयम् द्विविधामा छन् । जोडदार रुपमा देखाउन सके देखाउँछन्, अवस्था त्यस्तो बनेन भने छोड्दिन्छन् ।