site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
नेताका देखिने र नदेखिने अनुहार 

जीवनको दुई दशक नेताका भाषण सुनेर र तिनैको समाचार बनाउँदैमा बित्यो । तर, पनि धेरै नेताको असली अनुहार चिन्न सकिन । चाल चलन बुझ्न सकिएन । 

केही वर्षअघि एउटा जमघटमा नेताहरुको भनाइ र काम बारे चर्चा हुँदै थियो । 

साढे दुई दशकअघि म गाउँबाट पढ्न भर्खर काठमाडौं आएका बेला रातो रंगको हिरो होन्डा मोटरसाइकल चढाएर सहरका गल्ली घुमाउने दाइ टुप्लुक्क आइपुगे । व्यापारिक पृष्ठभूमिका उनले विगत डेढ दशकमा राम्रै कमाइ गरेको बताए । छलफलमा भाग लिँदै उनले भन्न थाले – भाइ कैयौं वर्ष त मैले पनि नेता चिन्न सकिन ।

KFC Island Ad
NIC Asia

ढिलै गरेर भए पनि नचिनेको भए यति बेला सांसद हुनसक्ने थिइन होला । लामो समय भ्रममा बाँचियो । बिहान बेलुका तिनका घर आगन कति चहारियो कति ? भेट्न पाउने होइन ! घण्टौं कुर्दा पनि नेताजी व्यस्त । आलिसन महल कम्पाउन्डभित्र कार्यकर्ता भेट्न बनाइएका छाप्रामा गाउँबाट आएका मजस्ता कैयौ कार्यकर्ता घन्टौं कुरेर बसेका हुन्थे । मोजा गह्नाएर हैरान । तै पनि नेता भेट्न पाएको होइन ? बीचबीचमा टाई सुट लगाएका मानिसहरु धमाधम नेताजीको बेडरुमसम्मै पुगेर फर्किएको देखिन्थ्यो । को होलान् ती ? ठूलै मान्छे त होलान् नि ! आउनासाथ भेट्न पाइहाल्छन् भन्ने लाग्थ्यो ।

बल्लतल्ल नेताजी भेट्न पाउँदा साक्षात भगवानकै दर्शन भएजस्तो लाग्ने । मानौ सबै समस्याको हल उनै हुन् । धेरैपछिमात्र उनीहरुका देखिने र नदेखिने अनुहार पढ्न सक्ने भए । चिल्लो सुटकेस बोकेका टाई सुटधारीमध्ये धेरै त बिचौलिया पो हुँदा रहेछन् । नेता किनेर राजनीति र व्यापारमा सफलताको शिखर चुम्न हिडेका । समय फेिरयो । नेता भेट्न घन्टौं कुर्ने म आफैँ विभिन्न कामको सिलसिलामा सबैजसो पार्टीका नेतासँग ‘विजनेस डिल’ गर्ने हैसियतमा पुगेँ । करौडौंको सम्पत्ति जोडेँ । सांसद पनि भए । मौका आए मन्त्री हुन्छु ।

Royal Enfield Island Ad

हिजो नेताजी भेट्न मसँगै घन्टौं गुजार्ने धेरै साथी अझै त्यही भ्रममै होलान् । तिनलाई आफ्ना नेता के गर्छन् भन्ने थाहा पनि छैन होला । आज म उनीहरुको अनुहार पढ्छु, विगत सम्झन्छु । मनमनै लाग्छ । म पनि उही भ्रममा बाँचेको भए उनीहरुसँगै गह्नाउने मोजा सुँघेर अहिलेसम्म नेताजीको प्रतीक्षा गरिरहेको हुन्थेँ होला ? 
राजनीति किन गरेको ? भन्ने प्रश्नमा अहिलेका प्रायः नेता भन्ने गर्छन् – जोगी हुन कसैले राजनीति गर्छ ?

तथ्यले पनि त्यही देखाउँछ । करौडौंको भ्रष्टाचार र अनियमितता भएका समाचार पढिरहँदा लाग्छ सत्तामा पुगेपछि जीवनभरको लगानी उठाउनुपर्छ भन्ने संस्कारले राजनीतिमा जरो गाडिसकेको छ ।  

आफूमाथि नक्कली मोही खडा गरेर सरकारी जग्गा वितरण गरेको आरोप लागेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसद्मा बहालवालासहित सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गर्दै प्रश्न गरे  । गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ? हिजो अरुले दिएको लुगा र चप्पल लगाएर हिड्ने मलगायत हामी कसरी ‘सुटेड बुटेड’ भयाैँ ? अहिले देखिएको दृश्य कमाइबाट कसैको काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन ।  

पूर्वप्रधानमन्त्री भट्टराईका यी प्रश्नको जवाफ दिनसक्ने नैतिक धरातल नेतृत्वमा देखिँदैन ? नेतृत्व वर्गमा निष्ठा, इमानदारी र देश तथा जनताप्रति  उत्तरदायित्वबोध हुँदो हो त तेत्तीस किलो सुन, वाईडबडी, यती, सेक्युरिटी प्रेस र फोरजीलगायतका कैयौं काण्ड यसै सेलाउने थिएनन् । 
यी सबै प्रकरणमा सत्ता र विपक्षी दुवै मौन प्रायः छन् । किन ? 

राजनीतिमा बेइमानमात्र छन् भन्ने होइन । इमानदारको आवाज कमजोर भएकाले लोकतन्त्रमाथि बादल लागेको चाहिँ हो । 

बेइमानी गरेर पनि सत्ताको सिँढी उक्लिन र नेताको पगरी लगाउन सम्भव छ । तर, दुनियामा राजनेताको सम्मान चाहि कुनै बेइमानले पाएको छैन । यो आलेख पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा केन्द्रित छ ।  

नित्य गीता वाचन गर्ने भट्टराईले त्यसैको सार ‘कर्म गर फलको आश नगर’कै शैलीमा जीवन यापन गरे । विसं २०६० सालको प्रारम्भमा कान्तिपुर टेलिभिजनका लागि लगातार तीन दिन भट्टराईको अन्तर्वार्ता रेकर्ड गर्ने क्रममा लेखकलाई पनि उनकै मुखबाट गीता पाठ सुन्ने अवसर मिलेको थियो । 

उमेरले म ‘गधा पच्चीसे’ समूहमा थिए । ‘‘ ए वावु ! हैन, यो बजार कति महंगो भएको हो ? म त मासुभात खानसमेत नसक्ने भएँ । दुई दुईपटक मुलुकको प्रधानमन्त्री भइसकेका भट्टराईको यस्तो भनाइले मेरो दिमाग नै हल्लाई दियो । 

साच्चै बूढाले मासु खान पाएनन् कि भन्ने ठाने । केही बेरको रेकर्डिङ पछि सेतो तन्ना लगाएको बेडमा बसेर उनी गीता पाठ गर्न थाले । हामी पत्रकारबाहेक त्यो पाठ सुन्नेमा पूर्वसांसद मैयाँदेवी श्रेष्ठ पनि थिइन् । एक अध्याय सकिएपछि श्रेष्ठले भट्टराईलाई प्रणाम गरिन् । अनि एक हजारको नोट दक्षिणासमेत दिइन् । 

प्रशन्न मुद्रामा भट्टराईले भने – मैयाँदेवी जस्ता भक्त नभएको भए म त भोकै मर्थेँ होला ? बाफ रे बाफ !  

अविवाहित नेता भट्टराईले राणा शासन हुँदै गणतन्त्रसम्म आइपुग्दा सात दशक मुलुक र प्रजातन्त्रको पक्षमा संघर्ष गरे । तर, कहिल्यै कहिँ कतै घरबार र सम्पत्ति जोडेनन् । न त, उनको कुनै बैंक खाता नै थियो । 

मुलुकको पहिलो निर्वाचित संसद्का सभामुख भट्टराई राजाले २०१७ साल पुस १ गते ‘कु’ गरपछिे थुनामा परे ।  तर, उनी बीपी र गणेशमान सिंहभन्दा एक वर्ष बढी जेल बसे । पार्टीका कार्यकारी अध्यक्ष सुवर्णशमशेर राणाले नेपाली कांग्रेसले ‘प्रजातन्त्रका लागि राजालाई सहयोग गर्ने’ भन्दै जारी गरेको वक्तव्यमा सर्मथन गरेर उनका नेता (बीपी र गणेशमान) छुटेका थिए  । तर, भट्टराईले सुवर्णको वक्तव्यमा सहमति जनाएनन्, बरु जेलमै रमाए । विसं २०४६ सालको जनआन्दोलन सफल भएपछि व्यवस्थापिका र कार्यपालिकाको समेत अधिकार लिएर अन्तरिम प्रधानमन्त्री बनेका भट्टराई नेपालमात्र होइन अन्तर्राष्ट्रिय सञ्चार जगतमा समेत उत्तिकै चर्चित बने ।

कारण थियो, देशको प्रधानमन्त्री छाता, पानी राख्ने माटाको सुराही र टिनको एउटा बाकस लिएर सरकारी निवास सरे भन्ने खवर । 

एक वर्षको बीचमा प्रजातान्त्रिक संविधान बनाएर उनले संसद्को निर्वाचन सम्पन्न गराए । तर, त्यत्रो आन्दोलनबाट आएका प्रधानमन्त्री स्वयं त्यो निर्वाचनमा पराजित भए । 

भट्टराई निकट कांग्रेस नेता राजेन्द्र खरेलले त्यस सन्दर्भमा लेखकलाई सुनाए – दरबार र भारत दुबै उहाँलाई हराउने अभियानमा रहेछन् । हाम्रो चाहिँ तयारी नै भएन । म स्वयं किसुनजीको क्षेत्रको (वानेश्वर) मानिस । काभ्रेमा टिकट दिनु भयो । दुई हजार जति कांग्रेसी मसँग उतै गए । म चुनाव लड्न नगएको भए पनि उहा“ नहार्ने । जुन दिन किसुनजी हार्नुभयो । बेस्सरी रक्सी पिएँ । पा“च सात दिन पिएरै बसँे । अनिमात्र उहा“लाई भेट्न गए । बडो चिन्ता मानेर बस्नुभएको रहेछ । हारेपछि पनि किसुनजीले आफ्नो नियतिलाई दोष दिनुभयो । 

आफ्नै नेतृत्वमा भएको चुनाव हारेर भए पनि उनले प्रजातन्त्रलाई जिताए । अनि सत्ता हस्तान्तरण गरेर एक वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार जाँदाकै छाता, सुराही र ट्याङका (बाकस) लिएर बेदाग फर्किए । 

प्रत्युत्पन्नमति ‘सेन्स आफ ह्युमर’का धनी भट्टराई भन्ने गर्थे खरिदार सुब्बाले बीसपचास रुपैँया चिया खर्च माग्नु भ्रष्टाचार होइन । 

उनै भट्टराई मदन भण्डारीको मृत्युपछि पनि उपचुनावमा खडा भए । तर पार्टीभित्रको घात अन्तर्घात समेतको कारणले चुनाव हारे । 

विसं २०५६ सालको चुनावअघि सांसदहरुकै क्रियाकलापले संसदीय व्यवस्था बदनाम भएको थियो । जनप्रतिनिधिहले भन्सार छुटमा महँगा गाडी (पजेरो, प्राडो) लिएको, छ छ महिनामा सरकार गठन र विघटन हुँदा सांसदहरु खसी बोकाझैँ खरिदविक्री भएको जस्ता घटनाले राजनीति दुर्गन्धित बनेको थियो । नेताप्रति जनतामा विश्वास गुमेको त्यो समयमा भट्टराईलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर कांग्रेसले चुनावी अभियान चलाई रहँदा उनले एउटा टेलिभिजन अन्तर्वार्तामा भनिदिए – रक्सी खाने पैसा जुटाउन म सांसद हुन चाहन्छु । तत्कालीन राजनीतिमाथि भट्टराईको त्यो व्यङग्यलाई लिएर विपक्षी खेमाबाट उनको तीव्र आलोचना भैरहेको थियो ।

त्यही बेला नेपाल डिस्टिलरीका मालिक विजय शाहले भनेका थिए – किसुनजीलाई रक्सी खान पनि कही पैसाको अभाव हुन्छ र ? उहाँले चाहनु भयो भने खान त के हामी स्वीमिङ पुल (नुहाउने) नै बनाई दिन्छाैँ । 

भट्टराईको नेतृत्वमा कांग्रेसले बहुमत पायो । उनी प्रधानमन्त्री बने । तर, नौ महिना पुग्दा नपुग्दै उनलाई सत्ताच्युत गरियो । आफ्नै नाममा मत मागेर जितेपछि अपमानजनकरुपमा हटाइँदासमेत उनले संसद् भंग गरेनन् । बरु संसद्मा मर्मस्पर्शी भाषण दिएर राजीनामा गरिदिए । 

कसैप्रति बदलाभाव देखाएनन् । सामान्य जीवन यापन गर्न थाले । 

त्यहीताका म अझै सय वर्ष बाँच्छु र एकपटक प्रधानमन्त्री पनि बन्छु भन्ने भट्टराईको अभिव्यक्तिले निक्कै चर्चा पाएको थियो । त्यस्तैमा उनलाई भेट्ने मौका मिल्यो । ती दिन उनी राम्ररी खुट्टा टेक्न सक्तैनथे । भैँसेपाटीस्थित निवास कम्पाउन्डभित्र सहयोगीहरुको सहाराले केही फेरा लगाएपछि उनलाई बोकेर माथिल्लो तलाको बेडरुममा लैजानु पथ्र्याे । त्यस दिन सेतो तन्ना लगाएको खाटमा बसेर पानको बट्टा तानिरहेका बेला मैले सोधिँहाले – किसुनजी तपाईँले म सय वर्ष बाँच्छु र फेरि प्रधानमन्त्री पनि हुन्छु भन्नु भएको छ । साँच्चै फेरि प्रधानमन्त्री हुने इच्छा छ ?

मुसुक्क हाँसेर उनले भने – ए बाबु, तपाईँलाई नेपालको राजनीति र वास्तविकता थाहा छैन । म फेरि शक्तिमा आउँदैन भन्ने थाहा पाए भने यी स्वार्थीहरु कोही पनि भेट्न आउँदैनन् । बरु प्रधानमन्त्री हुन्छ भन्दियो । त्यही भ्रममा चाकरी गर्नेहरुको कमी त हुँदैन ।  

त्यसपछि एकैपटक भट्टराईसँग भेटभयो उनको जन्मदिन मनाउने कार्यक्रमका सिलसिलामा ललीतपुर स्थित भट्टराई (सरकारी) आश्रममा जहाँ उनले जीवनका  अन्तिम दिन बिताए ।  

उनी आश्रममा रहँदाकै कुरा हो नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको सिद्धान्त छोडेर गणतन्त्रमा जाने निर्णय लियो । आफैँ संस्थापक रहेको पार्टीको गणतन्त्रमा जाने निर्णय भट्टराईले स्वीकार गरेनन् । बरु पार्टी नै परित्याग गरे र एक्लै बस्न रुचाए । 

नेता बेदाग रही रहन उनको टोली र सहयोगी हातमात्र होइन कार्यकर्ता पंक्तिको पनि उत्तिकै योगदान आवश्यक छ । 

किसुनजीलाई राजनेता बनाउन त्याग गर्ने धेरै कार्यकर्तामध्ये एक थिए राजेन्द्र खरेल । खरेलले लेखकलाई सुनाए – किसुनजीलाई के परेछ कुन्नि एक दिन बोलाएर भन्नुभयो । राजेन्द्रजी तपाईले मेरो लागि धेरै दुख गर्नुभएको छ । मैले तपाइँका लागि केही गर्न सकिन । भारत भ्रमणमा जाँदा त्यहा“का प्रधानमन्त्रीले पान राख्ने यो सुनको वट्टा दिएका छन् । तपाईँ यसलाई राख्नुस् । केही दिनसम्म त किसुनजीको चिनो हुन्छ भनेर मैले त्यो बट्टा राखेँ । त्यसपछिका हरेक रात सुत्नै सकिन । म जीवित रहँदासम्म त राखौँला । भोलि छोरानातिले बाँडेर वा बेचेर खान्छन् ।  राष्ट्रिय नासो नाश हुन्छ भनेर फिर्ता गरिदिएँ ।

खरेल भन्दै गए – किसुनजीले यो घटना सुनाउँदै राजा वीरेन्द्रसँग भन्नु भएछ । सरकार मेरो कार्यकर्तालाई दिएको राख्न मानेनन् । यसलाई म्युजियममा राख्दा के होला ? त्यतिबेला दरबारबाहेक कुनै प्रधानमन्त्रीको सामान म्युजियममा राख्ने चलन नै रहेनछ । पछि त्यो बट्टा कहा“ पुग्यो के भयो थाहा भएन । कमसेकम मैले फोटो खिचेर राखेको भए पनि सम्झना बाँकी रहन्थ्यो । खिचिन । त्यतातिर दिमाग पनि गएन । 

राजनेता हुने हो भने आफू इमानदार भएर पुग्दैन कार्यकर्ता पनि छान्न सक्नुपर्छ । त्यसैले त इतिहासमा कति नेता आए गए तिनको लेखाजोखा नै छैन तर सिद्धान्तबमोजिम जीवनयापन गर्ने बेदाग देशभक्त राजनेताका रुपमा किसुनजीलाई इतिहासले सम्झिरहेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro