काठमाडौं । उनीसँग कुराकानीका लागि उपयुक्त समयको खोजी भएको धेरै भएछ । आफ्नै अकर्मण्यता छोप्नका लागि पङ्तिकारसँग दोष दिने ठाउँ पहिले नै तयार भएका थिए, जाडो बिदा र अन्य यस्तै व्यक्तिगत घटना । विद्यालय सञ्चालनसँगै भेटको मौका जुट्यो ।
उनी अर्थात् पारिजात बराल । पारिजात फूल सुन्दर हुन्छ । सूर्य अस्त भएपछि फुल्छ र सूर्योदय हुँदा झर्छ । अँध्यारोमै फुलेर अँध्यारोमै झरे पनि वरिपरिको वतावरणलाई मगमग बनाउनु त्यसको विशेषता हो । पारिजात बरालले फूलकै जस्तो जीवनी भोग्नु पर्यो परेन ? त्यो भोगाइ र बुझाइमा केन्द्रित रहलान् । आफ्नो वरिपरिको वतावरणलाई मगमग बनाउन भने उनले कुनै कसर बाँकी राखेकी छैनन् । उनी रात होइन दिनमैफुलिरहेकी छन् । अझ भनौं फुलिरहेकी मात्रै छैनन् कोपिला जस्तै सुन्दर सयौं बालबालिकाहरूलाई फुल्न सहयोग गरिरहेकी छन् । उनीहरूलाई फुलाउने उद्देश्यले आवश्यक मलजल गरिरहेकी छन् ।
० ० ०
उनी हरेक दिन बिहान १० बजेदेखि ४ बजेसम्म बानेश्वरको रत्नराज्य स्कुलमा विद्यार्थीको सुन्दर भविष्य निर्माणमा जुटिरहेकी हुन्छिन् । यसैमा रमाइरहेकी छन् ।
उनले आफूलाई फुलाउन लागि जीवनमा छिचोलेर आएका गोरेटा अनि गल्लीहरू सहज थिएनन् । उनले जस्तो संघर्ष गरेर आएकी छन् त्यो सामान्य प्रकारको छैन ।
० ० ०
बेलुकाको चार बजेको छ । माहोल एकदमै कोलाहल छ । स्कुलका विद्यार्थी तछाडमछाड गर्दै घर पुग्ने चटारोमा छन् । विद्यार्थीसँग सँगै शिक्षक शिक्षिकाहरू पनि निस्किरहेका छन् स्कुलको गेटबाट बाहिर । त्यसै भिडमा छिन् शिक्षिका पारिजात । तर, उनी आज साविकभन्दा अलि ढिलो घर पुग्नेछिन् । कारण आज यो पङ्तिकारले उनलाई आफूले छिचोलेर आएका बाटाहरू, बाटामा आफूले भोग्नु परेका कठिनाइ र यहाँसम्म पुग्ने गरेका संघर्षका कथाहरू सुनाइदिन अनुरोध गरेको छ ।
कोलाहल अलि मत्थर भएपछि हामीले कुराकानी सुरु गर्ने निर्णय गर्यौंं । स्कुलको एक छेउमा बस्यौं ।
‘मलाई गठ्ठाघरसम्म पुग्नुपर्छ गाडीमा, सकेसम्म चाँडो गरौं है,’ कुराकानीको सुरुमै पारिजातले सर्त राखिन् ।
मैले सोधिहालें, ‘कति वर्षकी हुनुभयो ?’
उनलेसंकोच मानिन्, ‘उमेर त नभनौं होला ।’
हाँस्दै भनेँ, ‘आसपासमै भए पनि भनिदिनुस् न, मेरा पाठकको सुविधाका लागि ।’
‘त्यस्तै ३० देखि ३५ को बीचमा ।’ उनी हाँसिन् । तर, जब आफ्नो जीवनको कथा सुनाउँदै अतीतमा रमण गरिन्, उनी मुस्कुराइनन् मात्रै, बेला बेलामा भावुक पनि भइन् ।
० ० ०
उनले भने जस्तै आजभन्दा तीसपैतीस सालअघि सुनसरीको चक्रघटीमा उनको जन्म भएको हो । उनी घरकीकान्छी छोरी ।
जन्मिएको साढे १ वर्षसम्म उनी सामान्य नै थिइन् । उनलाई ज्वरो आयो । आफैं निको भइहाल्ला भनेर परिवारले सुरुमा मतलब गरेन । केही दिनपछि उनको परिवारले पहल गर्न सुरु गर्याे । झाँक्रीलाई ल्याएर झारफुक गरियो । अहँ सुधार आएन । २२ दिनसम्म पनि निको नभएपछि उनलाई अस्पताल लगियो ।
अस्पतालमा डाक्टरले सिरिन्ज लगाइदिए । सिरिन्जले राम्रो हुनुको साटो झनझन् सिथिल बनाउन थाल्यो । उनको देब्रे खुट्टामा सुई हानिएको थियो, सुई हानिएको ठाउँबाट बिस्तारै रगत बग्न थाल्यो । खुट्टाको र शरीरको तापमा भिन्नता आयो । बिस्तारै चिसिँदै गएको खुट्टा अन्ततः नचल्ने भयो ।
‘डाक्टरको लापरबाहीले मेरो एउटा खुट्टाले काम गर्नै छोड्यो,’ उनलेसुनाइन्, ‘त्यस्तै त हो नि दुर्गम ठाउँमा, न अस्पताल राम्रा न त डाक्टरहरू नै जान्ने ।’
तर पनि उनको परिवारले आशा छाडेन, निको भइ पो हाल्छ कि भनेर परिवारले आफ्नो आर्थिक क्षमतालेउनलाई विभिन्न अपस्पता पुर्यायो । ‘बुवाले मलाई धरानतिरका राम्रा अस्पतालहरूमा पनि लैजानु भएको थियो रे, तर निको भएन,’ उनले भनिन् ।
उनका बावुलाई डाक्टरले एउटा सुझाव दिए । ‘छोरीलाई उसको उचाइ र बलले चलाउन भ्याउने एउटा ठेला बनाइदिनू र उसलाई ठेल्न लगाउनू । यसो गर्दा उसका दुवै खुट्टा धेरै हदसम्म सन्तुलनमा आउनेछन् ।’ उबेला डाक्टरले आफ्ना बावुलाई भनेको कुरा उनले उद्धृत गरिन् ।
उनी पाँच वर्षकी भएपछि घरनजिकैको स्कुलमा भर्ना भइन् । परिवारले पठनपाठनमा विशेष ध्यान पनि दियो ।
‘मैले राम्रोसँग पढिन भने दुःख पाउँछु भनेर बुवाले मलाई धेरै ध्यान दिनुभयो,’ उनको स्वर मलिन भयो, ‘बुवाले मेरा दाजुदिदी र आमालाई पनि मलाई अलि ध्यान दिन भन्नुहुन्थ्यो, पढाइमा मलाई सघाउन भन्नु हुन्थ्यो ।’
भौगोलिक दृष्टिले उनी जन्मेको र हुर्केको ठाउँ त्यति विकट नभएकाले उनलाई स्कुल जान आउन पनि गाह्रो भएन । उनी सँगै पढ्ने एक जना साथी पनि अपाङ्ग थिइन्, तिनै साथीसँग उनको दोस्ती भएकाले उनलाई धोरै सजिलो भयो । ‘उसको पनि एउटा खुट्टा चल्दैनथ्यो । उसको भर म र मेरो भर ऊ भएकाले मलाई धेरै सजिलो भयो,’ उनले भनिन् ।
त्यसो त उनले सवलाङ्ग साथीहरूबाट सहयोग नपाएकी भने होइनन् । तर उनलाई जति ती साथीसँग हिंड्डुल गर्न सजिलो हुन्थ्यो त्यति अरुसँग भएन । पढाइमा सिपालु नै भएकाले उनले शिक्षक साथीबाट पनि माया पाइन् ।
खेलकुदमा पनि उनी रुचि राख्थिन् । उनलाई कबड्डी, एकखुट्टे खेलाको अहिले पनि सम्झना छ । ‘म रुख पनि मज्जाले चढ्न सक्थेँ । जे होस् धेरै दौडन नपर्ने किसिमका खेलहरू खेल्थेँ,’ उनले भनिन् ।
उनले आजपर्यन्त साथीहरू र छरछिमेकबाट पाएको माया संगालेकी छन् । ‘अपाङ्गता भएका मान्छेसँग जसरी हाम्रो समाज पेस हुन्छ, उनीहरूसँग जसरी व्यवहार गरिन्छ । मैले त्यस्तो किसिमको व्यवहार भोग्नु परेन,’ उनले भनिन् ।
उनलाई एक दिनको घटनाले भने अति दुःखी तुल्यायो । त्यो घटनाले उनको काँचो दिमागमा पनि ठूलो प्रभाव पा¥यो । त्यही घटनाले उनको मनमा इख र जीवनमा केही गरेर देखाउने बलियो आकांक्षा जगाइदियो ।
उनी तीन कक्षामा पढ्थिन् । ‘स्कुलमा शारीरिक अभ्यास गराइन्थ्यो हरेक दिन बिहान,’ उनले आफूलाई भित्रैबाट विक्षिप्त पारेको त्यो घटनालाई सम्झिइन्, ‘सरले मलाई तिमी अरु सरह पिटी गर्न सक्दिनौ तिमीलाई यसमा समावेस गर्दा तिमीभन्दा पछाडिकालाई ढिलो हुन्छ भनेर लाइनबाट बाहिर निकालिदिनु भयो ।’
त्यो दिन उनलाई साह्रै चित्त दुखेको थियो । उनले त्यसपछिका दिनमा पनि यस्तै केही विभेदहरू भोगिन् तर त्यसले उनलाई कुनै प्रभाव पारेन । उनलाई झन् कठोर, बलियो, मिहिनेत गर्न प्रेरित ग¥यो । उनी सधैं मनमनै प्रण गर्थिन्,‘‘मैले केही गरेर देखाउनुपर्छ ।’’
गाउँकै स्कुलबाट प्रथम श्रेणीमा एसएलसी पास गरिन् । उनले पाएको सफलतामापरिवार पनि खुसी थियो । सबैभन्दा खुसी बुवा हुनुभएको थियो । उहाँलाई लाग्यो होला छोरीले अब दुःख पाउँदिनन् ।
उच्च शिक्षाका लागि विराटनगर आएँ । बुवाले भनेको सम्झन्छिन्, तिमीले पढाइलाई नै आफ्नो हतियार बनाउनुपर्छ, जसरी भए पनि राम्रो गर्नुपर्छ ।
‘‘म भाग्यमानी छोरी परिवारको अपार स्नेह मेरा लागि सबैभन्दा ठूलो आधार थियो । मान्छेले मिहिनेत गर्नुपर्छ, जरुर अवसर पाउँछ ।’’ उनले पनि विराटनगरमा गएपछि धेरै सहयोग पाइन् कजेजबाट । उनलाई कलेजले निःशुल्क पठाइदिने भयो । पढ्दा आवश्यक पर्ने अन्य सामग्रीसमेत कलेजले जुटाइ दियो । कलेज पढ्दा कष्ट भोग्नै परेन ।
उनलाई यतिमैसीमित हुनु थिएन । उनले देखिसकेको सपनाको आकार निकै फराकिलो भइसकेको थियो । त्यसैलाई साकार बनाउन काठमाडौं हानिने सुरमा परिवारमा प्रस्ताव राखिन् । परिवारको आर्थिक स्रोत बलियो थिएन । उनको प्रस्तावसहमतिमा जानै सकेन । परिवारलाई लाग्यो, काठमाडौंको बसाइ सहज हुँदैन, त्यहाँ चुनौती निकै छन् ।
उनी आफ्नो सपनालाई साकार पार्न जुन सुकै कुरासँग पनि लड्न सक्थिन्, जुनै हदसम्म पनि जान सक्थिन् । उनी आफ्नो लक्ष्यमा कटिबद्ध थिइन् ।
अन्ततःपरिवारले स्वीकार्यो । उडान भर्ने अनुमति मिल्यो । झोलामा केही पुराना लुगा र गोजीमा दुई सय नगदलिएर उनले काठमाडौंको यात्रा तय गरिन् । ‘‘पैसा त कम नै थियो तर अठोट र इच्छाशक्ति भने कम थिएन ।’’
काठमाडौंको मीनभवनमा दिदीभिनाजुसँगै बस्न थालिन् । कलेज भर्ना भइन् सानो ठिमी क्याम्पस । काठमाडौं उनले सोचेको जस्तो कमलो थिएन । यहाँका मान्छेहरू यति कठोर होलान् भन्ने उनले कल्पनासमेत पनि गरेकी थिइनन् । उनलाई काठमाडौं आएपछिको पहिलो चुनौती गाडी चढेर कलेजसम्म पुग्नु भयो ।
‘‘खचाखच भरिने काठमाडौंका बसमा कसले कसलाई चिन्ने ? उभिएर जान पनि सास्ती ।’’ उनको शारीरिक अवस्था बुझेर सिट छाडिदिने ज्यादै कम पाइन् । नियमित तँछाड मछाड गर । सिटकै लागि अनुनय विनय गर । कतिलाई स्पष्टीकरण दिनु ? देखे पनि नदेखे जस्तो गर्ने यहाँका मान्छे देख्दा उनलाई अचम्म लाग्थ्यो ।
उनले सिट छोडिदिन आग्रह गर्दाको एक दिनको घटना सम्झिइन्, हामीलाई पनि गाह्रो छ, हाम्रो पनि खुट्टा दुख्छन् । ती युवतीहरूबाट जुन तरिकाको जवाफ पाएकी थिइन् त्यो उनको कल्पनाभन्दा बाहिरको थियो ।
‘उनीहरू हेर्दा पढेलेखेका जस्ता देखिन्थे,’ उनले त्यो क्षण सम्झिइन्, ‘थाहा थिएन ठूलो सहरमा बस्नेहरूको मन यति सांघुरो हुन्छ भनेर, सुरुमा मैले पनि उनीहरूसँग बाझे, तर कोठामा आइसकेपछि त्यो घटना सम्झिदै भक्कानिएर रोएँ।’
उनले यी कुरालाई कहिल्यै ठूलो बनाइनन् । ठूला मानिनन् । आफू यस्ता ससाना कुरामा अल्झिनु हुँदैन । जीवन भनेकै संघर्ष हो भन्ने थाहा थियो । उनी निरोत्साहित भइनन् । मनमा झन् इख राखेर पढन् थालिन् ।
उनले कजेजमा राम्रो गरिन् । उनको मिहिनेत र पढाइप्रतिको लगाव देखेर नै उनलाई एउटा संस्थाले सहयोग गर्ने भयो । संस्थाले उनको पठाइमा लाग्ने सम्पूर्ण खर्च व्यहोरी दिन थालेपछि उनलाई आर्थिक रूपमा धेरै सहयोग भयो ।
यसरी उनको स्नातक सकियो । स्नातकसम्मको उनको यात्रा त्यति कठिन भएन । त्यसपछि भने उनले जीवनका अप्ठ्यारा उकालिओरालीसँग जुध्नु पर्यो । उनकै भाषामा भन्ने हो भने, ‘जीवन वास्तविक रूपमा त मास्टर्स सुरु गरेपछि भयो, त्यसपछि धेरै संघर्ष गर्नु पर्यो ।’
तर उनले कहिल्यै हार मानिनन् । उनलाई थाहा थियो, अप्ठ्यारो बाटो हिँड्नेहरू नै जीवनमा सफल हुन्छन् । र उनलाई जसरी पनि पढ्नु थियो, केही गर्नु थियो । त्यसैले त उनले त्यसपछि जे भोगिन्, त्यसमा उनी कत्ति पनि डगमगाइनन् ।
उनले हरेक दिन यति विध्न चुनौतीहरूसँग सामना गर्नु पथ्र्यो कि उनलाई एक समय त काठमाडौंमा बस्नै गाह्रो भयो । पैसासँग जोडिएका उनका समस्याहरूबढ्दै गए । घरको आर्थिक अवस्था त्यस्तै थियो । मास्टर्समा पढ्न उनलाई कसैको सहयोग भएन । बस्ने र खाने ठाउँ बाहेक उनको केही थिएन ।
‘काम खोज्न धेरै प्रयास गरिरहेकी थिएँ, तर कतै पाइरहेकी थिइन,’ उनले भनिन्, ‘समस्याले मलाई यति पिरोलिरहेको थियो म केही सोच्नै सकिरहेकी थिइन ।’
गाउँमा रहेका परिवारसँग उनको बेलाबेला कुराकानी भइरहन्थ्यो । उनी आफूले भोगिरहेका समस्याहरू सकेसम्म परिवारलाई थाहा नहोस् भन्ने चाहान्थिन् । तर कहिलेकाहीँ उनी पोखिन्थिन् । उनको मुटुको बाँधले धेरै पीडा धान्न सकेन । ‘एक दिन म बोल्दा बोल्दा रोएछु, बुबासँग,’ उनले भनिन् ।
उनका बावुले उनलाई गाउँ आउन भने । बावुले भन्नुभयो– यतै आउ, यतै काम गर । धेरै कर पनि गर्नुभयो । तर उनले आफूलाई यतै केही गर्न मन भएको बताइन रहिन् ।
‘मलाई राम्रोसँग थाहा थियो गाउँमा म जस्ताहरूलाई झन् गाह्रो छ । त्यसैले जे गर्नुपर्छ यहीँ गर्छु भनेर आफूलाई सम्हाल्दै गएँ,’ उनले सुनाइन् ।
संघर्षकै बीच उनको स्नातकोत्तर सकियो । स्नातकोत्तर सकिएलगत्तै उनले जागिर पाइन्, राजधानी दैनिक पत्रिकामा, लेखा शाखामा, मासिक तीन हजार रुपैयाँ । तर उनी त्यहाँ धेरै समय बसिनन् । एक वर्षमै त्यो जागिरबाट बिदा लिइन् ।
‘काम त सजिलो थियो, तर पैसा साह्रै कम । मलाई लाग्यो यसरी जीवन चल्दैन । जसरी भए पनि सरकारी जागिर खानुपर्छ,’ उनले भनिन्, ‘म लोकसेवाका लागि पनि तयारी गरिरहेकी थिएँ ।’
उनी राम्रो कामको खोजिमा थिइन्, सरकारी र पैसा धेरै भएको । एक दिन उनलाई उनका एक जना साथीले खुसीको खबर सुनाए । काभ्रेको एक माध्यमिक विद्यालयलाई शिक्षकको आवश्यकता रहेछ ।
उनी जान तयार भइन् । यो सरकारी जागिर पनि थियो र पैसा पनि राम्रो । तर उनको शरीरिक स्थितिका कारण उनले त्यहाँ पनि एक वर्ष मात्रै काम गर्न सकिन् । खासमा उनी पुग्नु पर्ने स्कुल निकै दुर्गम थियो ।
बनेपाबाट गाडीमा तीन घण्टा र त्यसपछि पैदल आठ घण्टा लाग्ने । उनी आठ बजे गाडी चढ्दा बेलुका ६ बजे स्कुलमा पुग्थिन् । उनी सधैं काठमाडौंबाट ओहोरदोहोर त गर्दिन थिइन् । उनी उतै बस्थिन् स्कुल नजिक कोठा लिएर । तर उनलाई बेलाबेलामा काठमाडौं आउँदा समस्या हुन्थ्यो ।
उनका अन्य सहकर्मीहरूले बेलाबेलाका काठमाडौं आइरहन्थे तर बाटोमा उनलाई सँगै लग्न गाह्रो मान्थे ।
‘मसँग हिँड्दा ढिलो हुन्छ भनेर उनीहरू मलाई थाहा नदिइकनै काठमाडौं आउथे,’ आफूलाई उपेक्षा गरिएको समय सम्झिइन्, ‘तीन महिनामा एकपटक काठमाडौं आउँदा पनि उनीहरू मसँग हिँड्न हिच्किच्याउँथे ।’
स्कुलमा त राम्रै थियो । तर सहकर्मीहरूको व्यवहारले उनलाई त्यहाँ धेरै बस्न मन लागेन । जति समय उनले त्यहाँ बिताइन्, ओहोरदोहोर गर्न विद्यार्थीहरूबाट सहयोग लिइन् ।
उनी विद्यार्थीलाई केही खाने कुरा दिएर, पैसा दिएर आफूलाई सहयोग गर्न लगाउँथिन् । काठमाडौंबाट फर्किंदा उनी आफूलाई सहयोग गर्ने विद्यार्थीलाई उपहार लगिदिन्थिन् । उनी कक्षा पाँचसम्म पढाउँथिन् । उनले पढाएका विद्यार्थीले पनि राम्रो नतिजा ल्याइरहेका थिए ।
तर,उनलाई सधैं यसरी सम्भव होला जस्तो भएन । तामाङ बस्ती भएकाले भाषागत पनि समस्या थियो । उनलाई त्यहाँ बस्न अन्य हिसाबले पनि असुरक्षित लाग्यो ।स्कुलले पनि उनलाई बिदा चाहिएका बेला बिदा दिन मान्दैन्थ्यो ।
‘मैले यहाँ कमाएको पैसाले बरु काठमाडौंमा केही समयलाई पुर्याउँछु, कोठा भाडामा लिएर एक्लै बस्छु । लोक सेवाको तयारी गर्छु,’ उनले निर्णय गरिन् । उनी काठमाडौं फर्किन् ।
कोठा लिएर एक्लै बस्न थालिन् र लोकसेवाको तयारी गर्न थालिन् । केही समयपछि उनको एक जना अपाङ्गता भएकाले साथीले एउटा खबर सुनाए । यसपालि पनि जागिरकै लागि थियो । उनी उत्साहित भइन् ।
उनका अपांगता भएका साथीले भनेको थिए– मैले लोकसेवामा खरिदारमा नाम निकालें, मैले पढाइरहेको स्कुलमा मेरो सिट खाली हुँदैन, अपांगता भएकाको लागि हो, तिमी जानू ।
भक्तपुरको जनसिद्धि स्कुलमा उनी गइन् । त्यहाँ उनलाई परीक्षण कक्षा दिन लगाइयो । उनले दश कक्षासम्म पढाइन् । स्कुलले उनको प्रस्तुति मन परायो ।
‘स्कुलले आवेदन भरेर आउ भन्यो ।’ उनले सुनाइन् ।
आवेदन दिइन् । पास भइन् । उनी अध्यापन गराइरहेकी थिइन् । शिक्षक आयोग खुलेको थाहा पाइन्, रत्नराज्य स्कुलमा । उनले आवेदन दिइन् । परीक्षा दिइन् ।नतिजा आयो । तीनैवटा खुला, अपांग, महिलामा उनको नाम निस्कियो ।
उनी निकै खुसी भइन् । तर,उनको खुसी दुःखमा परिणत हुन्छ भन्ने शंका उनलाई भयो । कारण थियो स्कुलले नियुक्ति पत्र लिन मानिरहेको थिएन ।
‘अपांगता भएको मान्छेलाई यहाँ पढाउन गाह्रो हुन्छ, कसरी पठाउन सक्छिन् ?,’ उनले भनिन्, ‘स्कुलले त्यस्तो सोचेको रहेछ । पछि म आफै स्कुलमा गएँ । मलाई देखेपछि उहाँहरूले हुन्छ भन्नुभयो ।’
उनले स्थायी भएर यहाँ पढाउन थालेको पाँच वर्ष भयो । यहाँ सबैले सहयोग गर्छन् । विद्यार्थीहरूबाट पनि उनले धेरै सहयोग पाइरहेकी छन् । ‘यहाँ आउनलाई चाहिँ गाह्रो भयो, आइसकेपछि सबैको साथ पाइरहेकी छु ।’
जागिरमा आएको स्थायित्वसँगै उनको जीवन पनि धेरै हदसम्म स्थायी भइसकेको छ । अब त उनले आफ्नो जीवनसाथी पनि पाइसकेकी छन् । तीन वर्षअघि उनको कसैसँग प्रेम भयो र त्यो प्रेमलाई पछि गएर विवाहमा परिणत गरिन् । उनले गायक तारावीर पाण्डेसँग लगनगाँठो कसिन् ।
उनीहरूबीच रमाइलो किसिमले प्रेम भयो । अझ भनौं न फिल्मी स्टाइलमा । पारिजात एक दिन चाबहिलमा एउटा सांगीतिक कार्यक्रममा गएकी थिइन् । त्यहाँ उनको भेट तारासँग भयो । खासमा पारिजातलेतारालाईपहिल्यैबाट चिनेकी थिइन् । उनी त उनको प्रशंसक पनि थिइन् । उनले त्यहाँ कुरा गर्ने मौका पाइन् । बिस्तारै उनीहरूको मित्रता झाङ्गिँदै गयो । फेसबुक, फोनमा जोडिएर उनीहरूबीच कुराकानी हुन थाल्यो । बिस्तारै तारावीरको बानी व्यवहार र तरिकाप्रति नजानिँदो तरिकाले प्रभावित हुन थालिन् ।
एक दिन उनलाई ताराले प्रस्ताव गरे, ‘म एउटी जीवनसाथीको खोजीमा छु, तिमीले स्वीकार्यौ भने हामी बिहे गरौं । तिम्रो के छ विचार ?’
‘मैले भनेर हुँदैन, मेरो परिवारले दियो भने हामी बिहे गर्न सक्छौं’’ भनेंमैले ।
तारा उनको घरमा गए । दुवैको घरबाट तिमीहरूको सहमति छ भने गर हामीलाई स्वीकार्य छ भने । यसरी उनीहरूको बिहे भयो । उनकाश्रीमान् साङ्ग हुन् । सांगीतक क्षेत्रमा छन् ।
सुरुमा उनीहरूले बिहे गरेको देखेर केही मान्छेहरूले कुरा काटन् मौका पाए । ‘त्यस्ती अपांगसँग पनि के बिहे गरेको होला, सरकारी जागिर भएको मान्छेले त्योभन्दा राम्रो केटा पाउँथी भनेर केही मान्छेहरूले भने,’ उनले भनिन्, ‘तर त्यसले हामीलाई कुनै फरक पारेन । हाम्रो सम्बन्ध त हृदयबाट गाँसिएको जो छ ।’
उनका श्रीमान्ले उनलाई धेरै माया र सहयोग गर्छन् । घरको हरेक कुरामा उनीहरू एकअर्कालाई सहयोग गर्छन् । उनीहरूको दाम्पत्य जीवन सफल भइरहेको छ । उनी खुसी छिन् ।
कहिलेकाहीँ उनी रिसाउँदा ताराले गीतसुनाउँछन् । ‘उहाँ त जे भन्नु परे पनि गीतबाटै भन्नुहुन्छ ।हामी कुरामा एक–अर्कालाई साथ दिन्छौं,’ उनले भनिन्, ‘उहाँ कलाकार भएकाले अधिकांश समय घरबाहिर रहनुहुन्छ, जति समय मसँग बिताउनुहुन्छ उहाँले मलाई धेरै सहयोग गर्नुहुन्छ ।’
० ० ०
अपांगता भएका व्यक्तिलाई समाजको हेर्ने र व्यवहारमा धेरै फरक आएको उनको बुझाइ छ । अहिले त धेरै सजिलो भएको छ यद्यपि अपांगता भएकालाई भने केही असहज हुने उनको बुझाइ छ । ‘जागिरको क्षेत्रमा भने उनीलाई धेरै सहज छ । सरकारी र निजी दुवै किसिमका संस्थाले कोटा छुट्याएका छन् ।’
अहिले सार्वजनिक यातायातमा पनि पहिलेभन्दा निकै सहज भएको उनको धारणा छ । अहिले ठाउँ छाड्न अनुरोध गर्ने बित्तिकै उठिदिन्छन् ।
तर अफिस, स्कुल, कलेजका भवनहरू अपाङ्गमैत्री भएको भए धेरै सजिलो हुने उनको बुझाइ छ । ‘म ह्विलचरेयमा बस्नुपर्ने भएको भए मलाई यहाँ काम गर्न असम्भव जस्तै हुन्थ्यो । ५–६ तलामा जानुपर्छ । म हिँड्नै नसक्ने भएको भए साह्रै गाह्रो हुने थियो,’ उनको चिन्ता छ ।
अब बन्ने भौतिक संरचनाहरू अपाङ्गमैत्री बन्नुपर्नेमा उनी जोड दिन्छिन् ।
० ० ०
उनलाई बेलाबेला शिक्षण पेसा गाह्रो लाग्छ । सधैं उभिएर काम गर्नुपर्ने भएकाले उनलाई बेलाबखत साह्रो हुन्छ । त्यसैले पनि उनलाई कहिलेकाहीँ बसेर गर्ने काम पाएको भए हुने भन्ने लाग्छ । तर त्यो सोच उनीमा धेरै लामो समय रहँदैन ।
‘मलाई लाग्छ बेलाबेलामा यस्तो सबैलाई हुन्छ । कहिलेकाहीँ आफ्नो कामप्रति सबैलाई थकान हुन्छ, केही अर्को काम गर्न पाएको भए भन्ने हुन्छ ।’ उनले भनिन् ।
तर जब उनलाई आफूले सयौं बालबालिकाको जीवन दिशा निर्दिष्ट गर्ने काममा छु भन्ने लाग्छ त्यसपछि सबै बिर्सन्छिन्, आत्मसन्तुष्टि मिल्छ । एकाएक ऊर्जा भरिएर आउँछ उनीमा । नत्र त उनी काभ्रेबाट अब आफू फर्कँदा अब कहिल्ये शिक्षण पेसा गर्दिनँ भनेर फर्किएकी थिइन् ।
उनलाई आफूहरू जस्ताका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । त्यसैले उनी आफूले शिक्षण पेसाबाट अवकास लिइसकेपछि एउटा अपांगता मान्छेहरूका लागि केही गर्ने सोच छ ।
‘अपांगता भएका मान्छेहरूलाई कति गाह्रो हुन्छ भन्ने मलाई राम्रो सँगै थाहा छ,’ उनले भनिन्, ‘आफूहरू जस्ताका लागि केही गर्न सकुँ भन्ने छ ।’
उनलाई घरसम्म पुग्न हतार भइरहेको मैले बुझेँ । सोध्नु पर्ने त धेरै कुराहरू थिए उनीसँग तर समयको पावन्दीले गर्दा सोध्न सकिनँ । उनी आफ्नो ब्याग मिलाउँदै थिइन्, तयार हुँदै थिइन् ।
‘यो प्रश्नलाई अन्यथा नलिनु होला, अपांगता हुनुका आफ्नै गाह्रा अप्ठ्याराहरू हुन्छन्, दुर्वलता हुन्छन् । तर अपांगता हुनुको केही फाइदाहरू छन् भन्ने लाग्छ, तपाईंले कहिल्यै त्यसरी सोच्नु भएके छ ?’ आफैँ संकोचमा थिएँ, तर पनि सोध्न मन भयो ।
‘छन् नि,’ आफ्नो पछ्यौरी घाँटीमा राम्रोसँग राख्दै उनले थोरै मुस्कुराइन्, ‘सायद म अपांग नभएकाले भए यहाँ हुने थिइनँ, जे भएँ त्यो हुने थिइनँ । मैले राम्रोसँग पढ्न सकिनँ भने धेरै दुःख पाउँछु त्यसैल पढ्न पर्छ भन्नेमा सधैं केन्द्रित भएँ, आज धेर थोर भए पनि सफल भएकी छु ।’