site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल ट्रस्ट प्रकरणमा मेरो संलग्नता छैन : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

ट्रस्टको जग्गा लिज प्रकरणमा नाम मुछिएपछि उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्बाट यससम्बन्धी कुनै निर्णय नभएको दाबी गरेका हुन् । उनले आफू संलग्न नभएको निर्णयमा नाम जोडेर गरिने प्रचारप्रति आपत्ति जनाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन,” सभापति देउवाद्वारा जारी विज्ञप्तिमा छ, “मेरो सहभागिताबेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।”

उनले ०६४ मा नेपाल ट्रस्ट ऐन जारी हुँदा ट्रस्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रूपमा परिभाषित गरेको स्मरण गराउँदै बोर्डले गर्ने निर्णयमा प्रधानमन्त्रीका रूपमा आफूलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले गलत रहेको जिकिर गरेका छन् । 

“प्रथमतः ०६४ मा नेपाल ट्रस्ट ऐन जारी हुँदा ट्रस्टलाई एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्थाका रूपमा ऐनले नै परिभाषित गरेको थियो,” विज्ञप्तिमा भनिएको छ, “अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रूपमा मलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले समेत गलत छ ।”

सभापति देउवाले लिज प्रकरणलाई आफूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रस्टअन्तर्गतकै गोकर्ण फरेस्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको पनि उल्लेख गरेका छन् । 

उनले सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमविरुद्ध दबाबलाई निरन्तरता दिन सबैलाई आग्रह पनि गरेका छन् । “अतः कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमविरुद्ध दबाबलाई निरन्तरता दिन म सबैमा हार्दिक अपिल गर्दछु,” सभापति देउवाले भनेका छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १६:५४
प्रतिक्रिया दिनुहोस्