काठमाडौं । ललितपुरको जावालाखेलस्थित मछिन्द्रनाथको रथ राख्ने चौरमा दुई युवा साइकलले चक्कर लगाउँदै थिए । उनीहरूले चलाएको साइकल देखेर वरिपरिका मानिस झुम्मिए । यसरी झुम्मिनुको कारण भने सामान्यभन्दा फरक साइकलको आकर्षण नै हो । साइकल यस कारण फरक थियो कि– यो बाँसबाट बनेको थियो ।
नेपाल साइकल सोसाइटीले गएको शुक्रबार ललितपुरमा क्रिटिकल मास आयोजना गरेको थियो । क्रिटिकल मास भर्खरै पुल्चोकदेखि कुपन्डोलसम्म बनेको साइकल लेनबारे, साइकल चढ्ने र सर्वसाधारणलाई थाहा होस् भनेर गरिएको अभियान हो ।
क्रिटिकल मास प्रत्येक महिनाको पहिलो शुक्रबार गरिन्छ । नेपाल साइकल सोसाइटी, ललितपुर साइकल सिटी, साइकल सिटी नेटवर्क र आबारी नामक संस्थाबाट ४० भन्दा बढी यात्रीको उपस्थिति थियो । गत शुक्रबार भएकाको कार्यक्रम तेस्रो क्रिटिकल मास हो ।
यसबेला भने आबारीले बनाएको दुईवटा बाँसको साइकल प्रमुख आकर्षण रह्यो । त्यही हेर्न मानिसहरू झुम्मिएका थिए । त्यहाँ पुगेकाहरू पनि भन्दै थिए, “खोई म पनि चलाउँ यो अनौठो साइकल ।” केहीले साइकल चढे । अनि प्रतिक्रिया दिए, “यो साइकल त एकदमै गज्जब रहेछ ।” अनौठो मान्दै बाँसको साइकल चढ्नेहरू फोटो र भिडियो लिँदै सामाजिक सञ्जाल अपलोड गरिरहेका थिए । यी दुवै साइकल आबारी नामक गैरसरकारी संस्थाले बनाएको हो ।
आबारीले दुवै साइकलको नाम दिएको छ । एकजना मात्र बस्न मिल्ने साइकलको नाम फिरिरी हो । एकजनाले चलाएर अर्को एक यात्री अगाडि बस्न मिल्ने साइकलको नाम ‘हाब्रे’ अर्थात् रेड पान्डा हो । यी दुवै साइकलको डिजाइन आबारीका अध्यक्ष निर्पाल अधिकारीले गरेका हुन् ।
ती दुवै साइकल लिएर आबारीका इन्जिनियर मनीष श्रेष्ठ जावलाखेल पुगेका थिए । साइकल निर्माण गर्ने सुरेश चौधरी हुन् । आबारीले यसका अलावा गाउँगाउँमा पुगेर बाँस र माटोको घर र स्कुल बनाउने काम गर्छ । उक्त संस्थाले नै केही समयअघि यलमाया केन्द्रमा रहेको मदन पुस्तकालय पनि बनाएको मनीषले बताए ।
“काठमाडौंको मुख्य समस्या भनेको यहाँको अव्यवस्थित यातायात हो,” मनीष भन्छन्, “यही समस्या समाधान गर्न बाँसको साइकल बनाइयो, यो अव्यवस्थित यातायातको विकल्प बन्न सक्छ ।”
नेपालमै बनेको, धुवाँधूलो नफाल्ने भएकाले बाँसको साइकल चढ्नुको फाइदा पनि धेरै छ ।
साइकलका अभियान्ताहरू भन्छन्, “दैनिक चार, पाँच किमि साइकल चलाउँदा स्वास्थलाई फाइदा पनि हुने र चलाउन इन्धन पनि नलाग्ने हुँदा आर्थिक बचत हुन्छ ।” ‘हाब्रे’ बाँस र फलामबाट बनेको प्याडलले चलाउने मात्र होइन, इलेक्ट्रिक साइकल हो । उक्त साइकल बाटोको अवस्था हेरेर इलेक्टिक पावर थपघट गर्नसकिने मनीषको भनाइ छ । एकपटक फुल चार्ज भए ३० देखि ३५ किमि चलाउन मिल्छ ।
यी दुवै साइकल इलेक्ट्रिक भएकाले झिलिमिली बत्ती पनि जोडिएको छ । हेडलाइट र हर्न पनि जोडिएको छ । जसले साइकललाई आकर्षक बनाएको छ । साइकल निर्माण गर्नुको उद्देश्य पर्यटक सफारी पनि प्रमुख हो । अब बनाउने साइकलहरू पनि थप आकर्षक बनाउने निर्माताहरू बताउँछन् ।
‘हाब्रे’ पाटन दरवार स्क्वायर, वसन्तपुर दरबार स्क्वाएर बौद्ध जस्ता ऐतिहासिक र पर्यटकीय स्थलहरूमा पर्यटक घुमाउन बनाइएको मनीष बताउँछन् । उनीहरूले साइकल बनाउन आवश्यक सबै कुरा नेपालमै उत्पादन पनि गर्छन् । उनीहरूले चितवनमा समुदायका मानिसहरूसँग मिलेर सामुदायिक जंगलमा उन्नत जातको बाँस लगाएका छन् । त्यही बाँस उनीहरूले साइकल बनाउन काठमाडौं ल्याएका हुन् ।
आबारीले अहिलेसम्म उत्पादन गरेको साइकल बिक्री भने गरेका छैनन् । तर, चाँडै साइकल लिएर बजार जाने तयारी रहेको आबरीले जनाएको छ ।
आबारीले हाब्रेको मूल्य एक लाख पचास हजार रुपैयाँ राखेको छ । हाब्रे बाँसबाटै बने पनि ब्याट्री महँगो भएकाले मूल्य धेरै भएको हो । मनीष अस्ट्रेलियामा आर्किटेक्चर पढेर ६ महिनाअघि मात्र नेपाल आएका हुन् ।