site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्यातिदेउ पाना भरि लेखिएका... विश्व बल्लभका कथाहरू

एक समय मनोरञ्जनका लागि सुनिने भनेकै रेडियो नेपाल थियो । रेडियोले त्यसबखत धेरै सेलिब्रिटी उद्घोषकहरू पनि दिएको छ । त्यो समय, रेडियोमा आवाज सुन्नासाथै ‘यो फलानोको आवाज हो’ र ‘यो फलानो कार्यक्रम’ हो समेत भन्थे । अर्थात्, उद्घोषकहरू पनि स्रोताका मनमा बस्थे । 

यस्तै एउटा पृथक आवाजका धनि व्यक्ति हुन्, रेडियोमा रहँदा अनेकन कार्यक्रम सञ्चालन गरेका आवाजकर्मी विश्ववल्लभ ।

रेडियो नेपालसँग उनको नाता किशोरकालदेखि नै रह्यो । विश्वका पिताजी पण्डित मुरलीप्रसाद भट्टराई त्यसबेला धार्मिक लेख लेखिरहन्थे । र त्यो लेख रेडियो नेपालबाट बजाइन्थ्यो । रेडियोमा लेख पुर्‍याउन कहिले उनका पिताजी आफैं जान्थे । कहिले काहीँ पिताजीले विश्वलाई पनि आफ्नो रचना दिएर रेडियोमा छोडेर आउन भन्थे ।

उनका पिताजी भन्थे अरे, ‘त्यहाँ जानु । मिले बाल कार्यक्रममा पनि बोल्नु ।’ विश्व पनि पिताजीको लेख लिएर रेडियो नेपाल जान्थे । र केही बेर रेडियो नेपालकै सांगीतिक परिवेशमा रमाउँथे ।

पिताजीको लेख लिएर रेडियो नेपाल जाने क्रममा विश्वबल्लभको दमननाथ ढुङ्गानासँग भेट भयो । त्यसबेला रेडियो नेपालको बाल कार्यक्रम ढुङ्गानाले सञ्चालन गर्दैरहेछन् । बाल कार्यक्रममा आफूजस्तै किशोरहरूले कविता लेखेर पढेको देख्दा उनलाई पनि रहर लाग्यो । त्यसपछि उनले पनि केही कविताहरू कोरे ।

पिताजीको लेख पुर्‍याउने क्रममै आफ्नो कविता बाल कार्यक्रममा सुनाए । विश्वबल्लभको कविता वाचन सुनेर दमननाथ ढुँगाना प्रभावित भए । 

त्यसपछि बाल कार्यक्रममा उनी नियमित सहभागी हुनथाले । त्यसैबेला एक दिन रेडियोका कार्यक्रम निर्देशकले लेख पुर्‍याउन गएका उनका पिताजीलाई भनेछन्, ‘छोरालाई नै लेख दिएर पठाउनु । तपाईँ किन दुःख गर्नुहुन्छ । तपाईंको छोराको स्वर राम्रो छ । तपाईंको लेख उसैले पढ्छ ।’ 

जबकि विश्वबल्लभ स्वयम्लाई थाहा थिएन, उनको आवाज कस्तो छ । कालान्तरमा उनले यही आवाजको खेती गरेरै खाए ।

अब उनको आवाजमा बाल कार्यक्रमका कविता मात्रै होइन, उनका पिताजीका लेख पनि बज्न थाले । यो बाल कार्यक्रम र पिताजीका लेखको प्रस्तुतिले उनलाई उद्घोषण कलातर्फ आकर्षित गर्दै गयो ।

मंगलबार अपराह्न कुराकानी गर्दैगर्दा रेडियोका चर्चित उद्घोषक विश्वनाथ बल्लभ भट्टराई अर्थात् विश्व बल्लभले पुराना दिन सम्झिए । उनी हाँसे । भने, “रेडियोमा बोल्दा पिताजीले लेख्नुभएको आध्यात्मिक लेख मैले बुझें बुझिन मलाई थाहा छैन । तर रचना वाचन गर्दै गएँ । त्यसबेला शकुन्तला नाम गरेकी एक महिला उद्घोषकले मलाई खुबै माया गरेर मिलाएर पढ्नु है भनेर उत्प्रेरित गर्नुभएको मलाई आज पनि सम्झना छ । यसरी पिताजीका लेखहरू पढ्ने गरी म रेडियो नेपाल प्रवेश गरेको हुँ ।”

उनले पिताजीको आध्यात्मिक लेख पढ्न नपाएको भए के भइन्थ्यो, भन्न सकेनन् । ‘‘सम्भवतः शिक्षण पेसामा सक्रिय हुने थिएँ ।’’ किनभने केही वर्ष उनले नुवाकोटको एउटा गाउँमा शिक्षक भएर काम गरेका थिए ।

उनी आफूलाई उद्घोषकभन्दा पनि कार्यक्रम सञ्चालक मान्छन् । उद्घोषकको काम कार्यक्रमलाई सूत्रमा जोड्नु मात्रै हुन्थ्यो । र उनको अधिकांश समय पनि कार्यक्रम निर्माण र सञ्चालनमा नै बित्यो । कार्यक्रमको परिकल्पना, निर्माण र प्रस्तुति, आफैंमा गहन काम भएकाले आफू त्यसैमा सक्रिय रहेको बताउँछन् । र यो कर्म रेडियो नेपालमा जागिर खाँदासम्म गरिनैरहे ।

विश्व बल्लभका अनुसार प्रारम्भमा उनले स्वर परीक्षा पास नगरेरै धेरै रचना वाचन गरे । तर, जब रेडियो नेपालमा जागिरका लागि आह्वान भयो, त्यसपछि उनले भ्वाइस टेस्ट दिनुपर्ने भयो । उनलाई लक्ष्मण लोहनी, रमेश धितालहरूले ‘तिमी पनि जागिरका लागि निवेदन देऊ’ भनेर सल्लाह दिए ।

उनले पनि आवेदन दिए । तर, अचम्म त के हुन्थ्यो भने, विश्वबल्लभ भ्वाइस टेस्टलगायतका परीक्षा पास भए पनि अन्तरवार्तामा फालिन्थे । किन फालिए, भन्न सक्दैनन् । अन्तरवार्तामा फालिए पनि पछि उनी गइनै रहे, रेडियो नेपाल । किनभने यतिबेलासम्म बोल्ने ‘लत’ लागिसकेको थियो । अनि त्यहाँ जाँदा ‘लौ कार्यक्रम गर’ भनेर चलाउनै दिन्थे । उनले यसैगरी करारमा लामो समय रेडियो नेपालमा बिताए ।

विश्व बल्लभका अनुसार एक पटक उनलाई नै बाल कार्यक्रम चलाउने जिम्मा दिइयो । यादव खरेलले कार्यक्रम चलाउ भनेको उनी आज पनि सम्झन्छन् ।

उनी विभिन्न कार्यक्रम सञ्चालन गर्थे । बोले बापत पैसा पनि पाउँथे । जबसम्म कार्यक्रममा बोल्दै मात्रै गए, पत्रम पुष्पम १०÷१५ रुपैयाँ पाउँथे । धेरैपछि मात्रै मासिक २५ रुपैयाँ पाउन थालेको उनी सम्झिन्छन् ।

उनी कुरा गर्दागर्दै हाँसे । भन्छन्, “मेरो अवस्था बिना विभागीय मन्त्रीेजस्तै थियो । कुनै निश्चित कार्यक्रम थिएन । जे आइपर्छ, त्यो कार्यक्रम गर्नु पर्दथ्यो । कहिले के कार्यक्रम, कहिले के । जे होस्, यसैगरी बोल्दै गएँ ।” 

विश्व बल्लभका अनुसार पहिले बाल कार्यक्रम लाइभ जान्थ्यो । रेकर्ड गर्ने चलन नै थिएन । त्यसैबेला सञ्चालक यादव खरेल बेलायत जाने भए । अनि यादव खरेललाई सोधियो, ‘तपाईंको कार्यक्रम कसले चलाउँछ ?’ यादव खरेलले पनि ‘विश्वले चलाउँछ’ भनेपछि बाल कार्यक्रम उनको जिम्मामा आइपुग्यो । 

निरन्तर कार्यक्रम सञ्चालन गर्दै गए । वृत्ति विकासमा कुनै प्रगति नभएपछि उनले रेडियो छोड्ने सोच बनाए । ‘छोडछु रेडियो’ भन्ने उनले ठाने । मनको कुरा अरूलाई सुनाए । त्यसबखत लक्ष्मण लोहनी, किरण खरेलहरूले रेडियो नछोड भनेर कर गरे । बल्ल महिनाको २५ बाट ४५ रुपैयाँ तलब दिन थालिएको विश्व बताउँछन् ।

तिनताक नै लक्ष्मण लोहनी र रमेश धितालले विश्व बल्लभलाई ‘तिमी विभिन्न कार्यक्रमहरू चलाउँछौ । धेरै जानकारी पनि छ । आर्टिकल पनि लेख । त्यसको पनि पैसा आउँछ,’ भने । त्यसपछि उनले विभिन्न विषयमा आर्टिकल पनि लेख्न सुरु गरे । एउटा आर्टिकलको उनले १५÷२० रुपैयाँ पाउँथे । यसरी सबै गरेर उनी मासिक १ सय २५ रुपैयाँसम्म कमाउन थाले ।

०००

विश्व बल्लभका पुर्खा गोरखाका हुन् । उनका पिताजी आफ्नी आमासँगै गोरखाबाट काठमाडौं भित्रिएका हुन् । काठमाडौं आएर विश्वका पिताजी र हजुरआमा कालिमाटी क्षेत्रमा बसे ।

यही कालिमाटी क्षेत्रमै विश्वका दाजुहरू र विश्वको जन्म भएको हो । उनका दाजु वरिष्ठ कवि ईश्वर बल्लभ हुन् ।

विश्व बल्लभको बाल्यकाल कालिमाटी इलाकामै बित्यो । धेरैपछि उनको परिवार कालिमाटीबाट थापाथली सरेको हो । त्यसबेला थापाथलीमा स्याल कराउने नर्कट घारी भएको उनी बताउँछन् । असन इन्द्रचोकदेखि नजिक भए पनि थापाथली बबरमहल क्षेत्र गाउँ नै थियो, त्यसबेला ।

विश्वबल्लभका पिताजी पण्डित मुरलीप्रसाद बेलाबखत बनारस गइरहन्थे । त्यसैले पनि उनका पिताजीले विश्व बल्लभको नाम विश्वनाथबल्लभ भट्टराई राखिदिए । उद्घोषण र लेखनमा सक्रिय भएपछि उनले आफ्नो नामलाई छोट्याउँदै विश्व बल्लभ बनाए ।

विश्वको बाल्यकालीन पढाइ घरमै भयो । उनी एकैचोटी कक्षा ८ मा भर्ना भए, दरबार हाइस्कुलमा । त्यहीँबाट विश्व बल्लभले एसएलसी पास गरे ।

एसएलसी सिध्याएपछि उनी केही समय पिताजीसँगै बनारसतिर लागे । हुनत पहिले पनि उनी आफ्ना पिताजीसँग बेलाबेलामा बनारस गइरहन्थे । उनका लागि बनारस पानी पँधेरो जस्तै थियो । 

विश्व भन्छन्, “यसैले गर्दा पनि मेरो कलेज केही वर्ष ब्रेक भयो । म पिताजीकासाथ घुमिरहेँ । यता आउने मेलोमेसो नै मिलेन । र वर्ष डेढ वर्ष पछि मात्रै काठमाडौं आएँ । अनि मात्रै म त्रिचन्द्र कलेजमा आइए पढ्न भर्ना भएँ ।” 

विश्व बल्लभले त्यसबेलाको थापाथलीको शब्दचित्र सुनाए । त्यसबेला थापाथली सुरक्षित मानिन्थ्यो । उनका अनुसार वाग्मती खोला नजिकै घर भए पनि बाढीको डर थिएन । तर वाग्मती उनको घरै नजिकजस्तै थियो । अहिले त वाग्मती धेरै पर पुगिसकेको उनी बताउँछन् ।

विश्व भन्छन्, “बाग्मती कति साँघुरिएको होला ! अनुमान गर्न सकिन्छ । यहाँबाट सहर जाने भनेको असन इन्द्रचोक जानु नै हुन्थ्यो । त्यो पनि धेरै टाढा लाग्थ्यो । मलाई कालिमाटीबाट यहाँ ल्याएपछि म रोएको थिएँ रे !”

थापाथलीमा उनी अहिले बसेको क्षेत्रमा दुई चारवटा घर मात्रै थियो । प्रसूति गृह बनिरहँदा यहाँ थोरै घरहरू मात्रै रहेको उनी बताउँछन् ।

त्यसबेला थापाथली क्षेत्रमा किसानहरूले धान, मकै र तरकारी खेती गरेको उनी सम्झिन्छन् ।

उता, आज पनि कालिमाटी उनका लागि प्रिय छ । उनका अनुसार कालिमाटीमा खासै परिवर्तन भएको छैन । बरु बानेश्वर इलाकामा धेरै परिवर्तन भएको उनलाई लाग्छ । 

०००

यादव खरेल बेलायत गएपछि उनले केही वर्ष बाल कार्यक्रम चलाए । रचना वाचन तथा अन्य कार्यक्रमहरूमा सहयोग गर्नु पथ्र्यो नै । यसरी हेर्दा उनले किशोरकालदेखि नै पैसा कमाउन थालिसकेका थिए ।

विश्व बल्लभ भन्छन्, “मेरा पिताजीको निधन भइसकेको थियो । ईश्वर दाइ धेरैजसो बाहिरै रहनुहुन्थ्यो । त्यसैले आफ्नो जीवन निर्वाहका लागि पैसा जरुरी थियो । र, रेडियोबाट आउने पैसाले मलाई सहयोग हुने निश्चित थियो ।” 

उनी त्रिचन्द्र कलेजमा पढ्दै पनि थिए । तिनताक त्रिचन्द्रमा धेरै कलाकारहरू पढ्थे । नारायण गोपाल, रत्नशमशेरहरूले उनलाई रेडियोका कार्यक्रम प्रस्तोताका रूपमा चिन्दथे । त्यसैले पनि उनलाई सँधै उत्प्रेरित गरे ।

विश्वको काम र पढाइ समानान्तररूपमा चलिरहेको थियो । त्यसैबेला कलेजको परीक्षाको प्रश्नपत्र बाहिरिएको विश्वहरूको समूहले थाहा पाए । तिनीहरूले सुपरिटेन्डेन्टलाई यो सुनाए । तिनले वास्ता गरेनन् । जब प्रश्नपत्र बाहिरिएको थाहा पाए, उनले त्यो दिनको परीक्षा नै रद्द गरिदिए । 

विद्यार्थीहरू आक्रोशित भए । कलेजमा होहल्ला भयो । यही विषयलाई लिएर केही दिन हडताल पनि भयो । सुपरिटेन्डेन्ट माथि हातपात पनि भएछ । 

त्यसले गडबड गर्‍यो । होहल्ला गर्ने केटाहरूको खोजी भयो । केही पक्राउ पनि परे । र छोडिए । त्यसमा विश्व पनि मुछिए ।

विश्व बल्लभ भन्छन्, “मलाई हेपेको मन पर्दैनथ्यो । त्यसैले म आफ्नो कुरो खरोखरो राख्थेँ । त्यसैले मेरो नाम अनाहकमा मुछिएको थियो । त्यसैले पनि मलै काठमाडौं छोड्नु पर्‍यो ।”

त्रिचन्द्रको यो घटनापछि नुवाकोटको ‘तामे सतार’ तिर हिँडे ।  अब केही समय उतै बिताउनुथियो । काम खोज्दै जाँदा स्थानीय स्कुलमा पढाउने काम पाएँ । र पछि केही समयका लागि उनी उक्त स्कुलको हेडमास्टर नै भए । 

यो कुरा भन्दैगर्दा उनको मुहारमा चमक छायो । उनले भने, “मलाई त राजसी ठाँठ नै थियो त्यहाँ त । मेरो खानपिन सबैको व्यवस्था गरेर महिनाको ३ सय रुपैयाँ तलब दिइन्थ्यो । कहाँ रेडियोमा सबा सय रुपैयाँ । कहाँ यहाँ, खाइवरी ३ सय !”

त्यो देखेर उनलाई लाग्यो, रेडियो भन्दा त यो काम राम्रो । त्यसैले उनी पढाउँदै गए । करिब दुई, साढे दुई वर्ष उनको सतारमा बित्यो ।

एक दिन गाउँकै एउटा पसलमा रेडियो सुन्दै थिए । त्यसबेला दसैंको समय थियो । रेडियोले पुष्प नेपालीको गीत बजायो, ‘आज किन साथी मलाई रोउँ रोउँ लाग्छ....’ । यो सुन्दै गर्दा उनी पूर्वस्मृतिमा बरालिए । यस गीतले स्मृतिदंशमा यसरी रुमल्लिए, काठमाडौं नआई धरै भएन उनलाई । 

उनी केही दिनलाई काठमाडौं आए, फेरि सतार नै फर्किने सर्तमा ।

तर, उनी काठमाडौं आउनासाथ रेडियो नेपालका किरण खरेललगायतका सबैले फेरि यतै काम गर्न आग्रह गरे । र, रेडियो नेपालबाटै महिनाको ३ सय रुपैयाँ तलब पाउने भएपछि विश्व बल्लभ सतार फर्किएनन् । 

उनले एउटा रोचक प्रसंग सुनाए । त्यसबेला रेडियोमा यादव खरेल, किरण खरेल र धु्रवकुमार देउजाले महिनाको ३ सय रुपैयाँ तलब थापेको देखेर विश्व र उनी सरहका साथीहरूलाई लाग्थ्यो, ‘यत्तिका तलब कहिले खाने होला हामीले !’ अर्थात्, धेरैको लक्ष्य थियो ३ सय रुपैयाँ । 

अब, विश्व बल्लभको तलब पनि ३ सय रुपैयाँ हुने भएपछि उनको पुनःप्रवेश भयो रेडियो नेपालमा ।

साढे दुई वर्षपछि रेडियामा भित्रिँदा उनको भागमा ग्रामीण कार्यक्रम आइपर्‍यो । उनले त्यो कार्यक्रम सञ्चालन गर्न थाले । त्यस कार्यक्रममा गाउँफर्कका कुराहरू त हुन्थ्यो नै । साथै कृषिका कुरा पनि गरिन्थ्यो । अझै एनडीएस (राष्ट्रिय विकास सेवा) मा जाने एमएका विद्यार्थीहरूसँग गाउँको बारेमा केही लेख्न लगाएर ती गाउँ र सहरहरूको परिचय ‘स्थान परिचय’ का रूपमा प्रस्तुत गर्न थाले । यो नयाँ प्रस्तुति स्थान परिचय स्रोताले रुचाएका थिए ।

यसका अलाबा अरू विषयहरू समेटिएका कार्यक्रमहरू पनि उनले सञ्चालन गर्दै गए ।

धेरैपछि विश्व बल्लभले फूलबारी भन्ने कार्यक्रम पनि सञ्चालन गरे । त्यसमा विभिन्न भाषाभाषीका गीतहरू बजाइन्थ्यो । उनको त्यो कार्यक्रमले धेरै स्रोताहरूलाई मोहित बनाएको थियो । त्यो कार्यक्रमले सिंगो नेपाल समेटेको उनी बताउँछन् । विश्व बल्लभले फूलबारी कार्यक्रमलाई रोचक रूपमा प्रस्तुत गरेका थिए । 

यसरी रेडियो नेपालमा लामो समय उद्घोषण र कार्यक्रम सञ्चालन गर्नुका साथै गीत पनि लेख्दै गए ।

विश्वबल्लभ भन्छन्, “तर हामी धेरैजना रेडियोबाट ठगिएका छौँ ! हामी त रेडियोमा जागिर खाइरहेका थियौं । त्यहाँ जहिले पनि करार पत्र दिइन्थ्यो । छ छ महिनामा करार पत्र दिने चलन थियो । कहिले त त्यो चिठी पनि पाइन्थेन । हो, महिनाको अन्तिममा तलब भने पाइन्थ्यो । २०४६ सालमा जन–आन्दोलन सकिएपछि मात्रै म स्थायी कर्मचारी भएँ । तर, सर्भिस पहिलेदेखि नै जोडिएकाले केही वर्षपछि आठौं तहको अधिकृत हुँदा जागिर छोड्नु पर्ने अवस्था आयो ।”

०००

रेडियो नेपालमा कलाकारहरूको संगत व्यापक भएकाले विश्व बल्लभले गीत पनि लेख्न सुरु गरे । कविता लेख्ने विश्वलाई गीत लेख्न खासै गाह्रो भएन ।

उनले लेखेको रेकर्ड भएको पहिलो गीत थियो :–

कोही आएर सोधे फूल खै यहाँ 
झरीसकेछ भन्देउ...

योसँगै त्यसै दिन उनको अर्को एउटा गीत पनि रेकर्ड भयो । एकै दिन एउटै व्यक्तिका दुई गीत रेकर्ड हुनु विरलै घटना मानिन्थ्यो ।

च्यातिदेउ पाना भरि लेखिएका..., विश्वको यो गीत दीप श्रेष्ठले संगीत दिएका हुन् । जुन गीत आज पनि गुनगुनाउन मन पराउँछन्, विश्व । 

विश्व बल्लभको स्वरसम्राट नारायणगोपालसँग घनिष्ट सम्बन्ध थियो । तर, विश्वले लेखेका एउट गीत पनि नारायणगोपालको आवाजमा रेकर्ड भएनन् ।

अहिलेसम्म विश्वबल्लभका करिब साढे दुई सय गीत रेकर्ड भएका छन् । तर, उनी आज पनि आफ्नो पहिलो गीत सम्झिन्छन् । जुन उनले लेखेर पनि उनको नाममा बजेन । ती संगीतकार आफैले गीतकारमा पनि नाम राखेर विश्वलाई धोका दिएका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro