काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय केही सीमित ब्यानर र व्यक्तिका चलचित्र मात्रै बक्स अफिसमा चलिरहेका छन् । वार्षिक सयको हाराहारीमा चलचित्र रिलिज भए पनि केही व्यक्ति र ब्यानरका चलचित्रतर्फ मात्रै दर्शक आकर्षित हुँदै आएका छन् ।
दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ सिरिज, झरना थापाको ‘ए मेरो हजुर’ सिरिज र निर्देशक प्रदीप भट्टराई निर्देशित चलचित्र दर्शकका रोजाइमा पर्दै आएका छन् । यी तीनवटै चलचित्रका निर्देशक तथा निर्माता अहिले स्क्रिप्टमा लेखनमा व्यस्त छन् । ‘जात्रा’, ‘जात्रैजात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेका निर्देशक भट्टराईले आफू अहिले नयाँ चलचित्रको लेखिरहेको बाह्रखरीलाई बताए । “अहिले हामी स्क्रिप्टमा छौं, स्क्रिप्ट राम्रो नभएसम्म चलचित्रको घोषणा गर्दैनौं,” प्रदीप भन्छन्, “स्क्रिप्ट नै चलचित्रको मेरुदण्ड भएकाले यसमा हतार गर्दैनौं ।”
प्रदीप सोसल ड्रामा जानराको चलचित्रको स्क्रिप्ट लेखिरहेको बताउँछन् । आफूले बनाउँदै गरेको चलचित्र पहिला आफैंलाई मन पर्नुपर्ने उनको बुझाइ छ । “मलाई नै मन परेन भने दर्शकलाई पनि मन पर्दैन । चलचित्र दर्शकसम्म पुग्नुभन्दा पहिला कथा लेख्ने व्यक्तिलाई नै मन पर्नुपर्छ,” उनी भन्छन्, “आफूले सोचेको कथालाई मिहिन ढंगले केलाउनुपर्छ । भित्री तहसम्म पुगेर विषयवस्तुको गुदी पत्ता लगाउनुपर्छ । आफूले पटकपटक सोचेको कथा आफ्नो चलचित्र युनिट र मनले खाएका केही अनुभवी र जान्नेलाई सुनाउनुपर्छ ।” अहिले उनी आफूले उठाउन खोजेको विषयको अध्ययन गरिरहेका छन् ।
केही समयअघि ‘जात्रै जात्रा’का निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले नेपालमा राम्रो स्क्रिप्ट र लेखकको अभाव रहेको भन्दै राम्रो स्क्रिप्टलाई १८÷२० लाख रुपैयाँ तिर्न तयार रहेको बताएका थिए । राम्रो स्क्रिप्ट लेख्न सक्ने स्क्रिप्टराइटर नरहेको उनी बताउँछन् । चलचित्र निर्माताहरू स्क्रिप्टमा खर्च नगर्ने तर अन्य पक्षमा महँगो खर्च गर्ने आरोप लागिरहेका बेला रवीन्द्रले स्क्रिप्ट राम्रो आए पैसा तिर्न आफूहरू तयार रहेको बताएका हुन् ।
‘१८ लाखमा स्क्रिप्ट किन्न तयार छौं’
‘छक्का पञ्जा’ सिरिजका मुख्य कलाकार, लेखक तथा निर्माता दीपकराज गिरी पनि अहिले ‘छक्का पञ्जा ४’ को स्क्रिप्टमा छन् । उनी स्क्रिप्टमा मिहिनेत गर्ने लेखक तथा कलाकार हुन् । “स्क्रिप्टका लागि अन्डरग्राउन्ड भएको छु, स्क्रिप्ट सकिएपछि मात्रै अन्य काममा आउनेछु,” दीपक भन्छन्, “मैले स्क्रिप्टमा कम्तिमा ४ देखि ६ महिना लगाउँछु ।” दीपक स्क्रिप्टको ७५ प्रतिशत काम आफैं गर्छन् बाँकी चलचित्रको युनिट र स्क्रिप्ट लेखनमा आफूलाई चित्त बुझेका कलाकारसँग छलफल गर्छन् । दैनिक ५ घण्टा स्क्रिप्टका लागि खर्चिने उनी लेख्न बसेपछि सार्वजनिक कार्यक्रमहरूमा पनि खासै देखिँदैनन् ।
स्क्रिप्टमा आफैंलाई चित्त नबुझेसम्म फ्लोरमा नजाने उनी अरूको स्क्रिप्ट लेख्नु परे २५ लाखभन्दा कममा नलेख्ने बताउँछन् । ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेकी झरना थापा पनि स्क्रिप्टमा छिन् । उनले चलचित्र निर्माणको घोषणा गरिसकेकी छिन् । छोरी सुहाना थापाको अपोजिटमा अनमोल केसीलाई अनुबन्ध गराइसकेकी छिन् ।
नेपाली चलचित्रकर्मीलाई स्क्रिप्टमा मिहिनेत नगरेको आरोप लाग्ने गरेको छ । वान लाइन स्टोरी सुनाएर कलाकारलाई अनुबन्ध गर्ने र सामान्य पहिलो ड्राफ्ट तयार पारेर छायांकनमा जाने गरेका छन् । राम्रो चलचित्र नबन्नुको मुख्य कारण यही रहेको चलचित्रकर्मीहरू बताउँछन् । पहिलो चलचित्रबाटै वाहीवाही कमाएका निर्देशक विनोद पौडेल पनि अहिले स्क्रिप्ट लेखनमै छन् । स्क्रिप्ट बलियो नबनेसम्म चलचित्र बनाउँदिन भन्ने उनी आफैं स्क्रिप्ट लेखक पनि हुन् । विनोद अहिले तेस्रो देश पुगेका भुटानी शणरार्थीको कथामा ‘एक्रोन इन्टरनेसनल’को स्क्रिप्ट लेखिरहेका छन् । उनको यो कथा ‘एसियन प्रोजेक्ट मार्केट’मा पिचिङ (आफ्नो चलचित्रको कथाबारे जानकारी दिने) का लागि छनोट भएको छ । अब कोरियामा आउने विश्वका ठुल्ठूला चलचित्र निर्माता, वितरक र सेल्स एजेन्टहरूलाई मन पर्यो भने ‘एक्रोन इन्टरनेसनल’ले विदेशी लगानी पनि पाउनेछ । यसकै स्क्रिप्टमा लामो समयदेखि विनोद काम गरिरहेका छन् ।
पहिलो चलचित्रबाट राम्रो समीक्षा र बक्स अफिस कलेक्सन राम्रो गरेका र दोस्रो चलचित्रमा राम्रो समीक्षा नपाए पनि व्यापार राम्रो गरेका निश्चल बस्नेत पनि अहिले स्क्रिप्टमै छन् । भनेजस्तो स्क्रिप्ट नपाएपछि उनी अहिले साहित्यकार बुद्धिसागरलाई स्क्रिप्ट लेख्न लगाइरहेका छन् । आफैंले करिब आधा लेखिसकेको स्क्रिप्ट चित्त नबुझेपछि निश्चलले यो जिम्मा बुद्धिसागरलाई दिएका हुन् । बुद्धिसागरबाट स्क्रिप्ट आएपछि निर्देशन गर्ने उनले सुनाए ।