site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारीको पीडामा सरकारको मलमपट्टी

काठमाडौं । हरेक दिन करिब १ हजार ८ सय युवा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुग्ने गर्छन् । सुन्दर सपना साकार पार्ने अभिलासा बोकेर वैदेशिक रोजगारीमा गएकामध्ये कतिपयले त सपना पूरा गर्न सक्छन् तर कतिपयको अवस्था भने थप विजोग बन्ने गरेको छ । कारण, दुर्घटना । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रोजगारीको सिलसिलामा ज्यान गुमाउँने र अंगभंग हुनेको संख्या पनि उत्तिकै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डका अनुसार चालु वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीका क्रममा २ सय ५२ जना नेपाली युवाले ज्यान गुमाएका छन् भने १ सय १९ जनाको अंगभंग भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका र अंगभंग भएका श्रमिकको परिवारलाई आर्थिक सहायता दिँदै आएको छ । बोर्डले यस अवधिसम्ममा वैदेशिक रोजगारीमा गएका युवाका परिवारलाई आर्थिक सहायता स्वरूप १९ करोड ४५ लाख ७६ हजार ३ सय रुपैयाँ प्रदान गरेको जनाएको छ । सरकारले आर्थिक सहायता नियम बनाएर अंगभंग, बिरामी भएका कामदारका परिवारलाई औषधोपचार, अलपत्र परेका कामदारको उद्धार, मृतक कामदारका परिवारलाई शव झिकाउँनका लागि गरिएको पत्राचार, मृतकको शव घर ठेगानासम्म शव ढुवानी गर्न तथा अभिमुखीकरण तालिमबापतको रकम शोधभर्नाका लागि भन्दै सातवटा शीर्षकमा आर्थिक सहायता वितरण गर्दै आएको छ ।

जसअनुसार समीक्षा अवधिमा बोर्डले २ सय ५२ जना मृतक कामदारका परिवारलाई १६ करोड २७ लाख ७० हजार सहयोग गरेको छ । बोर्डका निर्देशक दिनबन्धु सुवेदीले चार महिनामा वैदेशिक रोजगारीको क्रममा १ सय १९ जना अंगभंग तथा बिरामी भएका कामदारलाई आर्थिक सहायतास्वरुप २ करोड ६० लाख ७४ हजार र आठ जना कामदारका परिवारलाई औषधोपचार सहयोगस्वरूप ५ लाख रुपैयाँ वितरण गरिएको बताए । २ सय ४३ जना मृतकको घर ठेगानासम्म शव ढुवानी गर्नका ४३ लाख १० हजार र ८ सय ४० जना युवालाई अभिमुखीकरण तालिमबापत ७ लाख ५६ हजार वितरण गरेको उनले बताए । 

सरकारले दिने यो रकम उनीहरूको परिवारका लागि केही होइन, तर राज्यले आफ्नो कर्तव्य निर्वाह गरेको हो । सुवेदीले बाह्रखरीसँग भने, “वैदेशिक रोजगारीमा गएका युवालाई आइपर्ने समस्यामा केही राहत मिलोस् भनेर बोर्डले आर्थिक सहयोग गर्दैै आएको छ ।” 

बोर्डका अनुसार चालु वर्षको कात्तिक महिनासम्ममा रोजगारीका लागि मलेसियामा गएका ७६ जना नेपालीले ज्यान गुमाएका छन्, यी सबै पुरुष हुन् । त्यसैगरी साउदी अरेबियामा ५४ जना पुरुष र २ जना महिलासहित ५६ जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब एमिरेट्समा ३९ पुरुष र २ महिलासहित ४१, इजरायलमा १, माल्दिभ्समा २, बहराइनमा २ पुरुष र २ महिला गरी ४ जनाले ज्यान गएका छन् । यस्तै दक्षिण कोरियामा ५, जोर्डनमा १ महिला, कुवेतमा १२ पुरुष र १ महिलासहित १३ जनाले ज्यान गुमाइसकेका छन् भने कतारमा ४० नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ओमनमा २, अफगानिस्तानमा २, पोर्चुगलमा १, पोल्यान्डमा २, जापानमा २ सहित गरी २ सय ४३ जना पुरुष र ८ जना महिलाले ज्यान गुमाएका छन् । 

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारका आफन्त वा अंगभंग भएकाहरूले एक वर्ष भित्रमा आर्थिक सहायता लिन सक्छन् । सहायता स्वरूप बोर्डले मृत्यु भएका कामदारका आफन्त तथा घरपरिवारका सदस्यलाई ७ लाख रुपैयाँ र अंगभंग तथा रोगको अवस्था हेरेर ७ हजारदेखि ७ लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गरेको छ । 

“वैदेशिक रोजगारीमा अंगभंग भएका तथा रोग लागेका कामदारलाई बोर्डको आर्थिक सहायताले थोरै भए पनि मलमपट्टीको काम गर्छ, तर अंगभंग भएका कामदारको हकमा भने देख्न सकिने रोग (बाह्य चोटपटक) र देखन नसकिने (भित्री क्यान्सर लगाएतका रोग) भनी छुट्याइएको छ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १३:३४
प्रतिक्रिया दिनुहोस्