काठमाडौं । अहिले धेरै युवाको रोजाई वैदेशिक रोजगारी रहेको छ । लाखौं ऋण काढेर, आफन्त मात्र होइन देशै छोडेर जानुपर्ने अवस्था कसैको रहर नभई बाध्यता हो । वैदेशिक रोजगारीमा गएका युवाकै पसिनाबाट देश धानिएको छ । उनीहरूले पठाएको रेमिट्यान्सले अर्थतन्त्र थेगिएको छ ।
मुलुकको अर्थतन्त्र धान्ने युवा विदेशमा सुरक्षित छैनन् भन्ने तथ्यलाई पछिल्लो चार महिनामा मृत्यु भएको तथ्यांकले नै प्रष्ट पार्छ । वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र अंगभंगको अवस्था डरलाग्दो छ ।
देशमा राम्रो अवसर नपाउनु, आर्थिक उपार्जन कम हुनु, सीपयुक्त शिक्षाको कमीलगायतका कारणले दैनिक १ हजार ८ सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा गहिरहेका छन् ।
वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार चालु वर्षको पहिलो चार महिनामा विभिन्न देशमा गरी २ सय ५१ नेपालीले ज्यान गुमाएका छन् । यो वैधानिक रूपमै रोजगारीका लागि विदेश जानेको संख्या हो । अवैध रूपमा भारतीय बाटो हुँदै तेस्रो मुलुक जाने कामदारको तथ्यांक सरकारसँग छैन । कतिपय विदेशी भूमिमै बेपत्ता हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
बोर्डका अनुसार कात्तिक महिनासम्ममा रोजगारीका लागि मलेसियामा गएका ७६ जना नेपालीले ज्यान गुमाएका छन्, यी सबै पुरुष हुन् । त्यसैगरी साउदी अरेबियामा ५४ जना पुरुष र २ जना महिलासहित ५६ जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब एमिरेट्समा ३९ पुरुष र २ महिलासहित ४१, इजरायलमा १, माल्दिभ्समा २, बहराइनमा २ पुरुष र २ महिला गरी ४ जनाले ज्यान गएका छन् । यस्तै दक्षिण कोरियामा ५, जोर्डनमा १ महिला, कुवेतमा १२ पुरुष र १ महिलासहित १३ जनाले ज्यान गुमाइसकेका छन् भने कतारमा ४० नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ओमनमा २, अफगानिस्तानमा २, पोर्चुगलमा १, पोल्याडमा २, जापानमा २ सहित गरी २ सय ४३ जना पुरुष र ८ जना महिलाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्युसँगै बिरामी तथा अंगभंग हुनेको संख्या पनि उस्तै काहाली लाग्दो छ । यस अवधिमा १ सय १९ जना नेपाली बिरामी तथा अंगभंग भएको बोर्डले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै संयुक्त अरब एमिरेन्ट्समा ३३ पुरुष र १ महिला बिरामी तथा अंगभंग भएका छन् । त्यसैगरी मकाउमा १, कतारमा २६ पुरुष र १ महिला, कुवेतमा ४, दक्षिण कोरियामा ७, बहराइनमा १, मलेसियामा २५, माल्दिभ्समा २, संयुक्त अरब एमिरेट्समा ३३ पुरुष र १ महिला र साउदी अरेबियामा १८ सहित १ सय १९ जना नेपाली कामदार बिरामी तथा अंगभंग भएका छन् । जसमध्ये १ सय १७ पुरुष छन् भने २ महिला ।
यसैबीच, वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले गत वर्षको तुलनामा चालु वर्षको यस अवधिसम्ममा वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा आठ प्रतिशतले वृद्धि आएको छ । दशैं–तिहार जस्ता चार्डपर्वपछि वैदेशिक रोजगारीमा जानेको फ्लो बढी हुन्छ, उनले भने, ‘‘हाल दैनिक १ हजार ८ सय नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । यो संख्या गत वर्षको पहिलो त्रैमासिकको तुलनामा आठ प्रतिशत हो ।’’