उनको जन्म रौतहटको गौरमा भयो । बाल्यकाल पनि गौरमै बित्यो । पछि गएर राजनीतिमा होमिए पनि उनलाई त्यस उमेरमा राजनीतिप्रति खासै लगाव थिएन । तर, उनका अनुसार थोरै प्रभाव भने थियो । किनभने, त्यो समयमा भारतमा भारत छोडो आन्दोलन चलिरहेको थियो । नेपालको सदरमुकामहरूमध्ये भारतीय रेल्वे स्टेसन सबैभन्दा नजिक भएको ठाउँ नै गौर पर्दथ्यो । त्यसैले गौरमा भारतीय नेताहरूको आवागमन भइरहन्थ्यो ।
भारत छोडो आन्दोलनले गर्दा हजाराैँ हजार भारतीय नेपालमा शरण लिन आउँथे । र त्यसको मुख्य स्थान गौर बनेको थियो । त्यसैबेला भारतका ठूलाठूला व्यापारीहरूले गौरमा आएर पसल थापेको उनी सम्झिन्छन् । त्यसबेला उनले राजनीति त बुझेका थिएनन् । उमेरले गर्दा पनि त्यता ध्यान गएन । तर आश्चर्यचकित भएका थिए उनी, भारतीयहरूको भीड देखेर !
उमेरले ९० वर्ष छुँदै गरेका नेपाली कम्युनिष्ट आन्दोलनका एक चर्चित नेता विष्णुबहादुर मानन्धरसँग पुराना कुराका लागि बुधवार बिहान मैतिदेवीस्थित उनको निवासमा पुग्दा उनी आफ्नो जीवनका विविध पक्षहरूका बारेमा उत्साहापूर्वक बताउँदै थिए । उनी भन्छन्, “जब म आफैँ राजनीतिमा लागेँ, त्यसपछि मात्रै राजनीति के हो भन्ने थाहा पाएँ । राजनीतिले के–के गराउँदो रहेछ भन्ने पनि बुझेँ । सायद यसैले मलाई कालान्तरमा राजनीतिमा लाग्न वा होमिन मद्दत गर्यो ।”
त्यसबखत गौरमा स्कुल थिएन । त्यसैले केही समय उनी सीतामढी गएर पढे । पछि गौरमा स्कुल खुलेपछि उनी गौर फर्किए । त्यहीँ पढ्न थाले । र भारतीय बोर्डबाट म्याट्रिक परीक्षा दिए । उनका अनुसार त्यसबेला नेपालकै स्कुल पनि हिन्दी भाषामा नै पढाइ हुन्थ्यो । अंग्रेजी पनि पढाइन्थ्यो । तर नेपाली भाषाको कक्षा लिइन्थेन ।
उनले सन् १९४६मा भारतको मोतिहारी जिल्लाबाट जाँच दिए र म्याट्रिक पास गरे । त्यसपछि उनी थप पढ्नका लागि बनारस गए । बनारस हिन्दु विश्वविद्यालयमा उनी पढ्न थाले ।
कुराकानीका क्रममा उनले बनारस जानुको कारण सुनाए । त्यसबेला बनारस धार्मिक र शैक्षिक क्षेत्रका लागि हवजस्तै थियो । उनका दाजुहरूले बनारसबाटै आफ्नो शिक्षा पूरा गरेका थिए । उनका दाजु कृष्णबहादुर मानन्धर (जेठी आमा तिरका छोरा)ले उनको जन्मभन्दा अगाडि नै बनारसबाट एमए पास गरिसकेको उनी बताउँछन् । उनका दाजु भाइ र दिदी बहिनीले पनि बनारसबाटै पढे ।
उनका पिताजी त्यो समयमा ठेकेदारी गर्दथे । उनी हरेक प्रकारको ठेक्कापट्टाको काम गर्थे । भन्सार पनि त्यसबेला ठेक्कामा मिल्थ्यो । हुँदाहुँदा उनका पिताजीले नजिकैको भारतीय सहरहरूमा गएर पनि ठेक्कापट्टाको काम गर्न थालेका थिए ।
त्यहीँ उनका पिताजीलाई ब्रिटिस सरकारका कुनै भारतीय अधिकारीले भनेछन्, ‘भारतमा काम गर्नु छ भने अंग्रेजी जान्नुपर्छ ।’ उनका पिताजीलाई यो कुरा बिझ्यो । त्यसैले उनका पिताजीले छोरा, छोरी र भान्जाहरूलाई बाहिर लगेर पढाए । उनले भान्जालाई कलकत्ता पठाएर पढाएका थिए भने छोराछोरीहरूलाई बनारस पठाएर पढाए । विष्णुबहादुर मानन्धर पनि पढ्न भनेर बनारस गए । र पढ्न सुरु गरे ।
मानन्धर भारत स्वतन्त्र हुँदादेखि नै बनारसमा थिए । त्यसैले राजनीतिप्रति उनको रुची विस्तारै बढ्दै गइरहेको थियो । त्यो बेला भारतीय राजनीतिका विभिन्न आयामहरूलाई आफूले नजिकबाट नियालेको उनी बताउँदै थिए । त्यसबेला बीपी कोइराला, गणेशमान सिंह, डिल्लीरमण रेग्मीहरू बनारस आइरहन्थे । उनी पनि ति नेपाली नेताहरूको भाषण सुन्न गइरहन्थे । यसरी भाषण सुन्न जाँदा कम्युनिष्ट नेता आएको उनले थाहा पाएनन् । जबकि सन् १९४६ मै कम्युनिष्ट पार्टीको गठन भएको भनिन्छ ।
उनी नेताहरूको भाषण सुन्दै राजनीतितर्फ आकर्षित हुँदै गए । उनका केही मित्रहरू नेपाली कांग्रेसमा सक्रिय थिए । तिनमा विश्वबन्धु थापा, भरतमणि शर्मा, काशिराज उपाध्यायहरू प्रभावित थिए । तर उनी आफू कांगे्रसबाट खासै प्रभावित नभएको बताउँछन् उनी । साथीहरूका कारण मात्रै आफ्नो निकटता कांग्रेसीहरूसँग रहेको उनको भनाइ छ ।
राजनीतिमा आकर्षित हुँदै गएका विष्णुबहादुर मानन्धर पनि अन्ततः राणा विरोधी आन्दोलनमा सक्रिय भए । कांग्रेसद्वारा त्यसैबेला जनक्रान्तिको आह्वान भयो । सबै युवाहरूलाई राजनीतिमा लाग्न अभिप्रेरित गरियो । उनका अनुसार त्यसबेला पटनामा मातृकाप्रसाद कोइरालाको अफिस थियो । मातृकाप्रसादलाई भेट्न विष्णुबहादुर र उनका केही साथी पटना पुगे । कुराकानीका क्रममा मातृकाप्रसादले एउटा शर्त राखे, ‘तपाईँहरु फ्रन्टमा गएर आन्दोलनमा लडने हो भने नेपाली कांग्रेसको साधारण सदस्यता लिनुपर्छ’ ।
त्यसमा केही विवाद भयो । केही मानिसहरू फर्किए पनि शर्त नमान्ने भन्दै । तर मानन्धरले सोचे, ‘अर्को कुनै दल छैन । कुनै मोर्चा पनि छैन । र विकल्प पनि छैन । तर राणाशाही हटाउनु छ । त्यसैले उनले यो शर्त मान्दै कांगे्रसको सदस्यता लिए । राणाशाही हटाउनु उनको ध्येय थियो । त्यसपछि उनी धनगढी र नेपालगञ्जतिर खटाइए । त्यहाँ रहेर लामो समय आन्दोलनका आवश्यक काम गरे । त्यसबखत उनी एमए पढ्दै थिए । उनी पढाइ छोडेर आन्दोलनमा होमिए ।
धनगढीमा सूर्यप्रसाद उपाध्याय पूरा पश्चिम सेक्टरका हर्ताकर्ता थिए । तिनको निर्देशनमा काम गर्नुपरेको थियो । त्यहाँ महेन्द्रविक्रम शाह पनि सक्रिय थिए । नेपाल भित्रिनुपूर्व विष्णुबहादुर मानन्धरले हतियारहरू विभिन्न ठाउँबाट नेपालको बोर्डरसम्म ल्याउने काम गरे । जब धनगढी आन्दोलनकारीले कब्जा गर्यो, त्यसपछि उनी पनि धनगढी भित्रिए ।
२००७ सालमा संयुक्त सरकार बनिसकेपछि विष्णुबहादुर मानन्धर धनगढीबाट गौर फर्किए । र गौरलगायतका क्षेत्रमा समाससेवाका कार्यमा सक्रिय रहे ।
०००
हठात् उनले कांग्रेस परित्याग गरे । त्यसपछि कांग्रेसको आह्वानमा स्वतन्त्रता आन्दोलनमा होमिएका विष्णुबहादुर मानन्धर कम्युनिष्ट भए । विष्णुबहादुर मानन्धरले एउटा घटना सुनाए । भने, “भारत स्वतन्त्र भएपछि त्यहाँ हिन्दु मुस्लिमबीच दंगा हुँदा दुबै पक्षलाई मिलाउनका लागि म सक्रिय भएर लागेँ । उतिखेर भारतमा शान्ति सेना गठन गरिएको थियो । बनारसको शान्ति सेनामा म सदस्य भएँ । यसरी हिन्दु मुस्लिमबीच भाइचारा बढाउने काममा खटिएँ । त्यहीँबाटै म प्रत्यक्षतः जनतासँग जोडिएर काम गरिरहेको थिएँ ।”
नेपालमा प्रजातन्त्र आइसकेपछि उनको बसोबास गौरमै भयो । उनी गौरमै रहेर प्रत्यक्षतः समाजसँग जोडिएका कामहरू गर्न थाले । त्यसबेला भारतबाट नेपालमा कपडा आउँथ्यो । त्यो पनि सस्तो भाउमा । पछि त्यही कपडा तस्करी गरिएर भारत पु¥याइन्थ्यो । यसो किन भइरहेको थियो, त्यो उनीहरूले थाहा पाउन सकेका थिएनन् । तर यो गलत कार्य थियो र यसलाई रोक्नु जरुरी थियो भन्ने उनले बुझेका थिए ।
यसलाई रोक्न उनी अगाडि सरे । सारा गाउँले उकासिए । सस्तो कपडा आए पनि गौरका मानिसले किन्न नपाएपछि त्यसलाई रोक्ने काममा सबै एक भइ लागेका थिए । २२–२३ वर्षका युवा विष्णुबहादुरले त्यसको नेतृत्व आफ्नो हातमा लिए ।
एक रात ठूलो परिमाणमा कपडा समातियो । सय पोका कपडा थियो । यसले निक्कै हल्लीखल्ली मच्चायो । त्यसबेला गणेशमान सिंह उद्योग मन्त्री थिए । गोपालप्रसाद उपाध्याय गौरमा अडिटर थिए । उपाध्यायले पनि यस विषयलाई लिएर विष्णुबहादुरलाई धम्क्याए । काठमाडौंबाट उद्योगका सचिव आए । त्यहाँ लेनादेना गरेर मिलाइएको उनले थाहा पाए ।
त्यसैको विरोधमा मानन्धरहरूको समूहले एउटा सानो पर्चा बनायो । त्यसमा अघोषित रुपमा घुस खाएको हो भन्ने कुरा उल्लेख गरिएको थियो । र त्यो पर्चा मानन्धरहरूको समूहले काठमाडौं ल्याएर सिंहदरबारमा छरे । यसलाई लिएर सचिवले मानन्धरलाई नानाभाँति भने । त्यसबेला गणेशमान सिंहले पनि उनीसँग भेट्न चाहेनन् । त्यसैले उनीहरूले सिंहदरबार अगाडि ठूलो स्वरमा नारा लगाए ।
यहीँबाट कांग्रेसप्रतिको विद्रोह सुरु भयो, विष्णुबहादुर मानन्धरमा ।
कहिलेकाहीँ सिद्धान्तभन्दा पनि व्यवहारले मानिसलाई कपितपय ठाउँबाट अलग हुन बाध्य बनाउँछ भन्छन्, उनी । उनका एकजना दाजु पटनामा वकिल थिए । विष्णुबहादुर काम विशेषले पटना गएका थिए । त्यहीँ सूर्यप्रसाद उपाध्याय पनि रहेछन् । थाहा पाए पछि उनी भेट्न गए, उपाध्यायलाई । उनकै कमान्डमा काम गरेकोले जानु स्वाभाविक पनि थियो ।
सूर्यप्रसादले मानन्धरलाई एउटा काम अह्राए । त्यसबेला रक्सोलमा गभर्नर (बडाहाकिम)हरूको सम्मेलन भइरहेको थियो । ‘त्यहाँ गएर तत्कालीन गृहमन्त्री बीपी कोइरालालाई नै यो चिठी दिनू’ भनेर सूर्यप्रसादले चिठी लेखेर दिए । मानन्धर रक्सोल गए । बीपीलाई भेट्न पुगे । खबर पठाए । तर खबर आएन । ६ घण्टासम्म उनी बाहिर कुरेर बसे । मानिसहरूको आउने जाने क्रम जारी थियो । तर मानन्धरलाई बोलाइएन ।
यसबाट उनि उद्वेलित भए । बल्ल ६ घण्टा पछि उनले बीपीलाई भेट्न पाए । चिठी दिए । बीपीले ‘केही भन्नु छ’ भनेर सोधेका थिए । उनले पनि ‘केही छैन’ भनेरै बाहिर निस्किए । यहीँ नेपाली कांग्रेसप्रति उनको मोह वा सबै सकारात्मक धारणा समाप्त भयो ।
मानन्धर भन्छन्, “एउटा नेताले अर्को नेतालाई पठाएको चिठी, त्यसमाथि पनि सशस्त्र क्रान्तिमा भाग लिएको र आन्दोलनमा लडेको व्यक्ति आउँदा त नेताले भेट दिँदैनन् भने यिनले सामान्य जनतालाई कसरी सजिलै भेट देलान् ? यिनी किसान र गरिब जनताका नेता कसरी होलान ? यो सवालले मलाई झकझकायो । र मैले तत्कालै नेपाली कांग्रेस छाडेँ ।”
कांग्रेस छोड्ने बेलामा उनले तीन चार जना मानिस खोजे । त्यसमा उनलाई साथ दिए कृष्णप्रसाद भण्डारी, लिलाराज उपाध्याय, कृष्णविलाश उपाध्यायहरूले । यसरी विष्णुबहादुर मानन्धरहरू नेपाली कांग्रेसबाट बाहिरिए ।
यि चारै जनाको एउटा समूह खडा भयो । जसले सामाजिक काममा आफूलाई लगाउन थाले । उनीहरूको पहिलो काम तस्करी नियन्त्रणमा रह्यो । केवल चौधरी (थारु कल्याणकारी समितिका जन्मदाता) पनि उनका साथमा लागेर सहयोग गर्न आइपुगे । यसरी उनीहरूले विभिन्न काम गर्दै गए । त्यस्तै शिक्षा प्रचार समिति बनाए । त्यसको जिम्मा कृष्णप्रसाद भण्डारीलाई दिए । र रौतहटका विभिन्न ठाउँमा स्कूलको स्थापनाको काम अगाडि बढाए । त्यस समितिले स्कूल खोल्ने, पाठ्यक्रम तय गर्ने र पठन पाठनलाई अगाडि बढाउने काम गर्दै गयो ।
सामाजिक सेवाका क्षेत्रमा लागेका मानन्धरहरूले प्रौढ कक्षा पनि सुरु गरे । रातीगरी बुढाबुढीलाई पढाउने काममा सक्रिय भए ।
०००
वि. सं. २००९ सालको कुरा हो । त्यसैबेला किसान आन्दोलनको हल्ला चल्यो । किसान आन्दोलन हुँदैछ भन्ने चर्चाले सबैलाई उकास्यो । त्यसबेला कम्युनिष्ट पार्टीमा प्रतिबन्ध लागेको थियो । अखिल नेपाल किसान संघको नाममा किसानहरू आन्दोलनमा सक्रिय थिए । किसान आन्दोलनको क्रममा एक पटक १० हजार किसानहरू आन्दोलनका लागि गौरमा भेला भए । त्यस कार्यबाट उनी प्रभावित भए । उता गौरमा गुरुप्रसाद मैनाली अपिल अड्डाका हाकिम थिए । उनले प्रशासन पनि हेर्थे । मैनालीले ति किसानलाई फर्कन भनेका थिए । तर ति फर्केनन् । गौरमै बसे ।
ति १० हजार मानिसलाई खानपानको बन्दोबस्त कसले गर्ने ? कोही अगाडि थिएनन् । त्यसैले विष्णुबहादुर मानन्धरको समूह आफ्नो आफ्नो तर्फबाट यस काममा सक्रिय भए । उनीहरूले सातु, चिउरा र अलुहा (सखरखण्ड) दिए आन्दोलनकारीहरूलाई । १० हजार मानिसलाई एक मुठी चिउरा सतुवा एकएक सखरखण्ड खान दिन पनि ठूलो कुरो थियो ।
यो कामको व्यापक चर्चा भयो । वीरगन्जमा केदार उपाध्याय थिए कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका सदस्य । पछि उनलाई भेट्न मानन्धर वीरगन्ज पुगे । त्यहाँ पुगेपछि उनले थाहा पाए, त्यो किसान आन्दोलनलाई कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले परिचालित गरेका रहेछन् । त्यसैले त्यो विशाल भीड भएको रहेछ !
यहीँबाट उनी कम्युनिष्ट पार्टीबाट प्रभावित भए । कम्युनिष्ट पार्टीको सदस्यता लिए । तर कृष्णप्रसाद भण्डारीले कम्युनिष्ट पार्टीको सदस्यता लिएनन् । उनले भने ‘म मनमा लागेको कुरा बाहिर पनि राख्छु । पार्टीमा पनि राख्छु’ । तर उनलाई त्यो अधिकार दिइएन । त्यसैले उनी सक्रिय राजनीतिमा पनि लागेनन् । बाहिरबाटै सहयोग गरे ।
पछि अखिल नेपाल किसान संघमा पनि प्रतिबन्ध लाग्यो । अनि किसान पञ्चायतका नामबाट काम गर्दै गए तिनले । जे जसो भए पनि जागरण फैलाउने काम गर्न छाडेनन् उनले । अनेक किसिमबाट नारा घन्किँदै रह्यो । आन्दोलन अगाडि बढिनै रह्यो, किसानहरूको । ‘किसान पंचायत जिन्दाबाद’, ‘किसान संघबाट प्रतिबन्ध हटाउ’ र ‘कम्युनिष्ट पार्टीबाट प्रतिबन्ध हटाउँ’ भन्ने नारा घन्काइरहे ।
०००
यसरी किसान आन्दोलनबाट अगाडि बढदै गएका विष्णुबहादुर मानन्धरको राजनीति अगाडिअगाडि लम्कँदै गयो । उनले राजनीतिमा नै आफ्नो जीवन ओछ्याए । उनको परिवार गौरको सम्पन्न परिवार थियो । जमिनदार थिएनन् उनका पिताजी, तर साढे तीनसय बिघा जमिनको मालिक थिए । कति उनका पिताजीले किने । कति ठेक्का लिए । यसरी उनको सम्पन्नता वृद्धि हुँदै गएको थियो ।
२०११ सालमा उनकै कारणले गर्दा घरमा अंशवण्डा भयो । १० दाजुभाइ थिए उनीहरू । आफू राजनीति गर्ने भएको कारणले नै अंशबण्डा हुन गएको उनी बताउँछन् । उनको भागमा २८ बिघा खेतबारी, घर घडेरी पर्यो । गौरबजारमा रहेको घडेरीमा बनेका केही कोठाहरूमा पसल बसेको थिए । ७ रुपैयाँका दरले पसल कोठाको भाडा आउँथ्यो । त्यसैले उनको खर्चवर्च चल्थ्यो ।
अंशबण्डा हुनुपूर्व उनलाई खेतीपातीमा सघाउन भनियो । तर उनले सीधै हुन्न भने र आफूले राजनीति नै गर्ने बताए । त्यसपछि मात्रै अंशबण्डा भएको थियो । अंशबण्डा भएपछि उनी घर छोडेर बस्न थाले । त्यसबेला आफूलाई त्यो आम्दानीले पुग्ने उनी बताउँछन् । मानन्धर भन्छन्, “मैले अंशबण्डामा पाएको नगद मध्ये ३ हजार रुपैयाँ मैले रौतहटको कम्युनिष्ट पार्टीको जिल्ला समितिलाई डोनेट गरेको थिएँ । त्यो बेलामा ३ हजार सायद कसैले पनि सहयोग गरेका थिएनन् ।”
उनको जिल्लाको राजनीति चलिरहेको थियो । त्यो राजनीति समाजसँग पनि जोडिएको थियो । गाउँघरसँग जोडिएको थियो । अर्थात मानन्धर सिधै जनतासँग जोडिएर काम गरिरहेका थिए । वि.सं. २०१७ साल पुस १ गते उनी काम विशेषले गौर बाहिर थिए । पत्रिका आउँथ्यो तर ढिलो आउँथ्यो । रौतहट र बारा दुबै जिल्लाको संयुक्त सचिव थिए विष्णुबहादुर मानन्धर । बाराको कतरुवा भन्ने गाउँमा उनीहरू पुस १ गते मिटिङ्ग गर्दै थिए । २ गते उनलाई गौर कुनै पनि हालतमा फर्किनु थियो ।
दोस्रो दिन उनी गौर फर्किने क्रममा बैरगिनीया पुगे । बैरगिनीया पुगे पछि एक जनाले भने “नेताजी आपको कुछ मालुम हुवा ?”
“क्या ?”
“बीपी कोइराला जेलमे है । पार्लियामेन्ट भंग हो गया है ।”
त्यसपछि एक जना मानिसलाई उनले गौरको माल अड्डामा पठाए । मनमोहन अधिकारीका एक भाइ त्यहाँको माल अड्डामा सुब्बा थिए । उनीसँग खबर थाहा पाए पछि उनी गौर आएनन् । आउँथे भने उनी थुनामा पर्न सक्थे ।
मानन्धर भन्छन्, “म साइकल लिएर अर्को गाउँमा गएँ । पार्टीका मानिसहरूलाई एक ठाउँमा ल्याएँ र कसरी काम गर्ने भन्ने विषयमा बताएँ । त्यसको केही समय पछि कम्युनिष्ट पार्टीको दरभंगा प्लेनम भयो । त्यहाँ प्रत्यक्षतः तीन वटा लाइन आयो । पुप्पलालजीको एउटा । सेन्टर कमिटीको अर्को लाइन थियो । र मोहनविक्रम सिंहको संविधान सभा नभए सशस्त्र आन्दोलनको लाइन थियो ।”
त्यहाँ भोटिङ भयो । मोहनविक्रम पक्ष भोटिङ्गमा बलिया देखिए । यसका लागि डा. केशरजंग रायमाझीले अनेक तिकडम गरेको उनी बताउँछन् ।
दरभंगा प्लेनम सकिएपछि उनी पार्टीको काममा लागे । उता डा. रायमाझी अनेक गरेर दरबार निकट हुँदै गएका थिए । राजा महेन्द्र पाल्पा जाँदा डा. रायमाझीले पाल्पाको पार्टी अफिसलाई सजाएर राजालाई देखाएका थिए । रायमाझीले राजा महेन्द्रलाई भनेका रहेछन्, ‘सोभियत संघले किसान र मजदुरका लागि काम गर्दैछ’ भनेर ।
पछि एकदिन दरबारका मानिस आए । त्यसबेला हामी दरबार जाँदैछौ भनेर शम्भुराम श्रेष्ठले भनेका थिए । तर रायमाझी र डिपी अधिकारीहरू पो दरबार गएका रहेछन् भन्ने पछि मात्रै थाहा भयो मानन्धरलाई । यहीँबाट कम्युनिष्ट पार्टीमा फूटको सुरुआत भयो । पछि डा. रायमाझीलाई पासपोर्ट दिइयो । उनी सोभियत संघ गए । दरबारले पनि सोभियत संघलाई आफ्नो समर्थनमा पार्नलाई डा. रायमाझीलाई प्रयोग गरेको मानन्धर बताउँछन् ।
पछि चाइना र सोभियत संघमा फुट आयो । नेपालको पार्टीमा पनि फुट चर्कियो । विष्णबहादुर मानन्धर सोभियत संघको समर्थनसहित कम्युनिष्ट आन्दोलनमा लागे । उनले पार्र्टीको विकासका लागि सोभियत संघसँग लाग्ने कामलाई निरन्तरता दिँदै गए । पहिलेपहिले उनले रुस जान अनेक प्रयत्न गरे । कतिपटक त रुसले निम्तो पनि पठायो । तर उनलाई पासपोर्ट नै दिइएन । उनले सन् १९८०मा मात्रै पासपोर्ट पाए । र मास्को ओर्लिए । अनि पार्टीका लागि उनले विभिन्न सहयोगका कामहरूलाई अगाडि बढाए । अन्ततः सोभियत संघ कन्भिन्स भयो । अनि मात्रै पार्टीलाई सहयोग मिल्दै गयो ।
०००
२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरेको थियो । मानन्धर समूहले पनि त्यसबेला सत्याग्रहमा सहयोग ग¥यो । मानन्धरले गिरफ्तारी पनि दिएका थिए । तर रामराजाप्रसाद सिंहले गराएको बम काण्डले सत्याग्रह बीचमै रोकियो । त्यसबेला पक्राउ परेका उनी साढे २ वर्षसम्म जेलमा परे । उनलाई अनेक प्रलोभन दिइयो । वीरेन्द्रकेशरी पोखरेल आएर ‘म शान्तिपूर्वक काम गर्छु’ भनेर एक लाइन लेखेर दिनुससम्म भने । मानन्धरले पनि ‘म अशान्तिपूर्र्वक काम गर्ने मानिस । यस्तो त लेख्दिन’ भन्दै पोखरेललाई पठाए ।
तिनताका नै उनलाई भेट्न मंगलादेवी नख्खु जेलमा पुगेकी थिइन् । गणेशमान सिंह आफै आउन चाहेको तर अंचलाधीशको अनुमति चाहिने भएकोले आफू आएको बताएकी थिइन, मंगलादेवीले । उनी साढे दुई वर्ष पछि जेलबाट छुटे । दशैंको समय थियो । दशैं पछि कांग्रेसले चियापान समारोहको आयोजना गरेको थियो । त्यो चियापानमा मानन्धर पनि पुगे । उनलाई गणेशमानले भनेछन्, ‘ए मानन्धर । ल बधाई छ । तिमीलाई छोडेकोमा बधाई दिएको होइन । तिमीले आत्मसमर्पण गरेनौँ । त्यसैले बधाई दिएको ।’
यति भनिरहँदा मानन्धर हाँसे । उनले एउटा अर्को प्रसंग कृष्णप्रसाद भट्टराईसँग जोडेर सुनाए । २०४७ सालको संविधान जारी भएको दिन दरबारमा पूर्वप्रधानमन्त्रीहरूको पनि जमघट थियो । आन्दोलनरत् पार्टीका नेताहरू उपस्थित हुनेनै भए । त्यसैले मानन्धर पनि गएका थिए, दरबारमा ।
त्यहिँ कुनामा रहेका मरिचमानसिंहलाई कृष्णप्रसाद भट्टराईले तानेर ल्याए र राजा वीरेन्द्रको अगाडि भने ‘म तपाईँले बनाएर प्रधानमन्त्री भएको होइन । म त मरिचमानजीको गल्तीले गर्दा प्रधानमन्त्री हुन पाएको हुँ ।’
मानन्धर भन्छन्, “त्यसबेला त्यहाँ रहेका सबै गललल हाँसे । त्यसबेला राजाको अनुहारमा पनि खुसी थियो । तर रानी ऐश्वर्यको अनुहार एकदम खस्केको थियो ।”