लामो समय मलेरिया रोगको विशेषज्ञकारुपमा स्वदेश तथा विदेशमा चिनिएका डा. कृष्णजंग राणा (८९) नेपालगञ्जमा जन्मिए । उनको बाल्यकाल त्यहीँ बित्यो । उनको प्रारम्भिक पढाइलेखाइ पनि नेपालगञ्जकै सरकारी स्कुलमा भयो । कुराकानीका क्रममा उनले आफूले भाग्यलाई तीन भागमा बाँड्ने गरेको बताए । एउटा जन्मभाग्य, अर्को कर्मभाग्य र तेस्रो भाग्यभाग्य । भाग्यभाग्य भनेको अदृश्य तत्व भएको उनी मान्दछन् । जसले समय समयमा उनलाई अत्यन्तै सहयोग गरेको छ ।
‘जन्मभाग्य’को कुरा गर्र्दैगर्दा उनले सुनाए, आफ्ना पुर्खा जंगबहादुर राणासँग जोडिएको कथा । उनी जंगबहादुरको कुलमा जन्मिए तर पनि अथाह दुःख खेप्नु पर्यो ।
अर्को ‘कर्मभाग्य’, अर्थात् उनले कर्म गरे । उनी आफूले खुुबै मेहनत गरेर पढेको बताउँदै थिए । पढाइलाई उनले आफ्नो कर्म नै ठानेर अगाडि बढेका थिए ।
त्यसपछि ‘भाग्यभाग्य’ । यो नितान्त अदृश्य शक्ति थियो, जसले उनलाई चिकित्सक मात्रै बनाएन्, उनलाई विश्व घुमायो । मलेरियाका लाखौँ रोगीको उपचार कर्ममा लगायो । कुनै बेला सवा रुपैयाँ कमाउन गाह्रो हुने एउटा व्यक्तिको जीवनशैली यसरी परिवर्तन भयो ।
सोमबार अपरान्ह ललितपुर सानेपा ठाडोढुंगास्थित उनको घरमा पुग्दा डा. कृष्णजंग राणा आफ्नो पुरानो कुरा सुनाउन तयार थिए । उनी भन्छन्, “म जंगबहादुर राणाको कूलमा जन्मिएको हुँ । जंगबहादुरका जेठा छोरा जगतजंग, जगतजंगका छोरा राजजंग, राजजंगका छोरा भगवतजंग र भगवतजंगको छोरा म कृष्णजंग । अर्थात् जंगबहादुर राणाको पाँचौ पुस्ता हुँ म ।”
डा. राणाका अनुसार सत्तालिप्साका कारण जंगबहादुरका दाजुभाइद्वारा जंगबहादुरको खलकमाथि धरपकड भएपछि जगतजंगको परिवार काठमाडौं छाड्न बाध्य भए । त्यही समयमा उनका हजुरबुवा राजजंग भागेर अयोध्या पुगे । उनी अयोध्याका राजासँग काम गर्न थाले । त्यसबेला उनको हजुरबुवाको उमेर १५–१६ वर्ष रहेको आफूले सुनेको उनी बताउँछन् ।
पछि शमशेरहरूले राजजंगलाई नेपाल फर्कन भने । राजजंग आफ्ना परिवारसहित नेपालगञ्ज आए । अयोध्याबाट नेपाल छिर्दा कृष्णजंगका पिताजी भगवतजंगको उमेर १५–१६ वर्षको थियो । नेपालगञ्जमा उनीहरूले जीवन निर्वाहका लागि केही सहयोग पाएका थिए । उनीहरू त्यहीँ बसे । तर पनि जंग खलकप्रति शमशेरहरूको निगरानी अधिक रहेको डा. राणा बताउँछन् ।
जंगका परिवारलाई मनग्ये पैसा कमाउने छुट थिएन । जति दिइन्छ त्यतिमै गुजारा गर्नु पर्दथ्यो । पढ्ने लेख्ने छुट पनि थिएन । यसरी उनका पिताजीको पारिवारिक गाडा चलिरहेको थियो । त्यसै अवस्थामा डा. कृष्णजंग राणाको जन्म भयो १९८८ को कृष्णाष्टमीका दिन । उनी भगवतजंगका साहिँला छोरा थिए । उनका अरु भाइहरू पनि थिए । तीमध्ये केही सानैमा बिते ।
उनको शैशव र बाल्यकाल नेपालगञ्जमै बित्यो । उनका अनुसार उनको पारिवारमा कष्टैकष्ट थियो । सुख थिएन ।
नेपालगञ्जको स्थानीय सरकारी स्कुलमा कृष्णजंग राणासहित उनका दाजुभाइको पढाइ सुरु भयो । उनी पढ्नमा अब्बल थिए । पढाइप्रतिको उनको लगावले गर्दा उनको पढाइ अगाडि बढाउनु पर्ने भयो । तर बडा हाकिमको कडाइका कारण उनीहरू खुलेर पढ्न पाउँथेनन् !
त्यसैले पढ्नैका लागि उनी र उनका दाजुहरू सिमावर्ती भारतीय सहर बहराइच जान थाले । सीमामा रहेको रेल्वे स्टेशनसम्म उनीहरू हिँडेर पुग्थे । त्यसपछि एक घन्टा ट्रेनको सफर गरेर बहराइच पुगेर क्लास भ्याउँथे । र बेलुका त्यसरी नै घर फर्किन्थे ।
यसरी उनको म्याट्रिक सिद्धियो । उनी थप पढाइका लागि लखनउ गए । त्यहाँको क्रिस्चियन कलेजमा साइन्स लिएर पढ्न प्लस टु पढ्न थाले । पढाइ राम्रो भएकोले उनले छात्रवृत्ति पाएका थिए । बाँकी खर्चका लागि उनी बेलाबेलामा अनेक कामहरू गर्थे । कहिले ट्युसन पढाउँथे । कहिले कुनै सानातिना कामको जिम्मा लिन्थे ।
यसरी उनले आफ्नो फूटकर खर्चको जोहो गर्थे ।
पैसाको जोहोका लागि आफूले कहिलेकाहीँ निर्वाचनको लागि आवश्यक मतदाता नामावली सारेको पनि उनी बताउँदै थिए ।
डा. राणा भन्छन्, “मैले मतदाताको नाम सार्ने काम पनि गरेँ । एकहजार जनाको नाम सारेको २० आना पैसा दिइन्थ्यो । २० आना भनेको सवा रुपैयाँ । हजारजनाको नाम लेख्नलाई दुई दिन लाग्थ्यो । यसरी म दुई दिनमा सवा रुपैयाँ कमाउँथे ।”
यो सुनाउँदै गर्दा उनी हाँसे ।
०००
डा. कृष्णजंग राणाको मनमा डाक्टर हुन्छु भन्ने थिएन । आईएससी पढ्दाखेरि पनि त्यो सोच आएको थिएन । किनभने डाक्टरी पढ्नु भनेको ठूलो कुरो थियो । पढाइ महँगो थियो । पढ्नसक्ने अवस्था थिएन । आईएससी पढेर सामान्य नोकरी गर्नुपर्छ भन्ने सोच मात्रै थियो उनको । उनका पिताजीले डाबरको औषधि बिरामीलाई निःशुल्क बाँडथे । उनका पिताजीले धेरै बिरामीको घरेलु उपचार गरिदिन्थे । उनको घरमा डाबरको किताब पनि हुन्थ्यो । जसमा औषधिका विषयमा लेखिएको हुन्थ्यो ।
डाबरको त्यो किताबमा रहेको डाक्टर शब्द उनलाई खुबै मन परेको थियो । त्यसैले उनी पनि आफ्नो नाममा ‘कृष्णजंग राणा डाबर डाक्टर एसके बर्मन लिमिटेड कलकत्ता’ भनेर कपिमा सार्थे । तथापि उनमा डाक्टर बन्ने कुनै रहर वा सोच थिएन । त्यसबेला उनका पिताजीले रतन्धोको उपचार पनि गर्ने गरेको उनी सम्झिन्छन् । उनका अनुसार उनकी आमा आँखाको परेलाभित्र पसेकालाई परेला बाहिर निकालिदिने काम गर्थिन् । अर्थात ट्रोकोमाको उपचार गर्थिन् ।
उनका हजुरबा मलेरियाको घरेलु उपचार गर्थे । जुन उपचारपछि गएर सानैमा कहिलेकाहीँ उनले पनि गरे । यसरी घरेलु वातावरण स्वास्थ्य उपचारतिर भए पनि उनलाई डाक्टर नै बन्नु पर्छ भन्ने कहिल्यै लागेन । आईएससीपछि जागिर खाउँला भन्ने सोच थियो । सायद कुनै शिक्षकसँग उनले कुरा पनि गरेका थिए । र ती शिक्षकले उनलाई ‘तिमी बनारस आउ पढाइ सिध्याएर, म तिमीलाई नोकरी दिन्छु’ भनेका थिए ।
तर उता ‘भाग्यभाग्य’ले काम गरिरहेको थियो ! यसले कसरी काम गरिरहेको हुन्छ, थाहा हुँदैन । उनी लखनउबाट आईएससी सक्याएर काठमाडौं आए । उनका ठूलो दाजुको पनि आईएससी त्यसैबेला सकिएको थियोे । पढाइ राम्रो भएकोले एमबीबीएसका लागि मौका हेर्ने कि भन्ने भयो । त्यसैले दुबै दाजुभाइ काठमाडौं आएका थिए ।
दुबैले एमबीबीएसका लागि आवेदन दिए । त्यसका लागि भन्नुपर्ने ठाउँमा भने । तर दुईजनामध्ये एक जनाले मात्रै सिट पाउनसक्ने कुरा उठ्यो । तत्कालीन सरकारी अधिकारीहरूले दुबैलाई एमबीबीएसको कोटा दिन नसक्ने कुरा गर्दै एकजनालाई मात्रै एमबीबीएसका लागि चयन गरिने जवाफ दिए । र उनले आफ्ना ठूलो दाजुका लागि एमबीबीएसको कोटा छोडिदिए ।
उनको मुहारमा मुस्कान तैरियो । उनले भने, “तर भाग्य हेर्नुस्, मेरो दाजुको एउटा विषय कमजोर भएकोले एमबीबीएसको त्यो सिट उहाँले नपाउने हुनुभयो । मेरो भाग्य जाग्यो । अन्ततः त्यो सिट मेरो भागमा पर्यो । र म केही समयपछि १५० रुपैयाँ छात्रवृत्ति पाएर लखनउमा एमबीबीएस पढ्न गएँ । म यसैलाई भाग्यभाग्य भन्छु । जुन एमबीबीएस मैले सोचेको पनि थिइनँ, त्यो नै अदृश्यरुपमा मेरो साथमा थियो ।”
अर्थात् उनलाई भाग्यभाग्यले सहयोग गरिरहेको थियो । र त्यो भाग्यभाग्यको सहयोग आजसम्म रहेको उनको कथन छ ।
जब मेडिकल कलेज पढ्दा उनले छात्रवृत्ति वापत मासिक १५० रुपैयाँ पाउन थाले, त्यो रकम आफ्ना लागि धेरै नै भएको उनी बताउँदै थिए । सकसपूूर्ण जिन्दगी बिताउने आफूलाई त्यो रकम अथाह भएको उनी सुनाउँदै थिए ।
०००
उनी सरल स्वभावका थिए । बदमास हैनन् । तर पनि कहिले कताबाट लडेर चोट लाग्थ्यो त कहिले कतै घाउ हुन्थ्यो । यसरी उनलाइ धेरै चोटी चोटपटक लागेको छ । उनलाई सानो उमेरमै मलेरिया भएको थियो । उनी आठ वर्षका थिए मलेरिया हुँदा । उनी १४ वर्ष भएपछि मात्रै उनको मलेरिया निको भयो । सधँै औषधि खाएको खायै ।
‘जाको राखे साइयाँ मार सके न कोई’ भने झैँ थियो उनको जीवन । उनी डेढ वर्षको हुँदा घरबाट लडेर टाउकोमा चोट लाग्यो । उनी चार पाँच दिन बेहोस रहे । तरपछि निको भयो उनलाई ।
उनका अनुसार उनको टाउकोमा पटक पटक चोट लागेको छ । गहिरो चोट । उनी टाउकोको खत देखाउँदै भन्छन्, “मेरो टाउकोमा एकपटक गहिरो चोट लागेको थियो । रगत बगेको बग्यै । दुई तीन महिनासम्म म उत्तानो सुतेको सुतेकै उपचार भयो । सायद जडीबुटी नै बढी लगाइयो होला ।”
डा. राणाका अनुसार एकपटक अयोध्या जाँदा मेला हेर्न पुगे उनी पनि । परिवारका सँगै थिए । मेलामा सर्कस पनि थियो । सर्कसमा बाघ पनि थियो । बाघको खोरमा बाहिरबाट उनी टाँसिएर हेर्दै थिए । उनलाई बाघले झम्ट्यो । उनको कुम र पिठ्यूँको मासु नै लग्यो । त्यसबेला पनि उपचार गरेर उनलाई बचाइयो । त्यसबेला पनि आफ्नो उपचार नेपालगञ्जमा नै भएको उनी सम्झिन्छन् । किनभने अयोध्या बसेर उपचार गर्ने खर्च थिएन ।
उनी भन्छन्, “भाग्य नै हो, म बाँचे । जागिरबाट अवकास पाएपछि मेरो दुईपटक बाइपास सर्जरी भयो । चारवटा स्टेन्ट हालिएको छ । तर पनि म यहाँहरूको अगाडि नै छु । यसलाई मेरो भाग्यभाग्यको नै खेला भन्छु म ।”
एउटा घटना सुनाए उनले । उनी आईएस्सी पढ्दा खाना आफैँ पकाएर खान्थे । उनी एकपटक कागती किन्न गए । बडो राम्रो र स्वादिलो कागती थियो । उनी कागती रुचाउँछन् पनि । कागतीको मोल सोधे । कागतीलाई चार आना भन्यो पसलेले । उनले भने, ‘कति महँगो कागती । यति महँगो कागती कसले खान्छ ?’
त्यो दुकानदारले कडा जवाफ दियो– ‘जरुरी छैनकि सबैले सबै कुरा खाउन् ।’
त्यो जवाफ आज पनि उनको दिमागमा आउँछ । जवाफमा आएको शब्द उनी हरेकपल सम्झिरहन्छन् । किनभने चार आनाको त्यही कागती किन्न नसक्ने एक विद्यार्थीले पछि राम्रो सम्पत्ति जोडे ।
उनी भन्छन्, “मलाई आज पनि त्यो कागतीवाला याद आउँछ । काठमाडौंमा घर बनाउँदा पनि मलाई त्यो कागतीवालाको सम्झना आइरह्यो ।”
०००
सन् १९५२ मा एमबीबीएस पढ्न गएका उनी सन् १९५७मा एमबीबीएस पास गरेर फर्किए । काठमाडौं आएर केही दिन यतै बसे । जागिरका लागि कुदे । र, सरकारी सेवामा संलग्न भए । स्वास्थ्य मन्त्रालयले उनलाई पाल्पाको अस्पतालमा पठायो ।
पाल्पा विकट ठाउँ नै थियो त्यो बेला । उनी भैरहवा, बुटवल हुँदै पाल्पा पुगे । हिँडेरै पाल्पा जानु पर्दथ्यो । उनी पाल्पा पुगे । र त्यहाँको अस्पतालमा काम गर्न थाले ।
लखनउ सहरमा पाँच सात वर्ष बिताएका उनलाई पाल्पा पुगेपछि लाग्यो, ‘यत्तिका लागि एमबीबीएस पढिएको हो त ! यो गाउँमा कसरी बस्नु !’ तर पनि काम गर्नु थियो । उनको अस्पतालको दैनिकी सुरु भयो ।
अस्पतालमा विभिन्न रोगको उपचारमा आफूलाई संलग्न गराए । पाल्पा अस्पतालमा काम गर्दा उनको तलब १८० रुपैयाँ थियो ।
उनी पाल्पामा भएकै बेला पाल्पामा हैजा फैलियो । हैजाका बिरामीको उपचारमा उनी भिडेर लागे । बिरामीलाई ड्रिप दिएर (पानी चढाएर) तिनलाई निको तुल्याउँदा भने उनलाई अथाह खुसी अनुभव हुन्थ्यो । उनी पाल्पा हुँदै तत्कालीन राजा महेन्द्र पाल्पा पुगे । राजा महेन्द्र घोडामा थिए । घोडाको छेउछेउ डाक्टर राणा पनि हिँडिरहेका थिए । राजा महेन्द्रले भने, ‘अब तिमीहरूजस्ता युवाले देश बनाउनु पर्छ ।’
डा. राणा भन्छन्, “अचम्म ! मलाई डर पनि लागेन । मैले राजालाई स्पष्ट भनेँ ‘ठिक छ काम गर्ने हो । तर खुला आकाश मुनि नङले बिरामीको घाउ चिर्न त सकिँदैन’ । पछि म काठमाडौं फर्किएपछि थाहा पाएँ मेरो तलब र भत्ता गरेर चार सय रुपैयाँ गरिदिएका रहेछन् ।”
पाल्पाको अस्पतालमा डाक्टर जान मान्थेनन् । अस्पतालको घरको एकातिरको भित्तो नै थिएन । अस्पताल धेरै जसो कम्पाउण्डरहरूले चलाउने गरेको उनी बताउँछन् । त्यसैबेला मलेरिया नियन्त्रणका लागि खोलिएको एउटा परियोजनामा डाक्टरको माँग भयो । उनी काठमाडौं आए पाल्पाबाट । त्यसमा आवेदन दिए । पास भए र मलेरिया नियन्त्रणको काममा खटिए ।
त्यसबेला मलेरिया नियन्त्रणका लागि अमेरिका (युएसएआइडी)ले रकम दिन्थ्यो र टेक्निकल सपोर्ट डब्लुएचओको हुन्थ्यो । कुराकानीको क्रममै उनले भने, “संयोग, डाबरको नाम पढेर जानी नजानी डाक्टर लेख्ने म अन्ततः डाक्टर भए । कुनै बेला आफैलाई मलेरिया लागेर निको भएको म मलेरिया नियन्त्रण गर्ने डाक्टर भएको थिएँ । यो संयोग नै हो भन्छु म ।”
मलेरिया परियोजनामा काम गर्न थाले पछि डा. कृष्णजंग राणाले नेपालको तराईका विभिन्न क्षेत्रमा गएर मलेरियाका बिरामीको उपचार गरे । मलेरिया नियन्त्रणका लागि विभिन्न उपायहरूको प्रयोग गरे । पछि विश्व स्वास्थ्य संगठनमा रहेर विश्वका विभिन्न ठाउँहरूमा मलेरियाका रोगीहरूको उपचारमा आफ्नो ज्ञान र सिपको प्रयोग गरे । उनी ‘रिनाउन्ड मरेलियोलोजिष्ट’ भए ।
डब्लुएचओमा काम गर्दै जाँदा उनी ‘सिनियर रिजनल मलेरिया एडभाइजर’ पदमा थिए । उनको जिम्मामा १० वटा देश पर्दथ्यो । नेपालमा काम गर्दा तराईमा मलेरिया बढी फैलिने भएकोले उनी त्यस क्षेत्रमा मलेरिया निर्मुल गर्न खटिए । यसै सिलसिलामा उनी नेपालको तराई क्षेत्रको गाउँ–गाउँ पुगे । लामखुट्टेका कारण फैलिने मलेरिया नियन्त्रण गर्न कठिन थियो । तर सबै मिलेर यो काम गरेको उनी बताउँछन् । मलेरिया कन्ट्रोलका लागि जनचेतना पनि एक काम थियो । त्यसका लागि पनि उनीहरूले ध्यान दिएका थिए ।
मलेरिया कन्ट्रोलका लागि चेतना जगाउनु जरुरी थियो । र त्यही दृष्टिकोणबाट काम पनि गरियो । गाउँगाउँ गएर गाउँको सरसफाइँमा ध्यान दिइयो । र औलो लागेकालाई औषधि पनि दिइयो । यसरी सर्वत्र मलेरिया नियन्त्रण गरेको उनी सम्झिन्छन् । यसै क्रममा डा. राणाको पोस्टिङ कहिले अमलेखगंज, वीरगञ्ज, चितवन, विराटनगर, नेपालगञ्ज भयो । उनी सबैतिर गए । र तराईका गाउँगाउँ पुगे ।
नेपाल मलेरिया इर्याडिकेसन अर्गनाइजेसन नामक बोर्डको प्रमुखसम्म भएका डा. कृष्णजंग राणा पछि डब्लुएचओको जागिरे भएर काम गर्न गए । जहाँ उनले २० वर्षभन्दा बढीको समय विदेशबाट मलेरिया उन्मुलन गर्ने काममा दिए । विदेशमा पनि मलेरिया हुने गरेको बताउने उनले साउथ अमेरिका, ब्राजिल, इरान, अफगानिस्तान जस्ता देशमा मलेरिया हुनेगरेको बताउँदै थिए ।