site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
मधेसमा जनताले होइन, नेताले दुर्गन्ध फैलाए, जनताप्रति घृणा किन ?

दिवंगत लेखक जगदीश घिमिरेले नेपालमा बस्ने नेपालीहरूका सन्दर्भमा बडो गहकिलो तथ्य लेखेर गए । उनले आफ्नो मदन पुरस्कार प्राप्त कृति ‘अन्तर्मनको यात्रा’ मा लेखेका छन्, “नेपालमा जो आए पनि खोरिया फाडेरै बसेका हुन्, कोही पनि यहीं उत्पन्न भएका होइनन् ।”

हाम्रो इतिहासले यही तथ्यलाई पुस्ता–दर–पुस्ता घोकाए पनि “सारा रामायण पढिसक्यो, सीता कसकी जोई” भनेझैँ भैरहेको छ, यतिखेर । के गर्नु ? सबेैलाई किताब पढाउन सकिन्न । भन्छन्, नबुझेकालाई बुझाउन बरु सजिलो छ, बुझेर पनि नबुझेको नाटक गर्नेलाई बुझाउन कसैले पनि सक्दैन ।
आफ्नो भने नेपाली साहित्यमा नराम्रो लत बस्यो । ‘पढ्नु पनि गजबको ‘एड्भेन्चर’ हो है’... जस्तो बासी कुरा नगरौं । तर कतिबेला त मलाई के पनि लाग्छ भने नेपालका केही संकीर्ण नेता र आम जनतालाई यही लत लागेको भए पनि हुने नि ! कमसेकम तिनीहरूले भेदभाव र हेराइको दृष्टिकोणमा केही परिवर्तन अवश्य ल्याउन सक्थे होला । अरू केही नभए पनि पढेर केही ज्ञान आर्जन गर्थे र मानवीय संस्कार ग्रहण गर्थे कि ? सायद सुन्दर र निरर्थक कल्पना होला, यो । मजस्ता साहित्यप्रेमीहरू कल्पनामै रमाउनु केको आश्चर्य ?    

साहित्यकारहरूले खोइ त वर्णवादी साहित्य लेखेर हिरो हुनु परेको ! तर नेताहरूले वर्णवाद र पहिचानवादको राजनीतिमात्रै गरेनन् । बदनामै गरे । 
मधेसमा आगो बलेको सबैले देखे । भारतसँग मिसिन गएर नाकाबन्दी गराएसम्म भने र हेला गरे ती आम र अबोध मधेसी जनतालाई, जसलाई प्रदेश र संघीयताको माने पनि थाहा छैन । त्यत्ति मात्रै होइन, प्लास्टिकको चप्पल फट्कार्दै, खैनी मल्दै हिँड्ने मान्छे देखेर घृणा गर्दै नाक खुम्च्याए । कतै ती एलीयन हुन् कि भन्ने भ्रम बाँच्दै छौं, हामी ।

KFC Island Ad
NIC Asia

मधेसमा आगोको होली खेल्ने सबै मधेसी जनता थिए त ? आफ्नो अन्तरमनलाई एउटा प्रश्न गरौं आज । सीमामा धर्ना दिएर नाकाबन्दीको जालो बिच्छ्याउनेहरू दलका कार्यकर्ता थिएनन र ? जनता जहिले पनि राजनीतिक दोहनका सिकार भइरहेका हुन्छन्, चाहे ती पहाडिया होऊन् या मधेसी । कठै, यत्ति पनि बुझ्न नसक्ने हामी ठूलाबडाहरू !

बाहिरी आवरणलाई घृणा गर्ने हो भने त मेरो भन्नु केही छैन । एउटा प्रसंगको चर्चा गर्न मन लाग्यो, थापाथलीका नेवार दाइको घरमा डेरा गरी बस्दा घरबेटीकी सानी छोरीले मलाई ‘तिमी’ सम्बोधन गर्थिन् । मैले धेरै महिनासम्म बालसुलभ व्यवहार सम्झँे र छोरीलाई झँै माया गरेँ, ती नानीलाई । एकदिन उनलाई सिकाउन खोजेँ, ‘‘नानी ! आफूभन्दा ठूलालाई तपाईं वा हजूर भन्नुपर्छ है ! तिमी भन्न हुन्न नि । अबदेखि मलाई आन्टी र हजुर भन है नानी ।’’ 

Royal Enfield Island Ad

उनले बालसुलभ शैलीमै भनिन्, ‘‘मामुले तलकी आन्टी मदिसे हुन्, उनलाई आन्टी भन्नु पर्दैन भन्स्या छ ।’’ 

म त्यस दिन अवाक् भएँ । ती नानीको पुक्क परेको गाला मैले मायाले सुम्सुम्याएँ तर मेरो गाला भने पीडा र अपमानबोधले रातो भइसकेको थियो ।

म मात्रै किन ? मधेसका चटपटेवाला होऊन्, तरकारी बेच्ने वा होटलवाला, साना बच्चादेखि बूढासम्मले ‘तिमी’ सम्बोधन गर्नु सामान्य मानिन्छ । किन हामीले सानैदेखि जात, वर्ण र पहिचानको गह्रुंगो भारी बोकाउन खोज्छौं बालबालिकालाई ? हामी सामान्य मानवीय भाषा र पहिचान सिकाउन असमर्थ भएकै हौं त ? यद्यपि प्रश्नहरू थुप्रै छन् । वर्षौँदेखि मानसमा कुँदिएको मानसिकता वा सोंच यो एउटा ब्लग लेखेर परिवर्तन गर्न सकँुला भन्ने सोच्नु सायद दुस्साहस नै हो, यद्यपि असम्भव नै त होइन । 

एकथरिको मानसिकता के पनि छ भने मधेसीहरू झगडालु र स्वभावैले आक्रामक हन्छन् । हो, मधेसमा केही वर्षयता ठूलै वितण्डा मच्चाएका छन्, मधेसीहरूले । पहिचानको सवाल आफ्नो ठाउँमा छ । जायज कुराको लडाइँ लड्नु स्वाभाविकै हो । तर देशका सोझासाझालाई बिझाउने काम राजनीतिक नेता, कार्यकर्ता र घुसपैठियाहरूले गरे । मधेसी आम जनता त उसै बदनाम । मलाई मेरै सहकर्मीहरूले भन्छन्– ‘‘तपाईलाई एउटा कुरा भन्छु है नरिसाउनुस्, जनकपुर त सारै फोहर रहेछ ।’’ 

मैले सदाबहार मुस्कानको स्टीकर ओंठमा टाँसेर यत्ति मात्रै भनेँ, ‘‘पहिलेभन्दा अहिले धेरै सफा र सुन्दर भइसक्यो जनकपुर । युवाहरूले सुन्दर र पर्यटकीय नगरी बनाउने भनेर सक्रिय अभियान चलाइरहेका छन्, यतिबेला ।’’ त्यतिखेरै कवि सिद्घिचरण श्रेष्ठको कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ सम्झें । तर खै किनकिन, आफू जन्मे र हुर्केको ठाउँको माया मैले शब्दमा व्यक्त गर्न सकिनँ । 

आक्रामक र रिसाहापन त मानवपिच्छेको स्वभाव हो । नभए त सबै आनी छोइंग डोल्माजस्तै सौम्य हुन्थे होला । यद्यपि मधेसीलाई अलि माया र समान व्यवहार गरियो भने ज्यान फाल्न पछि पर्दैनन् भनेर धाक लगाउने मनसाय छैन मेरो । 

यहाँ जनतालाई हैन, नेतालाई मात्रै चाहिएको छ प्रदेश । तराईमा दशवटा प्रदेश बनाए पनि मुख्यमन्त्री हुने तिनै ठूलाबडा हुन् । जनताले शान्तिमात्रै खोजेका हुन् । स्थिरता मात्रै चाहेका हुन् । मधेसमा बन्द हडताल नहुँदो हो त मधेसका आधा जनतालाई राजनीतिक गतिविधि नै थाहा हुँदैन । एकनासको धारणालाई हामीले र अझ मिडियाले समेत तोड्न सकेका छैनौं । दलका कार्यकर्ताले मसाल बालून् कि चोकमा टायर बालून्, बदनाम त फेरि पनि सम्पूर्ण मधेस नै हुने भयो । घृणा र भेदभावका सिकार आम मधेसी नै हुने भए । मधेसी जनताले के खोजेका हुन्, कसैको सरोकार भएन । केही नेता र दलका कार्यकर्ताले मधेसलाई डुंगडुंग पारे ।    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७३  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro