
बुबा सत्यदेव आचार्य जयतु संस्कृतम् आन्दोलनमा थिए । राजनीतिक चेत र स्वतन्त्रताका पक्षपाती सत्यदेवले लामो समय पत्रकारिता गरे । बुबाकैप्रभाव राजेन्द्रदेव आचार्यमा पनि पर्यो । वि.सं. २०३३ सालमा एसएलसी पास गरे र लगत्तै उनी नेपाली मुद्रणालय (प्रेस) मा जान थाले, जहाँ उनका बुबाको पत्रिका ‘सगरमाथा’ साप्ताहिक छापिन्थ्यो । त्यहाँ उनी प्रुफ हेर्थे । प्रुफ हेर्दाहेर्दै समाचार लेख्न थाले । त्यही प्रेसबाट उमाकान्त दासको ‘नेपाली हिन्दी दैनिक’ पत्रिका प्रकाशन हुन्थ्यो । ‘स्वतन्त्र नेपाल’ प्रकाशन हुन्थ्यो । त्यसमा राजेन्द्रदेव प्रुफ हेर्ने र समाचार लेख्न थालेका थिए । फाट्टफुट्ट समाचार लेख्दालेख्दै उनको हात समाचार लेखनमा बसिसकेको थियो । मोह पत्रकारितामा जागिसकेको थियो ।
उमाकान्त दास, चन्द्रलाल झा, मदनमणि दीक्षित, मणिराज उपाध्याय, गोपालदासश्रेष्ठ, गोविन्द वियोगी लगायतका पत्रकार जम्मा हुन्थे । “उहाँहरु मलाई बाबु भन्नुहुन्थ्यो म उहाँहरु सबैलाई बुबाभन्थेँ,” फिस्स हाँसो छाड्दै राजेन्द्रदेव पुराना कुरा सुनाउँछन् ।
“त्यो बेला शब्दशब्दमा बहस हुन्थ्यो, शुद्धाशुद्धिको पनि जिम्मेवारी लिने पत्रकारिता थियो,” उनी सुनाउँछन्, “शब्द, विचार, तथ्य र तथ्यांक त्यही बेला मैले देखेको र त्यही स्कुलिङबाट आएको हुनाले मैले त्यही कुरालाई मेरो पत्रकारिता जीवनमा सधै लागु गरेँ ।”
काठमाडौंको पशुपतिनाथमा शिवरात्री मेलाको तयारी थियो । भारतबाट समेत जोगीहरु आउन थालेका थिए । सडकमा जोगीहरु बाक्लै देखिन थालेपछि एउटा सम्पादकीय त्यसैबारे लेखिएको थियो । त्यही सम्पादकीय दिएर ‘यसमा थपथाप पारेर समाचार बनाऊ है !’ उनलाई भनियो । ‘सगरमाथा साप्ताहिक’ का लागि उनले त्यही सम्पादकीयलाई मिलाएर समाचार लेखे । त्यही नै उनले जिन्दगीमा लेखेको पहिलो समाचार थियो ।
‘सगरमाथा साप्ताहिक’, ‘नेपाली हिन्दी दैनिक’ र ‘स्वतन्त्र नेपाल’ मा गरेर उनले ८ वर्ष काम गरे ।
अनौठो संयोग
नेपालमा टेलिभिजन प्रशारण शुरु भएको थियो । कसरी चल्छ यो टेलिभिजन, कस्तो प्रविधि हुन्छ भन्ने जिज्ञासा राजेन्द्रदेवमा जाग्यो । ‘सगरमाथा साप्ताहिक’ का लागि एउटा फिचर लेख्छु भनेर उनी नेपाल टेलिभिजनका प्रमुख नीर शाहलाई भेट्न सिंहदरबार पुगे ।
नीर शाहलाई उनले सोधे, टेलिभिजन पत्रकारिता कसरी हुन्छ ?
नीर शाहले जवाफ दिनमात्रै थालेका थिए, दुर्गानाथ शर्मा टुप्लुक्क आइपुगे । शर्मा ‘गोरखापत्र’ मा हुँदा राजेन्द्रदेवको लेख छापिएको थियो । त्यही लेखका कारण उनीहरुको चिनजान भएको थियो । राजेन्ददेवले भने, “रिपोर्टिङ त यताको पो इन्ट्रेस्टिङ रहेछ ।”
दुर्गानाथले भने, “गर्ने हो त त्यसो भए ?”
“कसरी हुन्छ ?” राजेन्द्रदेवले सोधे ।
दुर्गानाथले भने, “जानुस् न दिनको एउटा दुईटा गरेर ल्याउनुस् ।”
आफ्नै पत्रिकाको समाचारका लागि रिपोर्टिङ गर्न नेपाल टेलिभिजन पुगेका राजेन्द्रदेव त्यहीँ रिपोर्टिङ गर्न थाले ।
जयसिंह शाह उनीसँग गएका पहिलो क्यामेरा मेनथिए । राजेन्द्रदेव पहिलो दिनको पहिलो रिपोर्टिङ गर्न पुगेका थिए, एक जना जापानी नागरिककोमा, जो ह्विलचेयर प्रयोगकर्ता भएर पनि सगरमाथाको बेसक्याम्पसम्म पुगेर फर्किएका थिए ।
बेलुका उनको समाचार आउनेवाला थियो, तर घरमा टेलिभिजन थिएन । छिमेकीको घरमा गएर समाचार हेर्न थाले । उनैले रिपोर्टिङ गरेको समाचार बज्न थाल्यो । दुर्गानाथ शर्मा र रमा सिंहले समाचार पढ्दै थिए । उनले लिएको अन्तर्वार्ता देखियो । राजेन्द्रदेव नै पो टेलिभिजनमा देखिए । पहिलो दिनकै काम टेलिभिजनमा देखियो । “कसैले अनुभव नै नगरेको र आफूले समेत परिकल्पना नगरेको कुरा गर्न पाएकोमा मलाई नै अचम्म लाग्यो,” २०४३ सालको टेलिभिजनको पहिलो दिनको टेलिभिजन अनुभव सुनाए राजेन्द्रदेवले ।
त्यसको भोलिपल्ट पनि गए उनी । राष्ट्रिय पञ्चायतका सदस्यहरुको अन्तर्वार्ता गर्ने उनको जिम्मेवारीमा आयो । कार्यक्रमको नाम ‘चिन्तन मनन्’ राखे । ‘चिन्तन मनन्’ १८ वर्षसम्म निरन्तर चलाए उनले ।
६ महिनापछि बल्ल नियुक्तिपत्र पाए अनि नेपाल टेलिभिजनको आधिकारिक रुपमै जागिरे भए । पुसबाट नेपाल टेलिभिजनको नियमित प्रशारण शुरु भयो, उनले फागुनबाट काम शुरु गरे ।
“त्यो बेला काठमाडौंमा मुस्किलले ५ सय वटा पनि टेलिभिजन सेट थिएनन् होला । पछि सरकारले सार्वजनिक ठाउँमा टेलिभिजन भ्यू सेन्टर भनेर राख्न २ सय वटा टेलिभिजन सेट बाँडेको थियो,” सम्झनाको पोयो फुकाए उनले ।
दुर्लभ अनुभव
टेलिभिजन भर्खर प्रशारण शुरु भएको थियो । राजपरिवारका गतिविधिलाई जनतासामु पुर्याउनु नेपाल टेलिभिजनको दायित्व थियो । राजा वीरेन्द्रको दिपायल सवारी हुने भयो । त्यो सवारीको कभरेज नगरी नेपाल टेलिभिजनलाई सुखै थिएन । राजपुर पुग्यो नेपाल टेलिभिजको एउटा टिम । राजपुरमा बाँसको लिंगो गाडेर त्यसको टुप्पोमा बुस्टर र एन्टेना राखियो । त्यसबाट टेलिभिजको सिग्नल तानियो । सिलगढीमा घरघरमा गएर ‘हामी तपाईंहरुलाई चौतारामा टेलिभिजन सेट राखेर सार्वजनिक प्रशारण देखाउँछौं, हेरिदिनु पर्यो’ भने । “त्यो बेला फोटो खिच्दा कि मान्छे क्यामेरा हेर्न झुम्मिन्थे कि भाग्थे । अडियो भिजुअलको कुरा गर्दा मान्छे छक्क पर्नु त स्वभाविक नै भइहाल्यो,”राजेन्द्रदेव नोस्टाल्जिक हुन्छन्, “सुदूरपश्चिममा पहिलो टेलिभिजन सिग्नल थियो त्यो ।”
राजपुरमा सानो पाल हालेर क्याम्प खडा गरेका थिए उनीहरुले । दिनभरि गाउँ गएर रिपोर्टिङ गर्थे राजेन्द्रदेव । साँझ आएर त्यही क्याम्पबाट समाचार पढ्थे र उनी नै कार्यक्रम पनि चलाउँथे । गीत सुनाउनु परे काठमाडौंबाट लिएर गएको क्यासेटबाट त्यहीँबाट प्ले गर्थे ।
ब्लाक एन्ड ह्वाइट फोटो खिच्ने क्यामेरा देख्दा पनि के हो भनेर तर्सिने समयमा स्वरसहितको चल्ने तस्बिर देख्दा मान्छे अचम्म मान्थे । साँझ ६ बजेको समाचार र कार्यक्रम हेर्न सार्वजनिक टेलिभिजन भ्यू सेन्टरमा टाढाटाढाबाट स्थानीय फिल्म हेर्ने भन्दै घर फर्किंदा ढिलो हुन्छ भनेर हातमा लाल्टिन बोकेर आउँथे ।
राजेन्द्रदेव दिनभर गाउँमा पुगेर स्थानीयको घर, बारीमा पुगेर टेलिभिजनका लागि कुरा गर्थे । त्यही ल्याएर साँझ बजाउँथे । आफूले बोलेको फिल्ममा देखिन्छ भनेर उनीहरु सार्वजनिक भ्यू सेन्टरमा आएर हेर्थे । “म सिलगढी, दिपायलतिर बजारमा घुम्न निस्किएका बेला अघिल्लो दिन मसँग कुरा गरेका तिनै स्थानीय के यो साँच्चै मान्छे त हो ? भनेर बीच बजारमै घचेट्न आइपुग्थे,” लामो हाँसो हाँस्दै राजेन्द्रदेव अनुभव सुनाउँछन्, “मलाई लाग्छ भिडियोको फेदको अनुभव गर्ने यो सौभाग्य पाएँ मैले । मैले यही कुरा पछि केस स्टडीको रुपमा प्रस्तुत गर्दा यो सर्वोत्कृष्ट केस स्टडी बनेको थियो ।”
राजा वीरेन्द्रलाई बिन्ती
राष्ट्रिय संस्कृतिको प्रबद्र्धन गर्ने, पञ्चायती व्यवस्थालाई सुदृढ गर्ने र राजसंस्थाप्रति आस्था बढाउने नेपाल टेलिभिजनको जिम्मेवारी थियो । यसभन्दा बाहिर गएर सूचना संप्रेशण गर्न पाइँदैन थियो । स्वतन्त्र र निर्भिक पत्रकारिताको अभ्यास गर्न सम्भव थिएन । पाएको म्यान्डेटभित्र बसेर राजेन्द्रले काम गरे ।
पञ्चायतकाल थियो । प्रशासकको जगजगी । सानो गल्ती गरे पनि छुट्ने आशा दिवा सपनातुल्य थियो । तरबारको धारमा बसेर काम गर्नुपथ्र्यो । त्यो अनुभव पनि गरे राजेन्द्रदेवले । राजा वीरेन्द्र जनताको विचार बुझ्न खुब उत्सुक हुन्थे । भ्रमणको बीचमै १०–१५ दिनको अन्तरमा डिनर आयोजना गरेर गफ गर्थे । प्रशासकहरुले घेरिएका राजालाई सबै कुरा त्यहीँ भन्न सकिँदैन थियो ।
काठमाडौं फर्किएपछि राजेन्द्रदेव अलि सहज महसुस गर्थे किनकी एक्लै राजाको दर्शनभेट पाइन्थ्यो ।
वीरेन्द्र सोध्थे, जनता के भन्छन् ?
राजेन्द्रदेवलाई झुट बोल्नु हुँदैन भन्ने लाग्थ्यो र भन्थे, “बर्सेनि राजाको सवारी हुन्छ । त्यो बेला विकास हुन्छ भन्छन् तर विकास नै हुँदैन । भएको विकास पनि गती छैन र भएको विकास पनि दिगो छैन भन्ने जनताको गुनासो छ ।”
राजा जानुभन्दा दुई साता अगाडि जाँदा भवन हुँदैनथियो तर राजाको सवारी हुनेभएपछि रातारात घर बन्थे । यसको दिगोपनाबारे पनि सरकारले सोच्नुपर्ने बेला आएको राजेन्द्रदेवले सुनाउँदा वीरेन्द्र चाख मानेर भन्थे, “हो, यो त प्रिन्सिपल्ली पनि भएन ।”
प्रशासकहरु समाचारमा प्रोटोकल भएन भनेर गुनासो गर्थे । राजेन्द्रदेवले एकपटक राजा वीरेन्द्रलाई बिन्ती बिसाए,समाचारमा प्रोटोकल मेन्टेन गर्न सकिँदैन सरकार !
वीरेन्द्रले सहजै राजेन्द्रदेवको कुरामा सही थापे । नेपाल टेलिभिजनले विस्तारै समाचारमा प्रोटोकलको परम्परालाई तोड्दै लग्यो ।
राजनीतिक प्रभाव
रिपोर्टरका रुपमा ०४३ सालमा प्रवेश गरेका राजेन्द्रदेव ०४७ मा नेपाल टेलिभिजनको सम्पादक भए । ०७३ सालमा उनले ३२ वर्ष काम गरेर अवकास पाए । यो तीन दशकको लामो समयमा उनले थुप्रै उकाली ओराली र भञ्ज्याङ चौतारीको यात्रा तय गरे । निर्दलीय पञ्चायती व्यवस्थादेखि प्रजातन्त्र, सरकार–माओवादी द्वन्द्व र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका उतारचढाव पूर्ण राजनीतिक यात्राको साक्षी हुन् उनी । एक घण्टा अगाडि एउटा शासन व्यवस्थाको समाचार लेख्ने उनी अर्को घण्टाको समाचार बुलेटिनका लागि अर्कै राजनीतिक शासन व्यवस्थाका लागि समाचार लेखिरहेका हुन्थे । यो दुर्लभ अनुभव एउटै सञ्चारमाध्यममा बसेर राजेन्द्रदेवले संगाल्ने अवसर पाए, जुन अरुले कमै पाए होला ।
जनताले नयाँ राजनीतिक व्यवस्था खोजे, तत्कालीन विद्यमान व्यवस्था परिवर्तन भयो । टेलिभिजन त्यसको साक्षी बस्यो । व्यवस्थासँगै नयाँ राजनीतिज्ञ आउँथे । कति उनीहरुका चाहना हुन्थे, कति उनीहरुका आसेपासेका । ०५१ सालमा नयाँ सरकार आयो । त्यसको असर नेपाल टेलिभिजनको सम्पादकको कुर्सीसम्म आइपुग्यो । राजेन्द्रदेवको सम्पादकको जिम्मेवारी खोसेर कार्यक्रम शाखामा पुर्याइयो । ८ महिनापछि त्यही सरकारले उनलाई सम्पादककै जिम्मेवारीमा फर्कायो ।
यो बीचमा सरकार स्थिर थिएन । कहिले कांग्रेस कहिले एमालेको सरकार बन्थ्यो । त्यो अस्थिर राजनीतिको छायाँ राज्यका अङ्ग अङ्गमा पथ्र्यो । नेपाल टेलिभिजन त्यसबाट जोगिने कुरै थिएन ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि तत्कालीन सरकारले उनलाई सम्पादकको जिम्मेवारीबाट हटायो । यो पटक उनी डेढ वर्ष समाचारबाट अलग भए । “१५ महिनापछि फेरि तपाईंले नै न्युज हेरिदिनुपर्यो भनेर मलाई समाचारमै फर्काइयो, त्यहीबेला मैले न्युज च्यानल पनि शुरु गरेँ,” उनी भन्छन् ।
दरबार हत्याकाण्डको त्यो समाचार
०५८ साल जेठ १९ गते । राति ८ बजेको मुख्य समाचार बुलेटिन सकेर राजेन्द्रदेव घर फर्किएर खाना खान बसेका मात्रै थिए । ज्ञानेश्वरस्थित उनको घरमाथिको आकासमा हेलिकप्टर पटक पटक उडिरह्यो ।
किन यसरी हेलिकप्टर उडिरहेको छ ? उनको मनमा प्रश्न उठ्यो । घरको छतमा चढेर उनले हेरे । हेलिकप्टर ५–७ मिनेटको फरकमा यता र उता उडिरह्यो ।
भर्खर नेपालमा भित्रिएको कर्डलेस थियो उनीसँग । त्यसमा एउटा ‘सेन्सेटिभ’ ठाउँबाट फोन आयो । त्यो फोन काठमाडौं बाहिरबाट आएको थियो । “गोली लागेर राजा मरिबक्स्यो रे हो ? लौन कतै कसैले केही भन्दैन । मैले थाहा पाउँन,” कर्डलेसमा आवाज आयो ।
राजेन्द्रदेव छक्क परे । भने, “तपाईं के भन्दै हुनुहुन्छ ?यो आश्चर्यजनक कुरा मलाई केही थाहा छैन ।” उताबाट आयो, “फोनमा यस्तो कुरा धेरै नगरौं ।”
“कहाँबाट सुन्नु भयो ?”
“मसँग प्रमाण छैन सर, यहाँ भन्दा बढी के भनौं,” भन्दै उनले फोन काटे ।
साढे ९ बजे नै राजेन्द्रदेवलाई त्यो फोन कल आएको थियो ।
राजेन्द्रदेवले चालकलाई फोन गरेर गाडी लिएर आउन भने ।
सञ्चारमन्त्रीलाई फोन गरे । उनको फोन नै उठेन । दरबारमा फोन गरे, लागेन । प्रधामन्त्रीको निवासमा फोन गरे, जवाफ आएन । सुरक्षा निकायका अधिकारीहरुलाई फोन गरेपछि उनीहरुले भने, “घटना यस्तो हो, गोली लागेको छ, उपचारका लागि अस्पताल लगेको छ ।” बल्ल घटनाबारे थाहा भयो । तर, आधिकारिक रुपमा बोल्न भने कोही पनि मानेनन् ।
सरकारी अधिकारी कसैले पनि बोल्न नमान्ने समस्या राजेन्द्रदेव र नेपालका अन्य सञ्चारमाध्यमले मात्रै भोगेका होइनन्, विदेशी सञ्चारमाध्यमले पनि भोग्नु परिरहेको थियो । फलतः राष्ट्रिय सञ्चार माध्यमको समाचार प्रमुखको हैसियतले बीबीसी, सीएनएन र एनएचकेले उनलाई क्रमशः कल गरे । राजपरिवारको हत्या भैसकेको कुरा भुसको आगोझैं फैलिसकेको थियो तर पुष्टि गर्न कोही पनि मान्दैन थिए । बीबीसी, सीएनएन र एनएचकेलाई राजेन्द्रदेवले हामीलाई पनि आधिकारिक सूचना पाएका छैनौं भनिदिए ।
चतुर पत्रकारहरुका लागि त्यो नै पर्याप्त थियो । ‘उहाँले यस्तो सुन्नु भएको छ’ भन्ने वाक्यलाई कोट गरेर समाचार बजाए । उनी भन्छन्, “त्यो नै वीरेन्द्रको मृत्युको समाचारलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हालेको पहिलो ब्रेकिङ न्युज थियो ।”
समाचार पुष्टि नभएकाले बे्रकिङ दिन सकेनन् उनले । बिहान ४ बजे उनी कार्यालय पुगे । ६ बजेबाट प्रशारण सुरु हुन्थ्यो । राजा वीरेन्द्रको मृत्यु भैसकेको थियो । त्यसैले नेपाल टेलिभिजनले शोक धुन बजायो । वीरेन्द्रको मृत्यु भयो भनेर सिधै नभने पनि वास्तवमा त्यो नै घुमाउरो तरिकाले मृत्युको समाचार थियो । विहान ७ बजेको बुलेटिनमा बल्ल नेपाल टेलिभिजनले मृत्युको समाचार बजायो ।
गुरु पत्रकार
राजेन्द्रदेव पत्रकारिताका गुरु पनि हुन् । कान्तिपुर सिटी कलेज (पूर्वाञ्चल विश्वविद्यालय)मा सिधै पत्रकारितामा मास्टर्स पढाउनेबारे छलफल भयो ।रामकृष्ण रेग्मीले राजेन्द्रदेवलाई बोलाएर भने– प्रशारण पत्रकारिताको कोर्स डिजाइन गरिदिनुपर्यो उनले नाईं भन्न सकेनन् । त्यहाँ उनले दुई वर्ष पढाए ।
पढाएको दुई वर्ष भएपछि उनी पत्रकारितामा एमए गर्न अमेरिका गए । प्रशारण र प्रिन्ट पत्रकारितामा मास्टर्स गरेर नेपाल फर्किए । ०६४ बाट उनले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढाउन थाले । आजपर्यन्त पनि उनले आरआरमा पढाइरहेका छन् ।
अहिलेको पत्रकारिता
“पहिला पत्रकार समाचारको आत्मासँग खेल्थे, अहिलेको पत्रकारिता घटनाको आत्मासँग रमाइरहेको छ,”राजेन्द्रदेव मूल्यांकन गर्छन्, “पहिला समाचारले पार्ने प्रभाव हेरिन्थ्यो, अहिले लोकप्रियता पहिलो प्राथमिकतामा पर्छ ।”
सम्पादकीय सोच नभएको पत्रकार, पत्रकार नै नहुने विचार व्यक्त गर्ने उनी सूचना र घटनाको स्रोतमात्रै भएको व्यक्ति पत्रकार हुँदैनभन्छन् । “सूचना त गुगलमा पनि हुन्छ, मैले दिएको सूचनाले के प्रभाव पार्छ भन्ने कुरा पत्रकारिता हुनुपर्छ । जसको अहिले खाँचो छ,” उनी भन्छन् ।
मान्छेले मान्छेका लागि मान्छेको समाजमा घटेका घटनाहरुको मान्छेलाई सुसूचित गर्ने काम पत्रकारको हो भन्दै उनी यस्ता घटनाले मान्छे र मान्छे बस्ने त्यो समाजलाई कस्तो असर गर्छ त्यसको सही मूल्यांकन गर्ने व्यक्ति नै दरिलो पत्रकार हुने तर्क गर्छन् ।