site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुत्केरी हुँदा पनि आमा जुलुसमा जानुहुन्थ्यो
SkywellSkywell

पूर्व प्रधान सेनापति रुद्रशमशेर जङ्गबहादुर राणाकी नातिनी (छोरीकी छोरी) हुन्, महिला अधिकारकर्मी चाँदनी जोशी । जसको बाल्यकाल हजुरबुवा रुद्रशमशेरकै छत्रछायाँमा पाल्पा दरबारमा बित्यो । 

ठकुरी भन्नासाथ यिनीहरू ‘सामन्तवादी’ हुन् भन्ने आम धारणा छ । तर, आफ्ना जिजुबुबा (हजुरबुवा) रुद्रशमशेर, बुवा र आमा पनि  स्वतन्त्रता सेनानी भएको उनी बताउँछिन् । उनकी आमा र बुवा पनि २००७ सालमा स्वतन्त्रताका लागि लडेका थिए ।

वि.सं. १९९० ताका रुद्रशमशेर कमाण्डर इनचीफ थिए । उनी प्रधानमन्त्रीको रोलक्रममा पनि थिए । तर जुद्धशमशेरले उनलाई पाल्पा पठाइदिए । खासमा उनलाई राजधानीबाट धपाइएको थियो । 

KFC Island Ad
NIC Asia

पछि रुद्रशमशेर र उनका सन्तानले कांग्रेसलाई समर्थन गर्दै ००७ सालको क्रान्तिमा सक्रियरुपमा भाग लिए । त्यसै क्रममा रुद्रशमशेरले क्रान्ति नायक वीपी कोइरालालाई पटकपटक भेटे र  साथ दिए । वीपी र रुद्रशमशेरको सम्बन्धको चर्चा विभिन्न पुस्तकहरूमा पनि उल्लेख रहेको जोशी बताउँछिन् ।

तत्कालिन स्वतन्त्रताको क्रान्तिको सम्झना छ, चाँदनी जोशीलाई । त्यसबेला उनी यस्तै ६ वर्षकी थिइन् । पाल्पाको रमाइलो वातावरणमा उनी हुर्कँदै थिइन् । पाल्पा दरबार, जहाँ उनको बसोबास थियो, त्यहाँ बच्चाबच्ची मात्रै ६० जना थिए । सबैको संख्या दुई सयको हाराहारीमा रहेको हुनसक्ने उनको अनुमान छ ।

Royal Enfield Island Ad

चाँदनीका कान्छा भाइ जन्मिएका थिए । आमा भखरकी सुत्केरी थिइन् । तर पनि उनकी आमाले क्रान्तिको जुलुसमा जिन्दावाद जिन्दावाद भन्दै हिँड्थिन् ।

राति घर फर्कँदा उनकी आमाको खुट्टाबाट रगत बगेको देखिन्थ्यो । रगत कटकटिएको हुन्थ्यो । अनि आमालाई स्याहार्ने धाइले भन्थिन्, ‘यस्तो गरेर जुलुसमा किन जानुपरेको होला ?’

अधिकारकर्मी चाँदनी जोशीसँग पुराना कुराका लागि उनको निवासमा पुग्दा उनी सम्झँदै थिइन्, बाल्यकालिन ती सम्झना । उनी भन्छिन् “मलाई झिनो मात्रै होइन, राम्रै सम्झना छ, धाइ आमालाई भनेको । त्यसबेला मुमा किन जुलुसमा गएको होला भन्ने लाग्थ्यो ! तर उहाँ ‘फ्रिडम फाइटर’का रुपमा हिँड्नु भएको पछि मात्रै थाहा पाएँ ।”

पाल्पाको त्यो कमाण्ड महत्वपूर्ण थियो । उनका मामा गोपाल शमशेरको नाममा त टाउको काटेर ल्याउनेलाई त्यसबेला एक लाख दिने सूचना नै जारी गरिएको उनी बताउँछिन् । 

जोशी भन्छिन्, “त्यसले मेरी माइजु मानसिक रुपमा नै बिरामी हुनुभयो । पछि त्यसैले उहाँलाई लग्यो ।”

त्यसबेला एकजना मास्टर चाँदनीलाई पढाउन आउँथे । उनी आएपछि सर पढाउन आए भनेर उनलाई लगिन्थ्यो । खासमा ती शिक्षकका रुपमा आउने मास्टर विभिन्न कोडलाई ट्रान्सक्राइब गर्ने व्यक्ति रहको उनले पछिमात्रै थाहा पाइन् । ती कोडहरूबाट क्रान्तिका नेताहरूसँग सन्देश आदानप्रदान हुन्थ्यो । 

त्यसैबेला कतिपय वस्तुको अभाव हुँदै गएको थियो । तर बच्चा स्याहार्नु पनि जरुरी थियो । एक पटक बच्चा सेक्न भनेर धाइले मकलमा कोइलाको आगो बालेर ल्याइन् । उनले कताकता पुगेर कोइला खोजेर ल्याएकी रहिछन् ।

त्यो मकल कोठामा ल्याउनासाथ चाँदनी जोशीका बुवा र आमाको आँखामा त्रास फैलियो । तिनका नेत्र फैलिए । उनकी आमा बुवाले तिमी जाउ बाहिर जाउ भन्दा भन्दै पनि उनी बच्चा सेक्न थालिन् । 

जोशी भन्छिन्, “पछि थाहा पाएँ मैले त्यो कोठाको मुनि हतियारहरू लुकाइएको रहेछ । क्रान्तिका लागि आवश्यक बन्दुक, बम, गोलीगट्ठाहरू थिए त्यहाँ । त्यसैले नै बुवा र मुमाको आँखामा त्रास फैलिएको रहेछ ।

काठले छापेको कोठा भएकोले काठ उप्काउँदै त्यहाँ हतियार राखेर फेरि छोपिने रहेछ । त्यसैले पो बुवा मुमाले छिटो जाउ छिटो जाउ भन्नु भएको रहेछ । वास्तवमा त्यहाँ आगोको झिल्को मात्रै परेको भए पनि पाल्पा ध्वस्त हुन्थ्यो होला ! कस्तो रिस्क होला ।”

रुद्रशमशेर क्रान्तिकारीहरूसँग मिलेको थाहा पाएपछि उनलाई नजरबन्द गर्नैका लागि प्रचण्ड शमशेर र क्षेत्रविक्रम राणालाई काठमाडौंबाट पाल्पा आएका थिए । यसरी तिनले रुद्रशमशेरलाई तीन महिना नजरबन्द गरेर राखे ।  

तर, नजरबन्दका समयमा विस्तारै सबै खान्की सकिँदै गयो । पछि त पोल्टामा दुई मुठी मकै भटमास थाप्नुपर्ने दिन पनि आएको चाँदनी जोशी बताउँछिन् ।

कहिलेकाहीँ सानी चाँदनी पनि नमस्ते गरेर हिँड्थिन् । अनि पाल्पाका महिलाहरू उनलाई भन्थे ‘क्रान्ति ल्याउने मैयाँ’ । उनकी मुमाको मेकअप किटमा एउटा पाँचतारे झण्डा थियो । जुन उनकी मुमाले एकदमै जतनसाथ राखेकी थिइन् । 

वि.संं. २००७ साल फागुन ७ गते पाल्पाको भगवतीबहालमा सिन्दुरे जात्रा भएको थियो । उनका हजुरबुवा रुद्रशमशेरको सेतो घोडामा लामो दारी लिएर भेलामा उपस्थित भएको उनी आज पनि सम्झिन्छिन् । 
आज पनि ताजा छ उनको मानसपटलमा त्यो सिन्दुरे जात्रा ।

महिला अधिकारवादी चाँदनी जोशीको जन्म पाल्पा दरबारमै भयो । उनी त्यहीँ हुर्किन् । दरबारमा परिवारकै करिब ६० जना केटाकेटीहरू भएकोले समय सजिलै बित्थ्यो । 

आज पनि चाँदनी जोशीलाई ६० जना केटाकेटीको त्यो जमात सम्झना हुन्छ । त्यो विशाल पारिवारिक परिवेशमा उनले कहिल्यै म भनेर सोचिनन् । उनले सँधै हामी भनिन् । हामीकै चिन्तनमा उनको जीवन अगाडि बढ्यो । 

६ वर्षको उमेरसम्म उनको जीवन पाल्पाको त्यो ग्रामिण भेगमा बित्यो । पाल्पाबाट जाने भनेको गर्मीमा श्रीनगर र जाडोमा बुटवल नै हुन्थ्यो । कहिलेकाँही जाडोमा बुटवल झर्थे परिवारका सबै । कति समय लाग्थ्यो, थाहा छैन । तर उनीहरू घोडा र उलीनकाठ (पालकी)मा चढेर बुटवल पुगेको उनी सम्झिन्छिन् ।

पाल्पाको बसाइ हुँदा उनीहरू काठमाडौंबाट आउनेलाई नेपाली दाइ भन्थे । काठमाडौं कस्तो होला ? काठमाडौंको दरबार कस्तो होला ? त्यहाँ राजाले के खान्छन् होला ? भन्ने बाल जिज्ञासा उनीहरू सबैको मनमा रहन्थ्यो । र यस्ता साना साना जिज्ञासा उनी हजुरबुवा, बुवा र आमासँग राखिरहन्थिन् ।

बाल्यकालमा बालिकाहरू पुतली खेलमा रमाएको देखिन्छन् । तर चाँदनीले कहिल्यै पुतलीको खेल खेलिनन् । न त पुतलीको बिहे भनेरै रमाइन् । उनले त्यता ध्यान नै दिइनन् । उनी त गुलेली लिएर हिँड्थिन् । रुख चढथिन् । दाइभाइहरूसित बढी लाग्थिन् । गुच्चा खेल्थिन् । 

त्यसबेला पाल्पामा सबै किसिमको जात्रा हुने गरेको उनलाई सम्झना छ । लाखेनाच नाचिन्थ्यो । सेतो लाखे र रातो लाखे भनिन्थ्यो । ‘आहा मच गन वे, रानी घटवे’ भन्दै लाखे नाच्दै आउँथ्यो । त्यसमा पनि उनी रमाउँथिन् । 

आज पनि काठमाडौंमा ठूलो झ्याली बजेको सुन्दा उनलाई पाल्पाको सम्झना हुन्छ ।

पाल्पाको चोकमा नाटक पनि हुन्थ्यो । त्यो नाटक हेर्न उनीहरू पनि पुग्थे । त्यहाँ अनेक नाटक हेरेकी छन् चाँदनीले । एकपटक ‘एकलव्य’ नाटकले उनलाई सोच्न बाध्य बनायो । त्यति ट्यालेन्ट एकलव्यको औँला काटेर लिएको देखेपछि उनलाई लाग्यो, ‘यो त अन्याय भयो’ । 

जोशी भन्छिन्, “जिन्दगीभरि अधिकारका विषयमा बोल्नुपर्ने, त्यसैका बारेमा सोच्नुपर्ने रहेछ ! सायद त्यसैले होला, त्यो नाटक हेरेपछि जातपातलाई लिएर प्रस्तुत त्यो दृश्यले मलाई रातभरि निद्रा लागेन ।”

उनको बाटो यता सोझिनु रहेछ । महिला अधिकारको लडाइँका लागि लड्नुपर्ने रहेछ । त्यसैले जोशीलाई त्यही समयदेखि यस्ता कुराहरूका बारेमा सोध्नुपर्ने, जानकारी माग्नुपर्ने बानी बस्दै गयो ।
त्यो उमेरमै उनले आफ्ना हजुरबुबासँग आमा बुवासँग विभिन्न प्रश्न गरिरहन्थिन् । र उनका हजुरबा पनि झिँझो नमानी बताइरहन्थे ।

सानासाना कुरा सोधिरहने बानीले पनि उनलाई धेरै कुराको जानकारी हुँदै गएको थियो । त्यसमाथि उनकी सानीमा पढेलेखेकी  थिइन् । चाँदनी जोशीको पहिलो गुरु नै सानीमा ज्ञानी मुमा थिइन् । उनलाई बाह्रखरी र एबीसीडी सिकाउने सानिमा नै थिइन् । नयाँनयाँ कुरा सिक्नमा उनलाई सँधै लोभ लागिरहन्थ्यो । 

चाँदनीको मुहारमा हासो चम्कियो । भनिन्, “यो लोभ आज पनि ममा छ । आज पनि नयाँ कुरा सिकौं भन्ने लागिरहन्छ । सायद त्यसैले पनि रिटायर्ड भएर पनि टायर्ड भएकी छैन ।”

उनको मुमाको रहर छोरीलाई राम्रो ठाउँमा पढाउने थियो । चाँदनीको शिक्षादीक्षा राम्रो ठाउँमा हुनुपर्छ भन्दै उनलाई लखनउको कन्वेन्ट स्कूलमा भर्ना गरियो । पाल्पा दरबारभित्र रहेका पढ्ने उमेरका केटाकेटीहरू मध्ये कोही मसुरी गए । कोही सिमला गए । कोही लखनउ गए । 

लखनउ पुगेपछि नै उनले पहिलो पटक गाडी देखिन् । छकछक गुड्ने रेल देखिन् । पाल्पामा त के देख्नु थियो र !

लखनउको सुरुआती दिनमा उनलाई भाषाले साहै्र दुःख दियो । अंग्रेजी आउँथेन । हिन्दी बोल्ने कुरै भएन । नेपाली बोल्नु बाहेक अरु उपाय नै थिएन । 

तर एक वर्ष भाषामा विशेष ध्यान दिएपछि उनले अंगे्रजी मात्रै नभई हिन्दी र उर्दू भाषामा पनि राम्रो ज्ञान हासिल गरिन् । अर्थात्, कन्वेन्टको पढाइले उनको अंग्रेजी त राम्रो भयो नै । लखनउको बसोबासले उनले हिन्दी र उर्दू भाषा पनि जानिन् । 

पछि पाकिस्तानमा पोस्टिङ्ग भएर जाँदा लखनउमा जानेको उर्दूले धेरै सहयोग गरेको उनी बताउँछिन् । ‘बडी लजीज उर्दू बोलती हैँ आप’ भन्थे पाकिस्तानीहरू ! 

चाँदनी जोशीले कन्वेन्टमा पढ्दा ताकाको एउटा रोचक प्रसंग सुनाइन् । उनका अनुसार कन्वेन्टमा साँझमा ब्रस गर्नु पर्दथ्यो । मुख धुनु पर्दथ्यो । यो गर्दा सबै उल्टो लाग्थ्यो उनलाई । 

पाल्पामा सिकेको बिहान बिहान मुख धुने र कपाल कोर्ने थियो । तर त्यहाँ त कपाल पनि बेलुकी नै कोर्नुपथ्र्यो ।  

उनी हासिन् । भनिन्, “हामीले त साँझमा ऐना हेरे बूढो पोइ पाइन्छ भन्ने सुनिरहेको ! तर त्यहाँ त राति कपाल नकोरी सुत्नै नपाईने ! कन्वेन्टमा साँझमा चर्चमा गएर पाठ गर्नु पर्दथ्यो । उता मलाई मुमाले सिकाउनु भएको थियो, क्रिश्चियन बन्ने होइन । त्यसैले मैले घुँडा टेकेर प्रे गर्दा जहिले पनि ‘श्री गणेशाय नमः’ नै भनिरहेको हुन्थेँ । अरु भने अंग्रेजीमा प्रे गर्थे ।” 

चाँदनीको पढाइ राम्रो थियो । त्यसैले उनले कक्षामा ‘डबल प्रोमोसन’ पाउँदै गइन् ।

पछि चाँदनीलाई परिवारले लखनउबाट काठमाडौं ल्यायो । उनले यहाँ आएर नेपालीसँगै संस्कृत पनि पढिन् । १३ वर्षको हुँदा चाँदनी जोशीले प्राइभेट परीक्षार्थीका रुपमा नक्सालको नन्दीरात्री विद्यालयबाट एसएलसी दिइन् । पास भइन् । 

उप्रान्त पद्मकन्या कलेजमा आइए पढ्न थालिन् । आइए, बीए गर्दै उनले १९ वर्षकै उमेरमा एमए पास गरिन् । अन्ततः  जहाँ पढेकी थिइन्, त्यहीँ पढाउन सुरु गरिन् । 

जोशीका अनुसार उनको एमएको रिजल्ट आइसकेको थिएन । तर कलेजले बोलायो पढाउनका लागि । त्यसपछि उनले पढाउन सुरु गरेकी थिइन् । 

प्रारम्भमा पद्मकन्या कलेजमा उनले स्वयम्सेवकका रुपमा पढाउन सुरु गरेकी थिइन् । त्यसपछि लोकसेवा आयोगको परीक्षा दिएर शिक्षा मन्त्रालय अन्तर्गत नियुक्ति लिई पद्मकन्या कलेजमै प्राध्यापन गर्न थालिन् ।त्यसबखत पद्मकन्यामा शिक्षिकाहरूका लागि बेग्लै ड्रेस थियो । विद्यार्थीका लागि बेग्लै । गेरु रङ्गको धोती विद्यार्थीका लागि थियो भने क्रिम कलरको धोती टिचरका लागि ।

त्यसैबखत  शिक्षकहरूले लगाउने धोती सकिएको रहेछ । फलतः उनले शिक्षक भएर पनि विद्यार्थीले लगाउने धोती नै केही समय लगाउनु पर्ने भयो ।

पहिलो दिन उनी कक्षा कोठामा पढाउन पस्दा कसैले पनि उनलाई शिक्षक नसम्झिएको उनी बताउँछिन् । सबैले उनलाई पनि विद्यार्थी नै सम्झिए र कहाँबाट आएको भनेर सोधे !  

उनी हाँसिन्, यो सुनाउँदै गर्दा । भनिन्, “मैले अंग्रेजी साहित्य पढाउँथेँ । म १९ वर्षको मात्रै भएकोले धेरैले मलाई शिक्षकभन्दा विद्यार्थी नै सम्झिन्थे । केही दिन त रमाइलो पनि लाग्यो । तर, एकै उमेरको भएकोले होला मैले पढाएको उनीहरूले मन पराए । वास्तवमा त्यसबेला हामी शिक्षक र विद्यार्थी कम साथी धेरै थियौँ ।” 

एकदिन विद्यार्थीहरू भोगटे साँधिरहेका थिए । उनलाई पनि बोलाए । उनी पनि विद्यार्थीसितै थचक्क भुइँमा बसेर भोगटे खान थालिन् । पछि शिक्षकको कोठामा त चर्चै भएछ ‘टीचरले पनि विद्यार्थीसँग भोगटे खान थाले’ भनेर ।

यति भन्दै गर्दा उनी मज्जाले हाँसिन् । त्यसबेला पीकेका विद्यार्थीहरू आफूसँग झुम्मिएको बताउँदै उनले आफूले तिनको हात पनि हेरिदिने गरेको बताइन् । उनी भन्दै थिइन्, “कतिले त मलाई सोध्थे पनि,– आफ्नोे लव म्यारिज हुन्छ कि अरेन्ज म्यारिज– भनेर ।” 

यसरी विद्यार्थीजस्तै भएर शिक्षकका रुपमा पद्मकन्या प्रवेश गरेकी चाँदनी जोशीले कलेजमा करिब ९ वर्ष प्राध्यापन गरिन् । उनका अनुसार उनका विद्यार्थी धेरै छन् । ती विद्यार्थीहरू भेट हुँदा तिनले आज पनि उनको सम्मान गर्ने गरेको उनी सगर्व बताउँछिन् । 

उनी एक पटक एकजना मन्त्रीलाई भेट्न गएकी थिइन् । मन्त्री त उनले पढाएको विद्यार्थी रहिछन् । मन्त्रीले नै कुर्सीबाट उठेर म्याडम भनेर नमस्कार गर्दा आफूलाई अथाह खुशी लागेको उनी बताउँदै थिइन् ।  
एउटा शिक्षकको कमाई यहि सम्मान हो भन्दा फरक नपर्ला । बीचमा एकपटक उनले प्रशासन तर्फ जान खोजिन् । तर तत्कालिन रेक्टर डा. मोहनमान सैँजुले प्रशासनतिर जान दिएनन् ।

चाँदनी जोशी मिहिनेती थिइन् । त्यही मिहिनेत उनको जीवनको उत्प्रेरणाको स्रोतका रुपमा विकसित हुँदै गयो । उनले पढाउँदा मात्रै नभएर जुनसुकै क्षेत्रमा रहँदा पनि खुबै मिहिनेत गरिन् । 

कलेजमा पढाउन थालेको करिब ९ वर्ष पछि उनी सेवा परिवर्तन गरेर गृह पञ्चायत मन्त्रालयमा पुगिन् । त्यसबेला पटना बोर्ड अन्तर्गतको कलेज भएकोले लोकसेवा आयोगको परीक्षा दिएर शिक्षा मन्त्रालय अन्तर्गत पद्मकन्या कलेजमा पढाउन पुगेकी थिइन् । पछि त्रिविवि सेवा आयोगको स्थापना भएपछि उनले सरकारी सेवामै जाने निश्चय गरिन् ।

त्यसैले उनले लोकसेवा दिइन् । तत्कालिन गृह तथा पञ्चायत मन्त्रालयमा तालिम सामग्री उत्पादन केन्द्रमा उनको पदस्थापन भयो । जाउलाखेलमा कार्यालय थियो । 

त्यहाँबाट पञ्चायत दर्पण भन्ने पत्रिका निस्किन्थ्यो । त्यहाँ एडिटिङ्ग अफिसरका रुपमा काम थालिन् । केही समयपछि महिला विकास कार्यक्रम सुरु भयो । उनी त्यसको प्रमुख भइन् । उनले महिला विकासका क्षेत्रमा काम गर्न सुरु गरिन् । यसरी लैङ्गिक समानताका क्षेत्रमा काम गर्ने गरी उनको यात्रा प्रारम्भ भयो ।

महिला विकासमा काम सुरु गरेपछि उनले विभिन्न कार्यक्रमको निर्माण गर्दै त्यसलाई कार्यान्वयन गर्दै गइन् । महिलाहरुको आर्थिक समृद्धि र सीपमूलक सबलताका लागि विभिन्न कार्यक्रमहरू ल्याइन् । 

त्यसै समयमा उनले ‘प्रोडक्सन क्रेडिट फर रुरल वुमन’ (पीसीआरडब्लु) कार्यक्रमको थालनी गरिन् । उक्त कार्यक्रमका लागि नेपालका गाउँगाउँमा उनी हिँडेरै पुगिन् । यसरी उनी कार्यक्रम लिएर ६५ वटा जिल्ला पैदलै हिँडेकी थिइन् । 

यद्यपि, सजिलो थिएन यो काम । तर महिला अधिकारको काममा हात हालिसकेकी उनलाई कुनै पनि वाधाले रोकेन । उनी आफ्नो मार्गमा निरन्तर अग्रसर भइरहिन् ।

कठिन काम भए पनि कहिल्यै झिँझो मानिनन् । सँधै सिक्ने र केही गर्ने रहरले उनलाई उत्प्रेरणा दिइरह्यो । 

उनले काठमाडौंमा बसेर जिल्लामा काम गर्न कठिन हुने भएकोले विभिन्न जिल्लामा महिला विकास अधिकृतको व्यवस्था गर्नुपर्ने प्रसंग  उठाइन् । तर नयाँ अधिकृत पोस्टिङका लागि लोकसेवा मानिरहेको थिएन । 

चाँदनी जोशी भन्छिन्, “त्यो बेला महिलालाई विचरा भन्ने चलन थियो । त्यसैले कसैले यस्ता कुरा मान्नै खोजेनन् । तर जिल्लामा सीडीओलगायतका अधिकारीहरूसित बसेर काम गर्न महिला विकास अधिकृत नै चाहिन्थ्यो । त्यसैले त्यो व्यवस्थाका लागि म भिडेरै लागँे । त्यहाँ मलाई भन्थे, ‘यो चाँदनीजीको दिवा स्वप्न हो’ । तर मैले यो कामलाई पूर्णता भने दिएँ ।”

यसैक्रममा चाँदनी जोशी महिला विकास अधिकारीको भर्नाका लागि आफैं सूचना टाँसेर हिँडिन् । ठाउँ ठाउँ पुगिन् । र, केही महिला विकास अधिकारी भर्नाको वातावरण तयार गरिन् । १०–२० जना महिला विकास अधिकारी भर्ना पनि भए ।

तेस्रो पटकमा एकै पटक धेरै महिलाहरूले निवेदन दिए । र करिब ५० जना महिला विकास अधिकृतहरू एकैपटक भर्ना भए । त्यसबेला जोशीको आँखाबाट आँशु निस्किएको उनी बताउँछिन् । उनी भन्छिन्, “त्यो खुशीको आँशु थियो । यसरी करिब ५० जना महिलालाई महिला विकास अधिकृतको जिम्मेवारी दिएर म युएनमा गएकी थिएँ ।” 

उनका लागि त्यो चुनौति नै थियो । तर चुनौति स्वीकार गर्दै त्यसलाई निर्णायक बिन्दुमा पुर्याएकी थिइन्, उनले । पछि उनको विदाइमा उपस्थित महिला विकास अधिकृतहरू भन्दै थिए, ‘दिज्जु, अब तपाईले विदेशमा झण्डा गाड्ने हो । यहाँ एउटा चाँदनीले ५० जना चाँदनीलाई जन्माउनु भएको छ । हामी छौँ । तपाई जानुस् ।’ अहिले पनि जोशीको कानमा त्यो कुरा गुन्जिरहेको अनुभूत हुन्छ ।

उनले जहिले पनि राजनीतिभन्दा माथि रहेर काम गरिन् । त्यसैले पनि सम्बन्धित मन्त्रीहरू भोजराज घिमिरे, नवराज सुवेदी, पशुपति शमशेर जबरा सबैको सहयोग उनले पाएकी थिइन् । कतिपय अवस्थामा जोखिम हुँदाहुँदै पनि काम गर्दै गइन् ।

उनी भन्छिन्, “मलाई कहिल्यै कुर्सीको मोह भएन । मैले सँधै महिला हक हितका लागि आफूलाई अगाडि बढाएँ । त्यसैले पनि कसैले मलाई दबाब दिएनन् ।” 

०००
तत्कालीन श्री ५ को सरकारमा उनी सहसचिव थिइन् । एक पटक सरकारले युएनको कार्यक्रममा भाग लिन न्यूयोर्क पठायो । त्यहाँ जाँदा उनको धेरै व्यक्तिहरूसित सम्पर्क भयो । त्यसैबेला युनिफेमका प्रमुखसँग पनि भेट भयो । उनले साउथ एसियाका बारेमा सोधे । उनले पनि यस क्षेत्रको महिला अभियानका विषयमा लागेको कुरा यथार्थ बताइन् ।

त्यसपछि उनलाई युनिफेममा राम्रो पद दिए । जहाँ उनले १८ वर्ष काम गरिन् । युनिफेमको रिजनल डाइरेक्टर भएर उनले भारत र पाकिस्तानमा लामो समय बिताइन् । 

महिला हकहितका लागि सर्वथा क्रियाशील रहने चाँदनी जोशी भन्छिन्, “महिलाको अवस्था नेपालमा मात्रै होइन, मैले काम गरेको अन्य आठ नौवटै मुलुकमा उस्तै थियो । त्यसैले मैले तिनको हक हितका लागि सँधै भिडेर काम गरेकी थिएँ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro