दाङ । एक हजार विगाहाभन्दा बढी जग्गा भएर पनि आयश्रोत नआउने भएपछि स्वर्गद्वारी आश्रमले आफ्नो जग्गा लिजमा दिएर आयश्रोत जुटाउन थालेको छ । आश्रमले आफ्नो एकल स्वामित्वमा रहेको दाङ र देउखुरी उपत्यकाको २४ विगाहाभन्दा बढी जमिन व्यक्ति र स्थानीय सरकारलाई लिजमा दिएको छ । जसबाट आश्रमलाई वार्षिक करिब ३२ लाख रुपैयाँ आउने गरेको स्वर्गद्वारी आश्रम घोराहीका लेखापाल गोबिन्द न्यौपाने बताउछन ।
लिजमा दिएको जग्गामा घोराही उपमहानगरले सेवारखोला नजिक अटो भिलेज सञ्चालन गरेको छ भने घोराही कै झिगौरामा व्यवसायीलाई राख्नका लागी संरचना निर्माण भइरहेको छ ।
देउखुरी उपत्यकामा रहेको जग्गा भने इटा भट्टा सञ्चालनका लागि व्यक्तिलाई दिइएको छ । प्यूठानमा रहेको स्वर्गद्वारी मन्दिरमा चढाएको भेटि र जग्गाको भाडाबापतको यही रकमले अहिले आश्रमको सम्पूर्ण कार्य सञ्चालन हुँदै आएको छ ।
किसानले लगाएको जग्गा बाफत आश्रमलाई बुझाउनु पर्ने सबै कुत बुझाए वार्षिक करिब ७० लाख रुपैयाँ उठ्नु पर्ने हो । तर अहिले वार्षिक करिब ८ लाख रुपियाँ मात्रै उठ्ने गरेको आश्रमले जनाएको छ ।
यही अवस्था देखेपछि जग्गा लिजमा दिने निर्णयमा पुगिएको आश्रमले जनाएको छ । मोहि नलागेको जग्गामा मात्रै अहिले स्वर्गद्वारी आश्रमले आफ्नो अधिकार प्रयोग गर्दै आएको छ । आश्रमको करिब ७ सय बिगाहा जग्गामा मोही रहेको छ ।