site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मेरो आख्यान यात्रा

नीलम कार्की निहारिका 


एक
प्रथम कथा पद्मकन्या स्वत्रन्त्र विद्यार्थी युनियनको मुखपत्र ‘दीपशिखा’ को लागि लेखेकी थिएँ । त्यो पनि साथीहरुको अनुरोधमा । त्यसअघि नै मैले दुईवटा उपन्यास लेखिसकेको हुनाले पनि साथीहरुले मलाई कथा (आख्यान) विधामै कलम चलाउन भनेको हुनुपर्छ । 

जब रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रममा आबद्ध भएँ, कविता लेखे, गोष्ठीहरुमा वाचन गर्न थालेँ । फुटकर रुपमा पत्रपत्रिकाहरुमा छापिए । नेपाल प्रज्ञा–प्रतिष्ठानमा कविता महोत्सवमा भाग लिएँ, कविता प्रतियोगिताहरुमा पुरस्कृत हुँदै गएँ । ईश्वर वल्लभ दाइले मेरो कविता पढेपछि ठाकुर बेलबासेमार्फत मलाई भेट्न बोलाउनु भयो । मेरो कलम माथि आफू विश्वस्त भएको बताउनु भयो । मञ्जुल दाइको प्रोत्साहन उत्ति नै रह्यो । अग्रजहरुको हौसला थपिँदै गयो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्य शिक्षामा स्नातकोत्तर गरेपछि बीएडका विद्यार्थीलाई अध्यापन पनि गराउँथेँ, पछि नेपालीमा पनि स्नातकोत्तर पूरा गरेँ । र, ‘प्लस टु’का विद्यार्थीलाई नेपाली विषय पढाउन थालेँ । त्यसपछि नियमित गकथा लेख्न थालेँ । 

एउटा साहित्यिक कार्यक्रममा भाग लिन नगेन्द्रराज शर्मा, ज्ञानुवाकर पौडेल, ललिजन रावल, ठाकुर बेलबासे, मणि लोहनी, गोवद्र्धन पूजा र म बुटवल जाँदै थियौँ, यात्रामा कुराकानीकै क्रममा मैले कथा लेखिरहेको सबैलाई बताएँ । अभिव्यक्ति पत्रिकामा प्रकाशन गरिदिन ज्ञानुवाकर दाइले प्रस्ताव राख्नुभयो । तत्कालै स्वीकार गर्नुभयो सम्पादक नगेन्द्र दाइले ।

त्यस समय पुस्तकमा अग्रजको भूमिका अपरिहार्य जस्तो मानिन्थ्यो । हामी मित्रहरुबीच सल्लाह हुँदा प्रा.डा. दयाराम श्रेष्ठ र कथाकार ध्रुव सापकोटालाई अनुरोध गर्ने कुरा भयो । अग्रज कथाकार धु्रव सापकोटालाई भेट्न म आफै गएँ । दयाराम सरको लागि गोवद्र्धन पूजाले जिम्मा लिनुभयो ।

एकदिन अपरिचित मानिसको फोन आयो– ‘म दयाराम श्रेष्ठ बोलेको– हाम्रो प्रत्यक्ष भेट भएको छैन, तर यहाँको कथाहरुसँग भेट भयो । यहाँले कथा लेख्न कहिले नछाड्नु होला । मलाई पूरा विश्वास छ, नयाँ आयाम थप्नुहुनेछ । गोवद्र्धनलाई यो कुरा तपाईंसम्म पुर्‍याइदिनु त भनेको थिएँ, तर आफैंले पनिफोन गरी भन्न मन लाग्यो ।’

दयाराम सरको त्यो विश्वास आज पर्यन्त मेरा लागि ठूलो ताकत बनेर बसेको छ ।

पुस्तकको आवरणमा मुकेश मल्ल दाजुको कला राख्ने कुरा भयो । कृसु छेत्री र मैले मुकेश दाजुको घरको ग्यालरीबाट एउटा आर्ट रोज्यौं । त्यसैमा सजिएर प्रोलास सिन्धुलीयको छापाखानाबाट ‘हवन’ प्रकाशित भएको हो ।

कुरा रह्यो लोकार्पणको । ‘सेतो बाघ’ मलाई मन पर्ने उपन्यास । त्यसका सर्जक डायमण्ड शमशेरबाट लोकार्पण गर्ने इच्छा मैले साथीहरुमाझ व्यक्त गरेँ । ठाकुर बेलबासे र म उहाँको घरमा गयौं । आफू पाल्पा दरबारमा जन्मिएको, तर ३ वर्षको उमेरमा पाल्पा छाडेपछि कहिले फर्किएर त्यता जाने समय नजुरेकोमा दुःख व्यक्त गर्नुभयो उहाँले । मेरो जन्म पनि पाल्पामा नै भएको हुँदा मेरो किताब विमोचन गर्न अति उत्साहित भएको बताउनुभयो । तीन–चार पटकको भेटपछि एकदिन अग्रज डायमण्ड शमशेरले भन्नुभयो, ‘‘मेरो सेतो बाघ १० वर्षसम्म एक प्रति पनि बिकेन । तर आज त्यसको रोयल्टी खाएर बसेको छु । सर्जकले लेखनमा आजको सफलता आजै खोज्नु हुन्न है !’’ उहाँको त्यस अभिव्यक्तिले मलाई पनि धैर्य गर्न सिकायो ।

टेलिभिजनको एउटा कार्यक्रममा काङ्ग्रेसका नेता तथा विद्वान् प्रदीप गिरिले हवनका कथाबारे चर्चा गर्नुभयो भन्ने सुनेँ एक मित्रबाट । अति कौतुहलता जाग्यो । टेलिभजनको आरकाइभबाट खोजेर त्यो कार्यक्रम हेरेपश्चात् अति नै खुसी लाग्यो । प्रोसाहित भएँ । 

हवन पढेर मलाई प्रतिक्रिया दिनुहुने अग्रज नारायण ढकाल दाजु र माया ठकुरी दिदीले पनि मनोबल अझ बढाइदिनु भयो ।

मेरो अनुभवले भन्छ– अग्रजहरुको यस प्रकारको हौसला अनुजहरुका निम्ति अति नै महत्वपूर्ण हुने रहेछ ।

दुई
२०६३ सालमा श्रीमान् र छोराको साथ अमेरिकातर्पm प्रस्थान गरेँ । नेपाल टेलिभिजनको आफ्नो चर्चित कार्यक्रम टेलिहेल्थ, दुुई क्याम्पसको अध्यापन, एफएमको साहित्यिक कार्यक्रम एकसाथ छाडेर विदेशिएकी थिएँ । त्यसरी नै छुट्न गए कवि गोष्ठीहरु, रोजगारीजस्तै बनेको मञ्चीय उद्घोषण । देशै छाडी टाढा हुँदा यी त सामान्य हुन् भनी चित्त बुझाएँ । अति सक्रिय जीवनबाट एक्कासि गृहिणी मात्र हुनपुगेँ । छटपटी स्वाभाविक थियो । विदेशमा भएपनि आफू साहित्य क्षेत्रमा सक्रिय भएकै प्रमाण स्वयम्लाई पेश गर्न जरुरी थियो । अर्को कथा सङ्ग्रह प्रकाशनमा आउने भयो ।

विमल भौकाजी दाजुको सम्पादनमा रत्न पुस्तक भण्डारबाट २०६६ माप्रकाशित भयो ‘कागजमा दस्तखत’ ।

तीन

कुरा २०५८ को । छोरा हिमांशु जन्मिएपश्चात् मेरो लेखन एक/डेढ वर्षको लागि ठप्प नै थियो । लेख्न नपाउँदाको औडाहा भयङ्कर हुने रहेछ । त्यो अनुभव मसँग राम्रै छ्र ।

एकदिन टेलिभिजनको कार्यक्रम पश्चात् सिंहदरबारबाट सीधै प्रज्ञा–प्रतिष्ठान गएँ । डा. तुलसी भट्टराई दाजु प्रतिष्ठानको सदस्यसचिव हुनुहुन्थ्यो । सनत रेग्मी दाजुसँग पनि त्यहीँ भेट भयो । तुलसी दाजुले सोध्नुभयो– ‘आजभोलि कार्यक्रमहरुमा देखिँदैन, नीलम के लेख्दै हुनुहुन्छ ?’ मैले भनेँ–‘समय नै पाउँदिनँ । अब त लेख्न सक्छु जस्तो पनि लाग्दैन दाजु ।’ उहाँले भन्नुभो– ‘अहिले छोरा हुर्काउँदै हुनुहुन्छ, मज्जाले बाल–मनोविज्ञानका कथा लेख्नु । मैले, सनत दाजुले लेखेको भन्दा फरक हुनेछ अनुभूति गरेर एक आमाले लेखेको बाल मनोविज्ञानको कथा ।’

त्यसबेला गहु्रँगो मन गर्दै हवस् त भनेँ, लेख्न भने सकिनँ ।

झण्डै १० वर्षपछि बालबालिकाको मनोविज्ञानमा केन्द्रित भएर कथाहरु लेखेँ । २०६८ मा प्रकाशित भयो कथा सङ्ग्रह ‘बेली’ ।

अमेरिका जाने क्रममा बिदा हुँदै गर्दा ईश्वर वल्लभ दाजुले मलाई भन्नुभएको थियो– ‘अब त्यहाँको कथा लेख्नु । यहाँको आँखाले हेरेर हामी त्यहाँको कथा लेख्न सक्दैनौँ, त्यहीँ पुगेर त्यहीँको आँखाले हेरेर नीलमले मज्जाले लेख्नु ।  हामी यहाँ मज्जाले पढ्नेछौँ ।’ त्यही विश्वासमा उहाँले विश्व परिक्रमा पत्रिकामा एउटा लामै लेख पनि लेख्नुभएको रहेछ । मनन् गरेँ, तरम अमेरिका पुगेको दुई वर्षभैसक्दा पनि दाजुले भन्नु भए बमोजिम लेख्न भने सकेको थिइनँ । 

हरेक बिहान उठ्नासाथ आमालाई टेलिफोन सम्पर्क गर्नु मेरो नियमितता हो । एक बिहानको टेलिफोन सम्पर्कमा ‘आज एउटा नराम्रो समाचार छ भन्दै ईश्वर बल्लभ दाजु बितेको खबर मेरी आमाले सुनाउनु भयो । म अति मर्माहत भएँ । उहाँले भने अनुसार डायस्पोरिक विषय टिपेर लेख्न नसकेकोमा ग्लानि पनि भयो ।

अनि ‘अर्की आइमाई’उपन्यास लेखेँ । २०७० मा प्रकाशित भयो । हाम्रो बसाइ न्यूयोर्कबाट अलि सानो सहरतिर सर्‍यो । दुई छोरा– हिमांशु र सुधांशु हुर्कंदै गए । अनि म पनिअलि फुर्सदिलो हुन थालेँ । लेख्नको लागिसमय जुट्यो । बर्षौंदेखि लेख्ने चाहना भएर पनि समय अभावका कारण थाती राख्नु परेको ‘चीरहरण’ उपन्यास लेखेँ । प्रकाशनमा आयो २०७२ मा । त्यस वर्ष ‘चीरहरण’ मदन पुरस्कारको सर्टलिस्टमा पर्‍यो । ‘पद्मश्री’बाट पुरस्कृत पनि भयो ।

अग्रजबाट मनोबल, पाठकबाट थप अपेक्षासहितको शुभेच्छा र पुरस्कारबाट हौसला, तिनैको संयोग मिल्दै गयो मलाई । ‘चीरहरण’ पढेपश्चात् मेरा गुरु दाहाल यज्ञनिधिले– ‘अब योगमायाको जीवनमा आधारित उपन्यास लेख्नु भनी सुझाउनु भयो । उहाँले दिनु भएको उत्तरदायित्व वहन गर्न भूगोलको हिसाबले कठिन अवश्य थियो, तर आँट गरेर अध्ययन अनुसन्धान गरी ‘योगमाया’उपन्यास लेखेँ । २०७४ मा प्रकाशित भयो ।

पाठकले मन पराइदिनुभयो । र, ‘मदन पुरस्कार’ पनि प्राप्त गर्‍यो ‘योगमाया’ले । अर्की आइमाई, चीरहरण र योगमाया उपन्यासबाहेक प्रकाशित भैसकेका मेरा अन्य पुस्तकहरुबारे नयाँ पाठकहरुको चासो बढ्न गयो । यसै क्रममा मेरा कथाहरु एकै ठाउँमा ल्याउन सके विदेशमा रहेका पाठकलाई पनि सहज हुने सुझाव शुभचिन्तक अनि समालोचकहरुबाट प्राप्त भयो ।

बेली कथा सङ्ग्रह २०६८ प्रकाशित भए यता आठ वर्षमा आठ कथा लेखेकी रहेछु । पूर्व प्रकाशित तीन सङ्ग्रह क्रमशः हवन, कागजमा दस्तखत र बेलीका साथै केही फुटकर प्रकाशित कथा थप गरी एउटै पुस्तकमा ‘४३ कथा’ भएर आएको हो ।
४३ कथा यहाँहरुलाई सुम्पिए पश्चात् पुनः उपन्यास लेखनमै आफुलाई केन्द्रित गर्दैछु । पात्रहरुका साथ परिचय बढाउँदै छु, निकटतम मित्र, आफन्तजस्ता पनि हुँदैछन् केही पात्र ।

अति सुन्दर समय, अविस्मरणीय यात्रामा छु यतिखेर !

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  १२:३५
प्रतिक्रिया दिनुहोस्