_1555943051.jpg)
हेमन्त विवश
वर्षौंअघि छुट्टिएकी प्रेमिकाले मनमस्तिष्कमा राज गरिरहेजस्तो राज गरिरहन्छ, कहिलेकाहीँ कसैले । अनि भिज्न थाल्छन् भावनाले सम्झनाका भोजपत्रहरू । तर जब प्रस्फुटित हुँदैनन् कुनै शब्दहरू तब कस्तो हुन्छ पीडा ? यस्तै बनाएको छ मलाई काञ्जिरोवा हिमाल र से–फोक्सुण्डो तालले । निकै प्रिय लाग्छन् हिमालहरू । त्यसमा पनि बिहानी किरणसँगै जब पौडिन्छन् तिनीहरू कुनै तालमा शब्दविहीन बनिदिन्छु म । बिहानबिहानै जब काञ्जिरोवा फोक्सुण्डोको छातीमा पौडिएको दृश्य देखिन्छ, लाग्छ ऊ आफ्नी प्रेमिकामा लीन हुन खोज्दैछ । मानौंवर्षैंदेखि बिछोडिएका प्रेमीपे्रमिका थिए, दुवै । रत तालमा आफ्नो अनुहार पढ्न लगाउँदै छ कैयाैं स्रष्टाहरूलाई । ईष्र्यालु बनेर बादलले बेलाबखत सूर्यका किरण छोपी केही अँध्यारो पोत्न खोजिरहेछ । साक्षी बनिरहेका छन् छेउमै रहेका ९ सय वर्ष पुराना गुम्बा र पहाडहरू ।
मनमा तमाम प्रश्नहरू उब्जिन थाल्नु पनि एउटा लत न हो । उसो त जिन्दगी आफैंमा एक प्रकारको लतजस्तै लाग्छ । मोडैपिच्छे कहिले कुन लतमा डुबुल्की मार्छ, के थाहा ? पछिल्लो समयमा घुम्ने लतमा पारिदिए भादगाउँलेले । हिजोआज यही घुमन्ते लतले ओढ्न सिकाइरहेछ आनन्द र अनुभवको सुन्दर च्यादर ।
संसारका अधिकांश विरक्तिएका मनहरू पनि यात्रारत् नै हुन्छन् । चाहे ती फोक्सुण्डो काव्य यात्रामा निस्केका स्रष्टाहरू हुन् या परमात्माको खोजीमा निस्केका पाइला। मात्र यात्राको उद्देश्य अनि गन्तव्य फरक न हो । यात्रा आफैँमा एउटा गोरेटो हो । दुःखको गोरेटो । संघर्षको गोरेटो । माया पिरतीको गोरेटो । अनुभवको गोरेटो । जिन्दगीको गोरेटो । त्यही गोरेटोमा हुन्छ मान्छेको सिकाइ । जुन सिकाइ चीरस्थायी हुन्छ ।
एकातिर खोलानाला दौडिरहेका छन् । अर्कोतिर मान्छे दौडिरहेछ । फरक केवल गति मात्र न हो । मान्छे कतै विश्राम लिन्छ । कतै सुस्ताउछ, कतै दगुर्छ । तर ती खोलानाला एकनासले आफ्नै गतिमा बगिरहन्छ, हरपल हरक्षण । हिँड्नु पनि त बग्नु नै हो । मन पनि त हिँडिरहेकै हुन्छ बेलाबखत । जो बग्न जान्दछ ऊ रसिलो हुन पनि जान्दछ । भावपूर्ण र सबैको प्रिय पनि बन्दछ । त्यसैले त बगाइरहेछ फोक्सुण्डो तालले पनि फोक्सुण्डो खोला भएर आफूलाई ।
कुनै ताल किनारामा छल्किरहेका छालजस्तै त छन्, जिन्दगीका पाटाहरू । मान्छेका जीवनमा पनि त देखापर्छन् विभिन्न छालहरू । विरहका, वेदना, सुख, दुःख, हर्ष,विष्मात,कुण्ठा,आँसु अनि जिज्ञाशाका छालहरू । उठ्छन् छालहरू यो तालरुपी जीवनमा पनि कैयौंपल्ट । प्रकृतिले तय गरेका कैयौं ताल तलैया हेरेर साटासाट गर्छ मान्छे छालहरूलाई । अक्सर छालहरूले संकेत गरिरहेका हुन्छन् जिन्दगीको गति । जिन्दगीको अर्को नाम गतिशीलता पनि हो । यही गति खोज्ने क्रममा कन्सेप्ट नेपालका अमृत भादगाउँलेले यात्रा तय गरेका हुन् आषाढको पहिलो साता फोकसुण्डोको किनारसम्म पुग्न ।
त्यो समय अर्थात् आषाढ ७ गते म कैलाली पुगेको थिएँ । भादगाउँलेले फोनमा भनेका थिए–भोलि बेलुकासम्म नेपालगञ्ज पुग्नू । जोगी जिन्दगीका झोलीझम्टाहरू थिए काठमाडौं नामको खाल्डोमै । हतारहतार बिहानको फ्लाइटमा आइपुगें काठमाडौं । साँझ ४.४५ को प्लने टिकट थियो नेपालगञ्जको । सिस्टम बिग्रेको मुलुकमा पैसा कमाउन कति झुट बोल्छन् र बोल्न सिकाउछन् यहाँका सम्राटहरू; त्यो दृश्य राम्रैसँग मनन् गरें त्रिभुवन विमानस्थलमा । ढिलाइ हुने संकेत किस्तागत रूपमा दिइ नै रहे श्री एयरलाइन्सका कर्मचारीहरूले । चारपटकसम्म सारियो उडान हुने समय । अन्ततोगत्वा आवाजको ध्वनि बढाउनु प¥यो । तर्कले अठ्याइरहेको समयमा तर्कपूर्ण बने यात्रुहरु । बल्ल ८.४५ मा उड्यो प्लेन । साँझ नेपालगञ्जको होटेलमा बस्ने प्रवन्ध मिलाएका थिए पत्रकार कमल खत्रीले ।
दोस्रोदिन आयोजकलाईसमिट एयरले बाहनाबाजी गरिरह्यो । मौसम खराब भएको कारण उड्न सकेन डोल्पाको लागि । तेस्रो दिन अरू नै यात्रु लैजाने उसको निर्णयले हामी बाध्य भयौं गाडी चढ्न । कर्णालीमा पैसा तिरेर पनि प्लेन चढ्न भगवान् जपिरहेका हुन्छन् कतिपय यात्रुहरू । बोलवाला चल्छ अर्कै पक्षको । हातमा बोर्डिङ पास हुँदा पनि हेर्दाहेर्दै अरूलाई नै बोकेर उड्छन प्लेनहरू । मैले भने समिट एयरलाई धन्यबाद दिइरहे । प्लेनबाट गएको भए त्यो अनुभव गर्न पाइने थिएन जुन अनुभव र सिकाइ भयो गाडीको यात्रा गर्दा ।
सुर्खेत जाजरकोट हुँदै गएको दिनको बास हुन्छ रुकुम र जाजरकोटको सीमाना तल्लु बगरस्थित कमल थापाको होटलमा । जहाँ बेलुकी खाना खाँदा कमलकी आमाले बोल्नु भएको भाषा अरूभन्दा बढी बुझ्न सक्ने म मात्रै थिएँ । डोटेली भाषासँग मिल्दोजुल्दो भाषा भएका कारण म बढी परिचित जस्तो देखिएँ ।
धेरै वर्षपछि देखेँ सुल्फा । बाल्यकालमा कस्तो हुँदो रहेछ भनी चोरेर बाले तमाखु खाने सुल्फा तानेको याद आइरह्यो । त्यो याद यति बलशाली बन्यो, यति भावुक बनायो कि कमलकी आमासँग सुल्फा मागेर तान्न थालेँ । सुल्फा तान्दा मनभरी बोकिरहेँ वर्षौंअघि धर्ती छोडेका बाको मुहार । अनि बिस्तारै सम्झनामा घुम्न थाले विगतमा गाउँमा सुल्फा तान्ने कतिपय अनुहार । ती अधिकांश यो समयका साक्षी छैनन् ।
अचेल गाउँमा देखिदैन सुल्फा पनि । बिडी चुरोट तान्छन् धुमपान गर्नेले पनि । हुक्का र सुल्फा देख्न मुस्किल छ । तल्लु बगरमा वर्षौपछि सुल्फाको एक सर्को धँुवा के तानेको थिएँ, घाटी खस्खसायो । खोकी लाग्न थाल्यो । उहिले गाउँघरतिर यसो हुँदा तमाखु कर्रो भो भनेको पनि सम्झिएँ । गुँड, सीरा,उखुको रस मोलेर बनाइएको तमाखुले घाटी खस्खसाउँदैन भन्थे बुढापाकाहरू । लाग्छ त्यही तमाखु जस्तो कतिखेर कर्रो बनिदिन्छ जिन्दगी । कतिखेर मलुवा जस्तो मुलायम । जिन्दगी एक सुल्फा तमाखु न हो । हत्केलामा मोल्दामोल्दै आधा भैसक्छ । सुल्फामा भर्दाभर्दै छरिन्छ अलिकति । अन्त्यमा तमाखु जस्तै धुँवादार बनिदिन्छ ।
सेनाले तयार पारेको जाजरकोट डोल्पा सडक खण्डमै पर्छ त्रिपुरासुन्दरी माइको मन्दिर । त्रिपुरा मन्दिर छेउ पुगिसक्दा आभाष हुन्छ निकै उचाइमा, चिसो लेकमा आइपुगेको । आधिघण्टा भ्यानमा यात्रा गरेपछि देखिन्छ रुपगाड,सुलिगाड र भेरी नदीको संगम । सुलिगाडको किनारै किनार दुई दिन कस्सिएर हिँड्दा देखिन्छ फोक्सुन्डोको किनार । बाटामा बास बस्ने ठाउँ छन् । अग्र्यानिक खानेकुरा पाइन्छ । साङ्ता छेप्का,चुनुवार,साइजल, ¥याची बाटामा पर्ने ती सुन्दर बस्तीका नाम हुन् जहाँ गास बासको व्यवस्था हुन्छ । सेन्दुक लामाको सक्रियतामा सञ्चालित तापिरिचा माबिको गरिमा र संघर्षको कथा छुट्छै छ । त्यहाँका विद्यार्थीहरूलाई जुन किसिमको शिक्षा दिइँदैछ त्यो निकै प्रसंशनीय छ ।
बाटोमा लस्करै देखिन्थे यार्सा टिपेर फर्किरहेका बालबालिकादेखि वयस्कसम्म । एक महिनासम्म हिमालको काखमा यार्सा खोज्न बस्नेहरूको कथा व्यथा सुन्दा मन अमिलो हुन्छ । महिनादिनसम्म पाल टाँगेर बस्ने हजारौंँ मान्छे मध्ये कतिका त जिन्दगीकै पाल च्यातिन्छन् । कतिले जिन्दगीका सुन्दर पाल सजाउँछन् पनि । निकुञ्जसँग भएको यो वर्षको औपचारिक आँकडा हेर्दा १३ हजार जना गएका हुन् यार्सा टिप्न । बाटोमा जतिलाई सोधे नि एउटै उत्तर आउँथ्यो–बगाया लाग्यो हजुर । डोल्पेली भाषामा बगायाको अर्थ हो ऋण । पाएनन् अधिकांशले सोचेजस्तो यार्सा । त्यस्तै बीस, पचास, सय वटामै चित्त बुझाएर फर्किए अधिकांश मनहरू । निकुञ्जको अफिसको गेट नजिक बाटोमै तिनका झोलीतुम्बा जाँच गरेको दृश्य देख्दा उदेक लाग्थ्यो । मुटु भक्कानिएर आउथ्यो । लाग्थ्यो सरकारी कर्मचारीहरूको नजरमा डोल्पेलीहरू त मान्छे नै हैनन् !
बादलले घेरिएको थियो आकाश । बादलभित्र टोलाइरहेका थिए पर्वतहरू । अभिव्यक्तिशून्य मन लिएर यात्रारत थिए पाइलाहरू । कुनै तानाशाहले चरम यातना दिए जस्तो, कतै सपना तुहिएकी बैंसालु युवतीझैं, कालीदासको मेघदूतको यक्षझैं लाग्थ्यो कर्णाली । बैंसमै गाला सुकेका, मुहारमा मुजा परेका निन्याउरा अनुहारले प्रश्न गरेझैं लाग्थ्यो–तमी कुन देशका हौ ? नैपालका ?
कर्णालीको विरहभित्र पनि सौन्दर्य छ । पीडाभित्र जिज्ञाशा छ । यो खाल्डोकाजस्ता जताततै विषादी मिश्रित मनहरू छैनन् त्यहाँ । दुःखमा पनि रमाउन सक्ने एक छुट्टै सुरम्य संसार छ, कर्णालीवासीहरूसँग । दाँत फुस्केका गिजाझैं टल्केका पहाडहरू पनि मुस्कुराएकै छन् । त्यो मुस्कानको फाँको बेलाबखत फालिरहेकै छन् बाटो दोबाटोमा । लाग्थ्यो कतै तिनले खोज्दैछन् कि आफ्नो छायाँ फोक्सुण्डो खोलामा, सुलिगाडमा, भेरी नदीमा र रूपगाडमा ।
काखमा अँध्यारो पालेर उभिएका पहाडहरूसँग धैर्यता छ । मौनता छ । विरहको गीत छ । हतारिदै आएर टुप्पोमा छुन खोज्ने सुस्केराहरू छन् । काठमाडौंले सदियौदेखि गरेको विश्वासघात बोकेर बाचेका छन् तिनीहरू । पहाडहरूले प्रतिनिधित्व पनि त गरिरहेका हुन्छन् जिन्दगीको । अस्तित्वको अनि सभ्यता र इतिहासको । ठडिएर पनि झुके जस्ता देखिन्छन् ती पहाडहरू । अहंकार छैन तिनमा । सिंहदरबार जस्ता अहङ्कारी, भ्रष्ट छैनन् तिनीहरू । संवेदनशील भावुक मनभित्र अनेकौं अभिव्यक्ति पैदा गराइदिन्छन् ती नाङ्गा डरलाग्दा पहाडहरूले । दिदैनन् रित्तो मन फर्किन । मनमस्तिष्कमा सम्झना, कल्पना र भावनाका कोसेलीरूपी धर्साहरू सजाउँदै मौनतामा बिदाइ रिरहेका हुन्छन् सबैलाई ।
कर्णाली देखाउँदैन आँसु कसैलाई । बादलुको च्यादर ओढेर झारिदिन्छ आँसु भित्रभित्रै र बगाइरहन्छ कैयांै हिमनदीहरू । उसँग यो सहरको जस्तो न कुनै कृत्रिम हाँसो छ न कुनै आँसु नै । खतरा छ कर्णालीमा । तर त्यही खतरासँग बाँच्न सक्ने मनहरूको बस्ती पनि छ । खतरा मोल्दै बाँच्ने साहसको राजधानी हो कर्णाली । प्रकृतिका सुन्दर अनि अजीवका बुट्टा कोरिएको ताम्रपत्रको एउटा सुन्दर आलेख पनि हो कर्णाली । जसलाई राज्यले पढ्न जानेन कहिल्यै पनि । अझ भनौं पढ्ने चासो नै देखाएन !
सम्झनाका लयहरू गुञ्जिन थाल्छन् हृदयमा । त्यो स्मृतिले मस्तिष्कका पत्रहरूलाई पल्टाउन खोज्दछ बेलाबखत । यात्रुहरू प्रायः सबै कवि मन नै थिए । यात्रामा ध्वन्यात्मकताको आयतन खासै थिएन । प्रायः सबै मौनतामै बाटो नापिरहेका थिए । गर्जनकासाथ एक्लैएक्लै हतारिदै दौडिरहेको थियो फोक्सुण्डो खोला । जसरी दौडिन्छिन् कतै काम गर्न गएकी आमा घरमा बच्चाले चोट पाएको वा अचानक बिमारी भएको खबरले ।
आषाढको महिना । गाउँघरतिर पर्म तिर्न जाने चलन पुरानै हो । बिहानै उठेर हिँडिहाल्छन् काममा । यो फोक्सुण्डो खोला कसको पर्म तिर्न जादै छ कुन्नि । किन त्यति ठूलो हुङ्कार बोकेको छ । किन उफ्रिँदो छ छाल बनेर । यस्तै कैयौं प्रश्नहरू उब्जिरहन्थे बाटामा यात्रारत रहँदा । आषाढ महिना सुरु हुँदा कलिदासको मेघदूत सम्झिने डा.डीपी भण्डारी सरको याद आइरह्यो मनमा ।
आकाशमा बादल मडारिएको देख्दा लाग्थ्यो कालिदासले मेघदूतमा वर्णन गरेको रामगिरी पर्वत कतै यतै नै छ कि ? यक्षको अनुरोध हुन्छ बादलसँग रामगिरिबाट उड्दै गएर मालभूमिमा वर्षा गर्नको लागि । बादललाई भनिएको छ पहिले पश्चिम जानु अनि उत्तर तर्फ लाग्नू । म दिशा पत्ता लगाउन खोज्छु । फेरि प्रश्न उब्जिन्छ मनमा–त्यो मालभूमि भनेको कतै उपल्लो डोल्पा त हैन ? सिमसिम पानी परिरहेको हुन्छ । कालिदासले जस्तो हृदय अनुरञ्जित गर्ने राग अनि वर्षायामसँगै प्रकट हुने प्राकृतिक सौन्दर्यको लेखाजोखा गर्नसक्ने क्षमतावान कवि कहाँ पाउनु । एक्काइस सय वर्षअघि कालिदासले अभिव्यक्त गरेका भाका र वर्षा ऋतुको आगमन सँगै गाउँघर, वनपाखा, पहाड, नदी खोला अनि बाल्यावस्था र किशोरावस्थाको याद आउन थाल्छ । कैयौं पल भावको गहिराइमा धसिन्छ जीवन । सामाजिक यथार्थता र परिवेश वलशाली बनिदिन्छ स्मृतिका तरेलीमा ।
अविष्मरणीय बनिदिन्छ फोक्सुण्डो काव्ययात्रा । मनकारी रसिकहरूको सानो चिटिक्कको समूह । संस्कृतमा एउटा भनाइ छ ः अरसिकजनसंम्भषणतो वरमिह रसिकेन समं कलहः पाषाण हृदय भएका व्यक्तिसँग कुरा गर्नुभन्दा रसिक जनसँग झगडा गर्नु नै वेश । नातावाद, कृपावाद र भौतिकवादी लहराले जेलिएको यस दुनियामा कैयौंले देख्दैनन् गरिबी, भोक र रोग बाहेक अन्य कुरा । कतिपय सम्राटहरूले त त्यति पनि देख्दैनन् । ठान्दैनन् दूरदराजका मान्छेहरूलाई मान्छे । त्यस्ता पाषाणहरूसँग हुँदैन रसिक हृदय पनि । मात्र दम्भ बोकेर टपरटुय्या शैलीमा दगुर्ने तिनीहरू जति नै वैभवशाली भए पनि, जति नै सुविधाजनक ठाउँका बासिन्दा भए पनि दयनीय अनि टीठ लाग्दो हुन्छ तिनको जिन्दगी । फोक्सुण्डो काव्ययात्रामा निस्केका सबै जना काव्यिक मन र रसिक हृदय भएकाहरू नै थिए । त्यस्ता हृदयसँग झगडा नै गर्नु पर्दा पनि छुट्टै आनन्द आउछ होला जस्तो लाग्छ ।
अमृत भादगाउँले, देवेन्द्र बस्न्यात, अभय श्रेष्ठ, भूपिन, गनेस पौडेल, हेमन यात्री, सागर उदास,चन्द्र काफ्ले, दीपेन्द्रसिंह थापा, सुरेन्द्र राना, कमल खत्री, विष्णु देवकोटा, कृष्ण नेपाली लगायत चौध जनाको समूह । यात्रामा स्वास्थ्यको निकै ख्याल गर्ने अभयको दैनिक योगा गरेको परिणाम सजिलै थाहा पाउन सकिन्थ्यो । सँगसँगै हिँडिरहेका उनी क्षणभरमै देखिन्थे टुर्नामेन्ट जितेको धावकझै टाकुरामा बिश्राम गरिरहेका ।
फोक्सुण्डोको किनार नपुग्दै देखिन्छ झरना । वारिपारि बडेमानका पहाडहरू बनिरहेका छन् पहरेदार सँधैझैं मौनता साचेर । नाङ्गा पहाडको काखमा फुलेका देखिन्थे ससाना बुट्टेदार फूलहरू । पाहुनाको स्वागत गर्न उभिए जस्तो टाढैबाट टल्किरहेको देखिन्छ काञ्जिरोवा हिमाल । काञ्जिरोवाकै काखमा अवस्थित छ वाइ आकारको सुन्दर फोक्सुण्डो ताल । नेपालको सबैभन्दा गहिरो तालका रुपमा चिनिने फोक्सुण्डो बेलाबखत बद्लिरहन्छ आफ्नो रंग र हेरिरहन्छ छेवैमा रहेको रिग्मा गाउँ र थासिङ छोलुङ गुम्बालाई ।
कन्सेप्ट नेपालका अमृत भाद्गाउँलेले ताल किनारमा औपचारिक कार्यक्रम गरेर चार जना भुइँमान्छेहरूलाई जनही दश हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गर्दा स्वागतका लागि झुल्केका हुन् कि जस्तो लाग्थ्यो सूर्यका किरण । सम्मानित होइसेर डोल्मा बैजी, नाम्दाक लामा, निमा लातार बैजी, र सेन्दुक आइक्याल रोकायाका मुहार काञ्जिरोवा जस्तै चम्किला देखिन्थे । जस्तो कि केही समयका लागि काञ्जिरोवासँग मुस्कान सापटी मागे हुन् उनीहरूले ।
नेपालको बिग्रेको राजनीतिले छुन खोज्दा होसियार बन्छन् भोटे समुदायका बासिन्दा । फोक्सुण्डो गाउँपालिका ८ का वडा अध्यक्ष निमा लामा वडा अध्यक्ष बन्नुको भेद थाहा हुन्छ । दुई वटा पार्टीले छुट्टाछुट्टै उमेदवार चयन गर्ने भएपछि वडाबासी चिन्तित बनेछन् । पार्टीगत राजनीतिले समाज भताभुङ्ग हुने डरले सबै मिलेर आफ्नो व्यवसायमा सक्रिय निमालाई निर्विरोध चयन गरे छन् अध्यक्षमा ।
उसो त फोक्सुन्डोबाट तीन दिन हिँडेपछि पुगिने कुगाउँका बासिन्दाले २०६४ सालमा पहिलो पटक गरेका हुन् मतदान । त्यस अघि न राज्यको नजरमा त्यो गाउँ नै थियो न त त्यो गाउँवासीलाई राज्यका बारेमा थाहा थियो । आफ्नै मस्तीको लोभलाग्दो जिन्दगी अनि समाज छ भोटे समुदायका मान्छेहरूसँग । नेपालमा बोन धर्मको अभ्यास गर्ने थलोको रूपमा पनि चिनिन्छ डोल्पा । बोन धर्मका अनुयायीहरूको बस्तीमा पुगेपछि रमाउँछ मन । डोल्पाको बारेमा अध्ययन गर्दै जाँदा पलाउछ मनमा रहर महिनौ लगाएर भए पनि डोल्पाका कुनाकाप्चा घुम्न पाए हुन्थ्यो भन्ने । शे गुम्बा, बगला भञ्ज्याङ र नुमला भञ्ज्याङ पार गर्दै धो–तराप पुग्नेदेखि बागमारा भञ्ज्याङ छिचोलेर जुम्ला पुग्नेहरूले गरेको सुन्दरताको वर्णन सुन्दा लाग्छ कतै स्वर्ग भनेको त्यही नै त हैन ?
बिहान सूर्यका किरणसँगै फोक्सुण्डोमा स्नान गर्न पुगिसकेको थियो काञ्जिरोवा । विवाह गरेको भोलिपल्टै दुलहीलाई घरमा छोडेर लाहुरको यात्रामा निस्केको दुलाहाझैं फर्कीफर्की बाटोमा दृष्टि पुगेसम्म हेरिरहेकै थिए पदयात्रीहरू । डाँडा कट्नै लाग्दा टुल्बुलाए जस्तो देखिन्थ्यो काञ्जिरोवा । आदर्श र स्वाभिमानका प्रतीक मानिने हिमालहरूले हाम्रो गौरवको छुट्टै विरासत बोकेका छन् । फोक्सुण्डो खोला बनेर बगिरहेको तालको पानीले याद दिलाइरहेको थियो बाटोभरि ।
जुफाल विमानस्थल छेउको होटेलमा दुई रात बिताएपछि प्लेनमा तय हुन्छ नेपालगञ्जसम्मको यात्रा । चिलगाडीको झ्यालबाट हेर्न खोजेँ उही हिमाल र ताललाई । देखिएन कतै । लुकाइरह्यो बादलुको घुम्टोले । बादलले मप्रति विश्वासघात गरेजस्तो ठानिरहे आधि घण्टाको हवाइ यात्रामा । तथापि सिंहदरबारले कर्णालीप्रति विश्वासघात गरेजस्तो थिएन बादलुले मप्रति गरेको विश्वासघात ।