manilohani_1586054542.jpg)
एक, अँध्यारोका विरुद्धमा
दुई, धर्मध्वनि
मणि लोहनी
जलेर अँगार हुनु सूर्य
या थाकेर आँखा चिम्लनु तिमीले
अध्याँरोका लागि यी दुवै सर्त मञ्जूर छ ।
सपनाको बिहानी सूर्य हुर्काइरहेका आँखा
र सुक्सुकाउँदो वर्तमान
बन्दुकको जुत्ता लगाएर हिँडिरहेको शासक
निर्जन जङ्गलभन्दा डरलाग्दो सिंहदरबार
एकपछि अर्कोगर्दै भकाभक लडिरहेका– निरीह पत्रकार,
निर्दोष कवि
र भोका मजदूरहरू
सबैमा थपिएको छ अँध्यारोको घाउ ।
अँध्यारोमै हाँसिरहेको छ शासक
दौडिरहेको छ त्यो कालो घोडा अँध्यारोमै
नगरबधूको कुनै निर्लज्ज साँझ जस्तो सांसद
लेखिरहेछ हाम्रो आयु र खुलेआम थापिरहेछ छातीमा तक्मा ।
‘झण्डा नबोक्नु कसैको’ अपराध बनिरहेको छ
र नाङ्गो तरबारमा झण्डा बोक्नेहरूको
हातैमा छ सुरक्षादस्ता
हातैमा छ कानून
र, यही अँध्यारोमा बल्झिएको छ– अभिव्यक्ति स्वतन्त्रता
मानव अधिकार
र नागरिकताका अँध्यारा घाउहरू ।
नदेख्नु घाम या हेर्नु तिमीलाई
नबाल्नु मैनबत्ती या च्यातिदिनु प्रेमपत्र
नहाँस्नु तिमी या भुरर्र उडाइदिनु परेवाहरू
एउटा प्रेमी ठिटो नबुझेर राष्ट्रियता
फुटाइरहेछ ल्यापटप
र झुण्डिँदै हिँडिरहेछ अभिशप्त आदिम ल्याम्प पोस्टहरूमा ।
जलेर अँगार हुनु सूर्य
या थाकेर आँखाचिम्लनु तिमीले
अध्याँरोका लागि यी दुवै सर्त मञ्जूर छ ।
दुई, धर्मध्वनि
नभएको भए मानिस
कँहाहुन्थे होलान् ईश्वरहरू !
घण्टको सुमधुर ध्वनिसँगै, मुस्कुराएको हुनुपर्छ भगवान्
शङ्ख, मुर्चुङ्गा, यो चमर र बिनायो
देवता पुलकित भएको हुनुपर्छ ।
प्रार्थनाका शब्द र फूलका गुच्छाहरूले आह्लादित भएको हुनुपर्छ ईश्वर
नमाजको आवाजसँगै, बेसक खुसी भएको हुनुपर्छ अल्लाह
त्यो कपाल काटेकी कलिली केटीले बाइबल पढेको देख्यौ
पक्कै पनि यसु दङ्गदास हुनुपर्छ यतिखेर ।
भजनमा मग्न हारमोनियम, प्रौढ हात र तालीहरू
सितारमा साँटिएका सुकुमारी औँलाहरू
तबलामा नाचिरहेका निर्दोष हत्केलाहरू
ध्यानस्थ मानिस र
भजनसँगै झुमीरहेका यी सौन्दर्यशाली महिलाहरू देखेर
पक्कै पनि गम्किएको हुनुपर्छ ईश्वर ।
नभएको भए मानिस
कहाँ हुन्थे होलान् ईश्वरहरू !
म एक्काइसौँ शताब्दीको फलैँचामा बसेर
गुनगुनाइरहेछु धर्म ध्वनि
ईश्वरले बनायो मानिस या
मानिसले हुर्काइरहेछ आपूmभित्र ईश्वरहरू !
के मानिस आफैँमा सँङ्लो र सक्षमहुन सक्दैन ?
म सोचिरहेछु,
किन मानिस आपूm चोइटिएर जोगाइरहेछ ईश्वरलाई
बिना मानिस, के सम्भव छ ईश्वरको अस्तित्व ??
नभएको भए मानिस
कँहा हुन्थे होलान् ईश्वरहरू !
manilohani@hotmail.com