
ती दिनहरू
(आत्मकथा: भीमप्रसाद गुरागाईं)
भोजपुरको भुल्के गाउँमा जन्मिएका भीमप्रसाद गुरागाईंको जीवनको अधिकांश समय आफ्नो जन्मथलोमै बित्यो । तथापि, उनको जीवनमा सिर्जित आरोह–अवरोहले उनलाई इटहरीमात्रै पुर्याएन, दार्जिलिङदेखि असामसम्मको यात्रासमेत गरायो ।
भीमप्रसादका यस्तैयस्तै जीवन भोगाइ, उतारचढाव समेटिएको छ उनको आत्मकथा ‘ती दिनहरू’मा । उनको जीवनका सानासाना घटना यस पुस्तकमा प्रस्तुत छ ।
वास्तवमा भोजपुरको एउटा किसानको कथा हो ‘ती दिनहरू’ । भीमप्रसादको जीवनका रोचक घटना विवरण उनको आत्मकथामा पढ्न पाइन्छ । यसका साथै पहाडी जीवन र त्यहाँको जीवनशैलीलाई पनि यो पुस्तकका हरफहरूबाट हेर्न अनि बुझ्न सकिन्छ । भीमप्रसादको बाल्यकालदेखि अहिलेसम्मका कथा पुस्तकमा विभिन्न भागमा शीर्षकसहित समावेश गरिएको छ ।
बुलबुल प्रकाशनले बजारमा ल्याएको २५० पृष्ठको यस पुस्तकको मूल्य ३०० रुपैयाँ राखिएको छ ।
पैदलै काठमाडौंका चुलीहरू
(नियात्रा: जय छाङ्छा)
विशेष रुपमा नियात्रा विधामा कलम चलाउने लेखक हुन् जय छाङछा । उनी कविताका भावमात्रै पोख्दैनन् नियात्रा लेखेर आफूसँगै पाठकलाई विभिन्न ठाउँ घुमाउने सामथ्र्य पनि राख्छन् । त्यसैले पनि नियात्रा लेखनमा उनको चर्चा हुँदै आएको छ ।
उनले लेखेको नियात्रा कृति ‘पैदलै काठमाडौंका चुलीहरू’ केही समयअघि सार्वजनिक भएको हो । जसमा जयले काठमाडौंवरपरका १५ वटा चुलीहरू अर्थात् पहाडी थुम्काहरुको पैदल भ्रमण पाठकलाई गराउने प्रयास गरेका छन् ।
नियात्राकार छाङ्छाले यस कृतिमा नगरकोट, रानीकोट, लाँकुरी भञ्ज्याङ, गोदावरी, फूलचोकी, चन्द्रागिरि, नागढुङ्गा, दहचोक, हलचोक, शिवपुरी, बागद्वार, तारेभीर, सुन्दरीजल, मणिचुडलगायतका उपत्यकावरपरका विभिन्न क्षेत्रका विशेषतालाई शब्दमार्फत् उतार्ने प्रयत्न गरेका छन् ।
काठमाडौं उपत्यकावरपर हरिया चुलीहरू हामीले सधैं देख्दै आएका छौं । तर ती चुलीहरूको पैदल भ्रमणबारे सायद त्यति सोचेका पनि छैनौं । हुन त पछिल्लो समयमा यस्ता क्षेत्रमा हाइकिङ जाने प्रचलन नबढेको होइन । यसरी हाइकिङमा गए पनि त्यसलाई सृजनात्मक लेखनमा परिणत गरेको कमै पाइन्छ । यसरी हेर्दा जयको यस पुस्तकले हाइकिङ जानेहरूलाई पनि सहयोग गर्न सक्ने देखिन्छ ।
यस कृतिमा लेखक जयले नियात्रा कसरी लेख्ने भन्ने सन्दर्भमा पनि केही ‘टिप्स’ दिएका छन् ।
हिमालय बुक स्टल, डिल्लीबजारले प्रकाशनमा ल्याएको ३ सय पृष्ठको यस पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ ।
गह पोखिएर
(गीतसङ्ग्रह: पुष्पा खनाल)
कविता र गीत लेखनमा सक्रिय स्रष्टा हुन् पुष्पा खनाल । उनको दोस्रो कृतिका रुपमा ‘गह पोखिएर’ गीतसङ्ग्रह प्रकाशनमा आएको छ ।
गीतकार पुष्पाको यस गीतसङ्ग्रहमा कूल ८५ वटा गीत सङ्गृहित छन् । ‘आमा तिमी आइनौ !’ शीर्षकबाट सुरु भएको पुष्पाको गीतसङ्ग्रहमा मातृप्रेम मात्र नभएर राष्ट्रप्रेम पनि प्रस्फुटित भएको छ । गीतमा मायाप्रितीका कुरा बढी हुनु अस्वाभाविक होइन, उनका गीतमा पनि यस्ता विषय बढी उठाएको पाइन्छ ।
नेपाल स्रष्टा समाजद्वारा प्रकाशित ९३ पृष्ठको यस पुस्तकको मूल्य २२५ रुपैयाँ राखिएको छ ।
आत्माराम ओझा स्मृति ग्रन्थ
(प्रधान सम्पादक: आचार्य घनश्याम लेखक)
नेपाली वाङ्मयको विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टा आत्माराम ओझाको स्मृतिमा प्रकाशित ग्रन्थ हो ‘आत्माराम ओझा स्मृति ग्रन्थ’ ।
कवितालगायत अन्य विषयमा कलम चलाउने आत्मारामले मोफसलमा रहेर साहित्य सेवा गर्दै आएका हुन् । उनी इतिहास विषयमा पनि जानकारी राख्थे । त्यसैले उनले इतिहासका विविध विषयमा लेखमार्फत् विचार प्रस्तुत गरेका छन् ।
आत्माराम ओझा स्मृति ग्रन्थमा आफ्नो जीवनकालमा नेपाली साहित्यको सेवामा क्रियाशील रहँदै आएका ओझाका रचनाका साथै उनका बारेमा लेखिएका स्मृतिहरूको सँगालो रहेको छ ।
ग्रन्थमा साहित्यकार ओझाद्वारा लेखिएका विभिन्न सामग्री पनि राखिएको छ । सुदूरपश्चिममा रहेर साहित्यका क्षेत्रमा सेवा पु¥याएका आत्माराम ओझाको स्मृतिमा प्रकाशित यस कृतिले उनको कर्मशीलता र साहित्यलाई मिहीन ढङ्गले बुझ्न मद्दत गर्छ ।
मानसखण्ड विकास समाज, नेपालका लागि करुणादेवी ओझाद्वारा प्रकाशित ५ सय पृष्ठको यस कृतिको मूल्य ७२५ रुपैयाँ राखिएको छ ।
खुशीको पीरो धूवाँ
(संस्मरण: माधव काफ्ले)
मोफसलमा रहेर साहित्यमा निरन्तर सक्रिय स्रष्टा हुन् माधव काफ्ले । रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका माधवका दुई वटा निबन्धसङ्ग्रह यसअघि प्रकाशित भइसकेको छ ।
लामो समय शिक्षण पेशामा संलग्न माधवको अवकासपछिको कृति हो, ‘खुशीको पीरो धूवाँ’ । यसअघि उनका ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’ नामका निबन्धसङ्ग्रह बजारमा आइसकेको छ ।
‘खुशीको पीरो धूवाँ’ काफ्लेको संस्मरणात्मक कृति हो । उनको जीवनका केही रोचक सन्दर्भहरू यस पुस्तकमा समावेश छ । यसमा सङ्गृहित कतिपय संस्मरण विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।
रचना प्रकाशनले बजारमा ल्याएको २८८ पृष्ठको पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ ।