site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गान्धीको भाषण सुनेर सरकारी जागिर छाड्ने प्रेमचन्द 

गोरखपुरमा प्रेमचन्द गम्भीर बिरामी भए । स्थिति यस्तो आयो कि, बाँच्ने आशा क्षीण भयो । यसै क्रममा ८ फेबु्रअरी १९२१ मा महात्मा गान्धी गोरखपुर आए । बिरामी हुँदाहुँदै पनि प्रेमचन्द पत्नी र आफ्ना लालाबालाका साथ गान्धीजीको भाषण सुन्न पुगे ।

शिवरानी देवी लेख्छिन्, ‘असहयोगको परिवेश थियो । गान्धीजी गोरखपुर आउनुभएको थियो । बाबूजी बिरामी हुनुहुन्थ्यो । तर पनि म, दुवै छोरा र बाबुजी मिटिङमा गयौं । गान्धीजीको भाषण सुनेर हामी दुवै एकदमै प्रभावित भयौं । हो, बिरामीको हालत नाजुक थियो । तर त्यसैबेलादेखि बाबूजीमा सरकारी नोकरीप्रति एक किसिमको उदासीनता पैदा हुँदै गयो ।’

त्यसबेला प्रेमचन्द ४० रुपैयाँ तलब पाउँथे । १० रुपैयाँ उनी आफ्नी काकीलाई पठाउँथे । अत्यन्त कठिन परिस्थिति थियो । यति हुँदाहुँदै पनि गान्धीजीको भाषणको प्रभावमा परेर उनले नोकरी छाड्ने निर्णय लिए । यो निर्णय लिनु त्यति सजिलो भने थिएन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिवरानी देवी लेख्छिन्, ‘एक दिनको कुरा हो, उहाँले मसँग भन्नुभयो– ‘तिमीले राय दियौ भने म सरकारी नोकरी छोडिदिने थिएँ ।’ मैले पनि भनेँ– ‘यस विषयमा विचार गर्नका लागि दुई–तीन दिनको समय चाहिन्छ ।’

प्रेमचन्दले भनेका छन्– ‘म आफंै चाहन्छु कि, पहिले तिमी आफ्नो विचारमा स्पष्ट होऊ ।’ प्रेमचन्दले नोकरी छाडने निश्चय गरिसकेका थिए, तर पनि उनी शिवरानी देवीको सहमति भने चाहन्थे ।

शिवरानी देवी लेख्छिन्, ‘जुन असमञ्जसता उहाँको थियो, त्यही अवस्था दुई–तीन दिन ममा पनि रह्यो । मलाई पनि पटकपटक यही ख्याल आउँथ्यो आखिर बीएको इच्छा किन भयो, यही न हो, अगाडि बढुवाको आशा । पहिले कुनै न कुनै बेला प्रोफेसर भइने नै छ र जीवनका दिन आरामले कट्ने छ भन्ने थियो । किनभने, उहाँको स्वास्थ्य त्यति राम्रो थिएन । यतिबेला यो प्रस्ताव कहाँबाट आयो आयो ! सारा छोडेर हावामा उड्नुपर्ने ! यी सबै कुराहरु सोचेर मनमा आउँथ्यो कि, उहाँलाई नोकरी छाड्नबाट रोकूँ । दुई–तीन दिनको समय लिएको थिएँ । तर चार–पाँच दिनसम्म पनि कुनै निर्णय गर्न सकिनँ ।’

‘चार–पाँच दिनपछि उहाँले फेरि सोध्नुभयो– 

‘भन तिमीले के निर्णय लियौ ?’ मैले पनि भनेँ– ‘एक दिनको समय अरु दिनुस् ।’ त्यस दिन मैले यो सोचेँ कि, आखिर बिरामी हुनुहुन्छ । वास्तवमा एक किसिमले सायद उहाँले मलाई जवाफ नै दिनुभएको थियो, ‘यो तीन हजार रुपैयाँ छ र तिमीहरू तीन जना छौ ।’ यद्यपि, उहाँको स्वास्थ्य ठीक हुँदै थियो । मैले सोचेँ, उहाँको स्वास्थ्य ठीक हुँदै गएको छ । यो अवस्थामा नोकरीको चिन्ता नै किन गर्ने ? किनभने, ईश्वरले केही राम्रो पक्कै गर्ने छन् । त्यसैले त उहाँको स्वास्थ्य राम्रो हुँदैछ । मानौं यदि उहाँ नरहनुभएको भए मैले के गर्ने थिएँ ? सायद यसैले ईश्वरले उहाँलाई राम्रो गरेको हो ।’

‘फेरि जालियाँवाला बागमा जुन भीषण हत्याकाण्ड भयो, त्यसको ज्वाला सबैको दिलमा भड्किनु स्वाभाविक थियो । त्यो सायद मेरो हृदयमा पनि थियो । अर्को दिन आफ्ना सारा समस्यालाई सहन तयार पारेँ, जुन नोकरी छोड्दा आउनेवाला थियो ।’

‘अर्को दिन मैले उहाँसँग भनेँ– छोडिदिनुस् नोकरी । २५ वर्ष गरेको नोकरी छोड्दा दुःख त अवश्य हुन्छ । तर यो देशमा जुन अत्याचार भइरहेको छ, त्यसलाई हेरेर सायद यो दुःख केही होइन । मैले उहाँलाई भनेँ– ‘नोकरी छोड्नुस । यिनका अत्याचारका विरुद्ध लड्नुपर्छ अब । यो सरकारी नीति अब सहनशक्तिभन्दा बाहिर गइसकेको छ ।’

‘उहाँले भन्नुभयो– ‘तिमीले आफ्नो स्वाभाविक हाँसो हाँसेर भन्यौ । अरुको अन्त्य गर्नुभन्दा पहिले आफ्नो अन्त्य पनि सोच ।’ मैले भनेँ– ‘मैले सोचिसकेँ । जब तपार्इंको स्वास्थ्य राम्रो हुँदै गएको छ भने मलाई लाग्छ अब म पनि अगाडिका दिनमा जङ्गलमा मङ्गल गर्न सक्छु । मलाई लाग्छ ईश्वरले केही राम्रो नै गर्नेवाला छन् ।’

शिवरानी देवीको सहमति मिल्नासाथ भोलिपल्टै १६ फेबु्रअरी १९२१ मा प्रेमचन्दले नोकरीबाट राजीनामा दिए र सरकारी भवन पनि छाडे ।

कवि फिराक गोरखपुरीले प्रेमचन्दले नोकरीबाट राजिनामा दिएको विषयमा लेखेका छन्– ‘यदि उनी नोकरीमा बसिरहेको भए निश्चित थियो, आज उनले आफ्नो क्षेत्रमा उचाई प्राप्त गरिसक्ने थिए । र, उनको मान्यता शिक्षा विभागको ठूलो अफिसरका रुपमा हुन्थ्यो । तर सन् १९१९को असहयोग आन्दोलनको समय थियो । मैले युपी सिभिल सर्भिसको नोकरी छाडेको केही सातापछि नै उनी पनि सरकारी नोकरीबाट अलग भएका थिए ।’

प्रेमचन्द गोरखपुरमा रहेर केही गर्न चाहन्थे । शिवरानी देवीसँग भने– ‘मेरो त विचार छ कि, यहीँ गोरखपुरमा नै केही काम थालूँ । केही नभए ५०–६० रुपैयाँ त दिन्छन् नै होला । दस–पाँच रुपैयाँ जाने कोठा भाडामा लिएर बसौंला । मेरो विचार छ यहाँ एउटा चर्खा सङ्घ खोलांै । यसका लागि महावीरप्रसाद पोद्दार पनि तयार छन् ।’

शिवरानी बनारस जाने मुडमा थिइन् । जबकि प्रेमचन्द गोरखपुरमा महावीरप्रसादको सहयोगमा उर्दू र हिन्दीको अखबार निकाल्ने योजना बनाउँदै थिए । नोकरी र सरकारी भवन छोडेपछि प्रेमचन्द परिवारसहित मानीराममा पोद्दारको घरमा सरेका थिए ।

नोकरी छोडेको एक सातापछि लेखिएको एक पत्रमा प्रेमचन्दले आफ्नो यो इच्छा बताएका थिए । उनले लेखेका थिए– ‘कुनै तरिकाले म स्वतन्त्र भएको छु । अब भन्नुस् म के गरुँ ? प्रेस र अखबार निकाल्नु र लेख्नुबाहेक म अरु कुनै कामको लायक छैन । कपडा बुन्नका लागि तयार छैन । कुनै पनि काम मसँग हुँदैन । के तपार्इंको इच्छा अहिले पनि प्रेसतिर छ...। म एउटा राम्रो प्रेस हिन्दी, उर्दू र अङ्ग्रेजीको काम गर्ने गरी चलाउन चाहन्छु ।’  

महावीर पोद्दारकहाँ प्रेमचन्द दुई महिना बसे । शिवरानी देवीका अनुसार ‘त्यहाँ हाम्रो दिन राम्ररी कट्यो । यस्तो लाग्थ्यो, पोद्दारजी र हामी एकै परिवारका हौं । पोद्दारजीले पनि हाम्रो सेवा गरे । पोद्दारजीकै सेवाका कारण उहाँ पनि चाडै तङ्ग्रिनुभयो । पोद्दारजी दैनिक १३ मिल टाढाको सहर जान्थे । बाबूजी अगाडि बसेर चर्खा कात्न लगाउनुहुन्थ्यो र लेख्ने पढ्ने काम पनि गर्नुहुन्थ्यो ।’

दुई महिना बसेपछि तय भयो, पोद्दारजीसँग सहकार्य गर्दै सहरमा चर्खाको पसल खोल्ने । त्यहीँ एक घर भाडामा लिइयो । त्यसै ठाउँमा १० वटा कपडा बुन्ने चर्खा लगाइयो । चर्खा चलाउन केही महिला पनि थिए । देहातबाट चर्खा बनाएर ल्याइन्थ्यो । चर्खा पनि बेचिन्थ्यो । साँझको समय पोद्दारजी र बाबूजी तथा अन्य केही मित्रहरू बसेर गफ गर्थे ।

प्रेमचन्दले निगमजी कपडा बुन्ने पसलका विषयमा लेखेका छन्– ‘तत्कालका लागि मैले एउटा कपडा बुन्ने कारखाना खोलेको छु । जसमा केही चर्खा चलिरहेका छन् । त्यसबाट मलाई महिनाको केही नाफा त अवश्य नै हुन्छ, तर यति पनि होइन कि म त्यसमै आश्रित हुन सकूँ !’

प्रेमचन्द गोरखपुरबाट उर्दू अखबार निकाल्न सफल हुन सकेनन् । यसको कारण थियो– गोरखपुरमा बन्द रहेको एउटा उर्दू साप्ताहिकको प्रकाशन फेरि सुरु भइसकेको थियो । प्रेमचन्दको भनाइ थियो– त्यो उर्दू अखबारको प्रकाशनले अर्को अखबार चल्न सक्दैन । गोखरपुरबाट उर्दू अखबार निकाल्ने सपना पूरा गर्न नसके पनि उनले त्यो सपना बनारस गएर पूरा गरे । 

उनले एक जमिनदारसँग काठ मागे र भने– तपार्इं काठ दिनुस् म चर्खा बनाउन लगाउँछु । चर्खा गाउँमा बाँड्ने काम गराैं। यसले गरिब–दुःखी दाजुभाइको चर्खाप्रतिको मोहका साथै प्रचार पनि बढ्छ । जमिनदार सहमत भए । गाउँभरिका मानिस बोलाएर जमिनदारकहाँबाट काठ लिएर आए ।
एक महिनासम्म दुई जना कालिगढले चर्खा बनाउँदै गए । त्यसपछि सबैलाई एकएक चर्खा निःशुल्क बाँड्ने काम गरियो । चर्खा कसरी चलाउने, कस्तो धागो हुनुपर्छ भन्ने विषयमा पनि उनले मानिसलाई जानकारी गराउँदै गए ।
(‘द वायर’मा मनोज सिंहले लेखेको लेखको अन्तिम अंशको अनुवाद ।)
 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  ०६:५१
प्रतिक्रिया दिनुहोस्