
अक्षर काका
बाबु जीवनको पहिलो आदर्श हुन् । अपवादलाई पन्छाउने हो भने बाबुको आदर्शलाई नपछ्याउनेहरू भेटिँदैनन् पनि । र त, नेपाली साहित्यमा पनि ‘बाबु’को प्रभाव भेटिन्छ । मोतिराम भट्ट युगदेखि समकालीन साहित्यसम्म आइपुग्दा बाबुको बाटो पछ्याउनेहरू थुप्रै छन् । पद्मप्रसाद देवकोटा प्रतिनिधि अनुहार हुन्, जो बाबुको बिँडो थाम्न र साहित्यिक विरासत थेग्न भरमग्दुर प्रयत्न गरिरहेछन् ।
बाबुलाई आदर्श मान्नेहरूको एउटै वाणी छ– “बाबुको उचाइमा कहिल्यै पुग्न सकिँदैन ।”
तर यो लघुताभाष र आफैँप्रतिको अविश्वास भने होइन । बाबुप्रतिको उच्चसम्मान हो । भक्तिभाव हो ।
“म कविता त लेख्छु । तर मैले आफैँलाई कविको रूपमा देख्न सकेको छैन,” पद्मप्रसाद देवकोटा बरोबर भनिरहन्छन् ।
त्रिभुवन विश्वविद्यालयका अंग्रेजी साहित्यका प्राध्यापक पद्म देवकोटाका यी उक्तिले हरदम लक्ष्मीप्रसाद देवकोटालाई पछ्याइरहेको प्रतीत हुन्छ ।
देवकोटाको परिवारसँग कविताको पुस्तैनी ‘लिगेसी’ छ । लक्ष्मीप्रसादका पिता अर्थात् पद्मका हजुरबुबा तीर्थमाधव आफैँमा कवि–हृदय थिए । उनै तीर्थमाधवका कविता सार्दासार्दै लक्ष्मीप्रसाद आफैँ कवि कहलिए ।
लक्ष्मीपुत्रका अलावा नेपाली साहित्यमा थुप्रै अनुहारहरू छन्, जसको साहित्यमा आनुवंशिक प्रभाव पाइन्छ ।
विकलको बाटोमा विजय
काठमाडौंको साँधै जोडिएर अविरल बग्छ, इन्द्रावती ।
इतिहासदेखि आजसम्म अविश्रान्त बगिरहेको इन्द्रावतीको बगाइमा केवल पानीको रङमात्रै छैन । समयका छालभेलहरू पनि मिसिएको छ ।
दुःख, पीडासँग समानान्तर बगिरहेको इन्द्रावतीले चिनाएका साहित्यकार हुन् रमेश विकल । २०३० को दशकको पुछारमा उनले सिर्जना गरेको ‘अविरल बग्दछ इन्द्रावती’ नेपाली साहित्यको मानक कृति बन्न पुग्यो । र त, इन्द्रावती नदी किनारका माझी, दनुवारको अनुहार र तत्कालीन समय–विम्ब बन्न पुगेको छ– ‘अविरल बग्दछ इन्द्रावती’ ।
“अविरल बग्दछ इन्द्रावतीमा जसरी इन्द्रावती र इन्द्रावती वरपरको दुःख, अभाव, पीडा समानान्तररूपमा अविच्छिन्न बगेका छन् र दुवै भँगालाले विद्रोह र परिवर्तनलाई हमेसा निम्तो दिइरहन्छ, त्यसले नै त्यो कृतिलाई जीवन्त र कालजयी तुल्याएको छ,” साहित्यकार प्रदीप ज्ञवाली भन्छन् ।
गोविन्दप्रसाद लोहनी र आनन्ददेव भट्टबाट मार्क्सवादी शिक्षा लिएका विकलका कृतिमा प्रगतिशील चेत भरपूर पाइन्छ ।
त्यसको ‘जेनेटिक’ प्रभाव विजय चालिसेमा पनि परेको छ ।
विशेषतः बाल साहित्यमा कलम दौडाउने विजय चालिसे पत्रकारका रूपमा परिचित छन् । झण्डै ३० वर्ष व्यतीत गरेका छन् पत्रकारितामा । संवाददाताका रूपमा गोरखापत्र संस्थान प्रविष्ट भएका विजय गोरखापत्रको तीन पटक प्रधानसम्पादक भए ।
गोरखापत्र संस्थानका अंग्रेजीबाहेकको सबैजसो सहप्रकाशन(गरिमा, मधुपर्क, युवामञ्च)का पनि सम्पादक भए । अन्तिममा संस्थानकै कार्यकारी अध्यक्ष बनेर सेवानिवृत्त भए । उनको पनि परिचयको घेरो यत्तिमै सकिँदैन ।
तीन दशक पत्रकारितामा जुत्ता फटाएका चालिसेले जीवनको ४० वर्ष अध्यापनमा पनि खर्चिए । २०२४–२५ सालमा प्राथमिक शिक्षकका रूपमा शिक्षणमा पाइला राखेका चालिसे निमावि, मावि शिक्षकहुँदै २०४२ सालदेखि प्रवीणता प्रमाणपत्र तह पढाउन थाले । र, अध्यापनलाई साठीको दशकको आधाआधीसम्मै निरन्तरता दिए ।
अहिले विजयबाबुले जीवनको आखिरी श्वास लिएकै थलो काठमाडौैंको उत्तरपूर्वी कुइनेटो आरूबारीमा लेखेर समय बिताइरहेका छन् ।
लेखनमा बाबुको छाप
विजय २००८ सालमा जन्मिए । उनी जन्मनुभन्दा दुईवर्षअगावै विकलको परिचय साहित्यकारका रूपमा फिँजिइसकेको थियो । घरमा भूपि शेरचन, माधव घिमिरेजस्ता दिग्गज साहित्यकार आउजाउ गर्थे ।
तर, ती खाइलाग्दा, गन्यमान्य अनुहारहरू आफ्नो घरमा किन बरोबर आइरहन्छन्, लेखपढ गर्छन्, बेलाबखत अट्टहास निकाल्छन्, बाल विजयले भेउ पाउँदैनथे ।
हुर्कंदै गएपछि पो थाहा पाए– आफ्नो घरमा बरोबर आउने ती प्रबुद्ध व्यक्तित्वहरू साहित्यका ओजस्वी र तेजस्वी अनुहार पो रहेछन् !
त्यतिबेलै हो उनले बाबु साहित्यकार भएको थाहा पाएको ।
“त्यसपछि मलाई पनि बाबुजस्तै किताबमा नाम छाप्ने, साहित्यकार बन्ने हुटहुटी जाग्यो,” उनी सम्झन्छन् ।
बाबुजस्तै बन्ने तृष्णाले व्याकुल बनेका विजय बाबुको छाया पछ्याउँदै हिँडे ।
तर, बाबुको सान्निध्य भने प्रोभोक गर्न पाएनन् ।
विकल हमेसा साधनामा तल्लिन रहने । चित्रकारिता र साहित्यका दिलचस्पी साधक विकल त्यति घर आउन भ्याउँदैनथे । अतः विजय बाबुबाट खारिन, तिखारिन र निखारिन पाएनन् ।
“बाबुको साहित्यिक चेतना र सौन्दर्यबाट उजिल्याउन पाएको भए अझै परिष्कृत हुन्थ्यो होला,” विकललाई अहिले पनि बाबुको अभाव खट्किन्छ ।
कथा सङ्ग्रह ‘नयाँ सडकको गीत’ले २०१८ सालको मदन पुरस्कार हात पार्यो । पाण्डुलिपिमै ‘नयाँ सडकको गीत’ले मदन पुरस्कार प्राप्त गरेको थियो । २०१९ सालमा ‘नयाँ सडकको गीत’ कृतिका रूपमा बाहिर आयो ।
कथा, उपन्यास, नाटक, यात्रा, आत्मसंस्मरण, व्यङ्ग्य र बालसाहित्यआदि विविध विधा गरी नेपाली साहित्यमा विकलका ६० कृति छन् ।हालसम्म कथासङ्ग्रह– ७, उपन्यास–४, नाटक एकाङ्की–४, यात्रासाहित्य–३, आत्मसंस्मरण–२, व्यङ्ग्य–१, बालसाहित्य–२७ र अनुवादका ७ कृतिहरू प्रकाशित छन् ।
कृतिमा पनि बाबुलाई पछ्याउँदैछन् विजय ।
विजयका पनि ४० पुस्तक प्रकाशित छन् । आधाजति त बालसाहित्यकै छन् ।‘अनि कुइरो फाट्छ (उपन्यास)’, ‘होटेल राँकिमा हत्या (उपन्यास)’ ‘प्रयोग (कथासङ्ग्रह)’, ‘त्रिविध (सहलेखन, कथासङ्ग्रह)’, ‘अप्रिलको बेलायतयात्रा (निबन्ध)’ प्रकाशित छन् ।
‘डोटेली लोक संस्कृति र साहित्य’ कृति लेखेर विजयले डोटेली लोक संस्कृतिको विकास र प्रवद्र्धनमा पनि योगदान पुर्याएका छन् ।
“यी सबै बाबुको बाटो हिँड्ने प्रयास हुन् । उहाँको विराट व्यक्तित्वको उचाइ भेट्ने सामथ्र्य त मसँग छैन । जहाँसम्म पुग्छु हिँडिरहन्छु,” विजयको अठोट छ ।
बुइँगलमै पुस्तकालय
रित्तो रित्तो साँझ
डाँडामै छाडेर डाँडामाथिको घाम
आफैँ अनाथ भएका छन् सहरमा छोराछोरीहरू
आउँछन्;
अभावले चिथोरेको अनुहार देखाउँछन्, जान्छन् ।
एउटा कैदीजस्तै जिन्दगी दिन्छु,
हिँड् भन्छन्,
वनै मग्मगाउने वनफूल गमलामा सजाउँला ठान्छन्
पिँजडाको लोभ देखाउँछन् ।
गाउँ ब्युँझाएर कहिल्यै नथाक्ने चरालाई ।
यी डाँडापाखाहरू
टारी फाँटहरू
जंगल चौतारीहरू
अनि बाँडेर कहिल्यै नरित्तिने मन
कसरी अटाऊँ
उनीहरूको साढे दुईआने सहरमा ?
यी हरफ हुन् कवि प्रोल्लास सिन्धुलीयका । २०७२ सालको राष्ट्रिय कविता महोत्सवमा प्रथम भयो यो कविता । प्रथम घोषणालगत्तै प्रकाशित कवितालाई पुरस्कृत गरेको भनेर विवादित बन्यो । तर अदालतले प्रोल्लासकै पक्षमा फैसला गरिदियो ।
पुरस्कार र पुरस्कारपछाडिको विवादसमेत जित्ने कवितासँग बाबुको ‘लिगेसी’ छ ।
प्रोल्लास साढे दुई वर्षकै हुँदा बाबु उमानाथशास्त्री सिन्धुलीय दिवङ्गत भए । बाबु कस्ता थिए, उनको कवि हृदय कस्तो थियो, उनी कसरी साधनामा निमग्न हुन्थे ? प्रोल्लासले अनुभव नै गर्न पाएनन् ।
तर बाबुले खनेको साहित्यको डोरेटोमा प्रोल्लास आजपर्यन्त अविचलित छन् ।
बाल्यकालतिर फर्कन्छन् कवि प्रोल्लास सिन्धुलीय ।
पैत्रिक थलो सिन्धुलीमा नियमितजसो काव्य–वाचन हुन्थ्यो । प्रतिस्पर्धा चल्थ्यो । प्रोल्लास ११ वर्षका हुँदा हुन् । जिल्लामा काव्यस्पर्धा हुने भएछ ।
दाजु प्रबाेध सिन्धुलीयले पनि भाग लिने भए । दाजुले एउटा कविता आफ्नो नाममा दर्ता गरे । अर्को प्रोल्लासको नाममा लेखाइदिए । संयोगले भनौँ, दाजुभाइ नै पुरस्कृत भए ।
त्यस्तै तीन–चार महिनापछि अर्को प्रतियोगिता भयो । प्रबाेधले त्यसै गरे ।
आश्चर्य भयो !
प्रोल्लासको कविता प्रथम भयो । दाजुले दोस्रोमै चित्त बुझाए । त्यो घटनाले दाजुको कवि मन कुँड्यायो ।
प्रोल्लास सम्झन्छन्, त्यसको चार महिनापछि अर्को प्रतियोगिता भएको थियो । तर, दाजुले कविता नै लेखिदिएनन् । लेखेर आफैँलाई मात्रै बुझाए । प्रोल्लासले अनुनय गरे । दाजुले सक्दिन भनेनन् । तर टारिरहे ।
निरूपाय भएपछि प्रोल्लास कवितामा भाग नलिने निष्कर्षमा पुगेका थिए । अघिल्लो प्रतिस्पर्धामा प्रथम भएकाले आयोजकले पनि ताकेता गर्न छाडेनन् ।
कविता बुझाउन एकदिन बाँकी थियो । प्रोल्लासका लागि आयोजकले बिहानसम्म कविता बुझाउने सुविधा दिए । तर नलेखी धरै दिएनन् । दाजुले लेखिदेलान् भन्ने आश जीवितै थियो । दाजुले निराश बनाए । हारमान्नु भएर प्रोल्लास आफैँले कविताको खेस्रा कोरे । त्यत्तिकै बुझाए ।
प्रतियोगितामा दाजु प्रथम भए, प्रोल्लासले सान्त्वना पाए । सान्त्वना पुरस्कार प्राप्त गरे पनि त्यसले प्रोल्लासको आत्मबल वृद्धि गर्यो । दाजुको सहयोगबिना नै आफ्नै बुतामा सान्त्वना पुरस्कार हात पारेका थिए ।
“त्यो पुरस्कारले मभित्रको कवित्वलाई जगाउने काम गर्यो,” प्रोल्लास सम्झन्छन् ।
त्यो घटनापछि प्रोल्लास बुइँगलमा घण्टाैँ बिताउन थाले । जहाँ बाबुको काव्य–गोदाम थियो ।पाण्डुलिपि थिए । बाबुको भौतिक शरीर त्यहाँ थिएन । तर उनले छोराहरूका लागि काव्यको भण्डार छाडेर महाप्रस्थान गरेका थिए ।
छन्दोवद्ध बाबुका पाण्डुलिपिपढेर उनले काव्यिक चेतनालाई जागृत तुल्याउने काम गरे । भावनालाई काव्य शिल्पमा कसरी ढाल्ने भनेर घण्टौँ घोत्लिन थाले । चार महिनापछि जिल्लाव्यापी अर्को प्रतियोगिता भएको थियो । प्रोल्लासले सबैलाई पछि पारे ।
“चारमहिनाको अवधिमा मैले बाबुका सबैजसो पाण्डुलिपिपढेर काव्य केहो बुझिसकेको थिएँ । कविता लेख्न पनि जानेँ,” उनी अहिले सम्झन्छन् । रोचक कुरा त उनको दाजुले त्यो प्रतिस्पर्धामा भाग लिएका थिएनन् ।
“दाजु थिए भने, के थाहा, उनैले पो जित्थे कि !,” मच्चिएर हाँस्छन् प्रोल्लास ।
त्यस प्रतियोगितापछि दाजु काव्यमा साँच्चै पछि परे । प्रोल्लास बाबुको पथमा अविचलित हिँडिरहे ।
हुर्कंदो चेतनासँगै प्रोल्लासले आफ्नो काव्यिक क्षमतालाई उजिल्याउँदै पनि गए । अप्रकाशित र बुइँगलमै थन्किएका पाण्डुलिपि प्रकाशित गरेर बाबुको कृतित्वलाई मर्न पनि दिएनन् ।
बाबु उमानाथ शास्त्रीकृत ‘मकवानी–बाला’ महाकाव्य नेपाली साहित्य फाँटको विराट कृति मानिन्छ । कविता–सङ्ग्रह, कथा– सङ्ग्रह, उपन्यासआदि गरी प्रोल्लासका पनि १५ थान कृति नेपाली साहित्य फाँटमा छन् । “मेरो साहित्यचेतसँग कतै न कतै पिता जोडिएर आउनुहुन्छ । उहाँकै रचना पढेर कवितामा बामे सर्न जानेको हुँ,” पितृऋणी देखिन्छन् प्रोल्लास ।
‘फाफुरा’को बाटोमा ‘फाफुरा’
२०२० को दशकमा नेपालमा जासुसी उपन्यासका निकै पाठक थिए । यी पाठकका मूलस्रोत थिए– ‘दीर्घबाहु’ । तर जासुसी उपन्यास लेखेर पाठकको हृदयमा रहस्य, रोमाञ्च र अपराधका आयामसँग चिनापर्ची गराउने ती ‘लामाहाते’ को हुन्, कसैलाई थाहा थिएन ।
ती थिए श्रीधर खनाल ।
श्रीधर दीर्घबाहुका अतिरिक्त ‘समानान्तर’, ‘विश्वामित्र’ आदि अनेक छद्म नामबाट उत्तिकै सक्रिय थिए । ती सबैका आ–आफ्नै पाठक थिए । आ–आफ्नै पठनवृत्त थियो । हास्यव्यङ्ग्यकार, जासुसी उपन्यासकारआदि अनेक परिचयमा बाँचेका श्रीधर खनाल पत्रकारिता क्षेत्रमा पनि उत्तिकै विलक्षण थिए । आफैँ सम्पादक रहेको ‘संरक्षक’ पत्रिका साप्ताहिक भए पनि ‘ब्रोडसिट’ आकारमा निस्कन्थ्यो । तिनताका ‘संरक्षक’ पत्रकारिताको मात्रै होइन, साहित्य क्षेत्रको पनि कोशेढुङ्गा थियो ।
निबन्धमा पनि श्रीधर उत्तिकै पारङ्गत थिए । ‘नमरी संसार देखिन्न’ निबन्ध सङ्ग्रह उनलाई चिनाउन पर्याप्त छ ।
बाबुकोको अद्वितीय प्रतिभा, विराट क्षमताको सोझो प्रभाव ब्रजेश खनालमा पनि पर्यो ।
“बाबु जतिबेला पनि लेखनमै सक्रिय रहने । हामीसँग संवाद गरेको हो कि, अक्षरसँग केही थाहा नहुने,” बाल्यकालतिर फर्कन्छन् ब्रजेश ।
दीर्घबाहुले इन्स्पेक्टर खरेल शृङ्खलामा ‘मुर्कट्टा लास’, ‘छऔँले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ आदि जासुसी उपन्यास लेखेका थिए । डिटेक्टिभ कमलराज रुपाखेती शृङ्खलामा पनि जासुसी उपन्यास चलेको थियो । ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घन्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नांगिएकी सुन्दरी’ त्यस शृङ्खलामा जन्मिए ।
डाक्टर राम महर्जन शृङ्खलामा ‘हङकङको व्यापारी’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’ जासुसी उपन्यास प्रकाशित भयो । यी सबै ब्रजेशका पनि ‘खजाना’ भए । जासुसी उपन्यासमार्फत् साहित्य विचरण गर्ने माध्यम बने ।
“बाबुको चाहना अरू नै पुस्तक पढोस् भन्ने थियो तर जासुसी उपन्यास पाएपछि अरू कसले पढोस् । बाबुको जासुसी उपन्यास पढेर रोमाञ्चित हुन थालेँ । त्यसले बिस्तारै लेखन कार्यमा डो¥याउन थाल्यो,” उनी लेखनका शुरूआती दिन सम्झन्छन् ।
श्रीधर शब्दका कुशल ‘खेलाडी’ थिए । पारखी थिए । बान्किला अक्षर कोर्थे । अक्षर यतिविघ्न गाढेर लेख्थे कि, दुई–तीन पाना पछाडिसम्म के लेखेका हुन्, बुझ्न कठिन हुँदैनथ्यो । लेख्दालेख्दै उनको माझी औँलोमा ठेला नै बसेको थियो ।
बज्रेशमा अक्षर शिल्पबाहेक बाँकी गुण सरेका छन् । बाबुको पथिक बन्न सजिलो पनि भएको छ ।
बाबुको पदचिह्न पछ्याउँदै हिँडेका ब्रजेशको परिचय पनि बहुआयामिक छ ।
उपन्यासकार, स्तम्भकार, रङ्गसाधकका अतिरिक्त चलचित्र पटकथाकार ब्रजेशको नाम अघिल्तिरको उपसर्ग बनेका छन् ।
श्रीधर खनालको व्यङ्ग्य चेत पनि उम्दा थियो । ‘फाँइफुट्टी राज’ श्रीधर खनालले नै जन्माएको स्तम्भ हो ।
तर उमेरले नेटो काट्दै जाँदा स्तम्भ ओझेल पर्यो । बाबुको बिँडो ब्रजेशले थामे । उनले केही समय ‘फाँइफुट्टी राज’लाई ब्युँताए ।
‘यायावर’, ‘जुनेली’ आख्यान र गैरआख्यानतर्फ ‘साइड हिरो’मार्फत् मुखरित भएका ब्रजेश स्तम्भमा पनि उत्तिकै बाँचेका छन् ।
“साहित्यकर्ममा जत्ति नै दत्तचित्त भए पनि बाबुको उचाइ पुग्न सक्दिनँ,” बाबुको साहित्यिक चेतप्रति सदैव नतमस्तक र अनुग्रहित छन् ब्रजेश ।
मौका पाएर पनि नपढ्ने ‘भुस’
लेखनमा अलग्गै छवि र शिल्प निर्माण गरिरहेकी ऋचा भट्टराई आफूलाई सदैव ‘भाग्यमानी’ ठान्छिन् । यसकारण कि, कोक्रो देख्ने उमेरमै उनको किताबसँग नाता गाँसियो । किताबकै विराट आलोकमा उनले देश–दुनियाँ जान्न र बुझ्न पाइन् । बामे सर्ने उमेरमै किताबसँग नाता गाँसिदिने अरू कोही थिएनन्, उनकै पिता डा. गोविन्द भट्टराई थिए ।
संसार देख्नुपूर्व नै किताबमा दृष्टि परेकाले होला, ऋचा अहिले तिनै पुस्तकको माध्यमबाट साहित्यिक संसारको विचरण गरिरहेकी छिन् ।
धनकुटाका रैथाने भट्टराई परिवार । गोविन्द भट्टराई बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म किताबमै आँखा लगाउँथे । पढ्नु र लेख्नु उनको नित्यकर्म थियो । हमेसा किताबमै दृष्टि पुर्याइरहेकाले शयन कक्ष र पुस्तकालय छुट्टयाउन हम्मेहम्मे पथ्र्यो ।
जतिबेलै बेञ्चीमा बसेर किताबमा घोरिइरहेको देख्दा ऋचाको बालमस्तिष्कमा प्रश्नले घोच्दो रहेछ– “अरूका बाबु अर्थोक नै गर्छन्, हाम्रा बा पढिमात्रै रहन्छन् किन होला ?”
यही प्रश्नले नै डोहोर्याएर ऋचालाई लेखनमा पुर्यायो ।
बालबच्चाले अध्ययनमा व्यवधान खडा नगरून् र उद्देश्यमा बाधा नपुगोस् भनेर छोरीहरूलाई पनि पढ्नमै प्रेरित गर्थे ।
ऋचा खासै पढ्न मन नगर्ने ।
बाबुले उपाय पहिल्याए– “तुरुन्तै एक पाना लेखेर ल्याऊ !”
किताबमा आँखा लगेकै छैन ? कसरी पाना भर्नु !
“बाबुको पढाउने त्यही ‘कूटनीतिक’ शैलीले किताबसँग नाता गाँसिदियो,” ऋचा अहिले सम्झिन्छिन् ।
तैपनि ऋचाको अल्छ्याइँ दूर भएन । बाबुको आँखा छल्नासाथ उनी बाहिर निस्किहाल्थिन् ।
विबान् गोविन्द सम्झाउँथे– “हेर मौका पाएर पनि पढेनौ भने भुस हुन्छौ । पढेनौ, लेखेनौ भने जङ्गली हुन्छौ ।”
पढ्न अल्छी लागे पनि ऋचालाई भुस हुनुथिएन । पोगटा पनि हुनु थिएन । जङ्गली त झन् हुँदै हुनुथिएन ।
भुस हुने भयले उनलाई पढ्नमै बाँधिरह्यो ।
३०३१ सालम ‘मुग्लान’ उपन्यासमार्फत् साहित्यमा पदार्पण गरिसकेका भट्टराई आफैँ ‘मुग्लाने’ हुन् । अध्ययनका लागि उनी पनि केही समय भारत प्रवासमा रहे । भारत जाँदा उनले छोरीहरूलाई पनि साथै लैजान्थे । देशदेशावर चिनाउँथे । किताबमा संसार पढून्, आँखाले संसार देखून् भन्ने उनको अभिष्ट थियो ।
भारतमा जाँदा ट्रेन रोकिनै हुँदैनथ्यो । भट्टराई बाहिर निस्किहाल्थे । बालसाहित्यका पुस्तक किनेर ल्याउँथे ।
कक्षा कोठामा पढाइने पुस्तकभन्दा ती पुस्तक निकै रसिला थिए । स्वादिला पनि थिए । आमा–हजुरआमाले सुनाउने कथा–कुथुङ्ग्रीजस्ता मीठामीठा पनि थिए । भन्छिन्, “ती किताबले पत्तै नपाई साहित्यसिर्जनातर्फ डोहोर्यायो ।”
निबन्ध, उपन्यास, कविता, समालोचनाआदि साहित्यका सबैजसो विधामा समानान्तर कलम चलाएका डा. भट्टराईका ४० भन्दा बढी कृति प्रकाशित छन् ।
अंग्रेजी विषयका प्राध्यापक डा. भट्टराईले साढे तीन दशक विश्वविद्यालयमा व्यतीत गरे। कञ्चट फुलाए । प्राध्यापन पेशाबाट निवृत्तभइसकेका भट्टराईले साहित्य सिर्जनाबाट भने अवकाश लिएका छैनन् । जीवनका उत्तराद्र्धमा पनि एक नियात्रा र निबन्धमा काम गरिरहेका छन् ।
लेखपढ सास फेरेजस्तै प्रक्रिया हो । सासले जीवनलाई जीवन्त तुल्याउँछ ।लेखपढले ज्ञानलाई जीवन्त राख्छ । बाबुको यही शिक्षा ऋचाको ज्ञानको स्रोत बनेको छ ।
ऋचामा अर्को पनि पितृ गुण सरेको छ ।
बुढेसकालमा आइपुगिसकेकाले डा. भट्टराई निकै अत्यास मान्न थालेका छन् । उनमा एकप्रकारको चिटचिटाहट देखिन्छ । उमेर पाको भयो, शरीर थला बस्ला भनेर होइन । पढ्न, लेख्न नसकिएला र ज्ञान थला बस्ला भनेर ।
बाबुको यही आदर्श पछ्याएकी ऋचालाई पनि अत्यास लाग्न थालेको छ । पुस्तकालयको ढोकाभित्र पसेपछि उनीमा पनि एकप्रकारको चिटचिटाहट निःसृत हुन थाल्छ– “यत्रा पुस्तक मैले कैले पढिभ्याउने होला ? पढ्न नभ्याउँदै उमेरले नेटो पो काट्ने हो कि !”
यही छटपटी र हतारोले उनलाई हमेसा पढ्न, लेख्न उत्प्रेरित गरिरहेको छ । ‘द काठमान्डु पोस्ट’मा पाक्षिक पुस्तक समालोचनाको स्तम्भ ‘पेज टर्नर’ मार्फत् मुखरित हुँदै आएकी ऋचाको कथा–सङ्ग्रह ‘फिफ्टिन एण्ड थ्री क्वार्टर्स (२०६८)’ प्रकाशित छ ।
“अहिले मलाई साहित्य साधना र समालोचना सहायक र पढ्नु नै जीवनको मुख्य काम लाग्न थालेको छ,” बाबुकै बाटोमा हिँडेकी ऋचा जीवन–अनुभूति पस्कन्छिन् ।
मदनको विराटता पछ्याउँदै इल्या
महाभारतका व्यासका पात्रलाई विनिर्माण गरी माधवी जन्माउने सर्जक मदनमणि दीक्षित नेपाली साहित्यको उच्च नाम हो । माधवी (२०३९)का अतिरिक्त मदनकृत उपन्यास त्रिदेवी (२०५१), भूमिसुक्त (२०५८) नेपाली साहित्यमा उत्तिकै ओजपूर्ण छन् । विशेषतः मदनका रचनामा पूर्व वैदिक, मध्य वैदिक र उत्तर वैदिक कालका परिवेश र इतिहास सङ्घटन गरिएको पाइन्छ । छोरी इल्या पनि बाबुको बाटो समात्न आइपुगेकी छन् । कथा र नियात्राको क्षेत्रमा समानान्तर कलम चलाउने इल्ला सशक्त नारी हस्ताक्षर हुन् ।
कथायात्राका क्षेत्रमा अढाइ दशक व्यतीत गरेकी इल्या प्रायशः लघुतम् र छोटाछोटा संरचनाका कथा सिर्जना गर्न रुचाउँछिन् । प्रायः लामा शीर्षक राख्छिन् । मदनको सिर्जनात्मक गुण यीनमा पनि सरेको छ । युगबोध र सामाजिक यथार्थवाद कथा–चरित्र बाबुकै आनुवंशिक प्रभाव मान्न सकिन्छ । प्रथमपुरुष दृष्टिविन्दुमा सरल, सरस र शिल्पवद्ध भाषामा कथा निर्माण गर्ने इल्याका रचना वर्तमान समयका प्रतिविम्बन बनेका छन् । २०४३ सालमा गरिमा पत्रिकामा ‘पुतली’ शीर्षकको कथा छपाएर यात्रा आरम्भ गरेकी इल्याको ‘मन मनै त हो (२०६०)’, ‘अनि... (२०६२)’, ‘निःशब्द प्रश्नहरू (२०६३)’ कथा–सङ्ग्रह प्रकाशित छन् ।
नियात्रा पनि समान लयका साथ अघि बढेकी छिन् इल्या । उनको ‘लफवराको वरिपरी (२०६१)’, ‘दक्षिणायन (२०७५)’ प्रकाशित छ । दक्षिणायनले २०७५ सालको उत्तम शान्ति पुरस्कारसमेत पायो । नेपाली साहित्यमा अरू धेरै नाम छ । जो बाबुकै बाटो पछ्याउँदै आफ्नो साहित्यिक चेत उजिल्याइरहेका छन् ।
डा. इशान गौतम पनि अर्का अनुहार हुन् । नेपाली साहित्य–सिर्जनाका ध्रुवतारा डा. ध्रुवचन्द्र गौतमका छोरा इशान बाबुकै पथिक बन्न आइपुगेका छन् । इशान नेपाली साहित्यलाई उत्तिकै तदारुकताका साथ अघि बढाइरहेका छन्