
काठमाडौं । नारी साहित्यकारहरूको संस्था गुञ्जनको २३ औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा गुञ्जनले चार जना स्रष्टाहरूलाई पुरस्कृत एवम् सम्मानित गरेको छ ।
काठमाडौंमा शुक्रबार गुञ्जनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक राजेन्द्र सुवेदीले स्रष्टाहरू आख्यानकार परशु प्रधान (गुञ्जन साहित्य पुरस्कार - २०७६), कवि सरिता तिवारी (गुञ्जन प्रतिभा पुरस्कार- २०७५), कवि सपना थामी (गुञ्जन बहुभाषी स्रष्टा सम्मान- २०७५) तथा भद्रकुमारी घलेलाई (गुञ्जन जेष्ठ नागरिक सम्मान– २०७६) पुरस्कृत तथा सम्मानित गरे ।
सम्मानित स्रष्टाहरूलाई पुरस्कारका अतिरिक्त नगद राशी क्रमशः १५-१५ हजार, १० हजार र ५ हजार प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले नारीको संघर्ष नारी बाहेक अरुले बुझ्न नसक्ने बताउँदै गुञ्जनले दिएको साहित्यिक निरन्तरताको प्रसंशा गरे । सुवेदीले साहित्यमा जनताका कुरा लेखिने हुँदा समाजको वास्तविक इतिहास साहित्यमै लेखिने स्पष्ट पारे ।
कथाकार भागीरथी श्रेष्ठ तथा समीक्षक ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित स्रष्टाहरूको विस्तृत परिचय दिए । गुञ्जनकी अध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा भद्रकुमार घले, सरिता तिवारी, सपना थामी तथा प्रतीक प्रधानले आफ्नो मन्तव्य राखे ।
प्रतीक प्रधानले गुञ्जन संस्थालाई रु. १० हजार सहयोग राशी प्रदान गरे । भद्रकुमारी घलेले गुञ्जनको कार्यालयका लागि एउटा आफ्नो संस्थामा एउटा कोठा उपलब्ध गराउने वचन दिइन् । आख्यानकार परशु प्रधानको पुरस्कार उनका सुपुत्र प्रतीक प्रधानले ग्रहण गरेका थिए । उक्त अवसरमा ‘गुञ्जन स्मारिका– २०७६’ पनि विमोचन गरियो ।