
पछिल्लो पुस्ताको सक्रिय लेखक हुन् आन्विका गिरी । उनलाई साहित्यजगत्मा ‘कम्युनिस्ट’ शीर्षकको कथाले चिनाएको हो । उनको उपन्यास पनि केही वर्षअघि प्रकाशित भइसकेको छ । पुस्तक लेखनको सुरुआत बालसाहित्यबाट गरे पनि केही समय भने उनी प्रौढ साहित्यतिर आकर्षित भइन् । अहिले पुनः बालसाहित्यतिर केन्द्रित हुन थालेकी छन् । गत साता उनका २ वटा बालपुस्तक ‘सानीका ज्ञानी कुरा’ र ‘आमाले सक्नुहुन्छ’ एकैसाथ सार्वजनिक भए । यी दुईसहित उनले पाँचवटा बालपुस्तक लेखिसकेकी छन् । बालसाहित्यमा लाग्नुको कारण, नेपाली आख्यानसाहित्यको अवस्थालगायतका विषयमा गिरीसँग बाह्रखरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सारः
कथा–उपन्यास लेख्दालेख्दै बालसाहित्यतिर लाग्नुभयो नि ?
मेरो पहिलो किताब नै बालसाहित्यको थियो । त्यतिखेर २०६१ सालमा ‘हाम्रा कुरा पनि सुन्नुस’ शीर्षकको पुस्तक निकालेको थिएँ, जसमा सातवटा कथा समावेश थियो । त्यतिखेर मेरो उक्त पुस्तकको त्यति चर्चा पनि भएन, किनकि समग्र बालसाहित्यको नै चर्चा थिएन । अहिले पनि खासै छैन । तर प्रौढ साहित्यको चाहिँ धेरै चर्चा हुने देखेपछि प्रौढ लक्षित लेखनमा आकर्षित हुन थालेँ ।
यसबीच मैले आफ्नो छोरीको लागि किताबहरु खोज्न थाल्दा बजारमा पाउन सकिनँ । नपाएपछि म आफंै लेखक भएका नाताले गुनासो गर्नुभन्दा पनि आफंै लेखौं भन्ने सोच आयो र म बालसाहित्यतिर अलि सचेत र जिम्मेवारीपूर्ण तरिकाले आकर्षित भएको हो ।
प्रौढ साहित्य लेख्न सजिलो कि बाल साहित्य ?
बालसाहित्य लेख्न गाह्रो हुन्छ । बालसाहित्य लेख्दा भाषा, पात्र, प्रस्तुतिलगायत धेरै कुरा सोच्नुपर्ने हुन्छ । हामीले कति कुरा उनीहरुलाई बुझाउनका लागि लेख्छौं । कति कुरा भने उनीहरुको मनोभावना दर्शाउन । प्रौढ साहित्यमा जस्तो सीधासीधा जटिल कुराहरु लेख्न मिल्दैन । र, बच्चाहरुको किताबमा चित्रमा पनि काम गर्नुपर्ने भएकोले लेखक आफंैले चित्रको कल्पना गर्नुपर्ने हुन्छ । लेखक आफैं चित्रकारसँग बसेर सल्लाह गर्नुपर्छ । त्यहि भएर मलाईचाहिँ बालसाहित्य लेख्न गाह्रो हो जस्तो लाग्छ ।
बालसाहित्य लेख्दा केके कुरामा ध्यान दिनुपर्छ ?
लैङ्गिक, सांस्कृतिक र भौगोलिक रुपमा सन्तुलन छ कि छैन भनेर हेर्छु म । त्यसपछि, कसरी नकारात्मक कुराहरु कमभन्दा कम प्रयोग गर्ने र बालबालिकालाई नै निर्णय गर्न दिने भन्ने विचार गर्छु । किताब पढ्न दिने भनेकै बच्चाहरुको सोचाइ फराकिलो होस्, एउटै कुरालाई विभिन्न कोणबाट हेर्न सकून भनेर हो । त्यसैले हरेक कुरामा एकदमै सचेत हुनुपर्छ । बालसाहित्य लेख्दा निकै सचेत हुनुपर्छ ।
पछिल्लो समय कथा–उपन्यासको बजार कमजोर हुँदै गएको देखेर बालसाहित्यमा लाग्नुभएको हो ?
बालसाहित्यको बजार अहिले पनि खासै छैन । बालसहित्यलाई अहिले पनि खासै महत्व दिइँदैन । बाह्रखरीले सुरुदेखि नै कला–साहित्यलाई स्थान दिइरहेको छ, तर कतिवटा बालसाहित्यको विषयमा छलफल भयो ? कति बालसाहित्यका लेखकसँग कुराकानी भयो भनेर हामीले अर्काइभमा गएर हे¥यौं भने प्रष्ट भइहाल्छ । बच्चाहरुको लागि किताब लेख्नु एकदम सजिलो कुरा हो भन्ने सोचिन्छ । त्यो १–२ लाइनको कथा त एक बसाइमै लेख्न सक्छु भन्ने भ्रममा कोही पनि नपर्नुहोला भन्न चाहन्छु ।
केटाकेटीलाई किताबतर्फ आकर्षित गराउन सजिलो छैन । अर्को कुरा, म अरु साहित्य ठीकै लेखिरहेको थिएँ, त्यही भएर बालसाहित्यमा आएको बिलकुलै होइन । म एकदम सचेततापूर्ण तरिकाले मेरो छोरीको उमेरका केटाकेटीले नेपालीमा किताब पढ्न सजिलै पाउन् भनेर बालसाहित्यमा लागेको हुँ । अहिले विद्यालयका पाठ्यक्रममा नेपाली किताबहरु छँदैछैन । यही खाडललाई आफ्ना तर्फबाट केही पुर्न सक्छु कि भनेर एकदमै सोचेर यस क्षेत्रमा लागेको हुँ । र, यसमा म निकै खुसी पनि छु ।
बालसाहित्यको खासै चर्चा नहुनुको कारण के देख्नुहुन्छ ?
लेख्न त धेरैजनाले बालसाहित्य लेखिराखेको देखिन्छ । तर हामी बच्चालाई दिएको किताब ऊ आफैंले पढोस् भन्ने चाहन्छौं । सबैभन्दा ठूलो कुरा त पाठ्यक्रबाहिरको किताब आफ्ना छोराछोरीलाई पढाउने चलन नै छैन । यसकारण पन बालसाहित्यको चर्चा हुन सकेन । यसलाई कतैबाट पनि महत्व नै दिइएन । ठूल्ठूला लेखकले लेखेका प्रौढसाहित्यको मात्रै चर्चा छ । केटाकेटीलाई उनीहरुको किताब हामी आफंै उनीहरुसँगै बसेर–पढेर सुनाउनुपर्छ । यसले उनीहरुको पढाइप्रति आकर्षण बढ्न जान्छ ।
बालबालिकालाई कस्तो खालको साहित्य लाभदायी हुन्छ भन्ने लाग्छ ?
उनीहरु के पढ्न चाहन्छन्, कस्तो खालको किताब पढ्दा उनीहरुलाई रमाइलो लाग्छ र उनीहरुको सोचलाई पनि फराकिलो बनाउँछ भन्ने कुरा मुख्य हुन्छ । सबै शिक्षाप्रद नै हुनुपर्छ भन्ने पनि छैन । रमाइलो लाग्दालाग्दै बच्चाको कल्पनाशीलता बढोस, प्रश्न गर्न सिकोस्, आफनो वरिपरिको समाज र संस्कृतिको बारेमा बुझोस् । त्यस्ता किताबहरु लेखियो भने राम्रो हुन्छ ।
मोबाइल, युट्युबमा भएका विषयवस्तुमा हाम्रो नियन्त्रण नहुन सक्छ । तर पुस्तक हामी आफैंले किनेर दिने भएकोले बच्चाले यो पढ्दैछ है भन्ने जानकारी हामीलाई हुन्छ ।
युट्युबको कुरा गर्नुभयो, अहिलेका बालबालिका मोबाइल, ल्यापटपजस्ता आधुनिक प्रविधिमा रमाउँदै छन् । पुस्तकतर्फ उनीहरुको ध्यानाकर्षण कसरी गर्न सकिएला ?
सर्वप्रथम, हामी अभिभावक तथा शिक्षकशिक्षिकाले आफैं पुस्तक पढेर उनीहरुलाई सुनाउनुपर्छ अनि उनीहरुलाई आफू सँगसँगै पढ्न प्रेरित गर्नुपर्छ । उनीहरुले पनि पढेको सुन्ने र त्यस विषयमा छलफल गर्ने गर्दा विस्तारैविस्तारै उनीहरुमा पढ्ने बानीको विकास हुन्छ ।
हामीले मोबाइल पनि उनीहरुलाई हेर्न दिएर र सँग सँगै हेर्दै यो हेर भन्दै सिकाएको हो नि ! सुरुमै उसले मोबाइल लिएर चलाउन जानेको होइन, हामी आफंैले बानी बसालिदिएको हो ।
तपाईंको कथा पाठकले निकै रुचाएका थिए । तर पछिल्लो उपन्यास (मान्छेको रङ्ग) त्यति चलेन नि ?
म किताब लेखिसकेपछि त्यसको चर्चा गर्ने गर्दिनँ । अहिले पनि म यो किताबमा कुरा गर्नुको कारण भनेको बालसाहित्यको चर्चा मूलधारमा आओस्, धेरैभन्दा धेरै मान्छेले मेरो किताबमा होइन, बालसाहित्यमा रुचि राखून् भनेर हो । ‘मान्छेको रङ्ग’को कुरा गर्नुपर्दा, त्यसको पनि तेस्रो संस्करण आयो । रेस्पोन्स अहिलेसम्म मैले पाइरहेकै छु । धेरै हल्लखल्ला गर्ने बानी नभएको कारण त्यस्तो देखिएको होला ।
अरु बेला समाजिक सञ्जालमा मेरो किताबबारे कमेन्ट गर्दा पनि रिट्विट कहिल्यै गरिनँ । तर बालसाहित्यको अहिलेको पुस्तकमा चाहिँ गरिरहेको छु ।
कुनै कथा भन्नुपर्छ भन्ने लागेर नै हो मैले लेखेको । कालान्तरमा चाहिँदा पाठकले खोज्लान् नै । खोजेनन् भने पनि गुनासो गर्ने कुरा भएन ! मान्छेको रङ्गको समीक्षा पनि सबै पत्रपत्रिकामा आएकै हो । चर्चा भए पनि ठीकै छ नभए पनि ठीकै छ । तर समग्रमा साहित्यको नेपाली पाठक बढून् भन्ने त हामी सधैं चाहन्छौं नै ।
पाठक बढाउनको लागि ‘प्रमोसन’ पनि जरुरी छ जस्तो लाग्दैन तपाईंलाई ?
जरुरी भैसकेको छ । त्यही भएर मलाई दिक्क लाग्छ । किनभने, म त्यसरी भीडमा छिर्न सक्दिनँ, गाह्रो लाग्छ । यो पटक पनि बालसाहित्य नहुँदो हो त यी २ किताबहरुको बारेमा पनि पब्लिक्ली आउँदैनथेँ ।
तपाईं साहित्यमा महिलाको हक–अधिकारको बारेमा पनि आवाज उठाउँदै आउनुभएको लेखक, बालसाहित्यमा त्यसलाई कसरी उठाउनुभएको छ ?
पिछडिएको, दमनमा पारिएको, चाहे त्यो महिला, मधेसी हुन् या अरु कोही– उनीहरुको बारेमा एक सचेत नागरिकको नाताले म बोलिरहेको छु । बालसाहित्यमा पनि हामीले सबै समान छौं र समान व्यवहार भएको छैन भने त्यो गलत हो र त्यसका विरुद्धमा बोल्नुपर्छ भनेर लेख्छु म ।
अव पाठकले कुन नयाँ किताब पढ्न पाउँछन् तपाईंको ?
अहिलेचाहिँ म ‘नाक कसरी ठाडो हुन्छ’ भन्ने बालकिताबको पुनःप्रकाशनको तयारीमा छु । त्यसमा १२–१३ वर्षका केटाकेटीलाई आफ्नो शारीरिक बनावटलाई लिएर हुने असन्तुष्टिबारे लेखिएको छ । शारीरिक बनावट महत्वपूर्ण होइन, जीवन चलाउन सक्ने क्षमता हो– जुन हरेक व्यक्तिमा फरकफरक हुन्छ भन्ने कुरा बुझाउन खोजेको छु ।
यसलाई उपन्यास शैलीमा तयार गर्दैछु र नाम पनि अर्कै राख्दैछु । अर्को कामचाहिँ, टिनएजर्सलाई लक्षित किताबको ड्राफ्ट सकेर केही साथीलाई पढ्न दिएको छु, त्यसको प्रतिक्रियाको पर्खाइमा छु ।