
संगीतमा चुर्लुम्मै डुबेका उनी जलेश्वरबाट बम्बईतर्फ हान्निए । हुनत, जलेश्वरमै रहँदा पनि गीत गाउने र गीत लेख्ने काम नगरेका होइनन् उनले । साथीहरूसित मिलेर स्थानीय बासिन्दाको मनोरञ्जनका लागि उनको सांगीतिक र सांस्कृतिक सक्रियता कायमै थियो । तर, त्यतिले मात्रै गीत संगीतको प्यास कहाँ मेटिनेवाला थियो र !
उतिखेर नेपालमा गीतसंगीतको प्रचलन खासै थिएन । हिन्दी फिल्मी गीतकै माहोल थियो । त्यसैले पनि उनको नजर हजारौँ माइल टाढाको बम्बई अर्थात् मुम्बईमा परेको हुनसक्छ ।
एक दिन उनी घरमा कसैलाई नभनेर मुम्बईका लागि निस्किए । बोर्डर नजिकै थियो । बोर्डर क्रस गरेर उनी अनेक गर्दै मुम्बई पुगे । र, लागे आफ्नो चप्पल घिस्न ।
त्यो फिल्मी महानगरमा पुगेर उनले अनेकन् स्टुडियोहरूको चक्कर लगाए । संगीतकारहरु समाए । कोरस गायकको सदस्यता लिए । र भर्न थाले कोरसमा आवाज ।
कोरसमा आवाज दिने काम पनि गाहै्र थियो । मूल गायकलाई कोरसमा साथ दिनु पनि सहज थिएन । यद्यपि उनको यो कर्म निरन्तर अगाडि बढ्दै गयो ।
बुधबार नयाँ बानेश्वर थापागाउँस्थित उनको घरमा कुरा गरिरहँदा सुमनकुमार उपाध्याय अर्थात् गायक संगीतकार र गीतकार सुमनकुमार नेपाली (८६)को मुहारमा मृदुमुस्कान फैलियो । उनी भन्छन् “त्यसबेला म भागेर गएको थिएँ बम्बई । संगीतको अत्यधिक आकर्षण र मोहले नै सायद त्यो गराएको थियो । त्यसपछि अनेक गरेर मैले कोरस कलाकारका रुपमा काम पाएँ । जसका लागि एउटा गीतमा मैले १ सय ५० रुपैयाँ पाउँथेँ ।”
सुमनकुमारका अनुसार महिनामा दुई चार वटा कोरस भइहाल्थ्यो । र दिन गुजार्न खासै गाह्रो पर्थेन । यसरी गायक संगीतकार सुमनकुमारले मुम्बईमा करिब पाँच वर्षको समय बिताए ।
मुम्बई कथा सुनाए उनले । त्यहाँ दुःख स्वभाविक थियो । काम नपाउने दुःख थियो । तर आफूले अरूले भनेजस्तो खासै दुःख नभोगेको उनको अनुभव छ ।
महिनामा दुई तीन वटामात्रै पनि कोरस गीतमा काम गर्दा पनि महिना चल्ने उनी सम्झन्छन् । ५० पैसामा पेटभरी खाना खान पाइन्थ्यो । चालमा साथीभाइसित मिलेर बसिन्थ्यो । त्यसैले पनि कठिनाई खासै नभोगेको उनको भनाइ छ ।
कोरसमा आवाज दिनका लागि पनि एउटा संस्थाको सदस्य हुनुपर्ने भएकोले उनी पनि त्यस्तो संस्थाको सदस्य भएका थिए । सदस्य भएपछि संगीतकारहरूले कोरसका बेला बोलाउँथे ।
उनी सम्झिँदै थिए संघर्षका ती दिन, “मैले संगीतकारहरू चित्रगुप्त र नौसादसँग धेरै काम गरेँ । बम्बई सेन्टरलगायतका धेरै स्टुडियोमा गएर मैले कोरसमा आवाज दिएको छु । लता, रफी, आशा लगायतका मूल गायक हुन्थे ।”
यसरी घरबाट भागेर मुम्बई पुगेका सुमनकुमारले करिब पाँच वर्षको समय बिताए । यसरी बम्बईमा दिन बिताउँदै जाँदा उनलाई घरको पनि सम्झना भयो । अनि उनी घर फर्किए ।
कुराकानीको क्रममा एउटा अर्को कुरा पनि बताए । जलेश्वरका सुमनकुमार उपाध्याय कसरी सुमनकुमार नेपाली भए ? भन्ने प्रश्न गर्दा उनी हाँसे । भने, “बम्बई पुगेपछि मलाई लाग्यो, म त नेपालबाट आएको नेपाली हुँ । मैले आफ्नो केही पहिचान दिनुपर्छ । त्यसपछि मैले आफ्नो नामबाट उपाध्याय हटाएँ र नेपाली लेख्न थालेँ ।”
यो नाम नेपाल फर्केर रेडियो नेपालमा गीत गाउँदा पनि उनले यथावत् नै राखे ।
०००
गायक सुमनकुमार नेपालीको बाल्यकाल तत्कालिन महोत्तरी सर्लाही गोश्वारा अन्तरगतको ठूलो बजार जलेश्वरमा बित्यो । उनी जलेश्वरमै जन्मिएका हुन् ।
प्रारम्भमा उनको पठनपाठन पनि सबैको जस्तो घरमै भयो । त्यसपछि स्थानीय विद्यालयमा पढ्न जान थाले । तर जलेश्वरमा हाईस्कुलको स्थापना नभइसकेकोले उनलाई उनका पिताजीले संस्कृत पढ्न भनेर मटिहानी संस्कृत विद्यालयमा भर्ना गरिदिए ।
मटिहानीमा त्यसबेला संस्कृत विद्यालयको स्थापना भइसकेको थियो । त्यसैले उनका पिताजीले उनलाई संस्कृत पढाउनु पर्छ भनेरै मटिहानी पठाएका थिए । त्यसैबेला उनले लघु सिद्धान्त कौमुदी, अमरकोष जस्ता संस्कृतका पुस्तकहरू पढे ।
तर पढाईसँगै गीत गायन र संगीतप्रतिको उनको रुची झाँगिँदै गएको थियो । त्यसैले पनि उनी जलेश्वरस्थित एउटा थिएटर कम्पनीसँग पनि जोडिएका थिए ।
आफूमा गीत संगीतप्रति सानै उमेरदेखि रुची रहेको उनी बताउँछन् । उनी सानै हुँदा स्थानीय राजदेवी मन्दिरमा हुने भजन कार्यक्रममा भजन गाउन जान्थे । उनका पिताजी पनि भजनमा तबला बजाउनु हुन्थ्यो । अर्थात् संगीतको पारिवारिक वातावरण उनको घरमा थियो ।
तर उनकी हजुरआमा भने सुमनकुमारको गीत संगीतप्रतिको लगावलाई लिएर दिक्क मान्थिन् । उनी भन्थिन् रे, ‘यसले मगन्ते भएर खान्छ कि के हो ?’
सुमनकुमारका अनुसार त्यसबेला राजदेवी मन्दिरको कमिटीले समयसमयमा भजनको व्यवस्था मिलाउँथ्यो । मनोरञ्जनका लागि त्यो एउटा सशक्त माध्यम भएको सुमनकुमारको तर्क छ ।
कुराकानीको क्रममा त्यसबेलाको जलेश्वर सम्झिए उनले । भन्छन्, “बडो रमाइलो थियो जलेश्वर । बजार सानो भए पनि व्यस्त थियो । वरपरका दसौँ गाउँबाट बजार भर्न जलेश्वर आउने गर्थे मानिस ।”
जलेश्वरमा मिस्रित समुदायको बसोबास थियो । सरकारी कार्यालयहरु पनि भएकोले चहलपहल स्वभाविक थियो । जलेश्वर गाउँ नै भए पनि राम्रो थियो । उतिबेलाका साथीहरू विश्वनाथ, तेजवा, सानेलाई आज पनि सम्झिन्छन् ।
०००
जलेश्वरमा त्यसैबेला राजेश्वरी थिएटर कम्पनीको स्थापना भइसकेको थियो । त्यस कम्पनीले चाडपर्वका बेला नाटक र विभिन्न सांगीतिक कार्यक्रमहरू गर्दैआएको थियो । र यस्ता कार्यक्रमहरूमा सुमनकुमार गीत गाउँथे ।
त्यसबेला नेपाली गीत गाइन्थेन । हिन्दी गीत नै चल्ने भएकोले उनी पनि हिन्दी गीत गाउनमै जोड दिन्थे ।
उतिबेला डम्बरबहादुर र नन्दुले भारतको ग्वालियरबाट संगीत सिकेर आएका थिए । यी दुबैले यो थिएटर कम्पनी खोलेका थिए । र, संगीतमा अथाह रुची भएका सुमनकुमार त्यसमा जोडिनु अस्वाभाविक पनि थिएन ।
तिनै साथीहरुको संगतमा उनले संगीत सिके । हारमोनियमलगायत बजाउन सिके । गीत गाउनु त उनको काम नै थियो ।
जलेश्वरस्थित मूल चोकमा त कहिले कतै स्टेज बनाएर सांगीतिक कार्यक्रम हुन्थ्यो । त्यसबेला मनोरञ्जनको साधन थिएन । फलतः थिएटरको कार्यक्रममा भीडभाड हुन्थ्यो ।
यसरी सुरु भएको उनको सांगीतिक यात्रा आज पनि चलिरहेको छ । उनी भन्छन्, “अहिले पनि म कहिले काँही कीबोर्डमा खेलिरहेको हुुन्छु ।”
उनका अनुसार उनका दाजु पिताजीसँगे खेती किसानीमा भिज्नुभएको थियो । तर उनी भने कहिलेकाँही धान कटाउन जाने बाहेक अरु खेतीको काम खासै गरेनन् ।
०००
उनी मुम्बईबाट जलेश्वर फर्किए । त्यस पछि उनी मुम्बई फर्किएनन् । बरू काठमाडौंतिर उक्लिए उनी । काठमाडौं आएर रेडियो नेपालमा भ्वाइस टेस्ट दिए । पास भए । गीत गाए । र, फेरि जलेश्वर नै फर्किए ।
एक पटक गीत गाउन काठमाडौं आएको बेला राजदरबारमा गीत सुनाउन जाने समूहमा उनी पनि परे । त्यसबेला चाडपर्वको समयमा दरबार गएर गीत गाउनु पर्दथ्यो ।
२०१७ सालको अन्ति तिर तत्कालिन राजा महेन्द्र जनकपुर पुगेका थिए । त्यसबेला उनको सवारी महोत्तरीको प्रकौली ब्यारेकमा भएको थियो । सुमनकुमार जलेश्वरमै थिए ।
त्यहीँ भेटिए राजा महेन्द्रका एडीसी शेरबहादुर मल्ल । सुमनको शेरबहादुरसँग दरबारमा गीत सुनाउन जाँदा नै भेट भएको थियो ।
प्रकौली ब्यारेकमा भएको कार्यक्रममा शेरबहादुरले सुमनकुमारलाई कार्यक्रममा भाग लिन भने । उनले पनि राजा महेन्द्रका अगाडि गीत गाए ।
पछि राजा महेन्द्रले ‘तिमी काठमाडौं आऊ’ भने । र उनी २०१८ सालतिर काठमाडौं आए । केही समयपछि उनको जागिर लाग्यो नाचघरमा ।
पहिलेपहिले काठमाडौं आउँदा रेडियोबाट लाइभ गीत गाउनु पर्दथ्यो । गीत रेकर्ड हुने चलन थिएन । त्यसबेला उनी आफुले गाउने गीत आफै लेख्थे र संगीत दिन्थे । धेरै पछि मात्रै उनका गीतहरू रेकर्ड हुनथाले ।
सुमनकुमार भन्छन्, “म काठमाडौं आएँ । त्यसैबेला मैले एउटा गीत तयार गरेँ । गीत थियो ‘बाटो बनाउ साथी हो....’। त्यसबेला पूर्व पश्चिम राजमार्गको निर्माणको प्रारम्भिक काम हुँदैथियो । यो गीत मनपराइयो । र मैले यो गीत सबैतिर पुगेर गाएर सुनाएँ । फलतः उनको यो गीत पनि चर्चामा आयो ।
नाचघरमा उनले जागिर खाँदा उनको तलब १ सय ५० रुपैयाँ थियो । उनलाई काठमाडौँँभन्दा बम्बईमा सजिलो होइन र ? भनेर सोध्दा उनी हाँस्दै थिए ।
नाचघरमा कार्यरत रहँदा उनी नाचघरबाट हुने कार्यक्रमहरूमा देशविदेश पनि पुगे । त्यहीँका गायक साथीहरूलाई लिएर उनले धेरै गीत लेखेर त्यसमा संगीत दिँदै रेकर्ड पनि गरे ।
उनी भन्छन्, “मैले धेरै गीत लेखेको थिएँ । मैले गरेको गीत कमला, कमल क्षेत्री, निर्मला, गंगा मल्ललगायतका गायक गायिकाले गाएका छन् । मैले लेखेका गीतहरूको एउटा कपि नै हरायो । अहिले त केही पनि छैन ।”
०००
पूर्व पश्चिम राजमार्गको निर्माणका बेला तयार भएर बजेको गीत ‘बाटो बनाउ साथी हो बाटो बनाउ...”ले सुमनकुमारलाई गायकीमा माथि पुर्यायो । उनले आफ्नो मात्रै नभएर अरु गीतकारका गीतमा पनि धुन बनाए र आवाज भरे ।
सुमनकुमार भन्छन्, “मलाई चिनाउने अर्को गीत हो ‘म भोरको किरण हुँ, तिमी रातकी सितारा...’ । यो किरण खरेलको गीत हो । जसमा धुन र स्वर मेरै छ । त्यस्तै गीतकार नीरविक्रम प्यासीको गीत ‘जन्मेका हामी नेपाली...’ले पनि राम्रो चर्चा पायो । ‘ वनको चरी फर्किआयो...’ बोलको गीत आज पनि सम्झन्छु म ।”
उनको गीत त्यसबेला चलेका कलाकारहरुले पनि गाए । उनको जागिर पनि नाचघरमा भएकोले नाचघरसँग सम्बन्ध भएका कलाकारहरुले उनको गीत धेरै गाएको उनी सम्झिन्छन ।
सुमनकुमारले नाचघरमा करिब १३ वर्ष जागिर खाए । अनि २०३२ सालतिर उनले जागिर छाडे र पत्रकारितामा लागे । उनले गीत संगीतका अतिरिक्त ‘एभरेष्ट एक्सप्रेस’ नामको पत्रिका पनि प्रकाशन गरे ।
०५० को दशकको बीचमा उनी फेरि एक पटक मुम्बई गए । उनले केही हिन्दी भजनहरू लेखेका थिए । त्यसमा संगीत दिए । नाम दिए ‘मनकामना दर्शन’ । त्यस भजनमा सुरेश वाडकर, अनुप जलोटा, साधना सरगमलगायतका कलाकारहरुलाई भजन गाउन लगाए ।
आज पनि उनी संगीतसँग जोडिएको महसुस गर्छन् । त्यसैले त मौका मिल्दा कीबोर्डमा बस्छन् ।
उनी भन्छन्, “मैले जति गरेँ, संगीतको उत्थानको लागि नै गरेँ ।”