site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

काठमाडौं । मानिसका जन्मदिन मनाउने आ–आफ्नै सोख हुन्छन् । यसैक्रममा साहित्यकार विज्ञता कार्कीले आफ्नो पुस्तक प्रकाशन गरेर जन्मदिन मनाएकी छिन् । उनको पछिल्लो कृति ‘आँचलको आँगन’  निबन्ध संग्रह प्रकाशन मात्रै भएन, जन्मदिनको अवसरमा त्यसको घुम्टो खोली कार्यक्रम पनि सम्पन्न भयो ।

रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सो पुस्तकको घुम्टो खोली विज्ञतालाई जन्मदिनको शुभकामना दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेखक कार्कीले आफ्नो १८ औं जन्मदिनको अवसर पारेर पाँचौ कृति सार्वजनिक गरेकी थिइन् । ‘आँचलको आँगन’ मा विद्रोहको भाव र सामाजिक न्यायको चर्चा गरिएको छ । कार्यक्रममा मन्त्री भट्टराईले भने, “कला, संस्कृति र साहित्यिक क्षेत्रबाट अनेक जातजाति, भाषा, धर्म एकतामा बाँध्नुपर्छ । लेखक कार्कीजस्ता साहित्यिक व्यक्तिले साहित्यमार्फत् एकताको सन्देश दिनुपर्दछ ।” उनले सो कार्यक्रममा २० वर्षमुनिका किशोर लेखकहरुलाई ध्यानमा राखेर संस्कृति मन्त्रालयले पुरस्कार राख्ने घोषणा समेत गरे ।

कार्यक्रममा लेखक कार्कीले महिला र समाजलाई तुलना गरेर लेखिएका विभिन्न विषयका निबन्धलाई पुस्तकमा समेटेका बताइन् । “नेपाली समाज र महिलाको विभिन्न विषयमाथि लेखिएका निबन्धहरू पुस्तकमा समावेश गरिएको छ,” उनले भनिन् ।

पुस्तकमा ‘जटिल जन्म’, ‘प्रश्नको पर्खाल’, ‘आँसुको आक्रोश’ र ‘चिन्ताको चिता’ लगायतका १८ वटा विषयका निबन्ध समेटिएको छ । कार्यक्रममा मशी सिर्जना पुरस्कार बालचन्द्र श्रेष्ठ, आमाश्री पुरस्कार सुलोचना मानन्धर र तरेली सम्मान पुरस्कार वुद्धि कार्कीलाई प्रदान गरिएको थियो । कार्यक्रममा डा. सरोज धिताल, खगेन्द्र राई विज्ञताका बाबु एवं साहित्यकार विनोद मञ्जनले पनि आफ्नो धारणा राखेका थिए । पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १२:५४
प्रतिक्रिया दिनुहोस्