
आकाश
भीष्म उप्रेती
घरबाट छानो खसेपछि
आकाश बन्छ
त्यसपछि खाटमै सुतेर देखिन्छ निलिमा
भुवाजस्ता सेता बादलका चित्रहरू
सात रङको इन्द्रेणी
विध्वंश बोकेको रिसाहा कालो बादल
र, बादल चिरेर दौडेको बिजुली,
उदास साँझ–बिहान
चरा र जहाजको उडान ।
हुरीले
भारी वर्षाले वा भूकम्पले
जेसुकैले होस् छानो उडाएपछि
आकाश बन्छ ।
अब के होला ?
अब के गर्ने ?
केही पनि कुरा सोच्न नसकी झोक्राइरहेको
घरभित्रको मानिसको आत्तिएको मनोदशाजस्तै
आकाशमा सबै दृश्यहरू फेरिने गर्छन्
छिटोछिटो
एकदमै छिटो ।
बाटो
यो बाटो खालि सहरतिर जान्छ ।
बाटो एकोहोरो सहरतिर मात्रै गएपछि
गाउँका खेतहरू रित्ता छन्
करेसाबारी रित्ता छन्
उत्साह, सपना र प्रेम गर्ने हृदय रित्ता छन् ।
बढेको भन्नु त असुरक्षा छ
डर छ
मनभित्रको अशान्ति छ
र, भोक छ
यीचाहिँ केहीले पनि मानिसले जस्तो
गाउँलाई चटक्क छोडेर सहरतिर जाँदैनन् ।
गाउँमा मानिसहरू भेला भएर
बाटो बनाउने कुरा गर्न थालेका छन्
बजेटको समय छ
सहरमा पनि योजना आयोग र मन्त्रालयमा
बाटोमा बजेट राख्ने कुरा भइराखेको होला ।
बाटो बनेको त राम्रो हो
तर अबको बाटोचाहिँ दुइतिरै हिँडिने बनोस्
गाउँ र सहर– दुईतिरै पुगिने बनोस्
त्योचाहिँ झनै राम्रो हो ।